भदौको आन्दोलनबाट उदाएका नेताहरू सांसद बन्ने दौडमा

माथिल्लो लहरमा बायाँबाट क्रमशः रक्षा बम, सुधन गुरुङ, भावना राउत र पुरुषोत्तम यादव; तल बायाँबाट क्रमशः उपार्जङ चाम्लिङ, किशोरी कार्की, टासी लाजोम, केपी खनाल र भूपदेव शाह
    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

भदौ २३ गतेको जेन जी प्रदर्शनका लागि अनुमति लिन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार बनेका छन्।

यादवसँगै जेन जी आन्दोलनपछि सरकारको मन्त्री बन्ने चर्चामा आएकी अर्की नवयुवा टासी लाजोम पनि त्यही दलबाट समानुपातिक उम्मेदवार बनिन्। तर जेन जी आन्दोलनसँगै चर्चामा आएका कैयौँ अनुहारहरू कुनै पनि दलको बन्दसूचीमा समेटिएका छैनन्।

कतिपय जेन जी अगुवाहरूले प्रत्यक्ष चुनाव लड्नेबारे छलफल गरिरहेका छन्। तर धेरैजसो जेन जी अगुवाहरू आगामी फागुनका लागि तोकिएको चुनावमा आफैँ उम्मेदवारी दिने तयारी नरहेको बताउँछन्।

जेन जी प्रदर्शनका लागि अनुमति लिएका यादवजस्तै अर्का अगुवा मिराज ढुङ्गानाले आफूले आगामी निर्वाचनमा भाग नै नलिने बताउँदै आएका छन्। उनले दल खोल्ने घोषणा गरे पनि निर्वाचन आयोगमा कुनै दल दर्ता गराएनन्।

जेन जी अभियानपछि चर्चामा आएको अर्को नाम हो रक्षा बम।

बीबीसीसँग एक साताअघिको कुराकानीमा बमले आफू कैलालीबाट प्रत्यक्ष चुनाव लड्ने सोचमा रहेको बताएकी थिइन्।

"(कहाँबाट उम्मेदवार बन्ने) अहिले टुङ्गो लागिसकेको छैन। तर म चुनाव नै लड्ने हो," रास्वपामा बालेन र कुलमान घिसिङसहितको शक्ति मिल्नुअघि बमले भनेकी थिइन्।

काठमाण्डू महानगरपालिकाका मेअर बालेन शाहकै समूहमा रहेर राजनीतिमा आउने बताएकी बम बालेन प्रधानमन्त्रीको उम्मेदवार रहने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीमा भने खुलेर देखिएकी छैनन्।

रक्षा बम

जेन जी प्रदर्शनपछि राष्ट्रिय परिचयपत्रबाट मतदाता नामावलीमा दर्ताका लागि सहजीकरण गर्न सक्रिय देखिएकी भावना राउत पनि प्रत्यक्ष चुनाव लड्ने सोचमा आफू रहेको बताउँछिन्।

"मेरो इच्छा प्रत्यक्ष चुनाव लड्ने हो। राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने भएर समानुपातिकमा बस्न पनि साथीहरूको सुझाव चाहिँ थियो। तर समानुपातिकको बन्दसूची आयोगमा पुगिसकेको छ," राउतले बीबीसी न्यूज नेपालीसँग भनिन्।

यसअघिका निर्वाचनहरूमा चुनावी रणनीतिकारका रूपमा विभिन्न उम्मेदवारहरूलाई सघाएकी राउत पछिल्लो पटक तनहुँमा भएको उपनिर्वाचनमा रास्वपाका स्वर्णिम वाग्लेको प्रचारप्रसारमा संलग्न थिइन्। राउत अहिले तीन वटा वैकल्पिक राजनीतिक शक्तिहरू मिलेर बनेको राष्ट्रिय स्वतन्त्र पार्टीमा खुलेकी छन्।

को कहाँबाट उठ्लान्?

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले यसअघि चुनाव लड्दै आएको झापा-५ मै आफ्नो घर भएका कारण त्यही क्षेत्रबाट चुनाव लड्ने योजना आफूले बनाएको राउत बताउँछिन्।

"बालेनजी पनि त्यहाँबाट चुनाव लड्ने कुरा भइरहेको छ। यदि उहाँ त्यो क्षेत्रमा आउनुभयो भने म अरू कुनै क्षेत्र जान पनि सक्छु," उनले भनिन्।

भावना राउत

तस्बिर स्रोत, PMO

काउन्सिल अफ जेन जीका संयोजक सुधन गुरुङले गोरखाबाट चुनाव लड्नेबारे आफूनिकटहरूसँग छलफल गरिरहेको जेन जी अगुवाहरू बताउँछन्। तर यसबारे बीबीसीको जिज्ञासामा गुरुङले कुनै जबाफ दिएनन्।

पछिल्लो समय देशैभरि नवयुवाहरूको सञ्जाल बनाउन लागिरहेको बताउने गुरुङले रास्वपालाई समर्थन गर्दै फेसबुकमा पोस्ट गरेका थिए।

