जिजुबाजेका पालादेखिको हिउँ पग्लिँदा डोल्पालीमा पलाएको डर

हिउँविहीन काला पहाडका देखिएका छन्
    • Author, प्रकाश पन्त
    • Role, लिकु, डोल्पा

एक दशक अघिसम्म गहुँ, जौ, उवा जस्ता हिउँदे बालीले हरिया हुने डोल्पाका लिकु, चुँ, पहाडा, छलगाउँ, सुँगाउँ, जिउँ लगायतका गाउँका खेतबारी केही वर्षदेखि भने बाँझै र उराठ लाग्दा हुँदै आएका डोल्पावासीले बताएका छन्।

एक दशक यता गाउँमा हिउँ पर्न छाडेपछि आफूहरूले हिउँदे बाली लगाउन छाडेको मुटुचुलेली र मुकुटेश्वर हिमालको काखैमा रहेको चुँगाउँका धर्मबहादुर बुढाले बताए।

"पहिला कात्तिक-मङ्सिर महिनाबाटै गाउँमा हिउँ पर्थ्यो, समयमै हिउँ पर्दा उवा, गहुँ, जौजस्ता हिउँदे बाली लगाउँथ्यौँ", उनले भने, "बाली पनि राम्रै हुन्थ्यो। आफ्नै बारीको उब्जनीले वर्षभरि पुग्थ्यो। हिजोआज हिउँ नै पर्दैन। खेतबारी बाँझै छन्। खाद्यको चामल किनेर खान्छौँ।"

उनका अनुसार एक दशक अघिसम्म गाउँलाई कार्तिक-मङ्सिर महिनामै हिउँले ढाक्थ्यो। चैत-वैशाख महिनातिर मात्रै हिउँ पग्लिन्थ्यो। खोल्साखोल्सी र वनजङ्गलमा जेठ महिनासम्मै हिउँ रहन्थ्यो।

हिउँ नपरेपछि चरण क्षेत्रमा घाँस उम्रन नसकेको र त्यसैका कारण भेडा, बाख्रा, चौँरी, च्याङ्ग्रा, घोडा. खच्चर र गाईबस्तु पालन गर्ने किसानलाई आहार जुटाउनै कठिन हुने गरेको पनि उनले सुनाए।

उनी भन्छन्, "हिउँले पाटनमा बुकीहरू चाँडै पलाउँथ्यो। घरमा पालेका पशु बस्तुका साथै जङ्गली जनावर झारल, घोरल, कस्तुरी मृगलाई पनि सजिलो हुन्थ्यो।"

"हिउँ नपर्दा पानीका मुहान र खोला पनि सुक्दै गएका छन्। अहिले हिउँ नपर्दा हामी धेरै नै दु:खी छौँ", धर्मबहादुर भन्छन्, "हिउँ परेको भए मानिसलाई मात्र होइन, पशु वस्तुलाई पनि बाँच्न सजिलो हुन्थ्यो।"

हिउँ पर्दैन, परिहाले टिक्दैन

बारीमा बाली भित्र्याएपछिका ठुटामा चर्दै गरेका दुई गाइ

गाउँमा समयमै हिउँ नपर्दा डोल्पाको जिउँगाउँबासीले पनि चुँगाउँबासीले जस्तै समस्या भोगिरहेका देखिन्छन्।

जिउँ गाउँमा धेरैजसो खेतबारी बाँझै रहेको देखिन्छ। उम्रिएका गहुँ, जौ र उवा पनि सुक्न थालेकाेले खाद्यान्न जुटाउनै कठिन हुन सक्ने त्रास गाउँमा छ। खडेरीले गर्दा भुईँ सुक्खा छ। धुलो माटोले गर्दा स्वास्थ्यमा विभिन्न समस्या देखा पर्न थालेको गाउँले बताउँछन्।

