चक्रवात दाना : बङ्गालको खाडीमा बनेको समुद्री आँधीका कारण नेपालमा कस्तो असर

चक्रवात जमिनमा बज्रिनुअघि नै पश्चिम बङ्गालको राजधानी कोलकातामा पानी परेको छ

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, चक्रवात जमिनमा बज्रिनुअघि पश्चिम बङ्गालको राजधानी कोलकातामा वर्षा भएको छ
    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

भारतको पूर्वी तटीय क्षेत्रमा ठूलो आँधी र भीषण वर्षा निम्त्याउने ठानिएको एउटा चक्रवातको अप्रत्यक्ष असर नेपालको कोशी प्रदेशमा पनि पर्ने मौसमविद्हरूले बताएका छन्। उक्त समुद्री आँधीलाई 'दाना' नामकरण गरिएको छ।

नेपालको मौसम पूर्वानुमान महाशाखाले निकालेको बुलेटिनका अनुसार नेपालमा अहिले पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ भने बङ्गालको खाडीमा विकसित उक्त चक्रवातको आंशिक असर कोशी प्रदेशमा देखिएको छ।

नेपालसँग सीमा जोडिएको भारतको पश्चिम बङ्गाल राज्यमा उक्त चक्रवातको मार्गमा पर्ने विभिन्न ठाउँबाट झन्डै डेढ लाख मानिसलाई सुरक्षित ठाउँमा सारिएको भारतीय अधिकारीहरूले जनाएका छन्।

नेपाल उक्त चक्रवातको मार्गमा पर्दैन।

त्यसैले त्यसका अप्रत्यक्ष असरहरू मात्रै नेपालमा पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ अधिकारीले बताएकी छन्।

चक्रवात दानाको असर कस्तो हुन सक्छ

चक्रवात दानाको अनुमानित मार्ग

उक्त चक्रवात बिहीवार राति भारतको ओडिशा र पश्चिम बङ्गालका तटीय क्षेत्रमा बज्रिने अनुमान गरिएको छ।

भारत सरकारले बङ्गालका खाडीका मध्य र उत्तरी क्षेत्रमा माझीहरू समुद्रमा नजान भनेको छ। प्रभाव पर सक्ने ठानिएका क्षेत्रमा रेलसेवाहरू रद्द भएका छन् भने पश्चिम बङ्गालको राजधानी कोलकातामा रातिको समयमा १५ घण्टासम्म उडानहरू स्थगित गरिएको छ।

भारतको मौसम हेर्ने निकायका अनुसार बङ्गालको खाडीमा उक्त चक्रवातका कारण बिहीवार अपराह्णदेखि १२५ किलोमिटर प्रतिघण्टा वेगमा हावाहुरी आउन सक्ने तर त्यो बिस्तारै सुस्त हुँदै जाने जनाएको छ।

अबको केही घण्टामा पश्चिम बङ्गाल र ओडिशा राज्यमा भूमिमा पुग्ने उक्त चक्रवातले निम्त्याउने आँधीको गति १०० किलोमिटर प्रतिघण्टाभन्दा बढी रहने ठानिएको छ।

नेपालसम्म आइपुग्दैन

पश्चिम बङ्गालको बजार

तस्बिर स्रोत, Sudipta Das/NurPhoto via Getty Images

तस्बिरको क्याप्शन, पश्चिम बङ्गालका विद्यालयहरूमा शुक्रवारसम्म बिदा दिइएको छ

नेपालको जल तथा मौसम पुर्वानुमान महाशाखाकी वरिष्ठ डिभिजनल मौसमविद् प्रतिभा मानन्धरले बङ्गालको खाडीमा बन्ने चक्रवातहरू नेपालसम्म आइनपुग्ने र तिनबाट खासै ठूलो प्रभाव नपर्ने बताइन्।

“चक्रवात प्रवेश गर्ने भूभाग भारतमा रहेकाले त्यसको अप्रत्यक्ष असर मात्रै नेपालमा पर्ने देखिन्छ। हामी छेउछाउमा पर्ने प्रभाव भन्छौँ, त्यो कोशी प्रदेशमा मात्रै पर्ने र त्यहाँ हल्का खालको वर्षा हुने सम्भावना देखिन्छ, उनले भनिन्।

