'पिरिअड ट्र्याकर'ले तपाईँको व्यक्तिगत विवरण 'बेच्न' सक्छ, जोगिने तरिका यहाँ छन्

मोबाइल फोन चेक गर्दै महिला

तस्बिर स्रोत, Getty Images

    • Author, ज्याकी वेकफील्ड
    • Role, बीबीसी ग्लोबल डिस्इन्फर्मेशन यूनिट

'पीएमएस'का लक्षणहरू, यौन गतिविधि, परिवार नियोजन र तपाईँको मनस्थिति- यी 'पिरिअड ट्र्याकिङ' एपहरूले आफ्ना प्रयोगकर्ताबारे सङ्कलन गर्ने सबैभन्दा व्यक्तिगत विवरण हुन्।

विज्ञहरूका अनुसार यी सूचना भनेका प्रयोगकर्ताले आश गरेअनुसार त्यति गोप्य नराखिन सक्छन्।

अमेरिकी अदालतले हालसालै विश्वभरिमा सबैभन्दा ठूलो महिनावारी 'ट्र्याक' गर्ने एप 'फ्लो हेल्थ'ले लाखौँ प्रयोगकर्ताको डेटा अरूलाई दिएर वा बेचेर गोपनीयता भङ्ग गरेको आरोपसम्बन्धी एउटा मुद्दा सल्टाएको छ।

फ्लो हेल्थले मुद्दा सल्टिएकोमा आफू "प्रसन्न" भएको जनाएको छ र यस क्रममा कुनै दोष स्वीकार नगरिएको कुरा पनि उल्लेख गरेको छ।

यूकेको एउटा गैरनाफामूलक संस्था 'प्राइभसी इन्टर्न्याश्नल'ले सन् २०२१ मा महिनावारी ट्र्याक गर्ने एपमध्ये ३६ वटा एपमध्ये ६१ प्रतिशतले आफ्नो डेटा तेस्रो पक्षलाई दिने गरेको पत्ता लगाएको थियो। केही एपहरूले यसमा सुधार गरे पनि अझै पनि प्रयोगकर्ताको गोपनीयताबारे केही चिन्ता कायमै रहेका छन्।

सन् २०२४ को एउटा अध्ययनले यी एपहरू ११२ भन्दा बढी देशहरूमा प्रयोग गरिएको पत्ता लगाएको छ।

'सेन्टर फर रीप्रडक्टिभ राइट्स'का अनुसार ४०% मानिसहरू गर्भपतनबारे कडा कानुन भएका क्षेत्रमा बसोबास गरिरहेको अवस्था यस्तो डेटा कसरी प्रयोग गरिन सक्छ र कानुन कार्यान्वयन गर्ने निकायहरूले यसमा पहुँच कसरी प्राप्त गर्न सक्छन् भन्ने बारेमा विज्ञहरू चिन्तित छन्।

"महिनावारीसम्बन्धी डेटालाई हतियार बनाइन सक्छ," मोजिला फाउन्डेशनकी अनुसन्धाता लरेन हेन्ड्री पार्सन्सले भनिन्। "आफ्नो ख्याल गर्नका लागि सङ्कलन गरिएको जस्तो देखिएको कुरा निगरानी, लाज वा हानिको साधन बन्न सक्छ।"

सन् २०१९ मा ट्रम्पको पहिलो कार्यकालका बेला अमेरिकाको मिजुरी राज्यमा स्वास्थ्य मन्त्रालयले असफल गर्भपतनहरूको अनुसन्धान गर्ने प्रयासस्वरूप बिरामीहरूको महिनावारी चक्रको निगरानी गरेको थियो।

'क्लास एक्शन' मुद्दा

भारत, केन्या र ब्रजिलजस्ता थुप्रै देशहरूमा 'एप स्टोर'को 'स्वास्थ्य' समूहमा 'फ्लो हेल्थ' सबैभन्दा धेरै डाउन्लोड भएका पाँच एपको सूचीमा रहेको छ।

