बीबीसीले खिचेको गोप्य भिडिओद्वारा यूकेको सबभन्दा ठूलो प्रहरी बलभित्र स्त्रीद्वेषी तथा जातिवादी संस्कृति रहेको खुलासा

    • Author, एड्रिएन पोल्ग्लेस्
    • Role, बीबीसी पानरामा
    • Author, जोजफ ली

यूकेको सबभन्दा ठूलो प्रहरी फौज - मेट्रोपोलिटन पुलिस- का अधिकारीहरूले आप्रवासीहरूलाई गोली हान्नु पर्ने बताएको, बल प्रयोग गर्दा खुशी मान्ने गरेको र बलात्कार भएको भन्ने दाबीलाई बेवास्ता गरेको बीबीसीको पानरामा कार्यक्रमका 'अन्डरकभर रिपोर्टर' ले गोप्य रूपमा खिचेका भिडिओमा देखिएको छ।

सन् २०२१ मा नै एकजना बहालवाला प्रहरीले ३१ वर्षिया सेरा एभरार्डको हत्या गरेको घटनापछि मेट प्रहरीले उस्कै शब्दमा सङ्गठनभित्र रहेको 'दुषित व्यवहारहरू' लाई सम्बोधन गर्ने भनि व्यक्त गरेको प्रतिबद्धतालाई यो पछिल्लो स्त्रीद्वेषी र जातिवादी घटनाहरूको प्रमाणले चुनौती दिएको छ।

पानरामाको गोप्य फिल्मिङले अधिकारीहरूले आफ्ना सहकर्मीप्रति यौन सम्बन्धी टिप्पणी गरेका र आप्रवासी तथा मुस्लिमहरूका बारे जातिवादी दृष्टिकोण राख्ने गरेको देखाउँछ।

यी प्रमाणहरूले मेट पुलिसमा स्त्रीद्वेषी तथा जातिवादी प्रवृत्तिलाई हटाएर पठाउनुको साटो त्यो झन लुकेर बसेको देखाउँछन्। एक अधिकारीले भने, "यदि कोही नयाँ व्यक्ति भर्ना भएर आउँछन् भने मुखौटा लगाएको जस्तो गरेर सावधान रहनु पर्छ। पहिला तिनीहरू कस्ता छन् भनेर बुझ्नु पर्छ।"

बीबीसीले मेट पुलिसमा आरोपहरूको विस्तृत सूची पठाएपछि उक्त प्रहरी संगठनले आठ जना अधिकारीहरू र एक जना कर्मचारीलाई निलम्बन गरेको छ र थप दुई जना अधिकारीलाई अग्र-पङ्क्तिको कामको जिम्माबाट हटाइएको छ। कमिशनर सर मार्क राउलीले पानरामाले उल्लेख गरेको व्यवहार "प्रहरी फौजको मूल्य मान्यताको विपरीत रहेको, लज्जाजनक र अस्वीकार्य" रहेको बताए।

चेतावनी: यो लेखमा असाध्यै आपत्तिजनक र भेदभावपूर्ण भाषा बारम्बार प्रयोग भएको प्रसङ्ग संलग्न छ।

परिचय लुकाएर काम गरेका हाम्रा 'अन्डरकभर' पत्रकारले भिडिओ खिचेका अधिकारीहरूमध्ये यी पनि थिएः

  • सार्जन्ट जो म्याकलभेनी, मेटमा २० वर्ष काम गरेका व्यक्ति हुन्। यी अधिकारीले एकजना गर्भवती महिलाले बलात्कार र घरेलु हिंसाको आरोप लगाएका व्यक्तिलाई धरौटीमा छोड्ने निर्णय गरेपछि एक सहकर्मीले प्रश्न उठाउँदा त्यसलाई बेवास्ता गरेका थिए। उनले भनेका थिए: "त्यो ति महिला भनेको मात्र कुरा हो।"
  • पुलिस कन्स्टेबल मार्टिन बोर्गले आफूले सार्जन्ट स्टीभ स्ट्याम्पले एकजना सन्दिग्धको खुट्टामा चढेर कसरी कुल्चिदिएका थिए भनेर उत्साहीत हुँदै बताएका थिए। पीसी बोर्गले ति सन्दिग्धले पहिले सार्जन्टलाई लात्ती हान्न खाजेका थिए भनेर बयान दिन आफूले प्रस्ताव गरेको हाँस्दै बताइरेका थिए। उनको त्यस्तो दाबी साँचो थियो की थिएन भनेर सीसीटीभी फूटेजबाट प्रस्ट हुँदैन।
  • पुलिस कन्सटेबल फील निल्सनले पबमा हाम्रा संवाददातासँग कुरा गर्दै भिसाको म्याद सकिएर पनि यूके बसेको अभियोगमा हिरासतमा राखिएका व्यक्तिलाई "उसको टाउको छेडिने गरी गोली हानिनुपर्थ्यो" र " महिलालाई बलात्कार गर्नेहरूलाई तिनीहरूको लिङ्ग काटेर रगत बग्न दिनु पर्छ" भनेका थिए।

