‘अखण्ड भारत’को भित्तेचित्रबारे नेपाल जानकार नरहेको परराष्ट्रमन्त्रीको टिप्पणीबारे के भन्छन् विज्ञ

तस्बिर स्रोत, SCREENSHOT/YOUTUBE/AAJTAK
भारतको नयाँ संसद् भवनमा राखिएको ‘‘अखण्ड भारत’’को नक्सा कोरिएको भित्तेचित्रबारे नेपाललाई जानकारी नरहेको परराष्ट्रमन्त्री एनपी साउदले बताएसँगै उक्त टिप्पणीबारे तीव्र प्रतिक्रिया उत्पन्न भएको छ।
गत साता भारतको सङ्घीय संसद्मा राखिएको भित्तेचित्रमा लुम्बिनी र कपिलवस्तु नाम भएका स्थान राखिएको पाइएसँगै नेपालमा विरोध भइरहेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत साता सम्पन्न भएको भारत भ्रमणका क्रममा उक्त ‘‘अखण्ड भारत’’को नक्साबारे विषयमा आफूले कुरा उठाएको बताएका थिए।
तर एउटा भारतीय टेलिभिजनसँग अन्तर्वार्ताका क्रममा परराष्ट्रमन्त्री साउदले भित्तेचित्रबारे आफूहरूलाई जानकारी नरहेको बताएका हुन्।
उनको अभिव्यक्ति प्रधानमन्त्रीसँग पनि बाझिएको छ।
साउदले के भनेका छन्?
आज तक टेलिभिजनकी संवाददाताले अन्तर्वार्ताका क्रममा भारतको नयाँ संसद् भवनमा राखिएको अखण्ड भारतको भित्तेचित्रबारे नेपालमा निकै चर्चा भएको र नेपालका कैयौँ क्षेत्र उक्त नक्सामा चित्रित गरिएको विषयबारे प्रश्न गरेकी छन्।
नेपालका सर्वसाधारण र विपक्षी दलले पनि ‘‘अखण्ड भारत’’को भित्तेचित्र (म्युरल) बारे चासो व्यक्त गर्दै धारणा सार्वजनिक गरेको र उक्त नक्साले नेपालको सार्वभौमिकता उल्लङ्घन गर्ने हुँदा प्रधानमन्त्री दाहालले उक्त विषय भारतीय प्रधानमन्त्रीसँग राख्नुपर्ने आवाजहरू नेपालमा उठेको बताउँदै आज तककी संवाददाताले उक्त विषय उठे/नउठेको र नउठेको भए पनि त्यसबारे नेपालको धारणा के छ भनेर प्रश्न गरेकी थिइन्।
उत्तर दिने क्रममा साउदले भनेका छन्: ‘म्युरलको जुन कुरा छ त्यसबारे हामीलाई कुनै जानकारी नै छैन। जुन कुरा हाम्रो जानकारीमै छैन … त्यसबारे त भारतले नै आफ्नो तर्फबाट बोल्नेछ। यो विषय उठाउन नेपालका लागि जरुरी छैन।’’

