तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
तीन सागरबाट आएका वायु, बादल र ओसले नेपालमा वर्षा र चिसो
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
भारतको मुम्बईनजिक अरब सागरमा विकसित भएर नेपाल प्रवेश गरेको न्यूनचापीय प्रणाली, भूमध्य सागरबाट आउने पश्चिमी वायुको प्रभाव र बङ्गालको खाडीमा विकसित 'मोन्था' चक्रवातको प्रभाव थपिँदा नेपालका अधिकांश स्थानमा वर्षा भइरहेको मौसमविद्हरूले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीवारबाट नेपालमा वर्षा गराउने चाहिँ मोन्था चक्रवात हो। त्यसमा यसअघिबाटै नेपालमा जलवाष्पयुक्त हावा ल्याइरहेका पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणाली पनि थपिँदा जाडो चर्काउने गरी वर्षा भइरहेको छ।
"मोन्थाको सबैभन्दा धेरै प्रभाव छ। त्यसमा अरब सागर र पश्चिमी वायुको पनि योगदान छ। तर मोन्था नसकिँदासम्म यो नै हाबी हुन्छ," जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता मौसमविद् विभूति पोखरेल भन्छिन्। यद्यपि पश्चिमी वायु त्यति धेरै बलियो नभएको विज्ञहरू बताउँछन्।
नेपालमा हिउँदयाममा भूमध्य सागरबाट आउने वायुले वर्षा गराउँछ। भूमध्य सागरबाट आउने वायु इरान, अफगानिस्तान, पाकिस्तान र भारतको उत्तराखण्ड हुँदै नेपालको सुदूरपश्चिमबाट भित्रिन्छ। यसले विशेष गरी हिमाली क्षेत्रमा हिउँ पार्ने गरेको मौसमविद्हरू बताउँछन्।
यही समयमा भारतको मुम्बईनजिकै अरब सागरमा न्यूनचापीय प्रणाली विकसित हुँदा त्यहाँबाट पनि वर्षा बोकेको बादल गुजरात हुँदै नेपाल भित्रिएको मौसमविद्हरू बताउँछन्।
तेस्रो चाहिँ हिन्द महासागरको उत्तरपूर्वी भाग बङ्गालको खाडीमा विकसित मोन्था चक्रवात हो।
उक्त चक्रवात सबैभन्दा पहिले भारतको आन्ध्र प्रदेशमा बज्रिएको थियो। मोन्था चक्रवात अहिले निस्तेज भइसकेको छ। तर त्यसले समुद्रबाट जलवाष्पयुक्त हावा उत्तरी क्षेत्रतर्फ धकेल्दा भारतसहित नेपालका अधिकांश क्षेत्रमा वर्षा भएको मौसमविद्हरू बताउँछन्।
"त्यो चक्रवात सुरुमा श्रीलङ्कातर्फ मोडिएको थियो। पछि केही तल पुगेर पुनः उत्तरतर्फ फर्कियो। त्यतिबेला वायुमण्डलमा प्रशस्त जलवाष्प आयो," त्रिभुवन विश्वविद्यालयस्थित जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्रमुख प्राध्यापक टेकबहादुर क्षेत्री भन्छन्।
"नेपालमा यो समयमा उच्च पहाडी भूभागतिर पश्चिमी वायु हुन्छ। त्यसमा आर्द्रता चाहिँ हुन्छ तर पानी पार्दैन। त्यस कारण बादल मात्रै लागिरह्यो," क्षेत्री भन्छन्।
उनका अनुसार नेपालमा बिहीवारबाट प्रवेश गरेको मोन्था चक्रवातका कारण विकसित वायुले नेपाली आकाशमा रहिरहेको पश्चिमी सुक्खा वायुलाई पनि जलवाष्पयुक्त वायुसँग मिसाएका कारण वर्षा भइरहेको छ। "त्यही चक्रवातले लगभग नेपालभरि नै आर्द्रता थपिदियो," उनी भन्छन्।
कहिलेसम्म रहन्छ मोन्थाको असर
मौसमविद्हरूले शनिवारबाट नेपालमा मोन्था चक्रवातको असर सकिँदै जाने बताएका छन्। जल तथा मौसम विज्ञान विभागले शनिवार नेपालको सुदूरपूर्वी क्षेत्रमा वर्षा हुने पूर्वानुमान सार्वजनिक गरेको छ। कोशी अञ्चलका पूर्वी जिल्लाहरूमा सावधानी अपनाउन भनिएको छ।