बीबीसी पानरामाको 'अन्डरकभर रिपोर्टर' रोरी बिबले चेरिङ क्रस पुलिस स्टेशनको थुनुवा कक्ष (कस्टडी सुइट)मा सात महिना थुनुवा अधिकारी (डेजिग्नेटेड डीटेन्शन अफिशर) का रूपमा काम गरेका थिए। यो गैर-प्रहरी पद हो जसमा प्रहरी अधिकारीहरू सँगसँगै नजिक रहेर काम गर्नु पर्छ तर कसैलाई गिरफ्तार गर्न पाइन्न।

चेरिङ क्रसमा मेट प्रहरीको २२ थुनुवा केन्द्रमध्येको एउटा हिरासत कक्ष छ जहाँ मानिसहरूलाई गिरफ्तार गरेपछि तिनीहरूलाई मुद्दा चलाइनुअघि वा मुक्त गरिनुअघिसम्म राखिन्छ। यहाँ अस्थिर वातावरण हुन्छ र प्रहरी अधिकारीहरू उग्र मानिसहरू र कमजोर अवस्थामा रहेका व्यक्तिहरूको व्यवस्थापन गरिरहेका हुन्छन्। तीमध्ये युवाहरू र मानसिक स्वास्थ्य समस्या भएकाहरू पनि हुन्छन्।

यो स्टेशन करिब चार वर्ष अघि दुर्व्यवहार र भेदभावपूर्ण व्यवहारका लागि प्रहरी वाचडग अर्थात निगरानीकर्ता निकाय 'द इन्डिपेन्डेन्ट अफिस फर पुलिस कन्डक्ट' आईओपीसीको अनुसन्धानको केन्द्रमा थियो। अनुसन्धानका क्रममा उक्त कार्यालयका केही प्रहरी अधिकारीहरूले निजी च्याट ग्रुपमा आफ्ना गर्लफ्रेन्डहरूलाई कुटपिट गरेकोदेखि आपत्तीजनक र विभेदपूर्ण टिप्पणीहरू गर्ने र बलात्कारबारे ठट्टा गर्ने गरेको पाइएको थियो।

मेटले "दुष्ट अधिकारीहरू" र "सांस्कृतिक विफलतालाई" जरैदेखि उखेलेर फाल्ने प्रतिबद्धता व्यक्त गरेको भए पनि जातिय विभेदवादी र स्त्रीद्वेषी भावना भएका अधिकारीहरू अझ पनि उक्त स्टेशनमा काम गरिरहेको नाम उल्लेख गर्न नचाहने तर त्यस्तो व्यवहार मन नपराउने कर्मचारीहरूले पानरामालाई बताए।

'भयानक' स्त्रीद्वेष

उक्त थुनुवा केन्द्रमा सार्जन्टहरूको नेतृत्वमा दैनिक कामकारबाही गरिन्छ। र उनीहरू नै मेटको मूल्य र नैतिक मापदण्ड कायम राख्न जिम्मेदार हुन्छन्।

चेरिङ क्रसमा तिनैमध्ये एक थिए सार्जन्ट म्याकल्भेनी जसले ड्यूटीमा रहँदा बारम्बार स्त्रीद्वेषी व्यवहार देखाएको घटनाहरू भिडिओ रेकर्डिङ्ग गरिएको थियो।

उनले आफ्नो यौन जीवनबारे अन्डरकभर रिपोर्टर र एकजना महिला सहकर्मीलाई खुलेर बताएका थिए। अनलाइन भेटिएकी महिलाबारे उनी भन्थे, "त्यो त ढोकाबाटै नछिर्नेजस्ती थिइ राक्षस जस्ती।"

