राष्ट्रपति पौडेल गङ्गालाल हृदय केन्द्रबाट डिस्चार्ज

मुटुमा समस्या देखिएपछि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई बुधवार बिहानै डिस्चार्ज गरिएको छ।

राष्ट्रपति पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले राष्ट्रपतिको मुटुको भल्भ जाँच गर्नका लागि मङ्गलवार 'एन्जिओग्राफी' गरिएको बीबीसी न्यूज नेपालीलाई जानकारी दिएका छन्।

एन्जिओग्राफी मुटुका भल्वमा हुने रक्तप्रवाह हेर्न प्रयोग गरिने एक प्रकारको परीक्षण हो।

"यसअघि उहाँले अन्य समस्याको औषधि खाइरहेका कारण मुटुको जाँच गराउनुभएको थिएन। अहिले स्वास्थ्य ठिक भएपछि नियमित जाँचका लागि जानुभएको हो," उनले भने।

"कतिपय सञ्चारमाध्यमममा उहाँलाई हृदयाघात भएको भन्ने पनि आएको रहेछ त्यस्तो होइन।"

बुधवार एक विज्ञप्ति जारी गर्दै अस्पतालका कार्यकारी निर्देशक चन्द्रमणि अधिकारीले राष्ट्रपतिको नियमित स्वास्थ्य परीक्षण र उपचार गरिएको जनाएका छन्।

तर कस्तो उपचार गरिएको भन्ने विषयमा अस्पतालले केही खुलाएको छैन।

राष्ट्रपति पौडेलका ज्वाइँ डा. परमेश्वर पोखरेलले मङ्गलवार पौडेललाई "गम्भीर समस्या नभएको" बताएका थिए।

“त्यस्तो जटिल केही होइन सामान्य चेकजाँचका लागि जानुभएको हो,” डा. पोखरेलले बीबीसी न्यूज नेपालीसँग भनेका थिए।

तर पौडेललाई भएको समस्याबारे उनले थप केही खुलाएका थिएनन्।

राष्ट्रपतिको सचिवालयका एक सदस्यका अनुसार पौडेललाई मङ्गलवार बिहान ७ बजे अस्पताल लगिएको थियो।

के भन्छ राष्ट्रपति कार्यालय

राष्ट्रपति कार्यालयले २४ घण्टा भन्दा बढी समयपछि बुधवार विज्ञप्ती जारी गरेर पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।

"सम्माननीय राष्ट्रपतिज्यूको स्वास्थ्य अवस्था सामान्य छ," उनको अवस्थाबारे चासो राख्ने सबैलाई धन्यवाद दिँदै विज्ञप्तीमा भनिएको छ।

यसअघि फोक्सोमा समस्या देखिएपछि वैशाख ६ गते उनलाई एअर एम्बुलेन्समा नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिट्यूट अफ मेडिकल साइन्सेस ‘एम्स’ उनलाई लगिएको थियो।

पौडेल सोमवारसम्म राष्ट्रपतिको औपचारिक भूमिकामा सक्रिय देखिएका थिए।

उनले राष्ट्रपति कार्यालयमा विभिन्न देशका राजदूतहरूबाट ओहोदाको प्रमाणपत्र ग्रहण गरेका थिए।

गत असोजमा ७८ वर्ष पूरा भएका पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए।