तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
रुस-युक्रेन युद्ध: 'ट्रम्प र पुटिनबीच भेट नभई युक्रेन शान्ति वार्ता सफल हुन्न'
- Author, जेसिका रन्स्ली
- Role, बीबीसी न्यूज
अमेरिकी विदेशमन्त्रीले टर्कीमा हुन लागेको युक्रेन-रुस शान्तिवार्ताप्रति आफ्नो धेरै अपेक्षा नरहेको भन्दै उक्त मुद्दामा प्रगति हुनका निम्ति अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेट हुनु आवश्यक भएको बताएका छन्।
"राष्ट्रपति ट्रम्प र राष्ट्रपति पुटिनबीच यो विषयमा प्रत्यक्ष अन्तर्क्रिया नभईकन यहाँ कुनै निर्णायक उपलब्धि हुन्छ जस्तो मलाई लाग्दैन," दक्षिणी टर्कीमा नेटोका विदेशमन्त्रीहरूबीच भएको बैठकपश्चात् विदेशमन्त्री मार्को रुबियोले बताए।
जेलेन्स्की किन असन्तुष्ट?
इस्तानबुलमा हुन लागेको रुस-युक्रेन वार्तामा आफ्नो देशले प्रतिनिधिमण्डल पठाउन लागेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुष्टी गरे।
तर उनले मस्कोले 'तल्लो स्तर'को प्रतिनिधिमण्डल पठाउन लागेको भन्दै असन्तुष्टि प्रकट गरे।
रुसी प्रतिनिधिमण्डललाई राष्ट्रपति पुटिनका सल्लाहकार भ्लादिमिर मेदिन्स्कीले अगुवाइ गर्दै छन्। उनले क्रेम्लीनको वार्ता टोलीसँग 'सबै आवश्यक योग्यता भएको' बताए।
ट्रम्पको टिप्पणी
यसअघि मध्यपूर्वको भ्रमणमा रहेका ट्रम्पले आफू र पुटिनबीच प्रत्यक्ष भेटघाट नभईकन शान्तिवार्तामा उल्लेखनीय प्रगति हुन नसक्ने टिप्पणी गरे।
एअर फोर्स वनमा बीबीसीले उनलाई रुसी प्रतिनिधिमण्डलको स्वरूप देखेर निराशा उब्जिएको छ कि भनेर सोधेको थियो। ट्रम्पले जबाफ दिँदै भने – "हेर्नुहोस्, म र पुटिन सँगै नभईकन केही पनि हुने वाला छैन।"
"म नगईकन उनी आउँदैन थिए। तपाईँलाई मन परे पनि नपरे पनि उनी र म नभईकन केही होला भन्ने मलाई विश्वास छैन," ट्रम्पले भने।
"तर हामीले यो समाधान गर्नै पर्छ किनभने धेरै मानिस मरिरहेका छन्।"
ट्रम्पले उचित भए शुक्रवार टर्कीमा हुने वार्तामा आफू सहभागी हुने बताए तर फेरि आफू वाशिङ्टन नै फर्कने बताए।
टर्कीको वार्ता किन महत्त्वपूर्ण?
बिहीवार टर्कीको इस्तानबुलमा टर्की, अमेरिका, युक्रेन र रुसका टोलीहरू भेट्दै छन्। सन् २०२२मा भएको प्रत्यक्ष वार्तापछि युक्रेन-रुसबीच हुन लागेको यो पहिलो भेट हो।
कुन समयमा वार्ता हुने भन्ने बताइएको छैन। केही विवरणमा वार्ता शुक्रवार हुने पनि भनिएको छ।
युरोपेली नेताहरू तथा युक्रेनले ३० दिन निशर्त युद्धविराम गर्न आह्वान गरेको जबाफमा भ्लादिमिर पुटिनले मे १५ मा इस्तानबुलमा प्रत्यक्ष वार्ताको प्रस्ताव राखेका थिए।
जेलेन्स्कीले पुटिनलाई प्रत्यक्ष भेट्न चुनौती दिएका थिए तर इस्तानबुल भ्रमण गर्ने रुसी टोलीको सूचीमा पुटिनको नाम राखिएन।
रुसी टोलीमा कनिष्ठहरूमात्र सहभागी गराएर मस्कोले टर्कीका राष्ट्रपति अर्दोआन अनि ट्रम्पको समेत बेइज्जत गरेको जेलेन्स्कीको आरोप छ।
तर रुसी टोली नेता मेदिन्स्कीले चाहिँ अहिले हुन लागेको वार्ता सन् २०२२ मा विफल भएको दुई देशको शान्ति वार्ताकै निरन्तरता भएको बताए।
"युक्रेनी पक्षसँगको प्रत्यक्ष कुराकानीको उद्देश्य ढिलोचाँडो द्वन्द्वको मूल कारण सम्बोधन गरेर दीर्घकालीन शान्ति स्थापना गर्नु नै हो," उनले भने।
युक्रेनी टोलीको नेतृत्व त्यहाँका रक्षामन्त्री रुस्तेम उमेरोभले गर्ने छन्।
रुसले युक्रेनलाई तटस्थ देश बन्नु पर्ने, उसको सेनाको आकार घटाइनु पर्ने अनि नेटो सदस्यताको रहर त्याग्नु पर्ने विषय उठाउने गरेको छ। तर युक्रेनले त्यसलाई आत्मसमर्पण सरह भन्दै अस्वीकार गर्दै आएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।