उनले थपे, "उ यति मोटी थिइ कि उसका दुईवटा यौनाङ्ग थिए । एउटा वास्तविक र अर्को त्यस वरपरि भरिएको बोसो।"

उनले गर्ने त्यस्ता कुरा सुन्न सक्ने केही महिला सहकर्मीहरूले त्यसबारे आपत्ति जनाउँदा पनि उनी आफ्ना स्तनबाट कसरी यौन सुख प्राप्त गर्थे भन्नेजस्ता कुरा गर्थे।

कस्टडी सार्जन्ट भएकाले सार्जन्ट म्याकल्भेनीले मुद्दा चलाइएका व्यक्तिलाई थुनुवाकेन्द्रमै राखिराख्ने कि धरौटीमा छोड्ने भन्ने कुरा निर्णय गर्नमा जिम्मेवार हुन्छन्।

जब एक महिला डीडीओले आफ्नो गर्लफ्रेन्डलाई बलात्कार गरेको र गर्भवती भएका बेला पेटमा लात्तीले हानेको आरोप लागेका एक व्यक्तिलाई धरौटीमा छाड्ने निर्णय गर्न कसरी मिल्छ भन्ने प्रश्न गर्दा सार्जन्ट म्याकल्भेनीको जवाफ थियो: "त्यो त ती महिलाको भनाइ मात्र हो।" पानरामासँग यो केसको विस्तृत विवरण छैन।

ती महिला डीडीओले पछि अन्डरकभर रिपोर्टरलाई सार्जन्टको त्यस्तो प्रतिक्रियाप्रतिको आफ्नो आक्रोशका बारेमा बताएकी थिइन्। "उनले कुुरा गरेको तरिका 'अँ ती महिलाले त्यसो भन्छिन्' त्यो मान्छेले गर्भवती भएका बेला आफ्नी केटीसाथीको पेटमा लात्ताले हानेको कुरा छ," उनले भनिन्।

"म त फरक्क फर्केर भन्न चाहन्थेँ, 'तलाईँ दुष्ट', तर दुर्भाग्यवश म त्यसो गर्न सक्दिन। उस्को पद ठूलो छ कुममा पद जनाउने धर्के चिन्हहरू छन्।"

नटिङगमशर पुलिसको अस्थायी प्रमुख कन्स्टेबल रहेकी र विगतमा गलत आचरणसम्बन्धी केसहरू हेरेकी सु फिशले पानरामाका फूटेजहरूको समीक्षा गरिन् र ती सार्जन्टको "अश्लिल टिप्पणीहरू पूर्ण रूपमा अस्वीकार्य र स्त्रीद्वेषी रहेको" बताइन्।

बलात्कार र घरेलु हिंसासम्बन्धी आरोपमाथि ती अधिकारीको टिप्पणीबारे उनले भनिन्: "एकजना महिला र एकजना पूर्व प्रहरी कर्मचारीका रूपमा मेरो वा अन्य महिलाको सुरक्षाबारे त्यस्तो व्यक्ति निर्णय गर्ने स्थानमा रहनु त्रासदीपूर्ण छ।"

फिशले विगतमा पनि दुईपटकसम्म सहकर्मीहरूद्वारा यौन दुर्व्यवहार भोगेको आफ्नो अनुभवबारे बोलेकी छन्। एकपटक उनी कनिष्ठ अधिकारी हुँदा र अर्को पटक वरिष्ठ भूमिकामा रहँदा। उनको नेतृत्वमा सन् २०१६ मा नटिङ्गमशर प्रहरी स्त्रीद्वेषलाई घृणाको अपराधका रूपमा अभिलेखिकरण गर्ने पहिलो प्रहरी दल बनेको थियो।

यसै वर्षको ज्यानुअरीमा बीबीसी अन्डरकभर रिपोर्टर त्यो स्टेशनमा काम गर्दा सार्जन्ट म्याकल्भेनीलाई थुनामा रहेकी एक महिलाप्रति उनले गरेको टिप्पणीका कारण उनीमाथि अनुसन्धान भइरहेको बताइएको थियो।

थुनुवा कक्षका कर्मचारीले अन्डरकभर रिपोर्टरलाई भने अनुसार ती महिला एशियाली मूलकी थिइन् र सार्जन्ट म्याक्लभेनीले उनलाई "मसाज व्यवसायमा" हुनुपर्थ्यो भनेका थिए। ति कस्टडी स्टाफका अनुसार उनी विरुद्ध ब्रिटिश ट्रान्सपोर्ट प्रहरी अधिकारीहरूले उजुरी दिएका थिए।

