दक्षिण कोरिया रोजगारी: ईपीएस भाषा परीक्षा 'सक्न छ महिना लाग्न सक्छ'

तस्बिर स्रोत, Getty Images
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
दक्षिण कोरियाको उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि भाषा परीक्षाको आवेदन दिने नेपाली युवाहरूको सङ्ख्या बिहीवारसम्म एक लाख ६० हजार नाघेको छ। आवेदकहरूको यो सङ्ख्यामा हेर्दा परीक्षा सक्न छ महिनाभन्दा बढी समय लाग्ने अधिकारीहरूले बताएका छन्।
एचआरडी भनिने दक्षिण कोरियाको मानव संसाधन विकास सेवाले उक्त देशमा रोजगारीका लागि जाने नेपाली युवाहरूको भाषा परीक्षा लिँदै आएको छ।
भाषा परीक्षाको सहजीकरण गर्दै आएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको ईपीएस कोरिया शाखाका अनुसार बिहीवारसम्म एक लाख ६२ हजार जनाभन्दा बढीले निर्माण क्षेत्रमा जाने भाषा परीक्षाका लागि आवेदन दिएका छन्।
यसअघि उत्पादनमूलक क्षेत्रमा जान आवेदन दिएका एक लाख ४३,८१२ जनासँगै आफूहरूलाई पनि भाषा परीक्षामा सहभागी गराइनुपर्ने माग गत साउनमा ‘शिपबिल्डिङ’को परीक्षामा असफल भएका युवाहरूको थियो।
पाटन उच्च अदालतले उनीहरूलाई पनि सहभागी गराउन आदेश दिएपछि ‘शिप बिल्डिङ’ अर्थात् पानीजहाज निर्माणको काममा जानका लागि भाषा परीक्षा दिएका तर असफल भएका २८,००० मध्ये दुईतिहाइभन्दा बढीले उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिइसकेका छन्।

तस्बिर स्रोत, MOLES
उनीहरूलाई परीक्षाका लागि आवेदन दिने म्याद शुक्रवारसम्म थप गरिएको छ।
यसअघि ३२,००० जनाले शिप बिल्डिङमा जान आवेदन दिएकामा ४,००० जना मात्रै उत्तीर्ण भएका थिए।
दैनिक ८०० को परीक्षा लिँदा छ महिना लाग्ने

एचआरडी र ईपीएस कोरिया शाखाले यसअघि दैनिक ८०० जनाको मात्रै परीक्षा दिने गरेको थियो।
दैनिक ८०० जनाको मात्रै परीक्षा लिँदा एक लाख ६२,००० भन्दा बढी आवेदकको जाँच सक्न छ महिना भन्दा बढी समय लाग्ने देखिएको छ।
“परीक्षा कोरियाली टोलीले नै आएर लिन्छ। एक शिफ्टमा २०० को दरले दिनमा चार शिफ्ट गरेर ८०० जनाको परीक्षा लिने गरिएको छ,” ईपीएस कोरिया शाखाका अधिकृत कमलराज श्रेष्ठले बीबीसी न्यूज नेपालीसँग भने।
“पहिलेकै जसरी लियो भने त धेरै समय लाग्छ। अब यसमा दैनिक कोटा बढाएर लियो भने मात्रै छिटो हुन्छ।”
ईपीएस शाखाका श्रेष्ठका अनुसार नेपाली पक्षले दैनिक परीक्षा लिने सङ्ख्या बढाएर छिटो परीक्षा सक्न कोरियाली पक्षलाई अनुरोध गरिसकेको जानकारी दिए। तर कोरियाली पक्षले यसबारेमा कुनै जबाफ दिइसकेको छैन।
यसअघि श्रम मन्त्रालयका अधिकारीहरूसँग भएको छलफलमा कोरियाली पक्षले ईपीएसका लागि जिम्मेवार एचआरडीको प्राविधिक टोलीसँग छलफल गरेर नेपाललाई परीक्षाको व्यवस्थापकीय पक्षबारे जानकारी दिने बताएको थियो।
मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजीव पोखरेलका अनुसार दुवै पक्षका अधिकारीहरूले छलफल गरेर त्यसको प्रारूप तयार पार्नेबारेमा यसअघि छलफल भएको थियो।
श्रम विभागका महानिर्देशक डण्डुराज घिमिरेले यसअघिकै व्यवस्थापनमा परीक्षा लिँदा छ महिना बढी लाग्ने देखिएकाले परीक्षा लिइने सङ्ख्या बढाइने बताए।
“परीक्षा सक्नै छ महिना लगाउनु राम्रो हुँदैन। ठूलो ठाउँमा धेरै परीक्षार्थीलाई राखेर परीक्षा सञ्चालन गरेर छिट्टै सक्न कोरियाली पक्षसँग कुराकानी गर्छौँ,” घिमिरेले भने।
कोरियाले यसअघिको फेब्रुअरी २ मा परीक्षाको समय तय गर्ने कार्यतालिका बनाएको थियो।
“अहिले आवेदकको सङ्ख्या थप भएकोले त्यसमा तलमाथि हुन सक्छ,” ईपीएस शाखाका अधिकृत श्रेष्ठले भने।
परीक्षा उत्तीर्ण गरेर कोरिया जान बाँकी कति छन्?
दक्षिण कोरियाले पछिल्लो समय कृषि तथा पशुपालन, उत्पादन, निर्माण, सेवा र पानीजहाज निर्माण क्षेत्रमा नेपालबाट कामदार लैजाने प्रक्रिया अघि बढाएको छ।
ईपीएस प्रणालीबाट १६ वटा देशबाट कामदार लैजाने गरेको दक्षिण कोरियाले यसअन्तर्गत सबैभन्दा धेरै कामदार नेपालबाट छनोट गरिरहेको अधिकारीहरू बताउँछन्।
कोरियाले सन् २०२३ मा नेपालबाट १९,२१४ जना कामदार ईपीएस प्रणालीअन्तर्गत कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेकाहरूमध्येबाट लगेको थियो। त्यसको अघिल्लो वर्ष सन् २०२२ मा १४,००० कामदार कोरिया गएका थिए।
ईपीएस शाखाका अनुसार अझै २१,००० जना जति कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जाने पर्खाइमा छन्।
कोरियाली भाषा उत्तीर्ण भएका सबैलाई कोरियाले कामदारका रुपमा लैजाने सुनिश्चित भने हुँदैन।
रोजगारदाताको छनोटमा नपरेका केही युवाहरू भाषा परीक्षामा सफल भए पनि कोरिया जानबाट वञ्चित हुन सक्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले यसअघि बीबीसीसँग बताएका थिए।
ईपीएस शाखाका अनुसार कोरियाली भाषा उत्तीर्ण गरेर कृषि क्षेत्रमा जाने पर्खाइमा अझै करिब १०,००० नेपाली युवाहरू छन्। त्यस्तै उत्पादन क्षेत्रमा करिब ७,००० र पानीजहाज निर्माणमा करिब ४,००० जना भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जाने पर्खाइमा छन्।
पानीजहाज निर्माणमा यसअघि नै भाषा परीक्षा उत्तीर्ण गरेका ३६५ जना पनि अझै कोरिया जाने पर्खाइमै रहेको शाखाले जनाएको छ।
कोरियाले यो पटक आवेदन दिएका एक लाख ६०,००० जनामध्येबाट १५,८४८ जनालाई निर्माण क्षेत्रमा लैजाने जनाएको छ।
भाषा परीक्षाबाट छानिएका आवेदकहरू कोरियाको एचआरडीको सूचीमा रहने र उनीहरूमध्येबाट रोजगारदाताले छनोट गर्ने ईपीएस शाखाका श्रेष्ठले बताए।
ईपीएस के हो?

