रुसको पेट्रोल पम्पमा विस्फोट हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३५ पुग्यो

रुसको पेट्रोल पम्पमा भएको आगलागी

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

    • Author, क्रिस्ट्री कूनी
    • Role, बीबीसी न्यूज

रुसको दक्षिणी क्षेत्र डागेस्तानको एक पेट्रोल पम्पमा विस्फोटपछि भएको आगलागीमा परी कम्तीमा ३५ जना मानिसको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।

अधिकारीहरूका अनुसार मृत्यु हुनेमा केही बालबालिका समेत रहेका छन्। आगोको रापका कारण गम्भीर घाइते भएकाहरूलाई उपचारका लागि मस्को लगिएको बताइएको छ।

क्यास्पियन सागरको तटमा रहेको क्षेत्रीय राजधानी मखाच्कला सहरमा भएको विस्फोटको कारण भने हालसम्म खुल्न सकेको छैन। स्थानीय सञ्चारमाध्यमका अनुसार पेट्रोल पम्पमा फैलनुअघि त्यहाँ नजिकै कार पार्किङ गरिएको क्षेत्रबाट आगो लाग्न सुरु भएको थियो।

अधिकारीहरूका अनुसार स्थानीय समयअनुसार रातिको ९:४० बजे फैलन सुरु भएको आगो नियन्त्रणमा लिन सयौँ अग्नि नियन्त्रकहरूलाई तीन घण्टाभन्दा बढी समय लागेको थियो।

रुसका अन्य घटनाक्रम

प्रत्यक्षदर्शीको बयान

घटनास्थल नजिकै राखिएका दमकलहरू

तस्बिर स्रोत, Reuters

सार्वजनिक भएको तस्बिरमा रातिको समयमा ठूलो आगो लागेको देखिन्छ। घटनास्थल वरपर थुप्रै दमकलहरू देखिएका छन्।

त्यहाँ करिब २६० जना आपत्कालीन कर्मचारीलाई परिचालन गरिएको छ। गम्भीर घाइतेलाई मस्को लैजानका लागि सरकारले एउटा विमान पनि तैनाथ गरेको मन्त्रालयले जनाएको छ।

रुसी समाचार संस्था इन्टरफ्याक्सले चिकित्सकलाई उद्धृत गर्दै मृत्यु हुनेमा तीन जना बालबालिका रहेको जनाएको हो। आगलागी ६०० वर्गमिटर क्षेत्रमा फैलिएको र थप विस्फोटको खतरा रहेको जनाइएको छ।

परिचय नखुलाई एक जना प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै रुसी पत्रिका इज्भेस्टिआले पेट्रोल पम्पको अगाडि रहेको कारमा आगलागी भएको जनाएको छ।

“विस्फोटपछि सबै कुरा हाम्रो टाउकोमा खसेसरह भएको थियो। त्यसपछि हामीले केही पनि देख्न सकेनौँ,” ती प्रत्यक्षदर्शीले भनेका छन्।

द रिपब्लिक अफ डागेस्तान रुसी सङ्घको ८३ वटा क्षेत्रहरू मध्येको एक हो र यो देशको दक्षिणी भागमा पर्छ। मखाच्कला मस्कोबाट लगभग १,६०० किलोमिटर टाढा छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।