तर गत महिना पानरामाले मेटलाई आफ्नो अनुसन्धानले देखाएको कुरा बुझाउनु अघि ती सार्जन्टले बीबीसी रिपोर्टरलाई आफू त्यो थुनुवा केन्द्रमा काम गर्न फेरि फर्किएको बताएका थिए।

'आक्रोश'

बीबीसीको अन्डरकभर रिपोर्टरले अधिकारीहरूले बल प्रयोग गर्दा रमाइलो मान्ने गरेको दृश्य बारम्बार रेकर्ड गरेका छन् जसले त्यसका विरुद्ध कसैले आवाज खासै उठाउने छैनन् भन्ने त्यहाँभित्र रहेको विश्वास र भरोसाको संस्कृतिलाई उजागर गर्छ।

प्रहरीको व्यावसायिक व्यवहारको मापदण्ड अनुसार प्रहरी अधिकारीले "सबै परिस्थितिमा आनुपातिक र उचित" भएको खण्डमा मात्र बल प्रयोग गर्न पाउँछन्।

नजिकैको पबमा ड्यूटीमा नरहेका बेला केही ग्लास मदिरा पिएपछि पीसी मार्टिन बोर्गले कसरी आफूले एकजना मानिसले नक्कली प्रहरी बनेर अपहरण गर्ने प्रयत्न गरेपछि गिरफ्तार गरेको र आत्महत्या गर्न सक्ने जोखिम रहेका ती व्यक्तिलाई नियन्त्रणमा लिइयो भन्ने विवरण प्रस्तुत गरेका थिए।

पीसी बोर्गका अनुसार ती व्यक्तिले प्रहरी अधिकारीहरूमाथि थुक्ने र थुनुवा केन्द्रको ढोकामा पिसाब फेर्ने गरेपछि प्रहरीहरूले उनलाई भुइँमा लडाएर थिचेका थिए र स्ट्यापी नाम गरेका सार्जेन्ट स्टीभ स्ट्यापले ति व्यक्तिको खुट्टामा कुल्चिदिएका थिए।

अन्डरकभर रिपोर्टरले सीसीटीभी क्यामेराको फूटेज हेर्न सफल भएका थिए जहाँ ति सार्जन्टले दुईपटक खुट्टाले कुल्चिएको देखिन्छ।

"त्यो मान्छे चिच्याइरहेको थियो," पीसी बोर्गले भने। "उसको खुट्टामा गाँठो जस्तो भएको थियो जुन ट्युमर जस्तो देखिन्थ्यो," थुनामा परेका व्यक्तिले गरेको विरोधको प्रयत्न र सार्जन्टले कसरी खुट्टामा हाने भन्ने विवरण उनले दिए।

पीसी बोर्गले सार्जन्टले आफूलाई सन्दिग्धले लात्ती हान्ने प्रयत्न गरेको बताएको सम्झे। सार्जन्टलाई आफूले "यदि उनले चाहेमा उनको भनाइ एमजी ११ मा त्यो उल्लेख गरिदिने बताएको" पनि उनले स्मरण गरे।

एमजी ११ भनेको प्रत्यक्षदर्शीले दिने आधिकारिक बयान हो । पूर्व प्रमुख कन्स्टेबल फिशले भनिन्, यदि पीसी बोर्गले झुटा वा बनाइएको सूचना त्यसमा राखेको भए त्यसलाई झुटो हो भन्ने देखाउन सकिन्थ्यो र त्यो "न्याय प्रक्रियालाई प्रभावित पार्न खोजेको वा षडयन्त्र गर्न खोजेको" भन्ने कार्य हुन्थ्यो।

सीसीटीभी फूटेजमा ती व्यक्तिले सार्जन्टलाई लात्ती हान्ने प्रयत्न गरेको नगरेको स्पष्ट देखिन्न। ती व्यक्ति खाली खुट्टामा रहेको र चार जना अधिकारीहरूले उनलाई नियन्त्रण गर्न खोजिरहेका भन्ने देखिन्छ।

एक जना अधिकारीले कसरी सन्दिग्धहरूले आफ्नो हातका औँलाका छाप दिन मान्दैनन् भन्ने बताउँदै कसरी उनले त्यस्ता व्यक्तिका ओँला तान्थे भनेका थिए। " जबर्जस्ती फिङ्गरप्रिन्ट लिन मलाई असाध्यै मन पर्छ," उनले भने।

