नेपालमा टिकटक प्रतिबन्धित, सरकार के भन्छ

नेपाल सरकारले "सामाजिक सद्भाव र वातावरणमा खलल पुर्‍याउन भूमिका खेलेको" भन्दै सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ।

सूचना तथा सञ्चारप्रविधिमन्त्री रेखा शर्माले लामो समयदेखि टिकटकविरुद्ध गुनासो आइरहेको भन्दै मन्त्रिपरिषद्को बैठकले त्यसबारे निर्णय लिएको बताइन्।

“यो निर्णय आजैबाट (सोमवारबाटै) कार्यान्वयनमा जान्छ," उनले भनिन्। उनका अनुसार टिकटकसँग सम्बन्धित व्यवस्था मिलाउन सूचना तथा प्रविधि मन्त्रालयलाई जिम्मा दिइएको छ।

तिहारको समय चलिरहँदा नेपालमा ज्यादै लोकप्रिय रहेको सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लागेको हो।

टिकटक सञ्चालन गर्ने चिनियाँ कम्पनी बाइटड्यान्सले नेपालमा लागेको प्रतिबन्धबारे जान्न बीबीसीले सम्पर्क गर्न खोजेको थियो। तर उसबाट अझै कुनै प्रतिक्रिया आइसकेको छैन।

अधिकारीहरू के भन्छन्?

मन्त्रिपरिषद्को निर्णयसँगै चिनियाँ सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने पछिल्लो मुलुक नेपाल बनेको छ। भारतमा पनि टिकटकमा प्रतिबन्ध छ।

मन्त्री शर्माले तिहारको समयमा प्रतिबन्ध लाग्नु संयोग मात्रै भएको बताइन्।

उनले भनिन्, “यो पटकपटक क्याबिनेटमा छलफल भएको विषय हो। धेरै गुनासाहरू आएका थिए। समाजमा र परिवारमा बसेर हेर्न नसकिने किसिमका सामग्रीहरू राखिए भन्ने कुरा थियो। गृह मन्त्रालयले टिकटककै प्रतिनिधिलाई बोलाएर पनि त्यसबारे ध्यानाकर्षण गराएको थियो।”

स्पष्ट तथ्याङ्क नभए पनि इन्टरनेट प्रयोग गर्ने धेरै नेपालीहरू मनोरञ्जनका साधनका रूपमा टिकटक हेर्ने गर्छन्।

तर मन्त्री शर्माले मनोरञ्जनभन्दा समस्या धेरै भएकाले प्रतिबन्ध लगाइएको तर्क गरिन्।

उनले भनिन्, “मनोरञ्जनका लागि अरू सामाजिक सञ्जालहरू पनि छन्। फेसबुक, ट्विटरलगायतका माध्यमलाई हामीले केही पनि गरेका छैनौँ।”

कैयौँले टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयमाथि प्रश्न समेत उठाइरहेका छन्।

निर्णयको विरोध किन?

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टिकटक बन्द गर्ने निर्णय गरेर सरकार "उल्टो कदम हिँडेको" टिप्पणी गरेका छन्।

"सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो," उनले फेसबुकमा लेखेका छन्।

"यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्नेभन्दा पनि यो सरकारको नियतको विषय हो। यसमा सरकारको नियत 'अभिव्यक्ति तथा वैयक्तिक स्वतन्त्रता' लाई कुण्ठित गर्ने देखियो। सरकारले यो कदम सच्चाउनुपर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन।"

एमाले नेता विष्णु रिमालले पनि उक्त निर्णयको आलोचना गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्, “सरकार! छनौट आधारित प्लेटफर्म बन्द गर्ने हैन - कन्टेन्ट नियमन गर, अभिव्यक्तिमा अराजकता नियन्त्रण गर !”