दुई पुरुषहरूले स्थापना गरेको फ्लोले "यसले विश्वभरिका महिलाहरूलाई आफ्नो शरीरले दिने सङ्केतको अर्थ बुझ्न मद्दत गर्छ" भनेको छ।

सन् २०१९ यता फ्लो हेल्थले प्रयोगकर्ताको डेटा अरूलाई दिन्छ भनेर थुप्रै आरोपहरूको सामना गर्दै आएको छ।

गत जुलाई ३१ मा फ्लो हेल्थले लाखौँ अमेरिकी महिलाहरूको व्यक्तिगत डेटा मेटा र अन्य तेस्रो पक्षहरूसँग बाँडेको आरोपमा दायर गरिएको 'सामूहिक' (क्लास एक्शन) मुद्दा सल्टाएको छ।

फ्लो हेल्थले एउटा विज्ञप्तिमा भनेको छ, "अदालतमा झन् स्पष्ट रूपमा यी आरोपहरूलाई समर्थन गर्ने कुनै ठोस प्रमाणको अभाव झन् स्पष्ट भयो।"

कम्पनीले थप भनेको छ, "यी दाबीहरूमा कुनै आधार थिएन भन्ने कुरा हामीले सधैँ भनिरहेकै छौँ।"

यसै महिनाको सुरुमा एउटा इजलासले मेटाले क्यालिफोर्नियाको प्रयोगकर्ताको गोपनीयतासम्बन्धी कानुनको उल्लङ्घन गरेको ठहर गरेको थियो।

मेटाले भनेको छ कि उनीहरू "यो ठहरसँग एकदमै असहमत" छन् र "मेटाविरुद्ध गरिएका दाबीहरू पूर्णरूपमा झूटा छन्।"

उनीहरूले गोपनीयताको सम्मान गर्ने भन्दै "हामी स्वास्थ्यसम्बन्धी वा अन्य संवेदनशील जानकारी चाहँदैनौँ" भनेका छन्।

यसैबीच क्यानडामा पनि फ्लो हेल्थविरुद्ध अर्को यस्तै सामूहिक मुद्दा दायर गरिएको छ र पोर्चुगलमा उपभोक्ता अधिकारसम्बन्धी एउटा मुद्दा विचाराधीन छ।

स्वास्थ्यसम्बन्धी सूचनाको संवदेनशीलता

महिनावारी ट्र्याक गर्ने एपहरू महिनावारी हुने व्यक्तिहरूका लागि व्यापक रूपमा प्रयोगमा आएका छन्। यी एपहरूले महिनावारी भएको मितिलगायत यससम्बन्धी अन्य सूचनाको अभिलेख राखेर त्यसलाई व्यवस्थापन गर्न मद्दत गर्छन्।

यिनले पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस) जस्ता अनियमित चक्रसँग सम्बन्धित रोगहरूका सम्भावित स्वास्थ्य समस्याहरूको सङ्केत दिन पनि सक्छन्।

पेट समातेर बसेकी महिला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, महिनावारी ट्र्याक गर्ने एपहरूले अनियमित महिनावारीका लक्षणहरू पहिचान गर्न मद्दत गर्न सक्छन्

सन् २०२४ मा गरिएको एक अध्ययनले परिवार नियोजनको आवश्यकता पूरा नभएका र कुल प्रजनन दर उच्च रहेका निम्न आय भएका देशहरूमा महिनावारी ट्र्याक गर्ने एप डाउन्लोड हुने सङ्ख्या बढिरहेको पत्ता लगाएको छ।

स्थानीय बजारका लागि केही एपहरू बनाइएका भए पनि अध्ययन अनुसार अधिकांश देशहरूमा उही एपहरूको प्रयोग भइरहेको छ।