उनीहरूका अनुसार पहिला पहिला गाउँमा टन्नै हिउँ पर्थ्यो र धेरै दिनसम्म रहन्थ्यो। अहिले पाटनमा मात्रै हल्का हिउँ पर्छ। जिँउगाउँमा पनि हिउँ नपरेको ६-७ वर्ष नै भयो।

"हिउँ परेको भए, जमिनको आँत रहन्थ्यो। गहुँ बाली राम्रो हुन्थ्यो। भेडा बाख्रा र गाईबस्तु पाल्न सजिलो हुन्थ्यो", जिउँ गाउँका ३२ वर्षे अलिचन्द्र बोहराले भने, "हिउँले माटो धुलो हुन दिँदैनथ्यो। घाँस पलाउँथ्यो। अलि न्यानो हुन्थ्यो। अहिले जाडो पनि धेरै हुन्छ।"

एक दशक अघिसम्म हिउँले ढाकेर बाह्रै महिना सेताम्मे हुने तल्लो डोल्पाको त्रिपुरा सुन्दरी र ठुलोभेरी नगरपालिकाको लिकु, चुँ, पहाडा, छलगाउँ, सुँगाउँ, जिउँ गाउँ नजिकका मुटुचुलेली, मुकुटेश्वर, भोक्पा र फूलबारी हिमालहरू कालै छन्।

कतैकतै मात्र थोरै हिउँ देखिन्छ। अहिले हिउँ परिहाल्यो भने पनि धेरै दिन टिक्दैन। सानै उमेरदेखि बाह्रै महिना सेताम्मे हिमालहरू देखेका ६८ वर्षका धर्मबहादुर बुढाले ८-१० वर्ष यतादेखि हिमालहरू काला हुन थालेको बताउँछन्।

पुस्तौँ पुस्तादेखिको हिउँ पनि बिलाएर गयो

डोल्पाको एक गाउँ

"जिजु बाजेको पालादेखिकै हिउँ बिलाएर अहिले हिमाल कालै भए," उनी भन्छन्।

हिमाली क्षेत्रका मानिस र हिउँबीच गहिरो सम्बन्ध रहँदै आएको छ। हिउँमा निर्भर हिमाली क्षेत्रका मानिसहरू हिउँ नपर्दा खडेरी, भोकमरीजस्ता विभिन्न समस्यासँग जुध्ने गर्छन् ।

स्याउको आम्दानीबाट परिवार आफ्नो परिवार पाल्दै आइरहेकी जिउँ गाउँकी उर्मिला बोहरालाई हिउँ नपर्दा स्याउका बुटाहरू जोगाउन गाह्रो भइरहेको छ ।

"गाउँमा हिउँ नपरेको ७-८ वर्ष भयो । पहिला बेलैमा हिउँ पर्थ्यो र धेरै समय रहन्थ्यो । त्यसैले स्याउका बोटमा पानी हाल्नु पर्दैनथ्यो", उनी भन्छिन्, "हिउँ नपर्दा सुक्खा भएर स्याउका बोट जोगाउनै मुस्किल छ। उति बेला धेरै हिउँ परेर फाल्न दु:ख हुन्थ्यो। अहिले हिउँ नपरेर दु:ख छ।"

वर्षेबाली मकै, कोदो, धान, सिमी लगाएर उवा, गहुँ, जौजस्ता हिउँदे बाली लगाउने खेतबारी बाँझै छाडेका लिकुका लक्ष्मीचन्द्र बोहरा हिउँ नपर्दा डोल्पालीलाई बाँच्न गाह्रो हुन थालेको सुनाउँछन्।

"बाह्रै महिना हिउँले ढाकिने गरेका हिमालहरू झन् झन् काला हुँदैछन्", उनी भन्छन्, "गाउँमा हिउँ र पानी नपर्दा खडेरी छ। सिँचाइको सुबिधा छैन। खेतबारी बाँझै छन्। हिउँदे बाली लगाउन छाडियो।"

