छेन्दु र ल्हासाबाट पोखरामा उडान, भारतीय विमान कहिले आउलान्

सिचुआन एअरलाइन्सको विमानमार्फत चीनको छेन्दुबाट १२८ जना यात्रुहरू १० बजेर २० मिनेटमा पोखरामा ओर्लिएका थिए

तस्बिर स्रोत, Krishnamani Baral

तस्बिरको क्याप्शन, सिचुआन एअरलाइन्सको विमानमार्फत् चीनको छेन्दुबाट १२८ जना यात्रुहरू पोखरा आएका हुन्
    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

पोखरा विमानस्थलको निर्माणका लागि लिइएको चिनियाँ ऋणको सावाँ र ब्याजको अर्को किस्ता भुक्तानी गर्ने समय नजिकिकै गर्दा उक्त विमानस्थलबाट नियमित रूपमा एउटा चिनियाँ वायुसेवा विमानले चार्टर्ड उडान थालेको अधिकारीहरूले बताएका छन्।

मङ्गलवार बिहान छेन्दुबाट सिचुआन एअरलाइन्सको विमान पोखरा आयो। नेपाली अधिकारीहरूका अनुसार उक्त विमानसेवाले १० वटा चार्टर्ड उडान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

नेपाली र चिनियाँ संयुक्त स्वामित्वको हिमालय एअरलाइन्सले आगामी एप्रिल १ मा पोखराबाट ल्हासाको नियमित उडान थाल्ने नागरिक उड्डयन अधिकारीहरूले बताएका छन्।

हालसम्म चार्टर्ड र अन्तर्राष्ट्रिय गरी एक दर्जन अन्तर्राष्ट्रिय उडान मात्र भएको उक्त विमानस्थल निर्माणका लागि लिइएको ऋणको सावाँ र ब्याज बापतको किस्ता भुक्तानी गर्न कठिन भएको अधिकारीहरूले बताउँदै आएका थिए।

सन् २०२३ मा उद्घाटन भएको उक्त विमानस्थलमा हुन लागेका व्यावसायिक उडानहरूले आफूहरूलाई उत्साहित बनाएको भन्दै एक अधिकारीले पोखरालाई 'पर्यटकीय राजधानी' का रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय उडानहरूले बल पुर्‍याउने बताए।

चीनबाट कस्तो उडान हुन लागेको हो?

पोखरामा अवतरण गरेको सिचुआन एअरलाइन्सको विमान

तस्बिर स्रोत, RSS

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार सिचुआन एअरलाइन्सको विमानमार्फत् चीनको छेन्दुबाट १२८ यात्रुहरू बिहान १०ः२० बजे पोखरामा ओर्लिएको जानकारी दिए। उनका अनुसार विभिन्न भ्रमण प्याकेजमा चीन घुम्न इच्छुक १२६ जना बोकेर उक्त विमान फिर्ता भएको थियो।

"अब मार्च २५ मा अर्को उडान हुन्छ। सिचुआनबाट कम्तीमा हप्ताको एक दिन उडान गर्ने अठोट उहाँहरूले गर्नुभएको छ। नियमित उडान तालिका नै राख्ने कुरा उहाँहरूले गरिरहनुभएको छ।"

यसअघि पोखरामा आयोजना भएका विभिन्न पर्यटकीय महोत्सव लगायतका गतिविधिलाई लक्षित गर्दै उक्त विमानस्थलमा १० पटक चार्टर्ड उडान भएको थियो। उडान गर्नेमध्ये अधिकांश विमानहरू चिनियाँ थिए।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवाहरूलाई आकर्षित गर्न सरकारले विभिन्न छुटहरू दिएको बताए। उनका अनुसार अहिलेको प्रगतिबाट प्राधिकरण उत्साहित भएको छ।

पोखरामा आएका चिनियाँ पर्यटक

तस्बिर स्रोत, Krishnamani Baral

"हिमालय एअरलाइन्सले नियमित तालिका ल्याइसक्यो। चार्टर्ड उडानहरू आकस्मिक भए पनि सिचुआन एअरलाइन्सले प्रत्येक मङ्गलवार उडान गर्ने भनेको छ। चार्टर्ड उडान हुँदा विमानस्थललाई बुझाउनुपर्ने शुल्कमा केही थप हुन्थ्यो। तर अहिले शत प्रतिशत छुट दिइसकेपछि त्यो कुनै फरक हुँदैन।"

अधिकारीहरूले नियमित तालिकामा राख्दा उडान बाध्यकारी हुने भएकाले सिचुआन एअरलाइन्सले अहिले चार्टर्ड उडान गर्ने निर्णय लिएको हुनसक्ने बताएका छन्।

