यो वर्ष उत्पादनमूलक क्षेत्रबाहेक अरूमा थप नेपाली कामदार नलैजाने दक्षिण कोरियाको सङ्केत

तस्बिर स्रोत, epsnepal.gov
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
दक्षिण कोरियाले नेपालबाट उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिएकाहरूको परीक्षा सक्नै एक वर्ष लाग्ने देखिएका कारण यो वर्ष अन्य क्षेत्रमा थप कामदार लैजान नसकिने भन्दै नेपाललाई पत्र पठाएको एक अधिकारीले बताएकी छन्।
ईपीएस प्रणालीबाट विदेशी कामदार लैजाने प्रक्रिया हेर्ने एचआरडी कोरियाका अध्यक्षले पठाएको पत्र मङ्गलवार नेपालले पाएको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाकी प्रमुख मैया कँडेलले जानकारी दिइन्।
उनका अनुसार अन्य क्षेत्रमा नेपालमा भाषा परीक्षा नै ‘लिन नसकिने भएका कारण’ ती क्षेत्रमा अरू देशबाटै कामदारहरू लैजाने जानकारी कोरियाले उक्त पत्रमार्फत् दिएको छ।
“वर्ष दिनभरि जाँच लिनुपर्ने गरी त्यत्रो मान्छेको आवेदन नेपालले लिएका कारण अब हामीले कसरी लैजाने त भनेर अहिले औपचारिक पत्र नै पठाएका छन्,” कँडेलले बीबीसी न्यूज नेपालीसँग भनिन्।
यद्यपि यसअघि नै परीक्षा र सीप उत्तीर्ण गरेर रोस्टरमा रहेकाहरू यसबाट प्रभावित नहुने ठानिएको अधिकारीहरूको भनाइ छ।
कडेलका अनुसार उत्पादनमूलक क्षेत्रमा दक्षिण कोरिया जान आवेदन दिएका १ लाख ६३ हजार नेपालीहरूको भाषा परीक्षा सक्न आगामी वर्षको पुस २ गतेसम्म लाग्ने देखिएको छ।
दक्षिण कोरियाले यो वर्ष उत्पादनमूलक क्षेत्रमा काम गर्नका लागि नेपालबाट १५,९०० जना लैजाने जनाएको थियो।
त्यसका लागि १० गुणाभन्दा धेरैले भाषा परीक्षाका लागि आवेदन दिएपछि भाषा परीक्षा सक्नै एक वर्ष लाग्ने भएको हो।
दैनिक हजार जनाको परीक्षा

तस्बिर स्रोत, epsnepal.gov
ईपीएस कोरिया शाखाका अधिकृत कमलराज श्रेष्ठका अनुसार अहिले दक्षिण कोरियाको ह्युमन रिसोर्स डिभलपमेन्ट सर्भिसले दैनिक पाँच समयमा गरेर १,००० जनाको भाषा परीक्षा लिइरहेको छ।
“एक सिफ्टमा २०० जनाका दरले हरेक दिन १,००० जनाको परीक्षा भइरहेको छ। पहिलो चरणमा ४७,५१९ जनाको परीक्षा आगामी अप्रिल ६ सम्म सक्ने तालिका प्रकाशन भएको छ,” उनले भने।
शाखाका अनुसार मेमा सुरु भएर जुलाई अन्तिममा सकिने दोस्रो चरणको परीक्षामा ७९ हजार र नोभेम्बरमा सुरु भएर डिसेम्बर १७ मा सकिने तेस्रो चरणको परीक्षामा बाँकी ३६ हजार सहभागी हुनेछन्।
दोस्रो चरणमा मेबाट सुरु हुने भाषा परीक्षामा भने दैनिक सहभागीहरूको सङ्ख्या बढाउन पहल भइरहेको शाखाका अधिकारीहरूको भनाइ छ।
परीक्षा छिटो सक्न आग्रह
दक्षिण कोरियाले दैनिक चार समय लिइने गरिएको भाषा परीक्षा एक सिफ्ट थप गरेर दैनिक पाँच समय लिन सुरु गरेको छ। त्यति गर्दा पनि परीक्षा सक्न पुससम्म लाग्ने देखिएको छ।
भाषा परीक्षा छिटो सक्नका लागि दैनिक भाषा परीक्षा लिइने आवेदकहरूको सङ्ख्या बढाउन नेपालले दक्षिण कोरियालाई आग्रह गरेको अधिकारीहरूले बताएका छन्।
“हामीले दैनिक भाषा परीक्षा दिने आवेदकहरूको सङ्ख्या बढाउन ट्याब्लेट उपकरण र जनशक्ति थप गर्न अनुरोध गरेका छौँ,” कडेलले भनिन्।
दक्षिण कोरियाले विशेष विद्युतीय उपकरण ट्याब्लेटबाट भाषा परीक्षा लिने गरेको छ।
“अर्को वर्षदेखि हामी एउटा निर्णयमा पुग्छौँ। अहिलेलाई भाषा परीक्षा छिटो सक्न व्यवस्था गरिदिन हामीले भनिसकेका छौँ।” उनले भनिन्।
विकल्प के छन्?