तस्बिर स्रोत, @JOSHIPRALHAD/TWITTER
कुराकानीका क्रममा उनले यो ठूलो विवादको विषय समेत नरहेको सङ्केत गरेका छन्।
‘‘…फेरि यो सीमाको विषय पनि होइन। आजभन्दा २,५०० वर्षभन्दा पहिले गणराज्यको नाम अङ्कित गरिएको छ भनेर फेसबुकमा आएको छ। त्यसकारण यस मामिलामा हाम्रो कुनै कुराकानी भएको छैन।’’
आज तककी संवाददाताले साउदलाई त्यसमा प्रतिप्रश्न गर्दै सोधेकी छन्: र यसबारे (नेपालको) कुनै गम्भीर चिन्ता पनि छैन?
परराष्ट्रमन्त्रीले "कुरै नभएको विषयमा म के भनूँ" भनेर जबाफ फर्काएका छन्।
सामाजिक सञ्जालमा अन्तर्वार्ताको उक्त अंश भाइरल भएसँगै त्यसबारे तीव्र टिप्पणीहरू पनि आएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री शरदराज पाठकले ट्विटरमा अन्तरवार्ताको अंश शेअर गर्दै देशको परराष्ट्र नीतिको आलोचना गरेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1
त्यस्तै एकजना ट्विटर प्रयोगकर्ता मानवी पौडेलले अन्तर्वार्तालाई ‘बफेलो डिप्लोमेसी’को सङ्ज्ञा दिएकी छन्।
प्रचण्डको भारत भ्रमणका क्रममा भारतले नेपाललाई मुर्रा राँगा उपहार दिएको थियो।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2
विपक्षी दलका नेता के भन्छन्?
विदेश मामिलाबारे जानकारहरूले पनि परराष्ट्रमन्त्रीको प्रस्तुतिलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन्।
प्रमुख प्रतिपक्षी नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराई कुन युगको नक्सा के थियो भनेर खोज्दा सबैको फरकफरक नक्सा पाइने बताउँछन्।
त्यसैकारण पछिल्लो अवस्थामा अर्को पक्षलाई असर पार्ने कुरा कति न्यायोचित र उपयुक्त हो भन्ने प्रश्न उठ्ने गरेको उनको भनाइ छ।
‘‘दोस्रो विश्वयुद्ध अगाडिसम्म त जो बलियो थियो उसले सीमा निर्धारण गरेर आएको स्थिति हो। पछि … नेपाल र भारतबीचमा नेपाल र चीनबीचमा … हामीले त लडेर हाम्रो सीमा निर्धारण गरेर आएको विषय हो। त्यो बेलादेखि निर्धारण भएका यी कुराहरू त्यसले के असर गर्छ भन्ने कुरा पटक्कै नहेरी, जबरजस्ती रूपमा विश्व सम्पदा सूचीमा परेका, आस्थाको केन्द्र बनेको लुम्बिनी जस्तो भूभागलाई जबरजस्ती यस्तो थियो भनेर राख्ने कुरा (...त्यो फेरि तथ्य भन्दा बाहिरको कुरो ),’’ भट्टराईले भने।
‘‘…र सम्पदाका हिसाबले, संस्कृतिको हिसाबले हामीले त्यो भनेको भन्ने उहाँहरूको तर्क आफैमा बेठिक छ। संस्कृति र सम्पदाको कुरो त नक्सामा परिणत गरिँदैन नि। सम्पदा, संस्कृति, प्रभावको कुरो त संसारभरि सबैको पुगेको छ। अब त्यसो भए सबैले आ आफ्नै नक्सा बनाएर युरोप अमेरिकीहरूले मेरो संस्कृति, प्रभाव यो ठाउँ सम्म पुगेको छ भन्ने कुरा हुन्छ र? चिनियाँहरूले आफ्नो सभ्यता र संस्कृति यहाँसम्म पुगेको थियो भनेर निकाल्न थाल्दा त्यसले कस्तो परिस्थिति उत्पन्न गर्छ।’’

तस्बिर स्रोत, FACEBOOK/RAJANBHATTARAI
भट्टराई थप्छन्, ‘‘यस्ता संवेदनशील विषयहरूमा जुन असंवेदनशील र एक किसिमले हेपाहा खालको प्रवृत्ति भारतीय पक्षबाट भएको छ, यो विषय यसरी गर्नु हुँदैन, आजको समय अनुसार जानुपर्छ भन्ने कुरा हामीले बोल्न नसक्ने, बोल्नुपर्दैन भनेर जसरी उहाँहरूले एकदमै हलुका बनाइदिनुभएको छ त्यसप्रति हाम्रो सहमति छैन।’’
मित्रराष्ट्रसँग आफ्ना जायज कुराका बारेमा, उठेका विवादका विषयमा कसरी मित्र हुन सकिन्छ भन्ने प्रश्न पनि उनले तेर्स्याएका छन्। भारत भन्ने भूगोलको राज्य नै नभएका बेलाका कुरा जोडेर, सभ्यता यस्तो थियो भनेर ‘अपमान गर्ने’ काम गरिनु हुँदैन भन्न नेपालले सक्नुपर्ने तर्क उनको छ।
‘‘…हामीले त्यो भन्न सक्नु पर्छ, भन्नुपर्छ र जायज कुराका बारेमा मित्रराष्ट्रहरूसँग राष्ट्रिय हित र जनताका हितका विषयमा बोल्ने कुरालाई नाफा घाटा हुन्छ भनेर राष्ट्रको प्रतिनिधित्व गरिरहेको छु भन्ने मान्छेले, मुलुकको हितमा काम गर्छु भनेर शपथ खाएको … त्यो कुर्सीमा बसेको व्यक्तिहरूले त्यो भन्दा पृथक् र गैर जिम्मेवार ढङ्गले प्रस्तुत हुनु हुँदैन भन्ने हाम्रो भनाइ हो,’’ भट्टराईले थपे।


‘गहिरो अध्ययनबिना बोल्दा देशलाई अहित हुनसक्छ’

