देशभरि जाडो बढ्न थाल्यो, बिरामी नपर्न के गर्ने

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकास्थित एउटा ग्रामीण सडकमा हुस्सु लागेको बेला पराल बोकेर हिँडिरहेका स्थानीय एक किसान

तस्बिर स्रोत, RSS

    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली

बुधवार बिहानमा जुम्लाको तापक्रम माइनस ४.८ डिग्री सेल्सिअस पुग्यो। काठमाण्डू उपत्यकामा पनि नोभेम्बर १९ देखि घट्न थालेको न्यूनतम तापक्रम बिहानीपख ८-९ डिग्री सेल्सिअसको छेउछाउ रहने गरेको छ।

मौसमविद्हरूले पोस्ट-मनसुन अर्थात् बर्खा सकिएको अवधि सकिएर हिउँद सुरु हुने बेला आइसकेको भन्दै नेपालभरि चिसो बढ्ने क्रम सुरु भएको बताएका छन्। त्यससँगै चिकित्सकहरूले जाडो याममा जस्तै चिसोबाट जोगिने उपाय र सजगता अपनाउन सुझाव दिएका छन्।

यस पटक अक्टोबर १२ तारिखमा नेपालबाट मनसुन बाहिरिएको थियो। नेपालमा सामान्यतया सेप्टेम्बर अन्त्यसम्ममा मनसुन सकिने र त्यसपछिको अक्टोबर एवं नोभेम्बर महिना पोस्ट-मनसुन अवधिका रूपमा रहने गर्छ।

मौसमविद्हरूका अनुसार दुई महिनाको अवधिमा मौसमी प्रणाली नभए पनि चिसो एक्कासि बढ्न थाल्छ। तर नेपालमा अत्यधिक चिसो चाहिँ डिसेम्बर र ज्यानुअरी महिनामै हुने गरेको छ।

चिकित्सकहरूका अनुसार यो अवधिमा चिसो र वायु प्रदूषणका कारण मानिसहरू बिरामी पर्ने क्रम पनि बढ्ने गरेको छ।

"यी दुवै परिस्थितिमा पहिल्यै कुनै स्वास्थ्य समस्या नभएका सबै उमेर समूहका मानिसहरू प्रभावित हुने जोखिम रहने भएकाले सजगता आवश्यक छ," त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पातलका वरिष्ठ फिजिसियन डा निरज बमले भने।

चिसो मौसम सुरु भएसँगै दैलेखको व्याँस गाउँपालिका–१ टिङ्करका व्याँसी सौका समुदाय पशुचौपायासहित खलङ्गा झर्दै

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, चिसो बढ्न थालेपछि दैलेखको टिङ्करसहित विभिन्न हिमाली भेगबाट मानिसहरू खलङ्गा ओर्लिएका छन्

हिउँदको सङ्केत

नेपालमा सामान्यतया न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रमका अपराह्ण ५:४५ बजे हेरिन्छ।

नोभेम्बरसम्मको अवधि प्राय: पोस्ट-मनसुन अवधिको रूपमा रहने गरेकाले त्यसपछिको समयलाई मात्र खास हिउँद यामका रूपमा हेरिने गरेको मौसमविद्हरू बताउँछन्।

"काठमाण्डूमा विगतमा डिसेम्बर-ज्यानुअरीतिर तापक्रम माइनसमा जाने गरेको देखिन्छ," जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेले बीबीसीसँग भने।

"तर पछिल्ला केही वर्षमा धेरैजसो एक-दुई डिग्री सेल्सिअसमा तापक्रम अडिने गरेको पाइन्छ।"

बादल र हुस्सुले छेकिएको पहाडी भेग

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, चिसो बढेपछि हुस्सु लाग्न थालेको छ

पश्चिमी वायु वा अन्य मौसमी प्रणाली सक्रिय हुने सम्भावना एकदम कम हुने भएकाले पनि हिउँदमा मौसम लामो समय उस्तै रहिरहने मौसमविद्हरू बताउँछन्।

