ट्राभिस किङ: उत्तर कोरिया भन्छ अमेरिकी सैनिकले विभेद भोगेका थिए

तस्बिर स्रोत, Reuters
- Author, क्रिस्ट्री कूनी
- Role, बीबीसी न्यूज
उत्तर कोरियाले अमेरिकी सैनिक ट्राभिस किङले सेनामा “अमानवीय दुर्व्यवहार र जातीय विभेद” भोगेका कारण गत महिना आफ्नो भूमिमा प्रवेश गरेको आरोप लगाएको छ।
गत जुलाई १८ मा दुई कोरियालाई विभाजन गर्ने क्षेत्रको सङ्गठित भ्रमणका क्रममा २३ वर्षीय सैनिकले अचानक सीमा पार गरेर उत्तर कोरिया गएका थिए।
अमेरिकी फौजमा रहेका किङले उत्तर कोरियामा “शरण लिने इच्छा व्यक्त गरेको” त्यहाँको सरकार नियन्त्रित सञ्चारमाध्यमले जनाएको छ।
यस घटनासम्बन्धी उत्तर कोरियाको पहिलो सार्वजनिक टिप्पणी स्वरूप प्रकट भएका यी दाबीहरूबारे बीबीसीले स्वतन्त्र पुष्टि गर्न भने सकेको छैन।
यद्यपि अमेरिकी अधिकारीहरूले पनि यसअघि ती सैनिकले योजनाबद्ध ढङ्गमा सीमा पार गरेको हुनसक्ने बताएका थिए।
को हुन् किङ?
पेन्टागनले ती सैनिकलाई प्राइभेट सेकेन्ड क्लास सैनिकको रूपमा चिनाएको थियो र उनी सन् २०२१ को ज्यानुअरीदेखि सेनामा छन्।
यी घोडसवार सेना सुरुमा दक्षिण कोरियामा अमेरिकी सेनाको पहिलो बख्तरबन्द सम्बन्धी विभागको एक इकाईमा खटाइएका रणनीतिक विशेषता वा लक्ष्य पत्ता लगाउन सैन्य अवलोकन गर्ने विशेषज्ञ थिए।
दक्षिण कोरियामा हातपातको आरोप लागेपछि उनीमाथि कारबाही भइरहेको थियो। सीमा पार गर्नुअघिका दुई महिना उनले हिरासतमा बिताएका थिए र जुलाई १० मा रिहा भएका थिए।
उनी अनुशासनसम्बन्धी कारबाहीको सामना गर्न अमेरिका फर्कने तालिका थियो तर उनी विमानस्थलबाट फर्किएर उत्तर र दक्षिण कोरियालाई विभाजन गर्ने डिमिलिटाइज्ड जोन (डीएमजेड) को भ्रमणमा सामेल हुन सफल भए।
“अनुसन्धानका क्रममा ट्राभिस किङले अमेरिकी सेनामा हुने अमानवीय दुर्व्यवहार र जातीय भेदभावका कारण आफूलाई भावनात्मक असर परेकाले उत्तर कोरियामा आउने निर्णय गरेको स्वीकार गरेका छन्,” उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले जनाएको छ।
“उनले असमान अमेरिकी समाजबाट आफू निराश भएको जनाउँदै उत्तर कोरिया वा अन्य तेस्रो मुलुकमा शरणार्थीको रूपमा बस्ने इच्छा व्यक्त गरेका थिए।“
उत्तर कोरिया कथित कम्युनिस्ट शासनमा रहेका थोरै देशहरूमध्ये एक हो र लामो समयदेखि अत्यन्त गोप्य र अलग्गिएको देशको रूपमा रहेको छ। किम जङ अनको नेतृत्वमा रहेको त्यहाँको सरकारमाथि पनि सुनियोजित मानव अधिकार उल्लङ्घनको आरोप लाग्दै आएको छ।
कडा सुरक्षा संयन्त्र पार
डिमिलिटराइज्ड जोन (डीएमजेड) ले दुई कोरियाको भूभाग छुट्ट्याउँछ र यो विश्वको सबैभन्दा कडा सुरक्षा संयन्त्र भएको क्षेत्रमध्ये एक हो। यहाँ थुप्रै बारुदी सुरुङहरू छन् र विद्युत् सहित तारबार तथा निगरानी गर्ने क्यामेराले घेरिएको छ। त्यहाँ सशस्त्र प्रहरीहरू चौबिसै घण्टा सतर्क रहनुपर्छ।
दक्षिण कोरियाली भूभागमार्फत यस क्षेत्रको भ्रमणका क्रममा किङसँगै रहेका एक प्रत्यक्षदर्शीले बताएअनुसार उनी सीमा क्षेत्र (स्थानीय सञ्चारमाध्यमका अनुसार पानमुनजोम गाउँ) मा रहेको एक भवनमा पुगेका थिए।
“तब ती मानिसले ठूलो स्वरमा ‘हा हा हा’ गरे र त्यहाँ रहेका भवनहरूबीच कुद्न थाले।“

“मैले सुरुमा त उनी जिस्किएको ठानेँ तर उनी फर्किएनन्। त्यसपछि यो ठट्टा होइन भन्ने यकिन भयो। अरूले पनि घटनामाथि प्रतिक्रिया जनाए र अवस्था बिग्रँदै गयो,“ नाम नखुलाएका ती व्यक्तिले बीबीसीको अमेरिकास्थित साझेदार सीबीएस न्यूजसँग भने।
प्रत्यक्षदर्शीहरूका अनुसार किङले सीमा पार गर्दै गर्दा त्यहाँ उत्तर कोरियाली सेना देखिएका थिएनन्।
