तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
रसुवामा तीन साताको अवधिमा दुई ठूला बाढी: समानता र फरक
- Author, गनी अन्सारी
- Role, बीबीसी न्यूज नेपाली
नेपालको उत्तरी भेगमा रहेको रसुवा जिल्लामा तीन सातापछि भोटेकोशी नदीमा गएराति फेरि ठूलो बाढी आएको अधिकारीहरूले बताएका छन्।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बीबीसीलाई बताएअनुसार बाढीका कारण यसपालि मानवीय क्षति नभए पनि भौतिक क्षति चाहिँ थपिएको छ।
असार २४ गतेको विनाशकारी बाढीले मानवीय र व्यापक भौतिक क्षति निम्त्याएको पृष्ठभूमिमा स्थानीयवासीमा चिन्ता थपिएको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालले बीबीसीलाई बताए।
बाढीले कटान जारी राख्दा रसुवागढी सडक अवरुद्ध भएको स्थानीय जनप्रतिनिधि र अधिकारीहरूले बताएका छन्।
योसँगै अघिल्लो बाढीपछि पुनर्निर्माण गर्ने अधिकारीहरूको प्रयासमा धक्का लागेको छ।
'समयमै सजग गराउन सक्यौँ'
प्रमुख जिल्ला अधिकारी पौडेलले तटीय क्षेत्रका बासिन्दाहरूलाई समयमै सजग गराउँदा खतरा टरेको बताए।
उनले बताएअनुसार पछिल्ला दुईवटा बाढीलाई हेर्दा चीनतिर शुरू भएर नेपालसम्म आइपुग्न दुई-अढाई घण्टा लाग्ने गरेको देखिएको छ।
"दुई बजेतिर शुरू भएको बाढी यतासम्म आइपुग्न चार बजिसकेको थियो। समयमै सजग गराउँदा मानवीय क्षति हुनबाट जोगाउन सकिने रहेछ भन्ने कुरा सिकियो," बीबीसी न्यूज नेपालीसँग प्रजिअ पौडेलले भने।
अध्यक्ष अर्यालका अनुसार राति २ बजेदेखि नै रसुवाको बेत्रावतीदेखि टिम्बुरेसम्म प्रहरीले माइकिङ गर्दै र साइरन बजाउँदै स्थानीय बासिन्दालाई सजग गराउने काम गरेको थियो।
'यसपालि भौतिक क्षति थपियो'
सावधानी अपनाउँदा शौभाग्यवश गएरातिको बाढीले मानवीय क्षति नभए पनि भौतिक क्षतिका विवरणहरू अधिकारीहरूले दिएका छन्।
"अस्ति भएको भौतिक क्षतिमा फेरि क्षति भइदिएर जटिलता थपिएको छ। स्याफ्रुबेँसीदेखि टिम्बुरेको बाढीले फेरि बगाएको छ," प्रजिअ पौडेलले थपे।
उनका अनुसार गएरातिको बाढीले नयाँ कटानहरू गरेको छ। "भन्सार यार्डमा थप कटान गरेको छ। यो बाढीबाट केही पुलहरू जोखिममा परेका छन्।"
स्याफ्रुबेँसीदेखि टिम्बुरेको बीचमा रहेको एउटा प्रहरी चेकपोस्ट पनि कटानका कारण जोखिममा परेको उनले जानकारी दिए।
अर्कोतर्फ छिमेकी देश चीनले आफ्नोतिर नयाँ बेलिब्रिज बनाउन थालेकोमा गएरातिको बाढीले त्यसमा पनि असर परेको प्रजिअ पौडेलले बताएका छन्।
असार २४ गते अकस्मात् आएको बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको थियो भने रसुवाको स्याफ्रुबेँसीदेखि रसुवागढी नाकासम्मको बाटोमा क्षति पुर्याएको थियो।
अधिकारीहरूका अनुसार गएरातिको बाढीले पुनर्निर्माण प्रयासमा अर्को जटिलता थपिदिएको छ।
अधिकारीहरूले दशैँअगावै अस्थायी संरचना निर्माण गरेर भए पनि चीनबाट सामान आयात थालिने बताउँदै आएकामा अब त्यसमा जटिलता थपिएको उनीहरूले स्वीकारेका छन्।
"हामीले काम गर्दै थियौँ तर सञ्चालन गर्न अब थप गाह्रो र जटिलता भयो," प्रमुख जिल्ला अधिकारी पौडेलले आगामी चुनौतीबारे उल्लेख गरे।
भूकम्पले विस्थापितलाई अर्को पीडा
उत्तरगया गाउँपालिका अध्यक्ष अर्यालका अनुसार विसं २०७२ सालको विनाशकारी भूकम्पका कारण घरबास गुमाएर अस्थायी रूपमा तटीय क्षेत्रमा करिब २५० परिवार बस्दै आएका छन्।
"भूकम्पपछि विस्थापित भएर उत्तरगया गाउँपालिकाको वडा नं १ बाट आएर वडा नं ५ को खाल्टे भन्ने स्थानमा उहाँहरू बसिरहनुभएको छ। उहाँहरू जोखिममा हुनुहुन्छ," बीबीसी न्यूज नेपालीसँग उनले भने।
बस्नका लागि त्यति सुरक्षित नभए पनि केही समयसम्म बस्लान् भनेर उनीहरूलाई त्यहाँ रहन दिइएको अर्याल बताउँछन्।