नेपालमा मोन्थाको अधिकतम प्रभाव शुक्रवार पर्ने पूर्वानुमान छ। शुक्रवार बागमती, मधेश र कोशी प्रदेशका केही स्थानमा भारी वर्षा हुने भए पनि कतिपय मौसमविद्हरूले पूर्वानुमान गरे जस्तो ठूलो वर्षा नहुने जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता पोखरेल बताउँछिन्।
"हल्कादेखि मध्यम वर्षा हुने। बीचमा केही रोकिने र वर्षा हुने क्रम चाहिँ शनिवारसम्म चलिरहन्छ। एक-दुई स्थानमा भारी वर्षा हुने बाहेक हल्का र मध्यम वर्षा नै हुन्छ भन्ने हामीले यसअघिबाटै भन्दै आएका छौँ," पोखरेल भन्छिन्।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक क्षेत्री पनि चर्चा गरिएजस्तो धेरै ठूलो वर्षा धेरै ठाउँमा नहुने बताउँछन्।
"वायुमण्डलमा धुलोका कणहरू पनि रहने भएका कारण बर्खाको जस्तो ठूलो वर्षा नहुन सक्छ। मलाई मोन्थाको प्रभाव नेपाल आउँदा कमजोर भइसकेको जस्तो लागेको छ। धेरैतिर बाढी डुबान नगराई निष्क्रिय भएर जानुपर्ने हो," उनले भने।
उनका अनुसार अहिले भइरहेको वर्षा नेपालमा देखिने नियमित मौसमी प्रणालीको अङ्ग होइन। उनले पश्चिमी वायुबाट आउने वर्षा पनि नेपालमा कमजोर हुँदै गएको बताएका छन्।
"नेपालमा वर्षा गराउन आउने पश्चिमी वायुको बाटोमा आबादी बढी भएका कारण त्यसको प्रभाव नै घटिसक्यो," उनले भने।
'सेफ होल्डिङ' स्थान पहिचान
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख कार्यकारी दिनेशप्रसाद भट्टले वर्षा बढी हुन सक्ने पूर्वानुमान भएका स्थानहरूमा 'सेफ होल्डिङ' स्थान पहिचान गरिएको बताए।
उनका अनुसार राजमार्गहरू अवरुद्ध हुने अवस्था आए बीच बाटोमा रहेका सवारीसाधनहरूलाई यस्ता स्थानमा रोकेर राख्ने व्यवस्था मिलाइन्छ।
"जहाँ मान्छेले अलिअलि होटल पनि पाओस्, खाद्यान्न पनि पाओस्, बस्ने ठाउँ पनि पाओस्, माथिबाट पहिरो आउने जोखिम पनि नभएका ठाउँमा गाडी रोक्ने। अनकन्टारमा फस्नुभन्दा त्यस्ता ठाउँमा रोक्ने भनेर जिल्ला र स्थानीय प्रशासनले खोजेका ठाउँ हुन्," यस्ता स्थानबारे उनले भने।
"त्यस्ता ठाउँमा बजार दरभाउ पनि बढी नहोस् भनेर अनुगमन पनि हुन्छ।"
प्रशासनले बिहीवार राति मेची राजमार्गमा सवारी आवागमनमा रोक लगाएको छ भने कतिपय स्थानीय तहले विद्यालयहरू पनि बन्द गरेका छन्।
प्राधिकरणका प्रमुख भट्टका अनुसार माथिल्लो हिमाली क्षेत्रमा पदयात्राका लागि गएका ७०० जनाभन्दा धेरैको उद्धार भइसकेको छ।
बिहीवारबाट उद्धार र विपद् तयारीका कामहरू मधेश र पूर्वी क्षेत्रमा बढी केन्द्रित गरिएको अधिकारीहरूले बताएका छन्।
जाडो बढाउने वर्षा
नेपालमा जाडो याम सुरु हुनै लाग्दा भइरहेको वर्षाले जाडो बढाउने मौसमविद्हरूले बताएका छन्।
काठमाण्डू उपत्यकामा दिउँसोको तापक्रम २० डिग्री सेल्सिअसतिर झरेको छ।
मध्य र सुदूरपश्चिमका केही समथर भूभागमा दिउँसो २५ डिग्री सेल्सिअस तापक्रम रहेको विभागले जनाएको छ। वरिष्ठ मौसमविद् पोखरेल यो वर्षासँगै जाडो बढ्ने बताउँछिन्।
"स्वाभाविक रूपमा हामी क्रमिक रूपमा जाडोतर्फ नै लागिरहेका छौँ। यो वर्षापछि जाडो त हुन्छ नै," उनले भनिन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।