"बाँकी स्थानहरूमा बदली भए पनि यसले ठूलो वर्षा गराउने सम्भावना कम नै देखिन्छ।”

‘सिभिअर साइक्लोनिक स्टोर्म’ को वर्गमा राखिएको यस्तो चक्रवातका कारण जमिनको सतहमा आइपुग्ने आँधीको अधिकतम औसत गति ८९ देखि ११७ किलोमिटर प्रतिघण्टा हुने गर्छ।

नेपालमा अरू कस्तो प्रभाव

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार जमिनमा बज्रिएपछि यस्तो आँधीले तटीय क्षेत्रमा प्रभाव पार्छ।

“ती क्षेत्रमा त्यसको असर ठूलै हुन्छ। तर नेपालको हकमा त्यसको सोझो असर छैन। हिजो (बुधवार) नै त्यसले कोशी प्रदेशतिर बादल बढाएको छ। एक-दुई स्थानमा हल्का किसिमको पानी पार्न सक्छ। तर चक्रवातको रूपमा नरहे पनि त्यो न्यूनचापीय क्षेत्रका रूपमा एक-दुई दिन रहन्छ। त्यसले पनि केही असर पार्छ। तर कोशी, मधेश र बागमती प्रदेशमा नै त्यसको असर सीमित हुन सक्ने देखिन्छ।”

नेपालको मौसम पूर्वानुमान बुलेटिनका अनुसार बिहीवार कोशी प्रदेशसहित गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन अनि चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यसै गरी शुक्रवार र शनिवार कोशी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उक्त दिन कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली हुन सक्ने विभागले जनाएको छ।

मौसम अधिकारीहरूले उक्त चक्रवातका कारण नेपालमा आँधी आउने सम्भावना नरहेको बताएका छन्।

मौसमविद् अधिकारीले भने, “पश्चिम बङ्गाल माथिदेखि तलसम्म लामो छ। तर त्यहाँको पनि दार्जिलिङको भूभागतिर अनि नेपालका इलाम, ताप्लेजुङतिर कम असर गर्छ। त्यसको भन्नुको अर्थ अहिले बादल लागेको छ। भोलिसम्म हल्का वर्षा हुन सक्छ।”

चक्रवात जमिनमा बज्रिएपछि त्यसको शक्ति बिस्तारै क्षीण हुँदै जान्छ।

कोशी प्रदेशका तराई, पहाड र हिमाली भूभागमा नै सो चक्रवातको असर देखा पर्न सक्ने आकलन गरिएको छ।

मौसमविद् अधिकारीले भने, “माथि उच्च पहाडी हिमाली ठाउँहरूमध्ये एक-दुई ठाउँमा यसले हिमपात निम्त्याउन सक्छ।”

सुनसरीमा मशीनले धान काटिँदै

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, अहिले नेपालका अधिकांश स्थानमा धान भित्र्याउने तयारी हुँदै छ

पाकेको धान के होला

तराईका कतिपय जिल्लामा कृषकहरूले धान काट्न थालिसकेको समयमा सम्भावित वर्षाको चेतावनी आएको हो।

काटिसकेको धानमा वर्षाले नकारात्मक असर पुर्‍याउन सक्ने भन्दै मौसमविद्हरूले सावधानी अपनाउन भनेका छन्।

यसपालि सामान्य समयभन्दा तीन दिनअघि अर्थात् जुन १० मा मनसुन सुरु भएको थियो। साधारण समयभन्दा १० दिन ढिलो गरेर मनसुन अक्टोबर १२ मा नेपालबाट बाहिरिएको थियो।

सेप्टेम्बरको अन्तिम साता काठमाण्डू उपत्यकासहित देशका विभिन्न ठाउँमा भएको भीषण वर्षाले ठूलो जनधनको क्षति गराएको थियो। त्यसबेला बाढी र पहिरोका कारण २२५ जनाभन्दा बढीको मृत्यु भएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।