अर्का कन्सटेबलले अन्डरकभर रिपोर्टरलाई पहिलोपटक क्यान्टिनमा भेटेका बेला कसरी एकजना सन्दिग्धले आफ्नो अनुहारमा कुहिनोले बजाए भन्ने कुरा भने । त्यसैकारण उनले भ्यानमा खुट्टा बाँधिएका बेला कसरी ती व्यक्तिको खुट्टाको पछाडि हानेका थिए भन्ने पनि बताए।

"करिब पाँच छ पटक हानेँ। त्यो हेर्न रमाइलो थिएन। केही आक्रोश देखिन्थ्यो। तर केही पनि भएन।"

'ती त केबल फोहोरका थुप्रा हुन्'

पबमा पिउन बसेका बेला अधिकारीहरूले नश्लवादी, आप्रवासीविरोधी वा मुस्लिमविरोधी भावना प्रकट गर्थे।

त्यस्तै एक सन्दर्भमा पीसी बोर्गले पबमा कुरा गर्दै गिरफ्तारीमा परेका जातीय अल्पसङ्ख्यक समुदायका सन्दिग्धबारे बताइरहेका थिए। अनि कुन समुहले सबभन्दा धेरै दु:ख दिन्छन् भनेर सोध्दा उनको जबाफ थियो: "मुस्लिमहरूले"।

"हामीलाई घृणा गर्छन्। उनीहरूले हामीलाई घृणा गर्छन् एकदम नै घृणा," उनले भने। "इस्लाम एक समस्या हो। मलाई लाग्छ एक गम्भीर समस्या ।"

प्रहरी अनुशासनको मानकका अनुसार, अधिकारीहरूको व्यवहारले "प्रहरी सेवाको बदनाम गर्न हुँदैन। ड्यूटीमा भएका बेला होस् या ड्यूटीमा नरहँदा जनताको विश्वासलाई कम हुन दिनु हुँदैन।"

वेस्ट एन्ड टीमका पीसी फिल निल्सनले सुरुमा उनका धारणा अन्डरकभर रिपोर्टरसँग भन्न हिचकिचाएका थिए। आधाजस्तो ठट्टा गर्दै पीसी निल्सनले रिपोर्टरलाई उनी मेटको डाइरेक्टोरेट अफ प्रोफेशनल स्ट्यान्डर्डका सदस्य हुन् कि भनेर पनि सोेधे।

दुई हप्ता पछि पीसी निल्सन र रोरी फेरि पबमा भेटेका थिए। त्यसबेला कन्स्टेबलले युक्रेनीहरू युद्धका कारण यूकेतिर भागेर आएकामा कुनै दुःख नलागेको बताउँछन्। तर मध्यपूर्वबाट आउने मानिसहरूप्रति उनको नितान्त फरक धारणा थियो।

"उनीहरू फोहोरको थुप्रा मात्र हुन्"। दोस्रो पाइन्ट बियर पिएपछि उनले भने, "त्यो अतिक्रमण हो।"

पीसी निल्सनले भने, "हे ईश्वर अहिले नै हामी हाम्रो रोजगारी गुमाइरहेका छौँ"।

त्यो साँझ पीसी निल्सनले थप मदिरा पिउँदै जाँदा उनका धारणा उस्तै रहिरहे। तर उनले आफ्ना धारणा चरम रूपमा व्यक्त गरे कहिले त हिंसक रूपमा पनि।

केही थप पिएपछि पीसी निल्सनले इस्लामबारे भने। "मैले यति धेरै इश्लामीहरूले अपराध गरेको देखेको छु। उनीहरूको जीवन जिउने तरिका नै सही तरिका होइन।"

"सबभन्दा धेरै अपराध गर्नेहरू नै मुश्लिम भएको तपाईँ पाउनुहुन्छ।"

प्रहरी आचरणको मापदण्ड अनुसार अधिकारीहरूले कसैप्रति अवैधानिक रूपमा वा भेदभावपूर्ण रूपमा व्यवहार गर्न पाउँदैनन्। गृहमन्त्रालय र प्रहरीले धार्मिक समुदाय छुट्टिने गरी गिरफ्तारी दरको तथ्याङ्क प्रकाशित गर्दैनन्।