"केही देशहरूमा यस्तो जानकारीलाई स्वास्थ्यसम्बन्धी डेटाका रूपमा नभई 'जेनेरल वेलनेस' को रूपमा वर्गीकृत गरिएको छ," केम्ब्रिज विश्वविद्यालयको मिन्डेरू सेन्टर फर टेक्नोलजी एन्ड डिमोक्रसीकी गोपनीयतासम्बन्धी अनुसन्धाता डा. स्टेफनी फेल्ज्बर्गरले बीबीसीसँग भनिन्।

यसको अर्थ प्रयोगकर्ताको डेटामाथि कुनै विशेष सुरक्षा वा नियमहरू लागु नहुन सक्छन्।

महिनावारी ट्र्याक गर्ने क्यालेन्डरको फोन स्क्रीन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, महिनावारी ट्र्याकरका तथ्याङ्कलाई लाई 'हेल्थ डेटा'का रूपमा नराखिए त्यसमा कम नियमन हुन सक्छ

प्राइभसी इन्टर्न्याश्नल यूके र ल्याटिन अमेरिकास्थित अनुसन्धान संस्था चुपादादोसले गरेका अनुसन्धानहरूले महिनावारी ट्र्याक गर्ने केही एपहरूले अझै पनि प्रयोगकर्ताको डेटा अरूलाई बाँडिरहेको देखाएका छन्। तीमध्ये केहीमा डेटा चुहावटको जोखिम बढाउने सुरक्षासम्बन्धी कमजोरीहरू पाइएका छन्।

डा. स्टेफनी फेल्ज्बर्गरले महिनावारी ट्र्याक गर्ने एपहरूमा प्रायः प्रयोगकर्ताहरूका लागि बुझ्न गाह्रो हुने गोपनीयता नीतिहरू हुने र ती नीतिहरूले प्रयोगकर्तालाई आफ्नो डेटा कसरी प्रयोग गरिन्छ भन्ने पूर्ण जानकारी प्रदान नगर्ने बीबीसीलाई बताइन्।

"यी एपहरू प्रायः प्रयोगकर्तालाई 'सबै स्वीकार गर वा एप नै नचलाऊ' भन्ने किसिमको सहमति प्रणालीमा निर्भर छन्," उनले भनिन्।

यदि प्रयोगकर्ताले एप प्रयोग गर्न चाहन्छन् भने उनीहरूले डेटा सङ्कलनसम्बन्धी सबै सर्तहरू स्वीकार गर्नुपर्ने हुन्छ।

'चक्रमा आधारित' विज्ञापन?

प्रजननसम्बन्धी स्वास्थ्य डेटा संवेदनशील मात्रै नभई उच्च महत्त्वका पनि हुन्छन्।

"महत्वपूर्ण कुरा के हो भने यस्ता एपहरूले गर्भावस्थासम्बन्धी जानकारी राख्छन् जुन विज्ञापनदाताहरूका लागि अत्यन्तै मूल्यवान् जानकारी हुन्," डा. फेल्ज्बर्गरले भनिन्।

सन् २०१३ मा 'फाइन्यान्शल टाइम्स'द्वारा गरिएको एक अनुसन्धानले कुनै व्यक्ति गर्भावस्थाको तेस्रो त्रैमासिकमा रहेको जानकारीले त्यो व्यक्तिको डेटाको मूल्य २२० गुणासम्म बढाउन सक्ने देखाएको थियो।

"यी एपहरूमा मानिसको मानसिक स्वास्थ्यसम्बन्धी जानकारी पनि हुन्छ," डा. फेल्ज्बर्गरले भनिन्।

"भावनात्मक रूपमा कमजोर अवस्थामा हुनु वा जोखिमको अवस्थामा हुनु पनि दुर्भाग्यवश विज्ञापनदाताहरूको चासोको विषय बनिरहेको छ।"

