देशका धेरै ठाउँमा हुस्सु र कुहिरो, वर्षा र हिमपातको सम्भावना कति?

तस्बिर स्रोत, RSS
राजधानी काठमाण्डूसहित देशका कैयौँ भागहरूमा आइतवारदेखि हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विशेषगरी तराईका कैयौँ क्षेत्रमा बाक्लो हुस्सु लाग्दा हवाई उडानहरूसमेत प्रभावित भएको उड्डयन अधिकारीहरूले बताएका छन्।
विभागको मौसम पूर्वानुमान महाशाखाले हुस्सु र कुहिरो लागेसँगै चिसो बढेकाले सावधानी अपनाउन सार्वजनिक रूपमै आग्रह गरेको छ।
विभागका अनुसार अझै केही दिन नेपालमा यस्तै अवस्था रहने पूर्वानुमान छ। सोमवारदेखि देशका विभिन्न भागमा हिमपात तथा सामान्य वर्षाको सम्भावना पनि रहेको छ।
नेपालमा कस्तो प्रणाली सक्रिय छ?

तस्बिर स्रोत, RSS
महाशाखाका अनुसार आइतवार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
महाशाखाले आइतवार बिहान जारी गरेको बुलेटिनमा भनेको छ, "हाल बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।"
उक्त महाशाखाकी मौसमविद् विनु महर्जनका अनुसार सोमवारदेखि भने नेपालमा पश्चिमी न्यून चापीय प्रणाली विकास हुने सम्भावना देखिएको छ।
"त्यसले उच्च पहाडी भागहरूमा हिमपात र अन्य क्षेत्रमा केही वर्षा पनि गराउने सम्भावना हुन्छ," उनले भनिन्।
महाशाखाले आफ्नो बुलेटिनमा पनि बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने जनाएको छ।
उडानहरू प्रभावित

तस्बिर स्रोत, TIA
देशका विभिन्न भागमा हुस्सु र कुहिरो लागेका कारण आइतवार अधिकांश नियमित आन्तरिक उडानहरू प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।
विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार आइतवार बिहानदेखि काठमाण्डूबाट पोखरा, भद्रपुर, भरतपुर र सुर्खेतबाहेकका क्षेत्रमा उडान हुन सकेको छैन।
"तराईमा बाग्लो हुस्सु लागेकाले उडानहरू प्रभावित भएका हुन्," उनले भने, "मौसम खुलेपछि उडानहरू नियमित हुन्छन्।"
उनका अनुसार विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज, धनगढीजस्ता तराईका विमानस्थलमा बाक्लो हुस्सु लागेको छ।
त्यस्तै तुम्लिङटारजस्ता पहाडी भेगका विमानस्थलहरूमा पनि हुस्सुकै कारण उडान हुन नसकेको उनले बताए।
हुस्सु र कुहिरोमा के फरक?

तस्बिर स्रोत, RSS
देशैभरि हुस्सु र कुहिरो लाग्न लागेपछि मौसम पूर्वानुमान महाशाखाले त्यसबारे जनचेतनामूलक भिडिओ सन्देश पनि जारी गरेको छ।
उक्त भिडओमार्फत् महाशाखाका मौसमविद् रोजन लामिछानेले हुस्सु र कुहिरोमा फरक हुने बताएका छन्।
उनले त्यसमा दिएको जानकारीअनुसार हुस्सु र कुहिरो "जमिन नजिकै रहने बादल भए पनि यी दुईबीच फरक हुने गर्छ।"
उनले भनेका छन्, "कुहिरोमा एक किलोमिटरसम्ममा पनि केही देखिँदैन सापेक्षित आर्द्रता १०० नै हुन्छ।"
उनका अनुसार करिब पाँच किलोमिटरसम्म केही देखिने तर त्यसपछि केही पनि नदेखिने स्थिति बनेको अवस्थामा त्यसलाई हुस्सु लागेको भनिन्छ। त्यस बेला सापेक्षित आर्द्रता झन्डै ७० को हाराहारी हुने गर्छ।
उनले पनि चिसोबाट बच्नका लागि सर्वसाधारणलाई आग्रह गरेका छन्।
हिउँदे वर्षाको पूर्वानुमान के छ?

