देउवा किन गए सिङ्गापुर? समस्या पेटको कि आँखाको?

शेरबहादुर देउवा

तस्बिर स्रोत, Reuters

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नक्कल गर्ने कलाकारहरूले नछुटाउने अभिनयमा पर्छ बारम्बार चस्मा मिलाइरहने उनको बानी।

तर देउवाले त्यस्तो बानी छोडेको पाँच वर्ष हुन लागेको छ।

विसं २०७५ साउनबाट देउवाले चस्मा लगाउनै छाडेका छन्। सिङ्गापुरमा आँखाको उपचार गराएपछि देउवाले चस्मा लगाउन छोडेको उनका स्वकीय सचिव भानु देउवाले त्यस बेला सञ्चारमाध्यमलाई जानकारी दिएका थिए।

नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा फेरि आँखाको 'फलोअप उपचार'का लागि सिङ्गापुर गएको यसअघि उनको स्वास्थ्य जाँच गरेका एक जना चिकित्सकले बताएका छन्।

देउवा

तस्बिर स्रोत, Arzu Rana Deuba/Facebook

तस्बिरको क्याप्शन, देउवा २०७५ साउनसम्म चस्मा लगाउँथे

देउवाका स्वकीय सचिवले पनि उनी आँखाको 'फलोअप' र पेटको 'उपचार'का लागि सिङ्गापुर जान लागेको यसअघि कतिपय सञ्चारमाध्यममा बताएका थिए।

नेपालमै उदाहरणीय आँखा उपचार सेवा दिएका कारण अन्तर्राष्ट्रिय पुरस्कारहरूबाट सम्मानित भएका सन्दुक रुइतजस्ता चिकित्सकहरू हुँदाहुँदै देउवा आँखाको उपचारका लागि विदेश गएको भन्दै कतिपयले टिप्पणी गरेका छन्।

तर उनको सचिवालयले भने यसअघिकै उपचारको फलोअप भएका कारण जानुपर्ने बाध्यता भएको दाबी गरेको छ।

देउवाको स्वास्थ्य समस्या के हो?

देउवा पछिल्लो पटक प्रधानमन्त्री हुँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को चिकित्सक रहेका डा. शैल रुपाखेतीका अनुसार देउवाको आँखाको शल्यक्रिया सिङ्गापुरमा गरिएका कारण उनले फलोअप गरिरहनुपर्छ।

“उनीहरूले पनि अपरेशन गरेपछि बोलाएका हुन्छ्न्। उहाँ जानैपाउनुभएको थिएन, अहिले जानुभएको हो,” अहिले पनि देउवाको स्वास्थ्यबारे जानकार मानिने डा. रुपाखेतीले भने।

“स्वास्थ्यका हिसाबले उहाँ पर्फेक्ट्ली अलराइट (तन्दुरुस्त) हुनुहुन्छ। ब्लडप्रेसर (उच्च रक्तचाप)को बाहेक उहाँले कुनै पनि औषधि खानुहुन्न।”

देउवाको सचिवालयले भने उनको पेटमा पनि समस्या रहेको र सिङ्गापुरमा त्यसको पनि जाँच गरिने जनाएको छ।

देउवा लामो समयदेखि उपचारका लागि सिङ्गापुर जाने गरेका थिए।

यसअघि विसं २०७३ र २०७५ सालमा सिङ्गापुर गएका उनले त्यति बेला पेटको जाँच गराएको बताएका थिए।

“उहाँ नियमित उपचारमा जान थालेको १२-१५ वर्ष भयो। अहिले पनि फलोअपका लागि जानुभएको हो,” देउवा प्रधानमन्त्री हुँदा प्रेस विज्ञ रहेका गोविन्द परियारले भने।

तर डा. रुपाखेतीले आफूलाई देउवाको पेटमा पनि समस्या रहेको भन्ने जानकारी नभएको बताए।

“म पनि भारततिर थिएँ। आउँदा जान लाग्नुभएको रहेछ। मैले जानुअघि कुरा गरेको थिएँ। त्यही आँखाको फलोअपका लागि जान लागेको कुरा मलाई भनिएको हो,” उनले भने।

‘रुइतको देशबाट आँखा उपचार गर्न विदेश’

आँखा उपचार

तस्बिर स्रोत, tilganga.org

शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर गएसँगै उनलाई भएको समस्याको नेपालमा उपचार नै नहुने हो त भनी कतिपयले सामाजक सञ्जालमा प्रश्‍न गरिरहेका छन्।

पूर्वराष्ट्रपति विद्या भण्डारीका तात्कालिक सञ्चारविज्ञ टीका ढकालले देउवाको नाम उल्लेख नगरी ट्विटरमा लेखेका छन्, “सन्दुक रुइतको देशबाट आँखा उपचार गर्न बिदेसिनु सबैभन्दा ठूलो राजनीति हो।”

उक्त ट्वीटमा प्रतिक्रिया जनाउनेमध्ये केहीले छिमेकी देशबाट समेत नेपालमा आँखा उपचार गर्न आउने गरेको दृष्टान्त दिँदै पूर्व प्रधानमन्त्रीको उपचार भ्रमणलाई “हास्यास्पद” भनेका छन्।

देउवाको आँखामा गर्नुपर्ने फलोअप जाँच र पेटमा देखिएको भनिएको समस्याबारे थाहा नभई उनको उपचार नेपालमै हुन सक्ने वा नसक्नेबारे केही बताउन नसकिने चिकित्सकहरूको भनाइ छ।

देउवाको सचिवालयले उनले आफ्नो स्वास्थ्य समस्याबारे नेपालका डाक्टरहरूसँग परामर्श नलिएको जनाएको छ।

‘देउवाको खर्च आफ्नै’

देउवाका प्रेस विज्ञ परियारले उनको उपचार खर्च आफैँले बेहोर्ने गरेको बताएका छन्।

“यस पटक मात्रै होइन, हरेक पटक जाँदा उहाँले आफ्नै खर्चमा उपचार गराउनुभएको छ। संसद् सचिवालयबाट पनि उहाँले उपचार खर्च लिने गर्नुभएको छैन,” परियारले भने।

नेपालमा कतिपय नेताहरूले आफ्नो स्वास्थ्य उपचारका लागि सरकारबाट आर्थिक सहयोग लिने गरेको विषयमा आलोचना हुने गरेको छ।

फलोअप उपचारका लागि मङ्गलवार सिङ्गापुर पुगेका देउवाले त्यहाँको माउन्ट एलिजाबेथ अस्पतालमा उपचार गराउने उनको सचिवालयले जनाएको छ।

देउवा एक सातापछि काठमाण्डू फर्किने बताइएको छ।

देउवाको उपचारका लागि उनकी पत्नी आरजु राणा देउवा र स्वकीय सचिव भानु देउवा पनि सिङ्गापुर पुगेका छन्।