सैनिक पहराले घेरिएको सीमा जहाँबाट अमेरिकी सैनिक उत्तर कोरिया प्रवेश गरे

तस्बिर स्रोत, Getty Images
- Author, अताह्वाल्पा अमेरिज
- Role, बीबीसी विश्व सेवा
नाममा जे भए पनि दुई कोरियाको सीमामा अवस्थित असैनिकीकृत क्षेत्र (डीएमजेड) विश्वमै सबैभन्दा धेरै सैनिक देखिने सीमा हो।
उत्तर र दक्षिण कोरिया दुवै देशको कानुनी प्रतिबन्ध र सैनिकहरूको बाक्लो उपस्थितिका कारण यहाँको सीमा पार गर्न असम्भवप्रायः ठानिन्छ। तर पनि मानिसहरूले यहाँको सीमा पार गरिरहेका हुन्छन् र प्रत्येक पटक त्यसो हुँदा त्यो समाचारको विषय बन्छ।
सात दशकको इतिहासमा निकै कम व्यक्तिहरूले मात्रै निकै गुप्त रूपमा यी दुई देशबीचको सीमा पार गरेका छन्।
उत्तर कोरियालीहरू राम्रो जीविकाका लागि दक्षिण कोरिया र दक्षिण कोरियालीहरू विशेष अभियान चलाउन वा अरू कारणले उत्तर कोरिया प्रवेश गर्छन्।
हालै दक्षिण कोरियामा रहेका एक अमेरिकी सैनिक भागेर उत्तर कोरिया पुगेपछि यो विषय फेरि चर्चामा छ।
ट्राभिस किङ उत्तर कोरिया गएको विषय अरू घटनाहरूभन्दा अलि अस्वाभाविक छ किनभने उनी अमेरिकी सैनिक थिए।
किङ अमेरिकाले दक्षिण कोरियामा खटाएका २८,५०० सैनिकमध्ये एक थिए। अमेरिकी र दक्षिण कोरियाली अधिकारीहरूका अनुसार उनले नियोजित रूपमै सीमा पार गरेको देखिन्छ।
उत्तर कोरियाले नियन्त्रणमा लिइसकेको ठानिएका किङको विषय समाधानका लागि उत्तर कोरियाली सैनिक अधिकारीहरूसँग सम्पर्क गर्ने प्रयास गरिएको अमेरिकी पक्षले बताएको छ। यद्यपि उत्तर कोरियाले कुनै प्रतिक्रिया नदिएको उसको भनाइ छ।
उत्तर कोरियातिर भागेका किङलाई दक्षिण कोरियाबाट अमेरिका फिर्ता पठाउन लागिएको थियो। झगडा गरेका कारण यसअघि नै उनी अनुशासनको कारबाहीमा परेका थिए।
युद्ध नसकिएको प्रतीक
चार किलोमिटर फराकिलो र २६३ किलोमिटर लामो उक्त असैनिकीकृत क्षेत्र (डीएमजेड) कम्युनिस्ट शासन अङ्गीकार गरेको उत्तर कोरिया र पुँजीवादी दक्षिण कोरियालाई विभाजन गर्ने सीमा हो।

दुई देशबीचको लडाइँको प्रतीकका रूपमा पनि यसलाई हेरिने गरिएको छ।
यी दुई देश प्राविधिक रूपमा अझै पनि युद्धमै छन्। सन् १९५० देखि १९५३ सम्म चलेको कोरिया युद्ध अन्त्यका लागि अहिलेसम्म पनि शान्तिसम्झौता भएको छैन र युद्धविरामकै भरमा यो लडाइँ रोकिएको छ।
दुई देशबीच चलेको तीन वर्ष लामो रक्तपातपूर्ण युद्धमा ५० लाख नागरिक र सैनिकहरूको ज्यान गएको थियो।
तर युद्ध हार वा जितमा नपुगेपछि दुई देशबीच युद्धविरामको सहमति भएसँगै सन् १९५३ मा असैनिकीकृत क्षेत्र निर्धारण गरिएको थियो।


