महिलाहरूलाई किन पुरुषभन्दा धेरै पिसाबको सङ्क्रमण हुन्छ, रोकथामका उपाय के हुन्

तस्बिर स्रोत, Getty Images
- Author, रेबेका थोर्न
- Role, ग्लोवल हेल्थ
शौचालय जाऊँ जस्तो हुन्छ, तर शौच लाग्दैन? पिसाब गर्दा पोले जस्तो हुन्छ? यदि हुन्छ भने यो तपाईँको पिसाबमा सङ्क्रमण भएको सङ्केत हुन सक्छ। त्यसलाई यूरिनरी ट्रयाक्सन इन्फेक्शन (यूटीआई) पनि भनिन्छ। यस्तो सङ्क्रमणले शौचको समयमा निकै कष्ट दिन्छ।
प्रत्येक वर्ष विश्वभरि ४० करोड मानिसहरूमा पिसाबको सङ्क्रमण विकास हुने आकलन गरिएको छ।
यस्तो सङ्क्रमणले दुवै लिङ्गका मानिसहरू र बालबालिकालाई पनि असर गर्न सक्ने भए पनि धेरैजसो महिला यसबाट पीडित हुन्छन्। विश्वका आधा महिलाहरूले आफ्नो जीवनकालको कुनै न कुनै क्षणमा पिसाबको सङ्क्रमणको सामना गर्छन्।
औषधिले जीवाणुविरुद्ध काम गर्ने क्षमता गुमाउने क्रम बढ्दै गएको अवस्थामा पिसाब सङ्क्रमणको उपचार कसरी प्रभावकारी रूपमा गर्न सकिएला भन्ने प्रश्न उब्जिएका छन्।
यो सङ्क्रमणबारे थाहा पाउनु पर्ने कुरा र रोकथामका लागि गर्न सकिने उपायबारे हामीले केही विज्ञहरूसँग कुरा गरेका छौँ।
पिसाबको सङ्क्रमण केले निम्त्याउँछ?
यूटीआई अर्थात् पिसाबको सङ्क्रमण मूत्रनली, मूत्रथैली वा केही गम्भीर अवस्थामा मिर्गौलामा पनि हुन सक्छ।
साधरणतया मूत्रनलीमा प्रवेश गरेका ब्याक्टेरियाले यो निम्त्याउने गर्छन्। ई.कोली जस्ता ब्याक्टेरियाहरू मलाशयभित्र वा वरपरको भागबाट आउँछन्।
महिला र बालिकाहरूको मूत्रनली पुरुषको तुलनामा छोटो हुने भएकाले उनीहरू यो भागमा हुने सङ्क्रमणको बढी जोखिममा हुन्छन्। यो छोटो बाटोबाट ब्याक्टेरिया मूत्रनलीमा सजिलै प्रवेश गर्न सक्छ।
रजोनिवृत्तिसँगै महिलाहरूको यौन ग्रन्थिसँग सम्बन्धित 'एस्ट्रोजन'को मात्रामा आउने कमीका कारण पाका महिलाहरूमा पिसाब सङ्क्रमण हुने जोखिम बढी हुन्छ। यो हर्मोनले सामान्यतया योनि क्षेत्रमा ब्याक्टेरियाको स्वस्थ सन्तुलन कायम राख्न मद्दत गर्छ। यसको मात्रा कम भएपछि त्यस्ता व्यक्ति सङ्क्रमणको बढी जोखिममा हुन्छन्।
लक्षण केके हुन्?
यूटीआईका लक्षण व्यक्तिअनुसार फरकफरक हुन्छन्। तर यूकेको न्याश्नल हेल्थ सर्भिस एनएचएसका अनुसार यसका प्रमुख लक्षणहरू निम्न छन् :
- पिसाब गर्दा दुखाइ वा पोल्ने
- अचानक पिसाबले च्याप्ने वा पिसाब लागिरहने
- पिसाब धमिलो देखिने
- पिसाबमा रगत देखिने
- तल्लो पेट दुख्ने वा करङको तल्लो भागमा ढाड दुख्ने
- शरीरको तापक्रम बढ्ने, वा गर्मी वा जाडो महसुस हुने र काम छुट्ने
- थकित वा कमजोर महसुस हुने
पिसाब सङ्क्रमण भएका वृद्ध अवस्थाका मानिसहरूले आफ्नो आनीबानीमा परिवर्तन महसुस गर्न सक्छन्। उनीहरूमा आक्रोश देखिने वा अलमल हुने, ओछ्यानमा पिसाब गर्ने र बान्ता गर्ने जस्ता समस्या देखा गर्छन्।
यूटीआई आफैँ निको हुन्छ?