पोखराबाट छेन्दुको उडान अवधि लगभग साढे ४ घण्टाको रहेको छ र अधिकारीहरूले पोखराबाट उक्त चिनियाँ सहरका लागि तीन उडान तय भइसकेका र त्यसमा ३८१ यात्रुहरूले यात्रा गर्ने बताएका छन्।

छेन्दुबाट पोखराका लागि 'बुक' भएका १० वटा उडानमा करिब १ हजार २५० चिनियाँ पर्यटक आउने भनिएको छ।

पोखरा महानगरप्रमुख पनि छेन्दु गए

छेन्दुबाट पहिलो नियमित व्यावसायिक चार्टर्ड उडानबाट पोखरा महानगरका प्रमुख धनराज आचार्यको नेतृत्वमा १२६ यात्रु चीनको छेन्दु उडान गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी सूचना अधिकारी जसोदा सुवेदीले जानकारी दिइन्।

चीनको छेन्दु र ल्हासामा नियमित उडान भए त्यसले पर्यटन प्रवर्धनलाई सहयोग गर्ने महागरप्रमुख आचार्यले बताए।

नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा नेपालस्थित चिनियाँ राजदूतावास र सिचुआन एअरलाइन्ससँगको सहकार्यमा व्यावसायिक चार्टर्ड उडान थालिएको भनिएको छ। चिनियाँ कलाकारले बुधवार पोखरा सभागृहमा सांस्कृतिक कार्यक्रम गर्ने कार्यक्रम पनि रहेको छ।

छेन्दुबाट व्यावसायिक चार्टर्ड उडान सुरु भएलगत्तै हिमालय एअरलाइन्सले पनि एप्रिल १ बाट पोखरा-ल्हासा नियमित उडान गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए।

"हिमालय एअरलाइन्सले सोमवार काठमाण्डूबाट ल्हासा उड्ने र ल्हासाबाट पोखरा आउने अनि राति पोखरामा बसेर मङ्गलवार चाहिँ पोखरा ल्हासा उडान गर्ने र त्यसपछि ल्हासा-काठमाण्डू उडान गर्ने तयारी गरिरहेको छ। काठमाण्डू र पोखरा दुवैतर्फका यात्रुहरू समेट्ने हिसाबले उहाँहरूले यो पहल गर्नुभएको हो।"

ऋणको भार र मिनाहाको पहल?

हिमालय एअरलाइन्सले छेन्दुसम्म उडान गर्न लागेको हो

तस्बिर स्रोत, Himalaya Airlines

चीनको एक्जिम ब्याङ्कबाट २१.५९६५ करोड अमेरिकी डलर (अहिलेको भाउअनुसार २९ अर्ब ९८ करोड नेपाली रुपैयाँ) ऋण लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएको हो।

प्रतिवर्ष दुई प्रतिशत ब्याज लिने गरी तय भएको ऋणको भुक्तानीको लागि सात वर्षको ग्रेस अवधिसहित २० वर्षको समय दिइएको थियो। उक्त ब्याजबाहेक व्यवस्थापन शुल्क र प्रतिबद्धता शुल्कअन्तर्गत नेपालले चीनलाई प्रतिवर्ष ०.४ प्रतिशत भुक्तानी गर्नुपर्छ।

नागरिक उड्यन प्राधिकरणले चाहिँ सरकारलाई २०७९ साल चैत १ गतेबाट लागु हुने गरी पाँच प्रतिशत ब्याजदर भुक्तानी गर्नुपर्ने सम्झौता गरेको थियो।

प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेले गएको सेप्टेम्बरमा एक किस्ता भुक्तानी भएको र आगामी मार्च महिनामा अर्को किस्ता भुक्तानी हुने बताए।

उनले भने, "हामी नेपालभित्र उडानहरू बढून् भन्ने नै चाहन्छौँ। सम्बन्धित विमानस्थलबाटै (भुक्तानी गर्नुपर्ने रकम) उठाउनुपर्ने मान्यता राख्छौँ। तर सरकारले सबै छुट दिएकाले अहिले पोखरामा सयवटै उडान भए पनि पैसा आउँदैन।"

प्राधिकरणको पछिल्लो वार्षिक प्रतिवेदनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिइएको सावाँब्याज भुक्तानीका लागि अघिल्लो आर्थिक वर्षमा दुई अर्ब रुपैयाँ प्रयोग गरिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले डिसेम्बरको सुरुमा गरेको भ्रमणमा चिनियाँ पक्षलाई नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण मिनाहा गरिदिन अनुरोध गर्ने ठानिएको थियो।