सामाजिक सञ्जाल एक्समा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा पूर्वमन्त्री शिशिर खनालले टिकटक बन्द गर्ने निर्णय ठिक नभएको भन्दै त्यसलाई सरकारले तुरुन्तै फिर्ता गर्नुपर्ने माग गरेका छन्।

उनले सामाजिक लेखेका छन्, “सामाजिक सञ्जाल (लगायत अन्य माध्यम) को गलत प्रयोगलाई नियमन गर्नु पर्छ। तर एउटा मात्रै प्लेटफर्मले गर्दा सामाजिक सद्भाव बिग्रियो, राष्ट्रियता कमजोर भयो भन्नु प्रविधिको विकासलाई नबुझ्नु हो।”

“टिकटक त धेरैमध्येको एउटा माध्यम हो। सरकार अधिनायकवादी बाटोमा हिड्न खोज्यो। यस्ता निर्णयहरूले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्छ।”

अरू कुन देशमा प्रतिबन्धित?

सन् २०१६ मा प्रयोगमा आएको टिकटकले संसारभरि लोकप्रियताको शिखर चुमेको छ। अहिलेसम्म विश्वभरि आफ्ना सक्रिय प्रयोगकर्ताको सङ्ख्या एक अर्बभन्दा बढी रहेको दाबी टिकटकको छ।

कैयौँ देशहरूले प्रतिबन्ध लगाएको भए पनि उक्त समाजिक सञ्जालका प्रयोगकर्ताको सङ्ख्या अझ बढ्दै जाने अध्ययनहरूले देखाएका थिए।

टिकटकले चीन सरकारलाई प्रयोगकर्तासँग सम्बन्धित जानकारी उपलब्ध गराउन सक्ने आशङ्का विभिन्न देश तथा व्यक्तिहरूको छ। तर टिकटकको माउ कम्पनी बाइटड्यान्सले त्यस्तो आरोपको खण्डन गर्दै आएको छ।

संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ र यूकेमा टिकटक निगरानीमा परेको छ। यूकेमा सुरक्षाको कारण देखाउँदै संसद्ले टिकटक एपलाई प्रतिबन्ध लगाएको छ।

समाचारसंस्था एपीले प्रकाशन गरेको एउटा विवरणअनुसार विभिन्न देशका सरकारहरूले टिकटक र चीन सरकारबीचको सम्बन्धलाई लिएर चिन्ता व्यक्त गर्ने गरेका छन्।

एपीका अनुसार अफगानिस्तान, अस्ट्रेलिया, बेल्जियम, क्यानडा, डेनमार्क, ईयू, फ्रान्स, भारत, लाट्भिया, द नेदरल्यान्ड्स, न्यूजील्यान्ड, नर्वे, पाकिस्तान, ताइवान, यूके र अमेरिकामा टिकटकमाथि आंशिक वा पूर्ण प्रतिबन्ध लगाइएको छ।

अमेरिका किन चिन्तित?

संयुक्त राज्य अमेरिकाले यसै वर्ष मार्च महिनाको सुरुतिर डेटा सुरक्षाबारे चिन्ता व्यक्त गर्दै सरकारी निकायहरूलाई सङ्घीय निकायका उपकरण र प्रणालीबाट टिकटक एप मेट्न ३० दिनको समय दिएको थियो।

उक्त प्रतिबन्ध सरकारी स्वामित्वमा रहेका उपकरणमा मात्रै छ। तर कतिपय सांसदहरूले पूर्ण रूपमा नै प्रतिबन्ध लगाइनुपर्ने माग गरिरहेका छन्।

चीनले टिकटकमाथि अमेरिकी प्रतिबन्धको आलोचना गर्छ र उसले अमेरिकाले शक्तिको दुरुपयोग गरेर अरू देशका कम्पनीहरूमाथि दमन गरेको टिप्पणी समेत गर्ने गरेको पाइन्छ।

अमेरिकाको कङ्ग्रेस र सशस्त्र फौजले पनि टिकटकमाथि प्रतिबन्ध लगाएका छन्। त्यहाँका ५० भन्दा बढी राज्यले आधिकारिक उपकरणमा टिकटक राख्न निषेध गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।