तस्बिर स्रोत, Getty Images
"केही महिलाहरूलाई उसको कुनै उपचार चाहिँदैन। उनीहरूको प्रतिरोधी क्षमताले पिसाबको सङ्क्रमण आफैँ निको पार्छ। अनि केही महिलाहरूलाई चाहिँ एन्टिबायोटिक्स आवश्यक पर्छ," लन्डनस्थित विटिङ्टन अस्पतालका युरोजिनेकोलोजी राजविन्दर खसरिया भन्छिन्।
यी दुई वर्षमध्ये हामी कुनमा चाहिँ पर्न सक्छौँ भन्ने कुरा अझै प्रष्ट छैन।
एन्टिमाइक्रोबियल प्रतिरोध बढिरहेको विश्वमा यो अनुसन्धानकर्ताहरूका लागि खोजको एउटा महत्त्वपूर्ण प्रश्न हो।
एन्टिबायोटिक्स अत्यधिक सिफारिसका कारण जटिल बन्दै गएका प्रमुख रोगहरूमध्ये एक पिसाबको सङ्क्रमण पनि हो। अनि यसको उपचारमा एन्टिबायोटिक्सको आवश्यकता पद्धतिको खोजी भइरहेको छ।
डा. क्याथरिन कीननले तान्जानिया, केन्या र युगान्डा लगायत पूर्वी अफ्रिकी देशहरूमा औषधि प्रतिरोधी यूटीआईहरूको अनुसन्धान गरेकी छिन्।
उनीहरूको सर्वेक्षणमा परेका र स्वास्थ्य संस्थामार्फत् पिसाब जाँच गराएकामध्ये आधाजसोमा एकभन्दा धेरै औषधिले काम नगर्ने अवस्था देखिएको थियो।
लज्जा र अन्धविश्वासले पनि महिलाहरूलाई यस्तो समस्याबारे आफ्ना साथीहरूसँग कुरा गर्ने वा अत्यावश्यक हेरचाह खोज्नबाट वञ्चित गराएको छ।
"उनीहरू यसलाई यौनजन्य रोग ठानेर लुकाएर राख्थे र आफ्ना यौनसाथीलाई शङ्का गर्थे," डा. कीनन भन्छिन्।
उनका अनुसार पिसाबको सङ्क्रमणसँग जुधिरहेका आधाभन्दा बढी महिलाहरूले एन्जाइटी र डिप्रेसनजस्ता मनोवैज्ञानिक समस्या सामना गर्ने एक अध्ययनले देखाएको छ।
के यूटीआई सङ्क्रामक हुन्छन्?
यूटीआई हरूलाई सङ्क्रामक रोगको रूपमा वर्गीकृत गरिएको भए पनि तिनीहरू सङ्क्रामक छैनन् र यौनको माध्यमबाट सर्ने प्रकृतिका होइनन्।
तर पनि यौन सम्पर्कका क्रममा मलाशयबाट ब्याक्टेरिया मूत्रनलीमा सरेर यूटीआई हुने जोखिम भने बढ्न सक्छ।
यौनसम्पर्क पछि सकेसम्म चाँडो पिसाब फेर्दा मूत्रनलीमा प्रवेश गरेको कुनै पनि ब्याक्टेरियालाई बाहिर निकाल्न सहयोग पुग्ने एनएचएसले जनाएको छ।
बारम्बार यूटीआई सङ्क्रमण भएको अवस्थामा डाक्टरहरूले यौनसम्पर्कपछि तुरुन्तै एन्टिबायोटिक लिन सिफारिस गर्न सक्छन्।
यूटीआई कसरी पहिचान हुन्छ

तस्बिर स्रोत, Getty Images
पिसाबको सङ्क्रमण निदान गर्ने सबैभन्दा राम्रो पद्धति चाहिँ 'मिड-स्ट्रिम यूरिन कल्चर' जाँच नै हो। यसमा बिरामीको पिसाब जाँच्न प्रयोगशालामा पठाइन्छ। त्यहाँ 'कल्चर प्लेट'मा कुन ब्याक्टेरिया विकास भइरहेको छ भनेर हेरिन्छ।
यसको नतिजाले चिकित्सकलाई बिरामीको उपचारका लागि कुन एन्डिबायोटिक्स प्रयोग सिफारिस गर्ने भनेर निर्णय लिन सहज हुन्छ।
यद्यपि कतिपय विज्ञहरूले यूटीआई पहिचानका लागि कल्चर परीक्षण पुरानो पद्धति भएको र बिरामीको लक्षण र विगतका रोगहरूको अवस्थालाई पनि ध्यान दिइनुपर्ने बताउने गरेका छन्।
यूरिन कल्चर जाँच सन् १०५०को दशकमा एडवर्ड कास नाम गरेका वैज्ञानिकले विकास गरेका थिए। उनले मिर्गौलामा सङ्क्रमण भएकी एकजना गर्भवती महिलाबाट प्राप्त गरेका तथ्याङ्कका आधारमा यसको विकास गरेका थिए।