वर्षे बालीले वर्षभरि खान पुग्दैन।

गाउँमा सडक नपुगेको भए अनि स्याउ, खुर्सानी, भेडा बाख्रा, ओखर, सिमीबाट आम्दानी नहुने भए भोकमरी परिसक्थ्यो। सडक सुविधाले गर्दा गाउँमै खाद्यको चामल पाइन्छ।

त्यसैले भोकमरीको समस्या अहिलेलाई छैन।

बहुमूल्य जडीबुटी पनि घट्दै

भेडा चराउँदै गरेकी एक महिला

अहिले तल्लो डोल्पाका अधिकांश गाउँहरूमा सडक पुगेको छ।

सडकको ट्र्याक मात्र खोलिएको भए पनि गाउँलेलाई आवतजावत गर्न र सरसामान ल्याउन लैजान सजिलो भएको छ।

जाजरकोट डोल्पा सडक खण्डको आधाभन्दा बढी भाग कालो पत्रे भइसकेको छ भने बाँकी भागको काम तीव्र गतिमा अघि बढिरहेको छ।

सडक सुविधा नभएको बेला डोल्पाबासीले भेडा खसी, घोडा खच्चरमा बोकाएर जाजरकोट, रुकुम पश्चिमबाट अनाज लैजान्थे।

भेडा खसी र घोडा खच्चर नहुनेले डोल्पा बासीले पिठ्यूँमा बोकेर खाद्यान्न ल्याएर खाएको दिनहरू पनि सम्झन्छन्।

"हामीलाई बाँच्न पनि गाह्रो हुने भयो जस्तो लाग्छ।"

डोल्पावासीको आम्दानीको मुख्य स्रोत मानिने यार्सागुम्बा, भुल्ते, कटुको, पदम पाँचऔँले, चुकजस्ता बहुमूल्य जडीबुटी पनि पछिल्लो समय पहिलाको जस्तो नपाइने र घट्दै गइरहेको उनीहरू बताउँछन्।

पूर्वदेखि पश्चिमका हिमालमा समस्या उस्तै: विज्ञ

जलवायु परिवर्तनलाई निगरानी गरिरहेको जल तथा मौसम विज्ञान विभागका अनुसार विभागका अनुसार यो समस्या डोल्पाको मात्रै नभएर पूर्वदेखि पश्चिमतिरकै हिमाली क्षेत्रको समस्या हो ।

जलवायु परिवर्तनको गर्दा हिमालमा हिउँ कम हुँदै गएको भने हिउँमा हिउँ र पानी नपर्दा खडेरीको अवस्था सृजना भएको छ ।

विभागका अनुसार हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर छिटो देखिएको छ । मौसमी हिउँ र हिउँदको वर्षा घट्दो छ भने तापक्रम बढ्दो क्रममा नै छ ।

३- ४ वर्षयता भने हिउँको समयमा खासै हिउँ र पानी नपर्दा खडेरी पर्दा विभिन्न खालका समस्याहरू देखिन थालेको छन् ।

विभागका प्रवक्ता विभूति पोखरेलले पछिल्ला केही वर्षयता जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा सोचेको भन्दा पनि बढी देखिएको बताइन् ।

उनले भनिन्, "हिउँको समयमा पश्चिमी वायुको कारणले बन्ने न्यूनचापीय प्रणालीले गर्दा हिमाली क्षेत्रमा हिउँ पर्ने, पहाडी र तराई क्षेत्रमा वर्षा हुने हो । तर पछिल्ला ३- ४ वर्षयता भने हिमालमा पश्चिमी वायु जति सक्रिय हुनु पर्ने हो, त्यति सक्रिय नहुँदा हिउँ र पानी परेको छैन । त्यसको प्रत्यक्ष असर कृषिमा देखिएको छ भने अरू क्षेत्रमा पनि असर पर्दै जान्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।