फ्रान्समा कुनै गठबन्धनको पनि बहुमत नपुगेपछि 'राजनीतिक गतिरोध'

फ्रान्सको संसदीय निर्वाचनमा कुनै पनि गठबन्धनले स्पष्ट बहुमत ल्याउन नसकेपछि त्यहाँ राजनीतिक गतिरोध उत्पन्न भएको छ।

पछिल्लो मतपरिणाममा वामपन्थी दल न्यू पपुलर फ्रन्टले १८२ सीट हात पारेको छ।

दोस्रोमा राष्ट्रपति एमानुएल माक्रोँको मध्यमार्गी गठबन्धन रहेको छ भने तेस्रो स्थानमा अति दक्षिणपन्थी न्याश्नल र्‍याली (आरएन) देखिएको छ।

मध्यमार्गी गठबन्धनको पराजयपछि प्रधानमन्त्री गाब्रिअल अटलले राजीनामा दिने बताए पनि राष्ट्रपति माक्रोँले उनलाई "स्थायित्वका लागि" पदमा कायम रहिरहन आग्रह गरेका छन्।

फ्रान्समा वामपन्थीको जित

तस्बिर स्रोत, EPA

सामान्यतया फ्रान्समा सबैभन्दा ठूलो राजनीतिक समूहको प्रतिनिधिलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने परम्परा छ। वामपन्थी गठबन्धनले एक साताभित्र राष्ट्रपतिलाई प्रधानमन्त्रीको नाम प्रस्ताव गर्ने बताएको छ।

उता आरएनका नेता जोर्डन बार्डेलाले आफ्नो दललाई विजयी हुनबाट "वञ्चित" गरिएको तथा फ्रान्सलाई "अनिश्चितता र अस्थिरता"तर्फ धकेलिएको बताएका छन्।

माक्रोँ चुनावी नतिजाको विश्लेषण गर्दै

मत गणनापछि वामपन्थी समर्थकहरू

तस्बिर स्रोत, EPA

माक्रोँले मत परिणामको विश्लेषण गरिरहेको र उनले आजै त्यसबारे प्रतिक्रिया दिने अपेक्षा नगरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

समयअगावै गरिएको फ्रान्सको आम निर्वाचनमा यो दोस्रो चरणको मतदान थियो।

माक्रोँले एक महिनाअघि संसदीय चुनावको घोषणा गरेका थिए।

युरोपेली संसद्‌को चुनावमा अति दक्षिणपन्थीहरूसँग हार बेहोरेपछि उनले चुनावको घोषणा गरेका हुन्।

पहिलो चरणको निर्वाचनमा 'आरएन'को पक्षमा नतिजा आउने देखिएपछि धेरै स्थानमा वामपन्थी र मध्यमार्गीहरूले अप्रत्यक्ष तालमेल गरेका थिए।

कैयौँ स्थानमा वामपन्थी उम्मेदवारहरूले मनोनयन फिर्ता लिएका थिए भने कति स्थानमा मध्यमार्गीहरूले पनि त्यस्तै गरेका थिए।

त्यसले गर्दा अति दक्षिणपन्थी विरोधी मत दुई तिर नबाँडिएर एउटै उम्मेदवारलाई जाने अवस्था बनेको थियो।

त्यसलाई अति दक्षिणपन्थीहरूलाई हराउनका लागि गरिएको रणनीतिक तालमेलका रूपमा लिइएको छ।

तनावपूर्ण निर्वाचन

प्यारिमा प्रहरी

तस्बिर स्रोत, EPA

फ्रान्समा यसपालि व्यापक प्रहरी परिचालनसहित तनावपूर्ण वातावारणमा निर्वाचन सम्पन्न भएको थियो।

यो निर्वाचनमा कुनै पनि दलले बहुमत नपाउने अवस्था देखिएकाले त्यहाँ एक खाले राजनीतिक अनिश्चितता देखिने भएको छ।

संसद् त्रिशङ्कु बन्ने निश्चित जस्तो देखिएको छ। त्यसले कुनै पनि दललाई आफ्ना नीतिहरू लागु गर्ने खालको सरकार गठन गर्ने सुविधा दिने छैन।

अब त्यहाँको प्रधानमन्त्री को बन्छन् भन्ने हालसम्म स्पष्ट भएको छैन तर वामपन्थीहरूले अब आफूहरूलाई सरकार बनाउन दिनुपर्ने बताएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।