डेङ्गी र अरू रोग नियन्त्रण गर्ने उपाय 'लामखुट्टेलाई सुन्न नसक्ने बनाएर समागम गर्न नदिने'

    • Author, मिशेल रोबर्ट्स
    • Role, डिजिटल हेल्थ सम्पादक, बीबीसी न्यूज

डेङ्गी, येलो फीभर र जीकाजस्ता लामखुट्टले सार्ने रोग नियन्त्रण गर्न एउटा अस्वाभाविक उपाय उपयोगी हुन सक्ने वैज्ञानिकहरूले बताएका छन्। उक्त उपायमा भाले लामखुट्टेहरूलाई सुन्न नसक्ने बनाएर तिनलाई समागम गर्न कठिन हुने बनाइन्छ।

लामखुट्टेहरूले हावामा उड्दै गर्दा समागम गर्छन्। पोथीलाई पछ्याउन भाले लामखुट्टे आफ्नो श्रवणशक्तिमा भर पर्छ। पोथीका आकर्षक पखेटाबाट निस्किने आवाज सुन्दै भाले लामखुट्टेहरू पोथी भेट्न उड्छन्।

भाले लामखुट्टेको श्रवणमा प्रयोग हुने जीवरासायनिक प्रणालीमा आनुवंशिक परिवर्तन गरेर हेर्दा त्यसको प्रभावकारिता देखिएको हो। पोथीहरूसँग एउटै पिँजडामा राख्दा सुन्ने क्षमता गुमाएका भाले लामखुट्टेहरूले तीन दिनपछि पनि संसर्ग गरेनन्।

भालेले नभई पोथी लामखुट्टेहरूले मानिसहरूमा विभिन्न रोग सार्छन्। लामखुट्टेको प्रजननमा बाधा पुर्‍याई सन्तान उत्पादन गर्न नदिँदा लामखुट्टेको सङ्ख्या घटाउन सहयोग पुग्छ।

अर्भिनस्थित यूनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकहरूले 'एडीज एजिप्टी' प्रजातिको लामखुट्टेमा यो अध्ययन गरेका थिए।

सो प्रजातिको लामखुट्टेले प्रत्येक वर्ष विश्वभरि ४० करोड मानिसलाई विभिन्न भाइरस सार्छ।

वैज्ञानिकहरूको समूहले यी लामखुट्टेको समागमसँग सम्बन्धित व्यवहार नजिकैबाट हेरेर। समागमको प्रक्रिया केही सेकन्डदेखि एक मिनटभन्दा कम समयमै सकिन्छ।

वैज्ञानिकहरूले आनुवंशिक परिवर्तन गरेर उक्त क्रियालाई कसरी बिथोल्न सकिन्छ भन्ने उपाय खोजेका थिए।

उनीहरूले श्रवणका लागि अत्यावश्यक देखिएको 'टीआरपीभीए' (trpVa) नामक प्रोटीनलाई लक्ष्य बनाएका थिए।

सामान्यतया ध्वनि पत्ता लगाउने स्नायुकोषहरूले उत्परिवर्तन भएका लामखुट्टेहरूमा पोथी लामखुट्टेहरू उड्दा र तिनका पखेटा बज्दा पनि कुनै प्रतिक्रिया देखाएनन्।

ती भाले लामखुट्टेहरूले पोथीको त्यो ध्वनि सुन्दै सुनेनन्।

तर कुनै परिवर्तन नगरिएका भाले लामखुट्टेहरूले चाँडै र पटकपटक पोथीहरूसँग संसर्ग गरे। तिनले पिँजडामा भएका लगभग सबै पोथीलाई निषेचन गराए।

सान्टा बार्बरास्थित यूनिभर्सिटी अफ क्यालिफोर्नियाका अनुसन्धानकर्ताहरूका अनुसार 'जीन' हटाउने कार्य निकै प्रभावकारी देखियो किनभने श्रवणशक्ति गुमाएका कुनै पनि भालेले संसर्ग गर्न सकेनन्। उनीहरूले 'पीएनएएस' जर्नलमा आफ्नो शोध प्रकाशित गरेका छन्

जर्मनीस्थित ओल्डेन्बर्ग विश्वविद्यालयका डा योर्ग आल्बर्ट लामखुट्टेको समागमको विषयका विशेषज्ञ हुन्। बीबीसी न्यूजले उनलाई यो अनुसन्धानको महत्त्वबारे सोधेको थियो।

उनका अनुसार ध्वनि अनुभूति गर्ने इन्द्रियलाई आक्रमण गर्नु लामखुट्टे नियन्त्रण गर्ने प्रभावशाली उपाय हो। तर यसबारे अध्ययन र व्यवस्थापन हुनुपर्ने उनी ठान्छन्।

"यो अध्ययनले श्रवण लामखुट्टेको प्रजननका लागि महत्त्वपूर्ण मात्र नभई अत्यावश्यक भएको पहिलो तात्त्विक परीक्षण उपलब्ध गरायो," उनले भने।

"भालेहरूमा सुन्ने र ध्वनिबाट आकर्षित भई पोथीतिर जाने क्षमता नहुँदा पोथी लामखुट्टेहरू मासिन सक्छन्।"

लामखुट्टेका कारण सर्ने रोगहरू फैलिएका स्थानहरूमा प्रजनन गर्न नसक्ने भाले लामखुट्टेहरूलाई छोड्ने विधिबारे पनि अध्ययन भइरहेको उनले बताए।

लामखुट्टेहरूले रोग सार्ने भए पनि प्रकृतिमा जीवहरूको विद्यमान भोजन शृङ्खलामा तिनको महत्त्व छ। माछा, चराचुरुङ्गी, चमेरा र भ्यागुताले लामखुट्टे र तिनका लार्भा खान्छन्। केही लामखुट्टेले वनस्पतिहरूमा परागसेचन गराउँछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।