तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
यूरो २०२४: कसले जित्ला उपाधि
यूरो कप २०२४ प्रतियोगिताको सेमिफाइनलसम्म पुगेका चार टोलीबीच यो साता खेल हुँदै छ। मङ्गलवार स्पेन र फ्रान्सबीच खेल हुँदै छ भने त्यसको भोलिपल्ट इङ्ग्ल्यान्ड र द नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदै छ।
पछिल्लो पटक सन् २०१२ मा उपाधि जितेको स्पेन चौथो पटक उपाधि जित्ने प्रयासमा छ।
फ्रान्सले पछिल्लो पटक २४ वर्षअघि यो उपाधि जितेको थियो भने द नेदरल्यान्ड्सले सन् १९८८ को विजेता हो। सेमिफाइनल पुगेको इङ्ग्ल्यान्ड चाहिँ यूरो कपको उपाधि हात पार्ने आफ्नो लामो प्रतीक्षाको अन्त्य गर्ने आशामा छ।
सेमिफाइनलमा पुगेकामध्ये कुन टोली आफ्नो उत्कृष्ट अवस्थामा छ? अनि कसले यो उपाधि जित्ने सम्भावना धेरै छ त?
बीबीसी स्पोर्टले ती सबै देशका विज्ञहरूलाई उनीहरूको विचारबारे सोधेको छ।
‘स्पेनले आफ्नो खेल कौशल देखाएको छ’
स्पेनका खेल पत्रकार गियम बालागेको विचार
स्पेनले तीन फरक शैलीमा जर्मनीविरुद्ध खेलेको थियो। हामीले 'विङर'का साथमा खेल्यौँ। त्यसपछि विङर र स्ट्राइकरबिना खेल्यौँ। अनि अन्त्यको अतिरिक्त समयमा ४-२-४ को ढाँचामा खेल्यौँ। त्यसले हाम्रो खेल कौशलको गहिराइ बुझाउँछ। मुख्य कुरा जर्मनीले हामीलाई गरेको जस्तोसुकै आक्रमणमा पनि हामी टिक्यौँ। हामीले हार्न सक्ने अवस्था थियो, तर हामी जितबाट पनि कहिल्यै टाढा थिएनौँ।
हामी अघिल्ला चार विपक्षीहरूको तुलनामा उत्कृष्ट रहे पनि जर्मनीको विरुद्धमा भने थिएनौँ। तर पनि हामीले हार मानेनौँ र जित हात पार्यौँ। त्यसैले यो फरक किसिमको परीक्षा थियो र हामीले त्यसमा राम्रो गरेर देखाएका छौँ।
त्यो अत्यधिक शारीरिक खेल भएका कारण फरक परीक्षा थियो। त्यसमा सन् २०१६ यताको युरोपेली प्रतियोगिताको खेलमा भएको सर्वाधिक 'फाउल'हरू भएका थिए। तर हामीले अब शारीरिक लडाइँबाट डराउँदैनौँ भनेर देखायौँ।
फ्रान्सविरुद्ध पनि हामीले इटली, आल्बेनिया र जोर्जासँग जस्तै आफैँले कोसिस गर्नुपर्छ भन्ने थाहा छ। हामी उनीहरूले गर्ने प्रत्याक्रमणविरुद्ध सावधान रहनुपर्छ।
मलाई फ्रान्सले जित्नका लागि राम्रो खेल्नुपर्दैन भन्ने थाहा छ। खेलमा कुनै उत्कृष्ट क्षण भेट्टाउन उनीहरू लागिपर्छन्। उनीहरूका अग्रपङ्क्तिका खेलाडीहरूसँग हामी विशेष चनाखो हुनुपर्छ। हामीले उस्मान डेम्बेले र किलियान एम्बाप्पेजस्ता फ्रान्सका खेलाडीको गतिको अगाडि सावधान हुनुपर्छ।
वास्तवमा हामी आफ्नो आक्रमणमा जति सक्षम हुनुपर्ने त्यत्ति छैनौँ। तर हामीले नियमित प्रहार गर्ने भएकाले कालान्तरमा त्यसले असर देखाउँछ। फ्रान्सविरुद्ध पनि यस्तै हुन सक्छ।
अघिल्लो खेलमा पेड्रीलाई चोट लागेको थियो। केही निलम्बित खेलाडीहरू पनि छन्। तर हाम्रो एकदम राम्रो र एकदम खराब खेलाडीबीच खासै भिन्नता छैन। अर्थात् यो एउटा टोलीको रूपमा सामूहिक बलमा खेल्छ।
मलाई लाग्छ हामीले फ्रान्सलाई हराउने छौँ र फाइनलमा इङ्ग्ल्यान्डसँग भेट हुने छ।
विजेता: स्पेन
‘सामान्य प्रदर्शन गरे पनि इङ्ग्ल्यान्ड उपाधिको दाबेदार हो’
बीबीसी स्पोर्टका प्रमुख फुटबल लेखक फिल म्याक्नल्टीको विचार
इङ्ग्ल्यान्डले द नेदरल्यान्ड्सलाई हराउनका लागि प्रतिकूलताको समयमा पनि जुड बेलिङ्गाम र बुकायो साकाले देखाएको जस्तो उत्कृष्ट व्यक्तिगत प्रदर्शनलाई उपयोग गर्दै एउटा थप एकताबद्ध टोलीको रूपमा खेल्नुपर्छ।
यूरो २०२४ मा इङ्ग्ल्यान्डका फुटबल व्यवस्थापक ग्यारेथ साउथगेटको टोलीले कुशल रक्षापङ्क्ति भएका टोलीसँग सङ्घर्ष गर्नुपरिरहेको देखिएको छ। त्यसैले नेदरल्यान्ड्सको आक्रमणमुखी शैली इङ्ग्ल्यान्डको टोलीका लागि उपयुक्त हुन सक्छ र यसका खेलाडीहरूलाई अवसर प्रदान गर्न सक्छ।
इङ्ग्ल्यान्ड आफ्नो उत्कृष्ट रक्षात्मक अवस्थामा हुनुपर्ने छ। प्रिमिअर लीगमा लिभरपुलबाट खेल्ने डच खेलाडी कोडी हाक्पोको खेल यो प्रतियोगितामा प्रभावशाली रहँदै आएको छ भने अप्रत्याशित खेल देखाउने क्षमता भएका मेम्फिस डेपे सधैँ खतरनाक हुने गर्छन्। त्यसैले डच टोलीको आक्रमणले गम्भीर खतरा निम्त्याउन सक्छ।
यदि इङ्ग्ल्यान्डले यो पक्षमा ध्यान दिन सकेमा उनीहरूले तनावको समयमा कमजोर देखा पर्ने नेदरल्यान्ड्सको रक्षापङ्क्तिलाई चुनौती दिन सक्छन्। दुवै टोलीका कप्तान ह्यारी केन र भर्जिल भ्यान डाइक आमनेसामने भएको खेल थप रोमाञ्चक हुने नै छ।
केनले क्वाटरफाइनलमा स्विट्जरल्यान्डविरुद्धको खेलमा शारीरिक रूपमा र गतिमा पनि असाध्यै सङ्घर्ष गर्नुपरेको देखिएको थियो। तर उनले पाएको मौकालाई सहजै गुम्न दिन्छन् भन्न मिल्दैन।
सामान्य प्रदर्शन गरे पनि इङ्ग्ल्यान्ड अहिले यूरो २०२४ को मुख्य दाबेदारको स्थितिमा छ। उनीहरू सेमिफाइनलसम्म जसोतसो पुगेका छन्। तर उनीहरूमा आत्मविश्वास बढेको छ। अनि टोलीमा अहिलेको अवस्थाको भाग्य पनि आफ्नो साथमा रहेको पक्कै आभास होला। सन् २००४ मा ग्रीस र सन् २०१६ मा पोर्चुगलसँग भए जस्तै।