बालेन र सुधन गुरुङ

तस्बिर स्रोत, Balen/FB

काठमाण्डू महानगरका मेअर बालेनका निकट सहयोगी तथा युवा नेता भूपदेव शाहले आफू पनि प्रत्यक्षतर्फ उम्मेदवार बन्ने तयारीमा रहेको बताए।

"मेरो घर अछाम-२ मा पर्छ। म त्यहीँबाट चुनाव लड्ने सोचमा छु। टीममा छलफल हुँदा अर्को ठाउँबाट लड्ने कुरा भयो भने मात्रै, नभए मेरो तयारी अछामकै छ," शाहले भने।

पछिल्लो समय बालेननिकटको रूपमा चिनिएका सफाइ अभियानकर्मी केपी खनाल पनि प्रत्यक्ष चुनाव लड्ने योजनामा रहेको बताउँछन्।

"मैले आफ्नो घर रहेको कैलालीमा सामाजिक कामहरू गरिरहेको छु। त्यहाँका जनताले बोलाए भने चुनाव लड्ने सोचमा छु। आफू नेता र सांसद बन्नका लागि मात्रै म चुनाव लड्ने विचार छैन," उनले भने।

जेन जी प्रदर्शनका क्रममा गरेको भाषणबाट चर्चामा आएका प्रवेश दाहालले आफ्नो उमेर नपुगेका कारण आगामी निर्वाचनमा आफूले जेन जी आन्दोलनको भावनालाई सम्बोधन गर्न सक्ने उम्मेदवारलाई समर्थन गर्ने बताए।

"उम्मेदवार हुन मेरो उमेर पुगेको छैन। म जेन जीको भावना प्रतिनिधित्व गर्ने वैकल्पिक दलका युवा उम्मेदवारलाई सघाउँछु," उनले भने।

समानुपातिक उम्मेदवार सूचीप्रति असन्तुष्टि

उपार्जङ चाम्लिङ

तस्बिर स्रोत, UparjunChamling/FB

जेन जी अगुवा रिजन रानामगर पनि फागुन २१को निर्वाचनमा उम्मेदवार बन्ने पक्षमा छैनन्। उनले समावेशितालाई सम्मान गर्ने र आफूले विश्वास गर्न सक्ने सक्षम उम्मेदवारलाई चुनावमा सघाउने बताए।

"आम जनतालाई मताधिकारको सुसूचित उपयोग गर्न सिकाउनका लागि अभियान चलाउने र उम्मेदवारहरूबीच बहस चलाउने मेरो योजना छ," गोरखाका रानामगरले भने।

उनीजस्तै अर्का जेन जी अगुवा प्रदीप ज्ञवाली पनि आफू चुनावमा उम्मेदवार बन्ने योजनामा नरहेको बताउँछन्। ज्ञवालीले आफू कुनै पनि दलमा आबद्ध समेत भइनसकेको बताए।

खोटाङका उपार्जुन चाम्लिङ जेन जी आन्दोलनबाट चिनिएका सक्षम नवयुवाहरू समानुपातिकतर्फबाट उम्मेदवार बन्न नहुने विचार राख्छन्।

"मलाई पनि साथीहरूले समानुपातिक सूचीमा नाम राख्छौँ भनेका थिए। तर म प्रत्यक्षतर्फ नै उठ्छु भनेको छु तर कुन दलबाट उठ्छु भन्ने निश्चित भइसकेको छैन," चाम्लिङ भन्छन्।

"समानुपातिक प्रणाली जुनसुकै समुदायका पनि छुटाउनै नहुने साथीहरूका लागि हो। अहिले वैकल्पिक शक्तिले समानुपातिकमा राखेका उम्मेदवार पनि मलाई ठिक लागेको छैन।"

उनले आफू धरानमा सामाजिक काममा सक्रिय भएका कारण त्यही क्षेत्रबाट उम्मेदवार बन्न इच्छुक रहेको बताएका छन्।

जेन जी आन्दोलनमा घाइतेलाई मोटरसाइकलमा अस्पताल पुर्‍याएर चर्चामा आएकी किशोरी कार्कीले ओखलढुङ्गाबाट उम्मेदवारी दिने तयारी गरेकी छन्। उनले प्रत्यक्षतर्फ उम्मेदवारी दिने घोषणा गरेकी छन्।

"म कुलमान घिसिङज्यूको उज्यालो नेपाल पार्टीबाट चुनाव लड्ने योजनामा थिएँ। उहाँको पार्टी नै रास्वपामा गएपछि मैले कुनै पार्टीबाट उम्मेदवारी दिने वा स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरिसकेको छैन," ओखलढुङ्गामै रहेकी कार्कीले बीबीसी न्यूज नेपालीसँग टेलिफोनमा भनिन्।

सरकारमा युवा तथा खेलकुद मन्त्री रहेका बब्लु गुप्ताले पनि सिराहाबाट उम्मेदवारी दिने चर्चा छ। तर बीबीसीले त्यसबारे राखेको जिज्ञासामा मन्त्री गुप्ताले कुनै जबाफ दिएका छैनन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।