भिसाको समय सकिएर पनि यूकेमा बसिरहेका एक व्यक्तिको केस हेरिरहेका पीसी निल्सनले भने "कि त्यसलाई टाउको छेड्ने गरी गोली हान्नुपर्छ या डीपोर्ट गर्नुपर्छ।"

पूर्व प्रमुख कन्स्टेबल मिस फिशले आफू "स्तब्ध र निराश" भएको उल्लेख गर्दै भनिन् ती कन्स्टेबल त एक" हिंसक जातिवादी" हुन्।

उनले भनिन्, "एक प्रहरी अधिकारीका रूपमा मलाई उनीमाथि कत्ति पनि भरोसा छैन। सत्य, एक मानवका रूपमा पनि उनीप्रति मेरो विश्वास छैन।"

'वास्तविक पहिचान खुल्छ'

कैयौँ अधिकारीले भेदभावपूर्ण तथा गैर व्यावसायिक दृष्टिकोण देखाए पनि केहीले चाहिँ आफ्नो वास्तविक धारणा लुकाउनुपर्ने महसुस भएको बताएका थिए।

एक पटक सार्जन्ट म्याकल्भेनीले अन्डरकभर रिपोर्टरलाई सन्दिग्धहरूमाथि गरिएको बल प्रयोगबारे प्रहरी स्टेशनभित्र रहेका सीसीटीभी क्यामेरा र माइक्रोफोनले रेेकर्ड गर्न सक्ने गरी चर्चा नगर्न भनेका थिए।

सार्जन्टले एक व्यक्तिको खुट्टामा हानेका थिए जसलाई जबर्जस्ती तलाशी लिइँदै थियो र अन्डरकभर रिपोर्टरले पछि भनेका थिए मैले उसको खुट्टाको पछाडिपट्टि तिम्रो खुट्टाले बनाएको सानो छाप देखेको थिएँ।

केही बेरपछि सार्जन्ट म्याकल्भेनीले उनलाई हिरासत कार्यालयमा रहेका क्यामेरा र माइक्रोफोनभन्दा टाढा लगेर भने, "यो थुनुवा कक्षमा बल प्रयोगबारे सावधानीपूर्वक मात्र 'डीब्रीफ गर्नू'। यो पछि दोहोर्‍याइयो भने राम्रो हुने छैन। "

सार्जन्टले भने " खबरदार ठूलो उजुरीमा हामी तानिने गरि नबोल्नु।"

पबमा रोरीले भेटेका लामो समय सेवा गरेकामध्ये एक अधिकारी ब्रायन शार्की सहकर्मीहरूसँग बसेर पिइरहेका थिए र उनीहरू अनुशासनसम्बन्धी गुनासो गर्नेहरूबारे ठट्टा गरिरहेका थिए र अश्लिल टिप्पणी गरिरहेका थिए।

"यौन दुर्व्यवहारमा सजाय पाउने स्थिति हो भने त बलात्कार गरे पनि भयो नि" पीसी शार्कीले टिप्पणी गरे तर तत्कालै त्यो आफूले ठट्टा गरेको बताए र भने "यो अलि गलत थियो। म आफैलाई त्यसबारे सच्याउन चाहन्छु। "

ती अधिकारीले पछि अन्डरकभर रिपोर्टरलाई "अब म कसलाई विश्वास गरौँ। तिमी त नयाँ मान्छे हौ।" त्यसपछि अर्को विषयमा भएको छलफल उनले बन्द गरे।

अर्का अधिकारीले अन्डरकभर रिपोर्टरलाई भने, "त्यस्ता मानिससँग कुरा गर्दा तपाईँले तथ्यपरक कुरा गरेको मुखौटा लगाउनु पर्छ । मुखौटा निकालेपछि तपाईँको असली पहिचान देखिन्छ। "

बीबीसीले सात महिना लामो अनुसन्धानका बेला जम्मा पारिएको प्रमाणको विस्तृत विवरणसहित मेट्रोपोलिटन पुलिसलाई लेख्यो।

मेट पुलिस कमिश्नर सर मार्क राउलीले भने उनको फौजले "यी आरोपको अनुसन्धानका लागि तत्काल र अभूतपूर्व कारबाही"को निर्णय लिएको छ। यसले आरोपहरूलाई आईओपीसीकहाँ पुर्‍याएको छ जसकी निर्देशक अमान्डा रोले भनिन् "हामीले यो विषयलाई अत्यन्त गम्भीरतापूर्वक लिएका छौँ।"