तस्बिर स्रोत, epsnepal.gov
नेपाली पक्षले अर्को वर्षदेखि भने प्रारम्भिक परीक्षामा उत्तीर्ण भएकाहरूलाई मात्रै भाषा परीक्षामा सहभागी गराउनेबारे छलफल गरिरहेको शाखाले जनाएको छ। तर यो विषय सरकारले गर्ने निर्णयमा भर पर्ने कँडेलले बताइन्।
“उनीहरूले अरू देशहरूमा मागभन्दा तीन गुणा बढी मात्रै आवेदन लिएर भाषा परीक्षा गराउँछन् तिमीहरूले पनि त्यस्तै गर वा भाषा परीक्षा उत्तीर्ण भएर धेरै बसे भने त्यसमा १० प्रतिशत मात्रै बढाएर आवेदन लिने गर भनेका छन्,” दक्षिण कोरियाले पठाएको पत्रबारे कँडेलले भनिन्।
“हामी कुन विकल्पमा जाने भन्नेबारे छलफल अघि बढाएका छौँ।”
समयमा भाषा परीक्षा सक्ने गरी आवेदन व्यवस्थित नगरे सबैभन्दा धेरै कामदार आपूर्ति गर्ने नेपालको हैसियत पनि खस्कन सक्ने चेतावनी दक्षिण कोरियाली पक्षले दिएको उनको भनाई छ।
“भाषा परीक्षामा वर्षभरि अल्झिने गर्यो भने हामीले जति मान्छे ल्याउन खोजेका छौँ त्यो लक्ष्य नेपालबाट पूरा गर्न सक्दैनौँ। हामी बाध्य भएर अर्को देशलाई छनौट गर्नुपर्छ र नेपालको पोजिसन पनि घट्दै जान्छ भनेर स्पष्ट लेखेर पठाउनुभएको छ,” कँडेलले भनिन्।
दक्षिण कोरियाले ईपीएस प्रणालीअन्तर्गत पछिल्लो समय नेपालबाट २२ हजार भन्दा धेरै कामदार लैजाने तयारी यसअघि गरेको अधिकारीहरूको भनाइ छ।
यो पटक अन्य क्षेत्रमा कामदार नलिने सङ्केत गरेको दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रमा लैजाने कामदारहरूको सङ्ख्या बढाउने सङ्केत दिएको कँडेलले बताइन्।
“अन्य क्षेत्रमा नलिएपछि उत्पादनमूलक क्षेत्रमा यसअघि लैजाने भनिएको १५,९०० मा ५,००० देखि ७,००० थप गर्न सकिने सङ्केत कोरियाली पक्षले दिएको छ,” उनले भनिन्।
सबै क्षेत्रमा गरि यो वर्ष दक्षिण कोरियाले ३०,००० सम्म नेपाली कामदारको माग गर्ने ठानिएको उनको दाबी छ।
कोरियाले कुनकुन क्षेत्रमा कामदार लैजान्छ