डा. फेल्ज्बर्गरले यसलाई "साइकल-बेस्ड एड्भर्टाइजिङ" अर्थात् महिनावारी चक्रमा आधारित विज्ञापन रणनीति भनेर उल्लेख गरेकी छन् जसअनुसार कम्पनीहरूले महिनावारी चक्रको आधारमा उपभोक्ताहरूलाई लक्षित गरेर विज्ञापन गर्न सक्छन्।

लरेन हेन्ड्री पार्सन्सले बीबीसीसँग भनेअनुसार यो केवल विज्ञापनमा मात्र सीमित नभई त्योभन्दा धेरैमा प्रयोग हुन सक्छ।

"सम्भावित रूपमा बीमा कम्पनीहरू, सरकार वा रोजगारदाताहरूले पनि यस्तो डेटा प्रयोग गर्न सक्छन्, जसले रोजगारी, स्वास्थ्यसेवा वा सार्वजनिक सेवाको पहुँचमा असर पार्न सक्छ," उनले भनिन्।

यद्यपि अहिलेसम्म महिनावारी ट्र्याकिङको आधारमा रोजगारी वा स्वास्थ्यसेवामा विभेद भएको उदाहरण सार्वजनिक रूपमा देखिएको छैन। तर भविष्यमा यस्तो सम्भावना हुन सक्नेप्रति विज्ञहरू चिन्तित छन्।

कानुनी कडाइको खतरा

विश्वभरि नै गर्भपतनसम्बन्धी कानुन थप उदार हुँदै गएको प्रवृत्ति देखिएको छ। यद्यपि, अमेरिकालगायत केही थोरै देशहरूमा गर्भपतनसम्बन्धी अधिकारबाट पछाडि हट्ने क्रम पनि देखिएको छ। विश्वभरि नै धेरै मानिसहरूमाथि गर्भपतन प्रतिबन्ध गरिएको कानुन लागु भएको छ।

हेन्ड्री पार्सन्सका अनुसार महिनावारी ट्र्याक गर्ने एपहरूले सङ्कलन गरेका डेटाहरूले खतरा निम्त्याउन सक्छन्।

"गर्भपतन अधिकार जोखिममा रहेका ठाउँहरूमा महिनावारीसम्बन्धी डेटा प्रयोग गरी गर्भावस्था, गर्भपतन वा आफैङ्ग गरिने गर्भपतनको अनुमान लगाउन सकिन्छ र त्यसपछि ती जानकारीहरू कानुन कार्यान्वयन गर्ने निकायलाई दिइन सक्छ," उनले भनिन्।

"यदि यस्ता डेटामाथि कडा र प्रभावकारी सुरक्षा छैन भने प्रायः कम्पनीहरूले [त्यस्ता सूचना दिन गरिएको आग्रह] पालना गर्छन्।"

पहेँलो ताल्चा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, गोपनीयता जोगाउन सक्ने उपायहरू हुन्छन्

्यो वर्ष जून महिनादेखि यूकेको प्रहरीको निर्देशिकाअनुसार अप्रत्याशित गर्भपतनको घटनामा महिलाहरूको फोन जाँच गर्दा अधिकारीहरूले महिनावारी ट्र्याक गर्ने एपहरू पनि हेर्नेबारे विचार गर्न सक्छन् तर यो सबै सम्बन्धित कानुनी प्रक्रियाको अधीनमा हुने भनिको छ।

गर्भपतनका सम्भावित मुद्दाहरूको अभियोजनका लागि अन्य डेटा सङ्कलन गरिएका मुद्दाहरू पनि रहेका छन्। सन् २०२२ मा अमेरिकामा केही फेसबुक च्याटहरू गर्भपतन गर्न चाहनेको मुद्दा अभियोजनका लागि प्रयोग गरिएको थियो। सन् २०२० मा यूकेमा प्रहरीले कानुनले तोकेको सीमाभन्दा बढी समयपछि गर्भपतनका लागि प्रयोग गरिएका औषधिहरूको अनुसन्धानको क्रममा एक महिलाको 'गुगल सर्च हिस्ट्री' अध्ययन गरेको थियो।