"हामी बसमार्फत फर्कने क्रममा थियौँ र एक जाँच गर्ने विन्दुमा पुगेपछि कसैले भन्यो... हामी ४३ जना गइरहेका थियौँ र ४२ जना फर्किरहेका छौँ,” उनले बताए।
ती अमेरिकी सैनिकको हितको बारेमा चिन्ता बढ्दै गएको छ। यस विषयमा कोरियाली प्रायद्वीपका लागि संयुक्त राष्ट्रसङ्घका प्रमुख तथा उत्तर कोरियाली अधिकारीबीच वार्ता जारी छ।
आम मानिसको भाग्ने प्रयास
सन् १९५० को दशकमा भएको कोरियाली युद्धपछि डीएमजेडले दुई देशलाई छुट्ट्याएको हो। त्यसयता अमेरिकाले दक्षिण कोरियालाई समर्थन गर्दै आएको छ। त्यस युद्ध एक शान्ति वार्तापछि अन्त्य भएको थियो। यद्यपि दुवै पक्ष अझै पनि प्राविधिक रूपमा युद्धमा छन्।
गरिबी र अनिकालबाट उम्कन हरेक वर्ष दर्जनौँ मानिसहरू उत्तर कोरियाबाट भाग्ने कोसिस गर्छन्। तर डीएमजेडमा पक्राउ पर्नु अत्यन्त जोखिमपूर्ण र दुर्लभ मानिन्छ। उक्त देशले सन् २०२० मा कोभिड–१९ महामारीको सुरुवातसँगै आफ्ना सीमाहरू बन्द गरेको थियो र अझै पनि खोलेको छैन।
दक्षिण कोरियाका अनुसार पछिल्लो पटक सन् २०१७ मा उत्तर कोरियाका एक सैनिकले गाडी चलाएर आएका थिए र सैन्य सीमा रेखा पार गरेर पैदलै भागेका थिए। ती सैनिकलाई ४० पटक गोली लागेको थियो तर उनी बाँच्न सफल भएका थिए। दक्षिण कोरियाली सरकारले सार्वजनिक गरेको तथ्याङ्कअनुसार महामारीअघि हरेक वर्ष उत्तर कोरियाबाट एक हजारभन्दा बढी मानिस भागेर चीन गएका थिए।
सैनिकलाई हिरासतमा राख्नु अमेरिकी राष्ट्रपति जो बाइडनका लागि कूटनीतिक टाउको दुखाइको विषय बनेको छ। किङ उत्तर कोरियाको हिरासतमा रहेका एक मात्र अमेरिकी नागरिक भएको बताइएको छ। त्यहाँ छ जना दक्षिण कोरियाली नागरिक थुनामा छन्।
अमेरिकासँगको सम्बन्धमा चिसोपन
सन् २०१७ मा संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीचको सम्बन्ध निकै बिग्रियो, कारण थियो- एक वर्षअघि उत्तर कोरियामा ‘प्रोपोगान्डा चिन्ह’ चोरेको आरोपमा पक्राउ परेका एक अमेरिकी विद्यार्थीलाई देश फर्काइनु। ती विद्यार्थीलाई अमेरिका फर्काइँदा उनी बेहोसी (कोमा)मा थिए र पछि उनको मृत्यु भयो। उनको परिवारले उनको मृत्युका लागि उत्तर कोरियाली अधिकारीलाई जिम्मेवार ठहर्याएको थियो।
यो घटनाले दुई देशबीचको तनावपूर्ण सम्बन्धलाई थप तनावपूर्ण बनाएको हो।
सन् २०१८ मा डोनाल्ड ट्रम्पको कार्यकालमा तीन जना अमेरिकी नागरिकलाई हिरासतमुक्त गरिएको थियो। तर किम जोङ उन र पूर्व अमेरिकी राष्ट्रपतिबीच भएको श्रृङ्खलाबद्ध वार्तापछि पनि सम्बन्ध खासै सुधार हुन सकेन।
त्यसपछि उत्तर कोरियाले पारमाणविक अस्त्रहरू बोक्न सक्ने दर्जनौँ शक्तिशाली क्षेप्यास्त्रको परीक्षण गरिसकेको छ जसमाथि अमेरिका र उसका सहयोगी राष्ट्रहरूले विभिन्न प्रतिबन्धहरू लगाएका छन्।
सन् १९८१ पछि पहिलो पटक दक्षिण कोरियामा पारमाणविक क्षमता भएको अमेरिकी पनडुब्बी डुबेपछि अमेरिकी नागरिकलाई पक्राउ गरिएको थियो। यो पनडुब्बी विशेष गरी उत्तर कोरियाले निम्त्याएको पारमाणविक जोखिमविरुद्ध जुध्न देशलाई सहयोग पुर्याउने उद्देश्यले त्यहाँ पठाइएको थियो। त्यसअघि नै प्योङयाङका अधिकारीहरूले अमेरिकालाई कोरियाली प्रायद्वीपमा पारमाणविक हतियार पठाउँदा आफूले पारमाणविक सङ्कट निम्त्याउन सक्ने चेतावनी दिएको थियो।
किङलाई हिरासतमा लिइएको केही घण्टापछि दक्षिण कोरियाली सेनाले उत्तर कोरियाबाट दुई वटा बलेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरिएको र त्यो जापानको विशेष आर्थिक क्षेत्रबाहिर खसेको पुष्टि गरेको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