तस्बिर स्रोत, RSS
ईपीएस दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली हो।
यो प्रणालीअन्तर्गत नेपालबाट कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा एमओयू गरेको थियो। त्यसअन्तर्गत सन् २००८ बाट कामदार लैजान सुरु गरिएको थियो।
वैदेशिक रोजगार विभागको ईपीएस शाखाका अनुसार ४०,००० भन्दा बढी नेपाली दक्षिण कोरियामा काम गरिरहेका छन्।
शाखाका अधिकृत कमलराज श्रेष्ठका अनुसार ईपीएस दक्षिण कोरियाको विदेशी कामदार लैजाने एउटा प्रणाली हो।
यो प्रणालीअन्तर्गत दक्षिण कोरियाले नेपाल सहित १६ वटा देशबाट कामदार लैजाने गरेको छ। दक्षिण कोरियाले सन् २०२४ का लागि एक लाख ६५,००० विदेशी श्रमिक लिने घोषणा गरेको छ।
त्यसमध्ये नेपालका लागि कति कोटा दिइन्छ भन्ने अझैसम्म स्पष्ट छैन।
ईपीएस नेपालको वेबसाइटका अनुसार १८ देखि ३९ वर्षका व्यक्तिहरू जसले कोरियाको भाषा परीक्षा पास गरेका छन्। उनीहरूले उक्त प्रणालीबाट रोजगारीको अवसर पाउन सक्छन्।
तर त्यसको लागि विगतमा गैरकानुनी रूपमा नबसेको, स्वास्थ्य परीक्षा पास भएको, नेपालबाट बाहिर यात्रा गर्न प्रतिबन्ध नभएको र आपराधिक कसुर नगरेको प्रमाणित हुनुपर्छ।
खर्च कति लाग्छ?

तस्बिर स्रोत, Getty Images
दक्षिण कोरिया सस्तो लागत र आकर्षक आम्दानी भएको श्रम गन्तव्यमध्येको देशमा पर्छ।
कोरियाली भाषा परीक्षाका लागि राहदानी बनाउने खर्च बाहेक २८ डलर अर्थात् करिब ३,७७५ नेपाली रुपैयाँ आवेदन दस्तुरका लागि खर्च हुन्छ।
भाषा परीक्षा उत्तीर्ण गरेपछि रोजगारीको निवेदनका लागि ५ डलर, स्वास्थ्य परीक्षणका लागि ७३०० रुपैयाँ, भिसा प्रक्रियाका लागि करिब ८,००० रुपैयाँ र हवाई टिकटका लागि कामदारको खर्च हुन्छ।
कोरिया जाने नेपाली कामदारहरूको राहदानी बनाउने खर्चसहित १,३४० अमेरिकी डलर लागत लाग्ने ईपीएस कोरिया शाखाले जनाएको छ।
अधिकारीहरूका अनुसार ईपीएसअन्तर्गत जाने नेपाली कामदारहरूको औसत मासिक दुई लाख नेपाली रुपैयाँ हुन्छ। कम्पनीको सुविधा र अतिरिक्त समय काम गर्ने अवसरमा नेपाली श्रमिकहरूको आम्दानी फरक पर्ने अधिकारीहरू बताउँछन्।
कोरियामा काम गर्ने नेपालीहरूले १५ देखि २५ प्रतिशत रकम त्यहाँ खर्च गरेर बाँकी बचत गर्न सम्भव भएको अधिकारीहरू बताउँछन्।
कोरियाले उत्पादनमूलक क्षेत्रमा शैक्षिक योग्यता आवश्यक नपर्ने र साधारण लेखपढ गर्न जानेको व्यक्तिले भाषा परीक्षा दिन पाउने नियम बनाएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








