जब अमेरिका पुग्ने भारतीयको सपना बाली पुगेर टुङ्गियो

    • Author, सर्वजित धालीवाल
    • Role, बीबीसी पञ्जावी

दशौँ लाख भारतीयहरू जस्तै सुखजिन्दरले पनि अमेरिका पुग्ने र राम्रो जीवन बिताउने सपना देखेका थिए।

तर उनी अहिले त्यो कुरा सम्झँदा पनि झस्किन्छन्।

“अहिले कसैले विदेश जाने कुरा गर्‍यो भने पनि मेरो सातो जान्छ। त्यो एउटा निर्णयले मेरो जीवनको सबै कुरा बरबाद बनायो,” ३५ वर्षका सुखजिन्दरले भने।

पञ्जावको एउटा सानो गाउँ तरन तारनका सुखजिन्दर अमेरिका पठाइदिने एउटा गिरोहको झुटो बाचामा विश्वास गरेर ठूलो पैसा गुमाउने कम्तीमा १५० पीडित युवा र युवतीहरूमध्ये एक हुन्।

प्रहरीका अनुसार भारतीयहरूनै संलग्न रहेको यो गिरोहले अमेरिका पठाइदिने नाममा पीडितहरूलाई इन्डोनेशियाको बाली जस्ता नयाँ ठाउँमा पुर्‍याएर बन्धक बनाउने र उनीहरूको परिवारसँग मोटो रकम असुली गर्ने गरेको थियो।

इन्डोनेशिया र सिङ्गापुरमा अखडा

सस्तो हवाई टिकट र भारतीयहरूका लागि 'अन अराइभल भिसा' अर्थात् अग्रिम भिसा नचाहिने सुविधाका कारण यो गिरोहले इन्डोनेशिया र सिङ्गापुर जस्ता ठाउँमा अखडा बनाएको प्रहरीको आशङ्का छ।

पञ्जाव बाहेक भारतको हरियाणा, उत्तराखण्ड र हिमान्चल प्रदेशका युवाहरू पनि यो गिरोहको निशानामा परेको बताइएको छ।

प्रहरीका अनुसार गत वर्ष यो गिरोहका नाइके दाबी गरिएका सन्नी कुमारकी श्रीमती र उनका बुबालाई पक्राउ गरेर पञ्जावमा रहेको उनीहरूको घरबाट एक करोड ५० लाख भारतीय रुपैयाँ बरामद गरिएको थियो। हालसम्म यो ठगीमा संलग्न भएको आरोपमा ११ जनालाई पक्राउ गरिसकिएको छ।

तर कुमार र गिरोहका अन्य सदस्यहरू अझै फरार छन् र उनीहरू इन्डोनेशियामै लुकी रहेको आशङ्का गरिएको छ। प्रहरीले भारतको केन्द्रीय सरकारसँग समन्वय गरेर उनीहरूलाई पत्ता लगाउने प्रयास गरिरहेको जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूले पनि बयानमा केही कुरा खुलाएका छैनन्। बीबीसीले यसबारे प्रतिक्रियाका लागि इन्डोनेशियाको प्रहरीसँग सम्पर्क गरेको छ र प्रतिक्रिया आएपछि यो समाचार अद्यावधिक गरिनेछ।

परिवारलाई दबाब

दुई वर्षदेखि सक्रिय रहेको यो समूहबाट युवा तर धेरै अध्ययन नगरेकाहरू निशानामा परेका छन्।

“गिरोहका मानिसहरूले पीडितहरूलाई मेक्सिको हुँदै अमेरिका लैजाने वाचा गर्दा रहेछन्,” मोहाली सहरका प्रहरी आयुक्त गुरशेर सिंह सन्धुले बीबीसीसँग भने।

“उनीहरूले आफ्ना ग्राहकहरूलाई देश बाहिर उडाएपछि परिवारमा फोन गरेर सुरक्षित रूपमा पुगेको भन्दै गिरोहलाई पैसा दिन भन्न दबाब दिँदा रहेछन्।”

पन्जावमै रहेका गिरोहका केही मानिसहरूले पीडितका घरमा पुगेर पैसा लिइसकेपछि पीडितलाई त्यही देशमा अलपत्र छोडिदिने वा भारतमै फिर्ता पठाइदिने गरेको सन्धुले बताए।

सुखजिन्दरका अनुसार अमेरिका पुग्न सहयोग गर्ने एक जना आफन्तको आश्वासनमा परेर उनी गत अक्टोबरमा सन्नी कुमारको सम्पर्कमा पुगेका थिए।

सम्बन्धित सामग्री

सन्नी कुमारले अमेरिका जान ४५ लाख भारतीय रुपैयाँ खर्च हुने बताए। उनलाई सबैभन्दा पहिले बाली लैजाने त्यसपछि कुमार र उनका मानिसहरूले मेक्सिको हुँदै अमेरिका पुर्‍याउने योजना सुनाइयो।

सुखजिन्दरका अनुसार कुमारले अग्रिम भुक्तानी समेत नलिई आफूलाई बाली जाने टिकट पठाएपछि उनले विश्वास गरे।