शान्तिसम्झौता नहुँदासम्मका लागि सम्भावित सैन्य भिडन्त टार्ने उद्देश्यले यो क्षेत्रलाई युद्धविरामसँगै 'बफर क्षेत्र' कायम गरियो। तर शान्तिसम्झौता कहिल्यै भएन।
सन् १९५३ मा दुई देशबीचको वार्ता पाम्मुन्जममा भएको थियो। यही क्षेत्रमा संयुक्त सुरक्षा क्षेत्र कायम छ जहाँ दुवै देशका सैनिकहरू आमुन्नेसामुन्ने बसेर पहरा दिन्छन्।
दुई देशबीच हुने छलफलको मुख्यालय पनि यहीँ छ।
उत्तर र दक्षिण कोरियाको सीमा छुट्ट्याउन सिमेन्टको प्रयोग गरेर बनाइएको रेखा र दुई देशबीच हुने बैठकहरूका लागि तयार गरिएका बुथहरू यो क्षेत्रका प्रमुख दुई प्रतीक हुन्।
कोरियाली प्रायःद्वीप घुम्न आउने पर्यटकहरूका लागि पछिल्ला दशकहरूमा यो ठाउँ एउटा प्रमुख गन्तव्य बनेको छ।

तस्बिर स्रोत, Getty Images
ऐतिहासिक कोसेढुङ्गा
दुई कोरियाबीचको सम्बन्ध पछिल्ला सात दशकमा कैयौँ चरणका तनाव र सहजताबाट गुज्रिएको छ। राजनीतिक रूपमा विभाजित भए पनि समान ऐतिहासिक, सामुदायिक र सांस्कृतिक विरासत भएका दुई देशबीच भविष्यमा पुन: एकीकरण हुन सक्ने सम्भावनाहरूको खोजीका लागि मेलमिलाप सम्झौताहरू पनि भएका छन्।
दुई देशबीच वार्ता र मेलमिलापको केन्द्रको रूपमा रहेको असैनिकीकृत क्षेत्र अनेकौँ किसिमका दुर्घटनाहरूको पनि साक्षी भएको छ।
'सनसाइन पोलिसी' भनेर चिनिएको सन् १९९८ देखि २००८ बीचको अहिलेसम्मकै सबैभन्दा महत्त्वपूर्ण मेलमिलाप अभियानको समयमा यो सीमा क्षेत्र निकै चर्चामा थियो।
सबैभन्दा पछिल्लो पटक सन् २०१८ मा पान्मुन्जोममा दुई देशका नेताहरूको उपस्थितिमा सम्मेलन आयोजना गरियो। कोरियाली युद्धपछि उत्तर कोरियाका नेताले दक्षिण कोरियाको भूमिमा पाइला टेकेको त्यो नै पहिलो अवसर थियो।
सन् २०१९ मा डोनाल्ड ट्रम्प उत्तर कोरियाली भूमिमा पाइला टेक्ने पहिलो अमेरिकी राष्ट्रपति बने। उत्तर कोरियाली सर्वोच्च नेता किम जङ अनलाई उनले असैनिकीकृत क्षेत्रमा भेटेका थिए।

तस्बिर स्रोत, Getty Images
तनाव र अरू घटना
यो क्षेत्रमा उत्तर कोरिया, दक्षिण कोरिया र अमेरिकाका सशस्त्र फौजहरूले निरन्तर गस्ती गरिरहन्छन्।
यहाँ गैरसैनिकहरूको उपस्थिति निकै दुर्लभ हुन्छ र आवासीय तथा व्यापारिक ठाउँ छैन।
मानिसहरूको न्यून उपस्थितिले यो क्षेत्रमा जैविक विविधता फैलिन सहयोग पुगेको छ। ठूलो जनघनत्व भएका दक्षिण कोरियामा जैविक विविधताको कमी छ।
अत्यधिक निगरानीका बीच पनि असैनिकीकृत क्षेत्रमा हिंसाका घटना पनि भएका छन्।
सन् १९७६ मा दुई अमेरिकी सैनिकहरूको उत्तर कोरियालीले बन्चरो प्रहार गरेर हत्या गरेका थिए।

तस्बिर स्रोत, Getty Images
सन् २०१७ मा एक जना उत्तर कोरियाली सैनिक आफ्नो देशबाट भागेर दक्षिण कोरिया प्रवेश गरेका थिए। भाग्ने क्रममा पाँच पटक गोली प्रहार गरिए पनि उनी बाँचेका थिए।
धेरै कम उत्तर कोरियालीहरू मात्रै यो सीमा पार गरेर दक्षिण कोरिया पुग्न सफल भएका छन्।


त्यसैगरी दक्षिणबाट उत्तर जानेहरूको सङ्ख्या पनि निकै कम छ।
कैयौँ उत्तर कोरियालीहरू दक्षिण कोरिया भाग्नका लागि चीन हुँदै हजारौँ किलोमिटर लामो खतरनाक यात्रा गर्छन्।
उनीहरूको उद्देश्य तेस्रो देश पुगेर शरण माग गर्ने हुन्छ।
तनाव घटबढ भइरहे पनि यो असैनिकीकृत क्षेत्र शीतयुद्ध र कोरिया विभाजन सम्झाउने स्मारक पनि हो।