तस्बिर स्रोत, epsnepal.gov
दक्षिण कोरियाले ईपीएस प्रणालीबाट कामदार लैजाने छ क्षेत्रमध्ये नेपालबाट पाँचवटा क्षेत्रमा कामदार लैजाने गरेको छ।
समुद्रसँगको पहुँच नभएको देश भएका कारण नेपालबाट उसले माछा मार्ने काममा भने कामदार लैजाने गरेको छैन।
दक्षिण कोरियाले पछिल्लो समय कृषि तथा पशुपालन, उत्पादन, निर्माण, सेवा र पानीजहाज निर्माण क्षेत्रमा नेपालबाट कामदार लैजाने प्रक्रिया अघि बढाएको छ।
कोरियाले सन् २०२३ मा नेपालबाट १९,२१४ जना कामदार ईपीएस प्रणालीअन्तर्गत कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेकाहरू मध्येबाट लगेको थियो। त्यसको अघिल्लो वर्ष सन् २०२२ मा १४,००० कामदार कोरिया गएका थिए।
“अहिले उसले सर्भिस क्षेत्रमा माग उठाउन खोजिरहेका थिए। तर हामी उत्पादनमूलक क्षेत्रकै परीक्षामा अल्झिएका छौँ। हाम्रोमा अब परीक्षा लिनै नसकिने भएपछि त्यो अर्को देशलाई दिइसके,” शाखाकी प्रमुख मैया कँडेलले भनिन्।
उत्पादनमूलक क्षेत्रको जाँच नसकिएसम्म अरू क्षेत्रको जाँच सुरु नहुने भएका कारण दक्षिण कोरियाले सन् २०२४ भरि बाँकी क्षेत्रका लागि नेपालमा कामदारको माग नपठाउने सङ्केत पछिल्लो पत्रमा गरेको कँडेलले जानकारी दिइन्।
दक्षिण कोरियाले ईपीएस प्रणालीअन्तर्गत कामदार लैजाने देशहरूमा अर्को एक देश थपेर १७ देशहरूबाट कामदार लैजाने तयारी गरिरहेको जनाएको छ।
तर दक्षिण कोरियाले यो प्रणालीबाट सबैभन्दा धेरै कामदार नेपालबाट लैजाने गरेको छ।
“दोस्रो धेरै लैजाने देशबाट ८,००० लगिएको छ भने हाम्रोबाट २२,००० पुग्ने क्रममा छ,” उनले भनिन्।
उनी दक्षिण कोरियाली रोजगारदाताहरूको रोजाइमा नेपाली कामदारहरूले प्राथमिकता पाउने गरेको बताउँछिन्।
तर पछिल्लो समय सीप बिल्डिङको परीक्षामा असफल भएकाहरूले उत्पादनमूलक क्षेत्रमा पनि भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेको विषयमा दक्षिण कोरियाली पक्षले आफूहरूको गत महिना भएको भ्रमणमा चासो राखेको कडेलले बताइन्।
“अरू देशमा यस्तो हुँदैन नेपालमा किन हुन्छ भन्ने उहाँहरूको चासो थियो,” उनले भनिन्।
गत डिसेम्बरमा ललितपुरको ग्वार्कोमा भएको प्रदर्शनका क्रममा दुईजना युवाले ज्यान गुमाउनुपरेको थियो।
ईपीएस के हो?

तस्बिर स्रोत, GETTY IMAGES
ईपीएस दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली हो।
यो प्रणालीअन्तर्गत नेपालबाट कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा एमओयू गरेको थियो। त्यसअन्तर्गत सन् २००८ बाट कामदार लैजान सुरु गरिएको थियो।
वैदेशिक रोजगार विभागको ईपीएस शाखाका अनुसार ४०,००० भन्दा बढी नेपाली दक्षिण कोरियामा काम गरिरहेका छन्।
शाखाका अधिकृत कमलराज श्रेष्ठका अनुसार ईपीएस दक्षिण कोरियाको विदेशी कामदार लैजाने एउटा प्रणाली हो।
यो प्रणालीअन्तर्गत दक्षिण कोरियाले नेपाल सहित १६ वटा देशबाट कामदार लैजाने गरेको छ। दक्षिण कोरियाले सन् २०२४ का लागि एक लाख ६५,००० विदेशी श्रमिक लिने घोषणा गरेको छ।
त्यसमध्ये नेपालका लागि कति कोटा दिइन्छ भन्ने अझैसम्म स्पष्ट छैन।
ईपीएस नेपालको वेबसाइटका अनुसार १८ देखि ३९ वर्षका व्यक्तिहरू जसले कोरियाको भाषा परीक्षा पास गरेका छन्। उनीहरूले उक्त प्रणालीबाट रोजगारीको अवसर पाउन सक्छन्।
तर त्यसको लागि विगतमा गैरकानुनी रूपमा नबसेको, स्वास्थ्य परीक्षा पास भएको, नेपालबाट बाहिर यात्रा गर्न प्रतिबन्ध नभएको र आपराधिक कसुर नगरेको प्रमाणित हुनुपर्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