ओलीभन्दा केही समयअघि चीनको भ्रमण गरेका अर्थमन्त्री विष्णु पौडेलले चिनियाँ अधिकारीहरूलाई पत्र लेखेर त्यस्तो अनुरोध गरेका थिए।

तर बेइजिङबाट काठमाण्डू फर्किने क्रममा संवाददाताहरूसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण मिनाहाबारे छलफल नै नभएको बताए।

उक्त अध्याय अब समाप्त भएको हो कि भन्ने बीबीसीको प्रश्नमा केही महिनाअघि अर्थमन्त्री विष्णु पौडेलले एउटै विषय बारम्बार उठाइरहनु उपयुक्त नहुने बताएका थिए।

भारत र अन्य देशमा उडानको पहल

पोखरा आएको चिनियाँ सिचुआन एअरको विमान

तस्बिर स्रोत, RSS

चिनियाँ ऋण लगानी गरिएको र चिनियाँ ठेकेदार प्रयोग गरेर बनाइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले नेपालमा अभिव्यक्त भइरहेका भूराजनीतिक प्रतिस्पर्धालाई प्रकट गरेका ठान्नेहरू पनि छन्।

तीमध्ये कतिपयले अपारदर्शी ढङ्गले विमानस्थलको लागत निर्धारण गरिएका र कतिपय ठेक्काका काम गरिएका भन्दै त्यसमा भ्रष्टाचार भएको समेत आरोप लगाएका छन्। यद्यपि अधिकारीहरू त्यो अस्वीकार गर्छन्।

चिनियाँ पक्षले उक्त विमानस्थललाई 'बेल्ट एन्ड रोड' अन्तर्गतको परियोजना भनेपछि नेपालका तत्कालीन परराष्ट्रमन्त्रीले संसद्‌बाट नै त्यसको खण्डन गरेका थिए।

हालैका वर्षहरूमा भारत र चीनबीचको सम्बन्धमा चिसोपन देखिएको र बेइजिङ सोझै संलग्न रहेको देखिएको हुनाले दिल्लीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति सकारात्मक भाव नराखेको हुन सक्ने कतिपयले विश्लेषण गर्दै आएका छन्।

यो बीचमा कुनै पनि भारतीय वायुसेवा कम्पनीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेका छैनन्।

नेपालको निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एअरले पोखराबाट भारतका विभिन्न सहरहरूमा नियमित उडान गर्ने इच्छा राखे पनि अनुमति नपाएको बताइन्छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता पाण्डे आफूहरूले भारतसहित विभिन्न देश र त्यहाँका वायुसेवाहरूलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सञ्चालन गर्न अनुरोध गरेको बताउँछन्।

उनले भने, "हामीले अन्तर्राष्ट्रिय वायुसेवाको समुदायलाई काठमाण्डूको तुलनामा पोखरा र भैरहवामा यस्ता यस्ता छुटहरू दिइएको छ भनेर सन्देश पुर्‍याइसकेका छौँ। भारतीय वायुसेवाहरूलाई पनि हामीले आग्रह गरिरहेका छौँ। पोखराबाट नेपालकै बुद्ध एअरले पनि भारतका विभिन्न सहरतर्फ उडान माग गरेको छ र त्यसका लागि संयोजन भइरहेको छ।"

सन् २०२२ मा भारत पनि सम्मिलित क्षेत्रीय समूह बिमस्टेकको यातायातसम्बन्धी गुरुयोजनामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि परेको उल्लेख गर्दै पाण्डेले क्षेत्रीय रुपमा नै नेपालका तीनवटै अन्तर्राष्ट्रिय विमानस्थललाई महत्त्वपूर्ण यातायात सम्पर्क सञ्जाल स्वीकार गरिएको बताए।

"बिमस्टेक राष्ट्रहरूले यसलाई ग्रहण गरिसकेका छन्। भारतले पनि यसलाई ग्रहण गरिसकेका हामीले मान्छौँ," उनले भने।

उक्त गुरुयोजनामा बिमस्टेक देशहरूबीच पर्यटन र जनस्तरको आदानप्रदान प्रवर्धन गर्न उक्त विमानस्थलको प्रयोग गर्ने उल्लेख गरिएको छ।

हालसम्म आन्तरिक उडानमा नै केन्द्रित देखिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले गत वर्ष ३४ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको थियो।

पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई आकर्षित गर्न नेपाल सरकारले २०८३ भदौ मसान्त सम्म सेवा शुल्क, रोएल्टीसहित मिनाहा गरेको छ।

पोखराबाट कृष्णमणि बरालको थप रिपोर्टिङ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।