यदि इङ्ग्ल्यान्डले सन् १९६६ को विश्वकपपछिको आफ्नो पहिलो महत्त्वपूर्ण उपाधि जित्यो भने त्यसले मलाई आश्चर्यमा पार्ने छैन।
मनले इङ्ग्ल्यान्ड भने पनि मस्तिष्कले चाहिँ स्पेनले जित्छ भनिरहेको छ।
यूरो २०२४ मा अहिलेसम्म स्पेन निकै सक्षम देखिएको छ तर पनि उनीहरू डिडिए डेशाँको व्यवस्थापनमा रहेको फ्रान्सविरुद्ध हार्न सक्ने सम्भावना छ।
यसपालि फ्रान्सका कुनै पनि खेलाडीले ‘ओपन प्ले’ अर्थात् स्थिर नरहेर ('कर्नर किक' वा 'थ्रो'जस्ता अवस्थामा नभएर) चालु नै रहेको खेल अवस्थामा गोल गर्न सकेका छैनन्। उता स्पेनका लागि भने किशोर खेलाडी लामीन यमालले सहज रूपमा प्रदर्शन गर्दै आएका छन्। उनी फाइनल खेल हुने अघिल्लो दिन बल्ल १७ वर्ष पुग्ने छन्। अनि म्यान्चेस्टर सिटीका रोड्रीजस्ता विश्वस्तरीय खेलाडीहरू स्पेनको टोलीमा छन्।
अनुभवी र युवा खेलाडीहरूको मिश्रण रहेको स्पेन झन्झन् सक्षम रूपमा प्रतियोगितामा अघि बढिरहेको छ। अनि आरम्भबाट नै सबैभन्दा प्रभावशाली टोलीका रूपमा देखिएको छ। तर मलाई लाग्छ यूरो २०२४ जित्नका लागि उसले इङ्ग्ल्यान्डलाई पराजित गर्नुपर्छ।
विजेता: स्पेन
‘एम्बाप्पे फेरि एम्बाप्पे बन्ने छन्’
फ्रान्सेली फुटबल पत्रकार जुलियन लरन्जको विचार
हामीले फ्रान्सको रक्षात्मक रूप देखेका छौँ। उनीहरूले गर्ने यही हो। यही नै उनीहरूको शैली हो र उनीहरूको 'डीएनए'मा पनि यही छ। उनीहरूले प्रतियोगिता पनि बलियो रूपमा रक्षात्मक बनेर जित्छन्।
खेलमा उनीहरू आफ्नो उत्कृष्ट अवस्थामा देखिएका छैनन्। उनीहरूले सुन्दर फुटबल खेल्ने होइन। उनीहरू त्यसका लागि हुँदै होइनन्। तर उनीहरू अवसर सिर्जना गर्ने कुरामा चुकिरहेका छन्। सामान्यतया विपक्षीको क्षेत्रमा उनीहरू बढी सक्षम हुन्छन्।
क्रिस्टियानो रोनाल्डोपछि यो प्रतियोगितामा किलियान एम्बाप्पेको खेलले सम्भवतः सबैभन्दा धेरै निराशा उत्पन्न गरेको छ।
यसका केही कारणहरू छन्। पहिलो त अस्ट्रियाविरुद्धको खेलमा उनको नाकमा चोट लागेपछि उनले लगाउनुपरेको मास्क। त्यो खेलमा उनी निकै तीव्र देखिएका छन्। यूरो कपभन्दा अघि उनमा तन्दुरुस्तीसम्बन्धी केही समस्या पनि देखा परेको थियो।
त्यसैले मलाई उनी पूर्ण रूपमा ठिक छन् जस्तो लाग्दैन। तर त्यो मास्कले साँच्चै उनलाई दिक्क बनाएको हुनुपर्छ।
यहाँ रहेका अन्य टोलीमध्ये स्पेनलाई साँच्चै चुनौती दिन सक्ने कुनै टोली छ भने त्यो फ्रान्स नै हो।