डा. फेल्ज्बर्गर र लरेन हेन्ड्री पार्सन्सले पनि डेटाको गोपनीयता उल्लङ्घनको जोखिमतर्फ ध्यानाकर्षण गराएका छन्। यसअनुसार यदि डेटा 'इन्क्रिप्ट' गरिएको छैन भने एपले प्रयोगकर्ताहरूको अति संवेदनशील जानकारी अरूहरूका लागि पनि खुला गरिदिन सक्छ।

त्यसो भए तपाईँ के गर्न सक्नुहुन्छ?

महिनावारी ट्र्याक गर्ने एपहरू महिनावारी स्वास्थ्यसम्बन्धी डेटा ट्र्याक गर्न उपयोगी हुन सक्ने विज्ञहरू स्वीकार गर्छन्।

तर यदि प्रयोगकर्ताहरू आफ्नो डेटा सुरक्षित राख्न चाहन्छन् भने एप प्रयोग गर्दा गोपनीयता सुनिश्चित गर्न केही महत्वपूर्ण प्रश्नहरूमा विचार गर्न सकिन्छ।

गोपनीयतासम्बन्धी सर्तहरू स्पष्ट र बुझिने छन्?

कुनै एपमा गोपनीयतासम्बन्धी सर्तहरू स्पष्ट छन् र ती जानकारीहरू प्रयोगकर्तासँग बुझ्न सजिलो तरिकाले राखिएका छन् भने यसले एप बनाउनेहरूले गोपनीयतालाई प्राथमिकता दिएका छन् भन्ने देखाउने डा. फेल्ज्बर्गरले बीबीसीलाई बताइन्।

एपले तपाईँको डेटा 'इन्क्रिप्ट' गर्छ?

यदि एपले प्रयोगकर्ताको सूचनालाई इन्क्रिप्ट गर्छ भने यसले नयाँ गोप्य कोडमा बदल्छ। यसले अनधिकृत पक्षलाई डेटाको अर्थ बुझ्न ('डिकोड' गर्न) थप कठिन बनाउँछ।

तपाईँको ठेगानाजस्ता महिनावारी ट्र्याकिङसँग सान्दर्भिक नहुने प्रश्नहरू पनि यसले सोध्छ?

डा. फेल्ज्बर्गर र पार्सन्सले केही महिनावारी ट्र्याकिङ एपहरूले सोध्ने तर महिनावारी ट्र्याक गर्नका लागि आवश्यक नहुन सक्ने खालका त्यस्ता प्रश्नहरूप्रति ध्यान दिन सुझाव दिएका छन् । प्रयोगकर्ताको ठेगानाजस्ता पहिचान खुलाउने विवरणहरू महिनावारी चक्र बुझ्नका लागि आवश्यक हुँदैनन्।

यसले विज्ञापन गर्नेहरूलाई तपाईँको डेटा बेचेर पैसा कमाउँछ?

डा. फेल्ज्बर्गरले बीबीसीसँग बोल्दै यी एपहरूको व्यावसायिक प्रक्रिया प्रयोगकर्ताको डेटा तेस्रो पक्षलाई बाँड्न वा बेच्नेमा भर पर्ने बताइन्।

"यसको समाधान तपाईंले प्रयोग गर्दै आएको ट्र्याकर प्रयोग गर्न छोड्नु होइन," डा. फेल्ज्बर्गरले बीबीसीसँग भनिन्।

"यसको सही तरिका भनेको तपाईंले प्रयोग गर्दै आएको ट्र्याकरबाट अझ धेरै पारदर्शिता खोज्नु हो र तपाईँले व्यक्तिगत रूपमा कस्तो जानकारी बाँड्न चाहनुहुन्छ भन्ने आफैँलाई प्रश्न गर्नु हो।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।