अक्टोबर २९ मा उनी दिल्लीबाट इन्डोनेशियाको बालीका लागि उडे।

तर यही बिन्दुबाट सबै कुरा भयानक मोडमा पुग्यो।

सुखजिन्दरका अनुसार उनलाई अज्ञात स्थानमा २३ दिनसम्म बन्धक बनाएर राखिएको थियो।

“मलाई यति धेरै कुटियो कि मैले मेरो परिवारलाई ढाँट्न सहमत हुनुको कुनै विकल्प रहेन,” उनले सुनाए।

गिरोहका एजेन्टलाई ४० लाख बुझाएपछि उनलाई आफ्नो देश फर्कन दिइयो।

भारतमा ठगीको शृङ्खला

अमेरिका जान भारतीयहरूले अनेक प्रयास गर्ने क्रममा कतिपय मानव तस्करहरूबाट पीडित पनि हुने गरेका छन्।

अमेरिकी सरकारको तथ्याङ्क अनुसार सन् २०२० मा १९,८८३ भारतीयहरू गैर कानुनी रूपमा अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परेका थिए। यो सङ्ख्या सन् २०२१ मा बढेर ३०,६६२ र सन् २०२२ मा थप बढेर ६३,९२७ पुगेको थियो।

विज्ञहरूका अनुसार कतिपय क्यानडाको बाटो हुँदै र केही मेक्सिकोको बाटो हुँदै अमेरिका प्रवेश गर्ने प्रयास गर्छन्। मानव तस्करहरूले उनीहरूलाई सीमा पार गर्ने जोखिमपूर्ण यात्रा गराउँछन्। कतिपयले यस्तो यात्राका क्रममा ज्यान समेत गुमाउने गरेका छन्।

गत साता मात्रै भारतको एउटै परिवारका चार जनाको शव अमेरिका र क्यानडाबीचको सीमामा एउटा खोलाको दलदलमा भेटिएको थियो।

सन् २०२० को ज्यानुअरिमा पनि अर्को परिवारका चार जनाको शव सीमा नजिक चिसोले जमेको अवस्थामा भेटिएको थियो। त्यसअघि सन् २०१९ मा मेक्सिको हुँदै आफ्नी आमासँग गैर कानुनी रूपमा अमेरिका प्रवेश गरेकी पञ्जावकी एक जना छ वर्षीय बालिकाको मृत्युपछि भारतमा आक्रोश पैदा भएको थियो।

‘आफ्नै जीवन बचाउन पनि पैसा तिर्नुपर्‍यो’

पञ्जावका एक जना अर्थशास्त्री रञ्जित सिंह घुमानका अनुसार राज्यमा रोजगारीको अभाव भयावह अवस्थामा छ।

भारतको आर्थिक सर्वेक्षणका अनुसार सन् २०२१ र २०२२ मा बेरोजगारीको दर ७.२ प्रतिशत छ।

“यहाँका युवाहरू निराश छन् र यो निरस जीवनबाट उन्मुक्ति चाहन्छन्। त्यस कारण उनीहरू यस्तो जोखिमपूर्ण निर्णय लिन्छन्,” उनले भने।

सरकारले नयाँ रोजगारी सिर्जनाका लागि लगानी गर्नुपर्ने उनको धारणा छ।

यही गिरोहबाट पीडित भएका अर्का युवा विशाल कुमार आफ्नो हताश अवस्थाका कारण यस्तो कदम चाल्न बाध्य भएको बताउँछन्।

उनले कक्षा १० पास गरेपछि पढाइलाई निरन्तरता दिन सकेनन्। त्यसपछि नै आफूलाई जागिरको खोजी गर्नुपर्ने बाध्यता रहेको उनी बताउँछन्।

“जब मैले यो गिरोहबारे सुनेँ मलाई लाग्यो कि म जीवनको यो अवस्थाबाट भागेर अर्को देशमा केही गर्न सफल हुन्छु। तर अन्ततः मैले आफ्नै जीवन बचाउन पनि पैसा तिर्नुपर्‍यो,” उनले सुनाए।

पञ्जाव सरकारको अग्रसरता

पञ्जाव सरकारले गैरकानुनी मानव तस्करी नियन्त्रणका लागि नयाँ कानुनहरू बनाएको छ र नक्कली ट्राभल एजेन्सीहरूलाई नियन्त्रण गर्ने अभियान सञ्चालन गरेको छ।

गत फेब्रुअरीमा जालन्धर जिल्लाको प्रशासनले ठगीको आरोपमा हजारौँ आप्रवासन परामर्शदाताहरू, अन्तर्राष्ट्रिय टिकट बुकिङ एजेन्टहरू र अङ्ग्रेजी ट्युसन कक्षा सञ्चालकहरूको इजाजत खारेज गरिदिएको थियो।

घुमान कठोर कानुनी व्यवस्थाका बाबजुद पनि नक्कली एजेन्टहरू यो राज्यमा सक्रिय भइरहेको बताउँछन्।

“कानुनी प्रक्रियाहरू लामो र अप्ठ्यारा हुन्छन्। अधिकांश पीडितहरू किसानहरू र कम पढेलेखेका हुन्छन्,” उनले भने।

उता तरन तारनमा सुखजिन्दर आफ्नो भविष्यबारे चिन्तित छन्।

“मैले अमेरिकामा जान खेत बेचेर नपुगेको पैसा सापटी लिएको थिएँ। तर अहिले साहुले पैसा फिर्ता मागिरहेको छन् र मलाई के गर्ने थाहा छैन,” उनले भने।