तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सारसले लुम्बिनी किन छाड्दै छन्
- Author, माधव नेपाल
- Role, बुटवल
कुनै समय गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रमा सबैभन्दा धेरै पाइने लोपोन्मुख पक्षी सारसले अहिले उक्त क्षेत्र छाड्दै गएको पाइएको छ।
विकास निर्माणलगायत मानवीय गतिविधिका कारण लुम्बिनीमा सारसको बसोबास क्षेत्र खुम्चिँदै गएपछि अहिले तिनीहरू त्यहाँबाट करिब १५ किलोमिटर उत्तरमा पर्ने सियारीको छपिया गाउँमा देखिन थालेका छन्।
लुम्बिनीमा सारसको बसोबास क्षेत्र खुम्चिँदै गएपछि विकल्प खोज्दै तिनीहरूका हुल छपिया आएका हुनसक्ने सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे बताउँछन्।
“सियारीमा सारसका लागि प्रशस्त सिमसार क्षेत्रका साथै माछापालनका लागि बनाइएका सयौँ पोखरी पनि छन् जुन सारसका लागि उपयुक्त वासस्थान हुनसक्छ,” बीबीसी न्यूज नेपालीसँग उनले भने।
सिमसार क्षेत्र अतिक्रमण
पछिल्लो समय लुम्बिनीभित्र मठ तथा गुम्बाहरू थपिँदै गएका छन् भने लुम्बिनीबाहिर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले धेरै जग्गा अधिकरण गरेको हुँदा सारस बस्ने ठाउँ क्रमशः खुम्चिँदै गएको छ।
केही वर्षयता लुम्बिनी आसपास क्षेत्रमा ठूलाठूला होटल पनि थपिँदै गएका छन्।
“सारस बस्ने भनेको सिमसार क्षेत्रमा हो। ठूलाठूला घर बन्दै गर्दा लुम्बिनी क्षेत्रमा सिमसार क्षेत्र मासिँदै गएका छन्,” चराविद् हेमसागर बरालले भने।
“लुम्बिनी क्षेत्रमा पानीका स्रोतहरू पनि सुक्दै गएका छन्।”
सारसहरू बाँच्नका लागि सङ्घर्ष गर्दा गर्दै छपियातिर बसाइँ सरेको बताउने बराल अगाडि थप्छन्, “छपियामा तिनाउ र दानव नदी पनि भएकfले सारसलाई त्यहाँ केही राहतको अनुभव भएको हुनसक्छ।”
बिजुलीको तारले थपेको चुनौती
सियारी गाउँपालिकाले सारसलाई सियारीमै बढी आकर्षित गर्नका लागि कसरी सहज वातावरण बनाउन सकिन्छ भनेर प्रयास गरिरहेको अध्यक्ष घिमिरे बताउँछन्।
“सारसलाई मान्छेले मार्न हुँदैन भनेर जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेका छ। तर विडम्बना बिजुलीको तारको करेन्टले सारसहरू मरिरहेका छन्,” घिमिरे भन्छन्।
गत वर्ष र यो वर्ष गरी पाँचवटा सारस करेन्ट लागेर मरेको अध्यक्ष घिमिरेले बताए।
“गाउँपालिकाको तर्फबाट सारसको संरक्षणका लागि हामीले सक्दो प्रयास गरिरहेका छौँ। तर हाम्रो प्रयास मात्र पर्याप्त हुँदैन।”
बिजुलीका तार व्यवस्थापन गर्नका लागि माथिल्लो तहका सरकारलाई भनिरहेका छौँ। तर अहिलेसम्म माथिल्ला सरकारले कुनै महत्त्व दिएको देखिएको छैन।”
सङ्कटापन्न पक्षी
नेपाल सरकारले संरक्षित पक्षीको सूचीमा राखेको सारस उड्ने प्रजातिको चरामा सबैभन्दा अग्लो चरा मानिन्छ।
सारसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ आईयूसीएनले पनि सङ्कटापन्न पक्षीको सूचीमा राख्दै आएको छ।
नेपालमा सारसको सङ्ख्या ६०० वटाको हाराहारीमा हुनसक्ने अनुमान छ।
तीमध्ये ९० प्रतिशतभन्दा बढी रूपन्देही, नवलपरासी र कपिलवस्तुमा मात्र रहेको बताइन्छ।
चराविद् बरालका अनुसार सारसले एक वर्षमा बढीमा दुईवटा मात्र अण्डा पार्ने गर्छ।
बर्खायाममा अण्डा पार्ने सारसहरू अहिले धान खेतीको बीचमा अण्डा कोरल्नका लागि ओथारो बसिरहेका छन्। सारसलाई बच्चा कोरल्न करिब दुई महिना लाग्ने बताइन्छ।
तीन जिल्लामा मात्र
केही वर्ष अगाडिसम्म चितवनदेखि पश्चिम तराईका प्रायः सबै जिल्लामा पाइने सारस अहिले भने लुम्बिनीका तीन जिल्लामा मात्र सीमित भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।
यी तीन जिल्लाबाहेक बर्दिया जिल्लामा पनि राम्रो सङ्ख्यामा सारस रहेकोमा अहिले भने त्यहाँ देखिन छाडेका चराविदहरू बताउँछन्।
लुम्बिनी क्षेत्रमा सारसको संरक्षण गर्ने भन्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाले केही वर्षअगाडि सारसलाई नगरपक्षी पनि घोषणा गरेको थियो।
तर नगरपक्षी घोषणा गरे पनि गुँड व्यवस्थापन नहुँदा पछिल्ला वर्ष लुम्बिनी सारसको लागि प्रतिकूल हुँदै गएको देखिएको चराविद्हरूले बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।