तस्बिर स्रोत, FACEBOOK/DIRD
त्रिभुवन विश्वविद्यालयस्थित अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका उपप्राध्यापक प्रेम खनाल परराष्ट्रमन्त्री साउदले भारतको संसद् भवनमा राखिएको भित्तेचित्रबारे पर्याप्त अध्ययन नगरी सञ्चारमाध्यममा अभिव्यक्ति दिएको ठान्छन्।
‘‘उहाँले यो विषयलाई गम्भीर रूपमा लिएको जस्तो देखिएन। अरू साथीभाइहरूसँग गफ गरे जस्तो सामान्य रूपमा बोल्नुभएको छ, जति संवेदनशील विषयवस्तु हो त्यसको अर्थ नबुझी,’’ उनले भने।
कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा परराष्ट्रमन्त्रीको अभिव्यक्तिलाई कतिपय अवस्थामा देशकै आधिकारिक बोली मानिने हुँदा विदेशमा गएका बेला त्यस्तो अभिव्यक्ति दिन नहुने उनी बताउँछन्।
यद्यपि सबै अवस्थामा सञ्चारमाध्यमसँग गरिएका कुराकानी सरकारको आधिकारिक धारणा भने नहुने खनालको भनाइ छ।
विगतमा पनि प्रचण्डले भेनेजुएला प्रकरणमा विवादास्पद अभिव्यक्ति दिएपछि परराष्ट्र मन्त्रालय अप्ठ्यारो अवस्थामा परेको थियो।
‘‘पछि परराष्ट्र मन्त्रालयले सच्याउँदै बस्नुपर्यो। त्यही भएर परराष्ट्र मन्त्रालयलाई सच्याएर बस्ने मन्त्रालय भनेर टिप्पणी गर्न थाले। अहिले पनि परराष्ट्रले उनको अभिव्यक्ति सच्याउनुपर्ने होला। त्यसकारण यसबाट परराष्ट्रमन्त्रीले सोच विचार मात्र गरेर बोल्नुपर्छ भन्ने शिक्षा लिनुपर्यो,’’ खनालले थपे।
‘‘जिम्मेवार ओहोदामा बसेका मान्छेले देशलाई अहित हुनसक्छ भन्ने कुरा बुझ्नुपर्छ।’’
प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको अभिव्यक्तिमा किन भिन्नता भयो?

तस्बिर स्रोत, RSS
परराष्ट्रमन्त्रीले भारतीय टेलिभिजन च्यानलसँगको अन्तर्वार्तामा भित्तेचित्रबारे आफूहरू जानकार नरहेको बताएको भए पनि प्रधानमन्त्री प्रचण्डले भने आफूले त्यसबारे कुराकानी भारतीय पक्षसँग उठाएको बताएको विवरण सञ्चारमाध्यमहरूमा प्रकाशन भएका छन्।
प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले भित्तेचित्रको विषय प्रधानमन्त्रीको भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँगको छलफलका क्रममा उठाएको बीबीसीलाई बताएका छन्।
‘‘अजित डोभालसँगको कुराकानीका क्रममा कुरा के हो भनेर बुझ्न खोजेको हो। यस्तो कुरा उठिरहेको छ भन्ने कुरा उठाएको हो … क्लिएर (स्पष्ट) हुनुपर्यो भनेर,’’ गजुरेलले भने।
तर त्यसले त अलि अस्पष्ट पार्यो नि, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले फरक फरक कुरा गर्दा भन्ने बीबीसीको प्रश्नमा गजुरेलले भने: ‘‘डोभालसँग भएको (प्रधानमन्त्रीको) कुरा थाहा नभएको पनि हुन सक्छ।’’
त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक खनाल संसदीय व्यवस्थामा प्रधानमन्त्रीको बोली बढी आधिकारिक हुने बताउँछन्।

तस्बिर स्रोत, RSS
संयुक्त सरकारमा प्रधानमन्त्री र परराष्ट्रमन्त्री फरक फरक विचार भएका दलहरूबाट हुँदा यस्तो समस्या उत्पन्न हुनसक्ने उनी बताउँछन्।
‘‘प्रधानमन्त्री र परराष्ट्रमन्त्री एउटै दलको भए अन्तर्राष्ट्रिय फोरमहरूमा यस्तो विवाद नआउन सक्छ। अर्को कुरा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीबीच कूटनीतिक विषयहरूमा घनिभुत छलफल हुनुपर्छ। भारत यात्राकै क्रममा हुनुपर्ने जति छलफल तथा के बोल्ने के नबोल्ने विषयमा पनि तयारी भएको देखिएन,’’ खनालले भने।
कतिपयले भारत भ्रमणका क्रममा सबैजस्तो विषयमा प्रधानमन्त्री सक्रिय भएकोले मन्त्री तथा उच्च सरकारी अधिकारीहरू नै अलमलमा परेको समेत बताइरहेका छन्।
तर पूर्वप्रधानमन्त्री केपी ओलीका परराष्ट्र मामिला सल्लाहकार भट्टराई यस्तो भ्रमणमा परराष्ट्र मन्त्रीको भूमिका गौण हुनु स्वाभाविक ठान्छन्।
उनी भन्छन्: ‘‘तर आफू भ्रमण दलमा सहभागी भएर प्रधानमन्त्रीले के बोल्नुहुँदैछ भन्ने परराष्ट्रमन्त्रीसँग समन्वय नभएको देखिन्छ। यस्तो हुनुले त हाम्रो हालत दर्शाउँछ, हाम्रो सरकार, सञ्चालन प्रक्रिया कस्तो भएको छ भन्ने कुराको उदाहरण हो।’’