तस्बिर स्रोत, RSS
मौसमविद्हरूका अनुसार सामान्यतया हिउँद यामको तीन महिनामा पाँच-सातवटा उल्लेख्य पश्चिमी वायु प्रणाली देखिने गर्छ। तर कुनै वर्ष त्योभन्दा कमबढी समेत हुने गर्छन्।
नेपालमा मनसुनी वायु बर्सेनि चार महिनाजति पूर्वतिरबाट पश्चिमतर्फ बहने क्रम पाइन्छ भने बाँकी आठ महिना पश्चिमी वायुको प्रभाव रहने गरेको छ।
विभागका अनुसार यसपटकको हिउँद्मा सरदरभन्दा कम वर्षा हुने र सरदरभन्दा बढी तापक्रम हुने हुँदा केही न्यानो महसुस हुने पूर्वानुमान गरिएको छ।
गत वर्ष देशका धेरैजसो स्थानमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको थियो तर हिउँमा त्यसविपरीत सुक्खा भएको थियो।
सधैँझैँ यसपटक समेत विश्व मौसम सङ्गठन र क्षेत्रीय स्तरका विवरणको मूल्याङ्कनका आधारमा नेपालमा 'केही सुक्खा हिउँद' हुने देखिएको जनाइएको छ।
हिउँदे वर्षाको अवस्था

तस्बिर स्रोत, RSS
नेपालमा डिसेम्बरदेखि ज्यानुअरीका महिनामा करिब ६० मिलिमिटर वर्षा हुँदाको अवस्थालाई सामान्य मान्ने गरिएको छ। पछिल्ला कैयौँ वर्षहरू भने सुक्खा भएका छन्।
विक्रम संवत् २०८० को हिउँद्मा सरदर वर्षाको झन्डै २१ प्रतिशत अर्थात् १२.५ मिलिमिटर मात्र वर्षा भएको थियो।
त्यसभन्दा अघिल्लो सालको हिउँद्मा समेत सरदरको एक चौथाइ मात्र वर्षा भएको थियो।
वर्षभरि हुने वर्षाको करिब आठ देखि १० प्रतिशत पानी हिउँद्मा पर्नुपर्ने मौसमविद्हरू बताउँछन्।
नोभेम्बर महिना नेपालका लागि धेरैजसो सुक्खा हुने हुँदा 'पोस्टमनसुन' अवधिमा सबैभन्दा कम पानी पर्ने उनीहरू बताउँछन्।
नेपालमा सबैभन्दा बढी अर्थात् झन्डै ८० प्रतिशत वर्षा मनसुनमा हुने गर्छ।
देशका विभिन्न स्थानमा रहेका २० वटा मुख्य केन्द्रमा मापन गरिने तीस वर्षको औसत हिउँदे वर्षालाई सरदर वर्षा भनिन्छ।
त्यसकै आधारमा हेर्दा पछिल्ला झन्डै दुई दशकका नेपालमा धेरैसजो हिउँद सुक्खा पाइएका छन्।
विसं २०६२ सालमा हिउँदमा निकै कम अर्थात् औसत ७.१ मिलिमिटर पानी परेको सरकारी विवरण छ।अनि २०६३ साल यता जम्मा पाँच वर्षका हिउँदमा मात्र नेपालमा सरदरभन्दा धेरै वर्षा भएको छ।
गत वर्ष जल तथा मौसम विज्ञान विभागले हिउँदअघि जारी गरेको सूचनामा तीन महिनाको हिउँदे मौसम आकलनका क्रममा २०८० सालको हिउँदमा सरदरभन्दा धेरै पानी पर्ने सम्भावना रहेको उल्लेख गरेको थियो।
तर ज्यानुअरी महिनामै मौसम अधिकारीहरूले उक्त वर्ष हिउँदमा धेरै पानी पर्ने सम्भावना टरेको भन्दै 'हिउँदे खडेरी' सामना गरिरहेको बताएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