सर मार्कले भने- मेटले "चेरिङ क्रसको कस्टडी टीमलाई भङ्ग गरेको छ" मेटको मापदण्ड पूरा गर्न नसकेका कारण सन् २०२२ यता १४०० अधिकारी र कर्मचारीले कार्यालय छोडेका छन् या तिनलाई बर्खास्त गरिएको छ। "फौजको इतिहासमा यो अहिलेसम्मकै ठूलो सरसफाइ हो।"

"ती व्यक्ति र गुटसँग भिड्न अझ धेरै काम गर्न बाँकी छ जसको भयावह व्यवहारले उनका सहकर्मी र लन्डनवासीलाई निराश बनाइरहेको छ," उनले भने "उनीहरूको पहिचान गरेर सामना गर्ने र उनीहरूबाट छुटकारा पाउने हाम्रो सङ्कल्प अटल छ।"

पानरामाले यो रिपोर्टमा परिचय खुलाइएका अधिकारीहरूलाई पनि पत्र पठाएको छ। उनीहरूले प्रतिक्रिया दिएका छैनन्।

सन् २०२१ मा सारा एभरार्डलाई एकजना सेवारत अधिकारीले अपहरण र बलात्कार गरेर हत्या गरेपछि ब्यारोनेस लुइस् केसीले गरेको समीक्षाको निष्कर्ष थियो - मेट संस्थागत रूपमै नश्लवादी, समलैङ्गिकता विरोधी र स्त्रीद्वेषी छ।

सन् २०२२ मा यो फौजलाई पुलिस इन्स्पेक्टोरेटले विशेष निगरानीमा राखेको थियो जुन यो महिनाको ज्यानुअरीमा सम्पन्न भएको थियो। त्यसबेला सर मार्कले फौजले विशाल प्रगति गरिरहेको बताएका थिए।

पूर्व महान्यायाधिवक्ता डोमिनिक ग्रीभले पनि पानरामाको फुटेजको समीक्षा गरेका थिए। उनले सार्जन्टहरूबारे चर्चा गर्दै भने - कसरी उच्च मूल्य मान्यता र अनुशासन "शक्तिमा रहेका मानिसहरूमा रहेको वा तिनीहरूले सिकाएको नै पाइयो।"

यी अधिकारीहरूको व्यवाहारले सहमतिका आधारमा हुने 'पुलिसिङ'लाई कमजोर बनाइदिएको छ र दीर्घकालका लागि यो कामलाई कठिन बनाइदिएको छ।

पूर्व प्रमुख कन्स्टेबल मिस फिशले भनिन् "त्यहाँ मैले यति धेरै कुरा देखेकी छु कि त्यहाँ असाध्यै विषाक्त संस्कृति छ पुरुषहरू महिलाप्रति अति नै नकारात्मक छन् जातिवाद छ र अनावश्यक गैरकानुनी हिंसा छ।"

मेट नेतृत्वले "त्यसको महत्त्व, स्तर र प्रभाव" कस्तो छ भन्ने थाहा पाउन सकेको छैन। त्यो सदैव नै सडेको स्याउको रूपमा रहेको छ न कि सडेको भाँडोको रूपमा, उनले भनिन्।

पानरामा हेरेपछि मेट प्रमुखको प्रतिक्रिया

मेट्रोपोलिटन प्रहरी प्रमुख सर मार्क राउलीले आलोचना र बचाउ दुवै गरेको देखियो।

उनले बीबीसी पानरामा अनुसन्धानले खुलासा गरेको मेट प्रहरी अधिकारीहरूको व्यवहार "पूर्ण रूपमा निन्दनीय" छ भने।

बीबीसीले प्रमाणसहित प्रस्तुत गरिएका अधिकारीहरूलाई राउलीले निलम्बन गरेका छन् र उनले ती अधिकारीहरू "बर्खास्त"को बाटोमा हुन सक्ने बताएका छन्।

तर उनले मेट प्रमुखका रूपमा आफ्नो बचाउ गर्दै प्रहरी बल नागरिकको "संरक्षणका लागि" रहेको बताएका छन्।

लन्डनका मेयर सादिक खानले गम्भीर चिन्ता व्यक्त गर्दै अब लन्डनरहरूले अपराध रिपोर्ट गर्न हिच्किचाउने बताएका छन्।

राउलीले "कडा" कदम चाल्नुपर्ने पनि खानले बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।