"बाढीबारे खबर पाउनासाथ हामीले राति नै सजग गराएकाले कुनै मानवीय क्षति भएन," उनले थपे।
त्यो बाढी, यो बाढी
बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले बीबीसीलाई बताएअनुसार असार २४ गते भोटेकोशीमै आएको विनाशकारी बाढी सरह गएरातिको बाढी देखिएको छैन।
"त्यस बेला अकस्मात् आएको बाढी करिब दुई-तीन मिनेटकै अन्तरालमा चार-पाँच मिटर जलसतह बढेको थियो भने यसपालि बिस्तारै जल सतह बढेको देखिन्छ," बीबीसी न्यूज नेपालीसँग उनले भने।
"गएरातिको बाढी चाहिँ एक्कासि आएको नभई करिब दुई घण्टाको समयावधिमा लगभग १.२ मिटर जलसतह बढेको देखिन्छ।"
त्यस हिसाबले अघिल्लो जस्तो यो ठूलो बाढी नभएको उनी बताउँछन्। त्यस बेला रसुवागढीको स्वचालित उपकरणले ७.९ मिटरको बाढी मापन गरेको थियो भने गएरातिको बाढी ४ दशमलव २ मिटर रहेको छ।
प्रमुख जिल्ला अधिकारी पौडेल भने झट्ट हेर्दा असार २४ गतेको जस्तै गएरातिको बाढी देखिन्छ भन्छन्।
झट्ट हेर्दा उस्तै देखिनुको कारणबारे पराजुली भन्छन्, "अघिल्लो बाढीले नदी क्षेत्रमा जेजति थेग्र्यान डिपोजिट गरेको छ त्यसको प्रभाव देखिएको हो। तर अघिल्लो बाढी र यो बाढीको म्याग्निट्यूडमा ठूलै भिन्नता छ।"
रसुवा क्षेत्रमा गत चौबीस घण्टाको वर्षा अवस्था हेर्दा यो बाढी बर्खाले नै सिर्जित भएको जस्तो देखिएको उनले बताए।
"हिजो र गएराति गरी करिब १५-२० मिलिमिटर वर्षा भएको देखिन्छ। त्यस हिसाबले यसमा वर्षा प्रमुख कारण हुन सक्ने देखिन्छ।"
अघिल्लो बाढी सुप्राग्ल्यासियर ताल विस्फोटबाट भएको हुन सक्ने अधिकारीहरूको प्रारम्भिक अनुमान छ।
तर पराजुलीले प्रारम्भिक आकलनअनुसार यो बाढी वर्षाबाट नै सिर्जित भएको देखिएको बताए।
के हो सुप्राग्ल्यासियर ताल?
बाढी पूर्वानुमान शाखाका पराजुलीका अनुसार तापमानमा आएको वृद्धिसँगै हिमसतहको हिउँ पग्लिँदै जान्छ र पग्लिएको हिउँले वरिपरि निकास नपाउँदा हिमनदीको माथिल्लो सतहमा सुप्राग्ल्यासिअर ताल बन्छ।
"त्यसरी बृहत् भएर हिमताल बन्नुअघि शुरूवाती अवस्थामा निर्माण हुने ससाना ताल नै सुप्राग्ल्यासिअर ताल हुन्," उनले भने।
अहिले जेजति हिमताल रहेका छन्, ती कुनै बेलाका सुप्राग्ल्यासिअर ताल नै हुन्।
सुप्राग्ल्यासिअर ताल ठूलो सङ्ख्यामा देखिन्छन् र बिस्तारै एकआपसमा जोडिएर हिमतालको रूप लिन्छन्। हिमताल बन्नुअघि त्यो शुरूवाती चरण हो।
नेपालका च्छो रोल्पा र इम्जा ताललाई त्यसको उदाहरणका रूपमा लिन सकिने उनी बताउँछन्।
"इम्जाको करिब २०-३० वर्ष पुराना तस्वीर हामीले हेर्यौँ भने त्यो अत्यन्तै सानो तालको रूपमा थियो। अहिलेक बृहत् इम्जा हिमताल पनि ४०-५० वर्षअगाडि सुप्राग्ल्यासिअर ताल नै थियो," पराजुलीले थपे।
हिमनदी पग्लने क्रम बढिरहँदा अहिले पनि त्यो तालको विस्तारको क्रम रोकिएको छैन अर्थात् बढ्दै गएको उनी बताउँछन्।
"सामान्यतया ४०-५० वर्षको अवधिमा सुप्राग्ल्यासिअर तालहरू हिमतालका रूपमा विकास भइरहेको देखिन्छ। तर तापमानमा भइरहेको तीव्र वृद्धिका कारण हिमतालको विकास पनि केही तीव्र रूपमा हुँदै गएको देखिन्छ," पराजुलीले भने।
"त्यस हिसाबले अझै छोटो समयमा सुप्राग्ल्यासिअर तालहरू हिमतालमा परिणत हुन सक्छन्।"
उनका अनुसार पछिल्ला वर्षहरूका हिमताल र सुप्राग्ल्यासिअर ताल विस्फोट घटना हुन थाल्नुकापछाडि तापमानमा भएको तीव्र वृद्धि, हिउँ पग्लने क्रममा आएको वृद्धि, तालहरूको क्षेत्रफल गहिराइ र आयतनमा आएको वृद्धि र घेरेर राखेका कमजोर थेग्र्यान हुन्।
"कहिले कुन ताल फुट्छ त्यसको आकलन गर्न कठिन छ, तर फुट्नासाथ सूचना दिनसक्ने गरे पूर्वतयारी गर्नुपर्ने टड्कारो देखिन्छ," पराजुली औँल्याउँछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।