तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
टेस्ट राष्ट्र जिम्बाब्वेसँग नेपाल पराजित
कप्तान क्रायग इर्भान र सिन विलियम्सको शतकको मदतले जिम्बाब्वेले विश्वकप क्रिकेट छनोटको उद्घाटन खेलमा नेपाललाई ८ विकेटले पराजित गरेको छ।
घरेलु मैदान हरारे स्पोर्ट्स क्लबमा नेपाली बलरहरू कमजोर बनेपछि चुनौतीपूर्ण ठानिएको २ सय ९१ रनको लक्ष्य जिम्बाब्वेले ४४.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो।
टस हारेर पहिलो ब्याटिङ पाएको नेपालले कुशल भुर्तेलको ९९ रनसहित ८ विकेट गुमाउँदै २ सय ९० रन जोडेको थियो।
नेपाली ब्याटरहरुको उक्त इनिङ्सलाई धेरैले प्रशंसा गरे तापनि बलरहरू भने सोही अनुसार खेल्न नसकेपछि नेपालले टेस्ट राष्ट्र विरुद्ध खेलेको पहिलो खेलमा पराजय व्यहोर्यो।
नेपालको कमजोर बलिङ
तीव्र गतिका बलर सोमपाल कामीले जोयलोर्ड गुम्बीलाई एलबीडब्लु आउट गर्दै आठौँ ओभरमा पहिलो विकेट लिएका थिए।
अर्को अवसर गुलशन झाले निकालेको थियो। तर २२ रनमा खेलिरहेका वेस्ली मडभेरे क्याच करण केसीले फुत्काउन पुग्दा नेपालको विकेट लिने अवसर गुम्न पुग्यो।
२३.२ ओभरमा मडभेरेलाई झा ले नै आउट गरे। त्यति बेला दीपेन्द्र ऐरीले क्याच समाउन गल्ती गरेनन्।
तर त्यसपछि नेपालले अर्को विकेट पाउन सकेन।
खेल जिम्बाब्वेका खेलाडीहरूको पूर्ण नियन्त्रणमा देखिएको थियो। नेपाली बलरहरुले उनीहरूलाई कुनै पनि बेला दबाबमा राख्न सकिएको देखिएन।
बरु नेपाली खेलाडीहरूले फिल्डिङमा पनि एकपछि अर्को गल्ती गर्न पुगेको देखिएको थियो।
यता कप्तान इर्भान (१२१ रन) सँगै सिन विलियम्स (१०२ रन) ले उत्कृष्ट साझेदारी गर्दै टोलीलाई जित तिर दोहोर्याए।
यो पराजयसँगै नेपालको सुपर सिक्समा पुग्ने यात्रामा चुनौती थपिएको छ।
वेस्ट इन्डिज, नेदरल्याण्डस र अमेरिका रहेको समूह ए बाट शीर्ष ३ मा रहन नेपाललाई अब कठिन हुन सक्छ।
भुर्तेलको ऐतिहासिक इनिङ्स र पीडा
९९ रनमा 'बोल्ड' भई मैदान छोड्नु पर्दाको पीडा भुर्तेलको अनुहारमा स्पष्ट देखिन्थ्यो।
एक रन बढी जोड्न सकेको भए उनी टेस्ट राष्ट्रविरुद्ध शतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर बन्ने थिए।
भुर्तेलले शतक बनाउन खोजिरहेका बेला मौकामा विलिङटन मसाकाड्जाले 'योर्कर' बल फ्यालेर उनलाई बोल्ड गरिदिए।
यति बेला ३१.५ को खेल चलिरहेको थियो।
व्यक्तिगत रूपमा भुर्तेलका लागि यो नमज्जाको क्षण थियो। उनले ९५ बलको सामना गर्दै १३ चौका र २ छक्का प्रहार गरे।
भुर्तेल आजको खेलमा भाग्यमानी रहनुमा जम्मा एक रन बनाएर खेलिरहेको बेला उनले एकपटक झण्डै आउट हुनबाट जोगिएका थिए।
तेज गतिका बलर रिचर्ड नगाराको 'एज' लागेको बल स्लिपमा बसिरहेका सिकन्दर राजाले क्याच लिन छुटाएका थिए।
राजाको त्यो गल्ती जिम्बाब्वेको लागि ठूलो नोक्सानी बन्न पुग्यो।
शतक पूरा भएको भए त्यो भुर्तेलको करिअरको दोस्रो एक दिवसीय शतक पनि हुने थियो।
ऐतिहासिक साझेदारी
भुर्तेल र शेखले नेपालको लागि अहिलेसम्मकै उत्कृष्ट साझेदारी गर्दै टोलीलाई निकै नै मजबुत सुरुआत दिलाएका हुन्।
यी जोडीको ऐतिहासिक प्रदर्शन नै नेपालको उच्च स्कोर जोड्ने आधार बनेको थियो।
उनीहरूले पहिलो विकेटका लागि ३१.५ ओभरमा १ सय ७१ रनको साझेदारी गरेका हुन्।
यो नेपालको एक दिवसीय क्रिकेटमा कुनै पनि विकेटका लागि हालसम्म बनेको उच्च साझेदारी हो।
यसअघिको उच्च साझेदारी १ सय ३९ रनको थियो।
जुन गत फेब्रुअरीमा कीर्तिपुरमा भएको विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा ज्ञानेन्द्र मल्ल र आसिफ शेखले दोस्रो विकेटका लागि बनाएका थिए।
भुर्तेललाई मजबुत साथ दिएका ओपनर शेखले १ सय बल खेल्दै ६६ रन बनाए। एक सय बल खेलेर ७ चौका प्रहार गरेका शेखलाई पनि मसाकाड्जाले नै आउट गरेका थिए।
३ रनको अन्तरमा उनीहरू आउट भए। तर ३४ ओभरको खेल पूरा भएको त्यो बेलामा नेपाल बलियो स्थितिमा थियो।
अन्तिममा चलेनन् नेपाली ब्याटर
आइतवारको खेलमा नेपालका लागि मध्य क्रमका खेलाडीहरूले भने ठूलो स्कोर जोड्न नसकेको देखिन्थ्यो।
खेलाडीहरूले खासगरी अन्तिम १० ओभरमा खेलमा नियन्त्रण गुमाएको देखियो।
अन्तिम पाँच ओभरमा नेपाली टोलीले एउटा मात्र चौका प्रहार गर्न सक्यो भने त्यसबिचमा चार विकेट गुमाउन पुगेको थियो।
गुलशन झाले १३ रन, आरिफ शेख १०, दीपेन्द्र सिंह ऐरीले अविजित ६, करण केसीले अविजित २ रन जोडे। भीम सार्की पहिलो बलमै आउट भए।
ललित नारायण राजवंशीको स्थानमा ऐरीलाई टोलीमा समावेश गरिएको थियो।