"उपल्लो वायुमण्डलको अवस्था पनि स्थिर रहिरहँदा तराईमा लामो समय हुस्सु र शीतलहरको अवस्था देखा पर्ने गरेको हुन्छ," मौसमविद् लामिछानेले भने।

"चिसो बढ्ने क्रम सुरु भएपछि तराई र पहाडका खोँचहरूमा बिहानीपख हुस्सु लाग्छ। त्यसले गर्दा भिजिबिलिटी घट्ने क्रम समेत उत्पन्न हुन्छ।"

हिउँदे वर्षा पश्चिमी वायुका कारण हुँदा उच्च भूभागमा हिमपात हुने र हुस्सु हट्ने सम्भावना रहने अवस्था रहने भए पनि त्यसले चिसो भने अझै बढाउने मौसमविद्हरूको भनाइ छ।

स्वास्थ्यमा कस्तो जोखिम

डा बमले तापक्रम घटेर छातीमा चिसो गढ्ने समस्याले गर्दा रुघाखोकी लाग्ने, शरीर दुख्ने, खाना मन नलाग्ने समस्या देखिने बताउँछन्।

उनका अनुसार पीएम१० र पीएम२.५ भनिले धुँवाका सूक्ष्मकण श्वासनलीमा छिर्दा त्यहाँ सुक्खापन बढ्ने र सङ्क्रमण हुने गर्छ।

"घाँटी खसखस हुने र खोकी लागिरहने अवस्था बन्दा खकारमा रगत देखिन सक्छ र दीर्घकालसम्म दमको समस्या निम्त्याउने जोखिम रहन्छ," डा बमले भने।

"रुघाखोकीले ज्वरो आउँछ र भाइरस सङ्क्रमण हुन्छ। श्वासप्रश्वासबाट सर्ने भाइरसमा एकदमै वृद्धि हुन्छ जुन धुलोधुँवामा टाँसिएर श्वासनली हुँदै फोक्सोसम्म पुगेर निमोनिया गराउन सक्छ। निकै द्रुत गतिमा क्षयरोगको सङ्क्रमण भएर फैलने जोखिम रहन्छ।"

वायुप्रदूषणले मानव शरीरमा कस्तो प्रभाव पार्छ

उनले बालबालिका र ज्येष्ठ नागरिकहरू, क्यान्सर, मिर्गौला प्रत्यारोपण गरेका वा रोग प्रतिरोधात्मक क्षमता कम हुने अन्य औषधि खाइरहेका मानिस यस्तो मौसममा बढी सजग हुनुपर्ने बताउँछन्।

"शरीरलाई न्यानो बनाएर राख्न नसक्दा रक्तचाप, मधुमेह र मुटुको चालमा गडबडी आउने जस्ता समस्या आउँछन्," उनी भन्छन्।

उनका अनुसार यस्तो मौसममा शरीरलाई न्यानो राख्नका लागि घाममा बस्ने, कोठा न्यानो बनाएर राख्ने, तातो झोल पदार्थको अत्यधिक सेवन गर्ने काम धेरै गर्नुपर्छ।

जाडो याममा धेरै सङ्क्रमण फैलने जोखिम रहने भएकाले घरबाहिर निस्कँदा 'कोभिड महामारी फैलिएको बेलामा जस्तै' उपाय अवलम्बन गर्नु उपयुक्त हुने उनको भनाइ छ।

"घाम नलागीकन मर्निङ वाकमा जान समेत यो बेला राम्रो हुँदैन। वृद्धवृद्धाले बिहानै चिसो पानीमा नुहाउनु हुँदैन। जमघटमा दूरी कायम गर्ने, मास्कको प्रयोग र व्यक्तिगत सरसफाइमा ध्यान दिन आवश्यक छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।