एसीसी प्रिमियर कपको दोस्रो खेलमा पनि नेपाल विजयी

क्रिकेट

तस्बिर स्रोत, ACC

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

एसीसी प्रिमियर कपको पहिलो खेलमा शुक्रवार मलेशियालाई पराजित गर्दै नेपाली राष्ट्रिय टोलीले वर्ष २०८० को बिदाइ गरेको थियो।

शनिवार कतारलाई ३२ रनले पराजित गर्दै टोलीले २०८१ साल नयाँ वर्षको सुखद् सुरुआत गरेको छ।

दीपेन्द्रसिंह ऐरीले एकै ओभरमा बनाएको ६ छक्काको कीर्तिमान्‌बाट प्रेरित बनेको नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरको खेलमा ७ विकेट गुमाएर २१० रन जोडेको थियो।

जवाफमा कतारका ब्याटरहरू ९ विकेटको क्षतिमा १७८ रनमा सीमित हुन पुगे।

जारी प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको नेपाल एसीसी प्रिमियर कपको 'डिफेन्डिङ च्याम्पिअन' टोली हो।

यसवर्ष पनि उपाधि जोगाउँदै नेपाल एशिया कपमा छनोट हुने योजनामा छ।

एसीसी प्रिमियर कपको विजेता टोली एशिया कपमा छनोट हुनेछ।

दीपेन्द्रसिंह ऐरीको कीर्तिमान्

क्रिकेट

तस्बिर स्रोत, ACC

नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरीले ओमानमा जारी 'एसीसी प्रिमियर कप' क्रिकेटको शनिवारको खेलमा अर्को नयाँ कीर्तिमान् बनाएका छन्।

कुनै पनि ब्याटरले एक ओभरमा लगातार ६ छक्का प्रहार गर्नुलाई क्रिकेटमा दुर्लभ मानिन्छ।

तर शनिवार कतारविरुद्धको खेलमा ऐरीले दुर्लभ मानिने सोही कुरा गरे।

यो सँगै उनी ६ बलमा ६ छक्का प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेटमा पनि एकै ओभरमा ६ छक्का बनाउने खेलाडीको सूची निकै छोटो छ।

योसँगै ऐरी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन्।

यसअघि भारतका युवराज सिंहले सन् २००७ को टी–२० विश्वकपमा इङ्ग्ल्यान्डविरुद्ध एकै ओभरमा ६ छक्का बनाएका थिए।

त्यस्तै सन् २०२१ मा वेस्ट इन्डिजका किरन पोलार्डले श्रीङ्का विरुद्धको खेलमा ६ छक्का प्रहार गरेका थिए।

यस्तै एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा दक्षिण अफ्रिकाका हर्स्चेल गिब्सले सन् २००७ को विश्वकपमा नेदरल्यान्ड्सविरुद्धको खेलमा उक्त कीर्तिमान् बनाएका थिए।

अमेरिकाका जसकरण मल्होत्राले पनि पपुवा न्युगिनी विरुद्धको एक दिवसीय खेलमा त्यस्तै कीर्तिमान् बनाएका थिए।

नेपाली खेलाडीको प्रदर्शन

आशिफ शेख

तस्बिर स्रोत, ACC

शनिवारको खेलमा दीपेन्द्रसिंह ऐरीको चर्चित ब्याटिङ बाहेक सम्झना लायक विषय भनेको कतारको कमजोर फिल्डिङ र त्यसको उपयोग गर्ने नेपाली ओपनर आशिफ शेख रहे।

खेल ४ ओभर पुग्दा उनले तीन पटक जीवनदान पाएका थिए।

दोस्रो ओभरमा ३ रनमा खेलिरहँदा उनी सामान्य 'क्याच' समातिनबाट जोगिएका थिए।

चौथो ओभरको पहिलो बलमा उनी 'क्याच आउट' भए। तर त्यो 'नो बल' बन्दा उनी जोगिन पुगे।

त्यसको दुई बलपछि फेरि 'कभर'मा उनको 'क्याच' छुट्यो र त्यो बल चौका हुन पुग्यो।

त्यसको सजायस्वरुप आशिफले कतारी बलरविरुद्ध ४१ बलमा ५२ रनको अर्धशतकीय पारी खेले।

नेपालबाट आक्रामक खेल भने शनिवार कुशल मल्लले खेले।

अठार बल मात्र खेलेका कुशलले आफ्नो परम्परागत छक्का हान्ने शैलीलाई निरन्तरता दिँदै ३ छक्का र २ चौका प्रहार गरेका थिए।

नेपालको छायामा कतार

क्रिकेट नेपाल

तस्बिर स्रोत, ACC

जवाफमा आएको कतारले कुनै पनि बेला लक्ष्य पछ्याउन सक्ने प्रदर्शन गरेन।

विशाल लक्ष्य पछ्याउन आएको कतारका खेलाडीहरू सुरुदेखि नै धरासायी हुन पुगेका थिए।

कतारी कप्तान तनविर मोहम्मदले ३३ बलमा ६३ रन बनाउनु नै कतारको हेर्न लायक प्रदर्शन थियो।

नेपालका गुशलन झा, दीपेन्द्र ऐरी र ललितनारायण राजवंशीले २/२ तथा कुशल मल्ल र अविनाश बोहोराले १/१ विकेट लिएका थिए।

शुक्रवारको पहिलो खेलमा नेपालले मलेशियालाई पाँच विकेटले हराएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।