"हामीले त्यही मापदण्डका आधारमा गर्भवती नभएका महिलाहरूमा पनि परीक्षण गर्यौँ। सबै उमेर समूहका महिला र पुरुष तथा बालबालिकाहरूको पनि जाँच गर्यौँ," डा खसरिया भन्छिन्।
तपाईँलाई पनि यूटीआई अर्थात् पिसाब सङ्क्रमणको शङ्का लागेको अवस्थामा स्वास्थ्य सेवा प्रदायकबाट सल्लाह लिनु राम्रो हुन्छ।
पिसाबको सङ्क्रमण रोकथामका उपाय

तस्बिर स्रोत, Getty Images
एक पटक पिसाब सङ्क्रमण भएका महिलाहरूमध्ये २५ प्रतिशतलाई यो बारम्बार दोहोरिन सक्ने आकलन गरिएको छ। उनीहरूलाई छ महिनामा दुई पटक वा वर्षमा तीन पटकसम्म यसले दुःख दिन सक्छ।
केहीलाई त्यस भन्दा धेरै पटक पनि सताउन सक्छ।
स्वस्थ र गर्भवती अवस्थामा नरहेका महिलाहरूमा 'क्याननबेरी एक्सट्र्याक्ट' नामको चक्कीले पिसाब सङ्क्रमण कम गर्न सहयोग गर्ने केही अध्ययनहरूले देखाएका छन्। तर अन्य अध्ययनहरूले यसले कुनै पनि फाइदा नगर्ने दाबी गरेका छन्।
न्याश्नल हेल्थ सर्भिस एनएचएसले पिसाबको सङ्क्रमण रोकथामका केही उपाय सुझाएको छ। ती निम्न छन्:
- शौचालय गएपछि अगाडिबाट सुरु गरेर पछाडिसम्म पुछ्नुहोस्
- यौनाङ्ग क्षेत्र सफा र सुख्खा राख्नुहोस्
- प्रशस्त मात्रामा विशेष गरी पानी वा तरल पदार्थ पिउनुहोस्, जसले तपाईँलाई दिनभरि नियमित पिसाब लागोस् र तिर्खा नलागोस्
- यौनसम्पर्क गर्नुअघि र पछि योनि वरिपरिको छाला पानीले धुनुहोस्
- यौनसम्पर्क पछि सकेसम्म चाँडो पिसाब फेर्नुहोस्
- यदि न्यापिज् वा प्याड फोहोर छ भने तुरुन्तै परिवर्तन गर्नुहोस्
- सुतीबाट बनेका भित्री वस्त्र लगाउनुहोस्
इङ्ल्यान्डको न्याश्नल इन्स्टिट्यूड फर हेल्थ एन्ड केअर एक्सेलेन्सले महिलाहरूमा बारम्बार दोहोरिने पिसाब सङ्क्रमण रोक्न दैनिक कम मात्राका एन्टिबायोटिक्स सिफारिस गर्ने गरेको छ।
रोकथामका अन्य विकल्पहरू योनि एस्ट्रोजेन र मेथेनामाइन हिप्प्यूरेट पनि हुन्।
बल्झिरहने पिसाब सङ्क्रमण के हो?
बल्झिरहने वा दीर्घ किसिमको पिसाब सङ्क्रमणको समस्या पनि कतिपयमा देखापर्ने गर्छ। यस्तो भएका मानिसहरूले दैनिक रूपमा पिसाब सङ्क्रमणका लक्षणहरू महसुस गर्छन्।
ब्याक्टेरियाले पिसाब थैलीको भित्री भागसम्म आक्रमण गरेर शरीरका कोषहरूभित्र लुक्न सक्षम भएको अवस्थामा यस्तो समस्या देखा पर्ने अनुसन्धानले देखाएका छन्।
ब्याक्टेरिया पिसाब थैलीको भित्तामा टाँसिन सक्छ र बायोफिल्म भनेर चिनिने सुरक्षात्मक स्लाइम तहमुनि लुक्न सक्छ। यस्तो भएको खण्डमा हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले प्रतिक्रिया जनाउन सक्दैन र एन्टिबायोटिक्सबाट पनि त्यहाँ लुकेको ब्याक्टेरिया बच्न सक्छ।
केही मानिसहरूलाई किन र कसरी बारम्बार वा दीर्घ पिसाब सङ्क्रमण हुन्छ भन्ने पत्ता लगाउन डा खसरियासहित अरू अनुसन्धानकर्ता उत्सुक छन्।
"धेरै सूचना हराइरहेको भन्ने हामीलाई लागेको छ। किनभने यूटीआईमा पर्याप्त अनुसन्धान भएकै छैन। महिला स्वास्थ्यकै क्षेत्रमा पर्याप्त अनुसन्धान छैन," उनी भन्छिन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