मेरो विचारमा पेड्री घाइते भएपछि स्पेनको मुख्य समस्या 'मिडफील्ड'मा छ। त्यसैले मध्यभागमा कसले लडाइँ जित्छ भन्ने अवस्था बन्ने छ। मैदानको बीचमा फ्रान्सको शारीरिक प्रभाव प्रशंसनीय छ र खेल यहाँ नै जितिने छ।
आफ्नो खेलजीवनको धेरै समय फ्रान्समा भन्दा स्पेनमा बिताएका आन्ट्वाँ ग्रिजमनका लागि यो खेल निकै महत्त्वपूर्ण छ। त्यसैले उनी र एम्बाप्पेले आफ्नो खेल अझै तिखार्नुपर्छ।
म फाइनलमा इङ्ग्ल्यान्ड र फ्रान्स पुगून् भन्ने चाहन्छु। अनि मलाई सेमिफाइनलका चार टोलीमध्ये फ्रान्ससँग नै यो तहको अनुभव र क्षमता छ जस्तो लाग्छ। मलाई कुनै बिन्दुमा एम्बाप्पे फेरि एम्बाप्पे बन्ने छन् र अपराजेय हुने छन् भन्ने पनि लाग्छ।
विजेता: फ्रान्स
‘इङ्ग्ल्यान्ड र द नेदरल्यान्ड्सका लागि समय कम छ’
डच फुटबल लेखक जेस्पर ल्याङ्ब्रुकको विचार
टर्कीसँगको खेलले द नेदरल्यान्ड्ससँग वाउट वेग्होर्स्टलाई 'स्ट्राइकर'मा र मेम्फिस डेपेलाई उनको पछाडि खेलाउने राम्रो विकल्प भएको देखाए जस्तो मलाई लाग्छ।
इङ्ग्ल्यान्डले स्विट्जरल्यान्डविरुद्धको खेलमा पाँच जनालाई 'डिफेन्डर'का रूपमा खेलाएको थियो। त्यसले रक्षापङ्क्ति सुदृढ बनाएको थियो। जित्नु छ भने हामीले खेल्ने शैली पनि त्यही हुनुपर्छ भन्ने मलाई लाग्छ।
मैले थाहा पाएको अर्को कुरा यो टोलीले राम्रो खेल्नका लागि हार्न सक्ने अवस्था बन्नुपर्छ। अस्ट्रियाविरुद्धको खेलमा उनीहरूसँग त्यस्तो अवस्था थियो। त्यसपछि रुमेनियाविरुद्धको खेलमा उनीहरूले राम्रो खेलेका थिए। त्यसपछि उनीहरूका लागि अर्को त्यस्तै अवस्था बन्यो, जब टर्कीले क्वाटरफाइनलको खेलमा अग्रता लिएको थियो।
दुवै टोलीमा अझै थुप्रै कुराहरू छन्। तर त्यो अहिलेसम्म देखा परेका छैनन्। ती कुरा दुवैको पक्षमा भएको समानता हो।
मलाई लाग्छ, विजेता अर्को समूहबाट हुने छ। इङ्ग्ल्यान्ड र द नेदरल्यान्ड्सको वास्तवमा परीक्षण भएको छैन। उनीहरूले केही राम्रा टोलीको सामना त गर्नुपरेको छ तर सुरुदेखि नै अन्य समूहमा भएका फुटबलका शक्तिशाली देशहरूसँग उनीहरूले खेल्नुपरेको छैन।
मलाई स्पेनले जित्छ जस्तो लागेको छ किनभने उनीहरूले सामूहिक रूपमा राम्रो फुटबल खेलिरहेका छन्। इङ्ग्ल्यान्ड, फ्रान्स र द नेदरल्यान्ड्स अझै पनि सबै कुरा मिलाउने पर्खाइमा छन्। तर समय कम छ।
विजेता: स्पेन
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।