दुर्गा प्रसाईँका समर्थक र प्रहरीबीच बल्खुमा झडप

बल्खुमा प्रदर्शनकारी र प्रहरी

नेकपा एमालेको भ्रातृ सङ्घठन राष्ट्रिय युवा सङ्घ नेपाल र दुर्गा प्रसाईँको नेतृत्वमा सञ्चालित अभियानका सहभागीबीच बल्खु क्षेत्रमा बिहीवार दिउँसो केही बेर तनाव उत्पन्न भयो।

दुवै पक्षले एकअर्कालाई असर नपर्ने गरी शान्तिपूर्ण रूपमा आआफ्नो निर्धारित कार्यक्रम अगाडि बढाउने बताएका थिए।

स्थानीय प्रशासनले दुर्गा प्रसाईँको अभियानलाई कार्यक्रम गर्न ठाउँ तोकेको थियो। तर त्यहाँ दुई पक्षबीच ढुङ्गा हानाहान भएको प्रत्यक्षदर्शीहरूले बीबीसी न्यूज नेपालीलाई बताएका छन्।

त्यसको केही समयपछि प्रसाईँका समर्थकहरू निर्धारित स्थानभन्दा बाहिर जान खोजेपछि प्रहरीले उनीहरूलाई रोक्न बल प्रयोग गर्दा सामान्य झडप भएकोथियो। प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेको थियो।

"झडपका क्रममा दुई सुरक्षाकर्मीलाई सामान्य चोटपटक लागेको छ," बल्खुमा उत्पन्न परिस्थितिबारे काठमाण्डूका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले भने।

उनका अनुसार राष्ट्रिय युवा सङ्घ नेपालद्वारा तीनकुनेमा आयोजित कार्यक्रम "शान्तिपूर्ण रूपमा सकिएको" र सहभागीहरू फर्किने क्रममा रहेका छन्।

बल्खुमा राष्ट्रिय युवा सङ्घ र दुर्गा प्रसाईँका समर्थकहरूबीच तनाव उत्पन्न भएको छ
तस्बिरको क्याप्शन, बल्खुमा राष्ट्रिय युवा सङ्घ र दुर्गा प्रसाईँका समर्थकहरूबीच ढुङ्गा हानाहान भएको थियो
स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रयोग गरेको थियो
तस्बिरको क्याप्शन, दु्र्गा प्रसाईँका समर्थकहरू निर्धारित स्थानबाट अन्यत्र जान खोजेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेको थियो

यसअघि काठमाण्डू उपत्यका प्रहरी कार्यालयका प्रवक्ताले दुवै पक्षको कार्यक्रमका क्रममा कुनै अप्रिय घटना हुन नदिन एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको बताएका थिए।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कठायतका अनुसार दुई-तीन दिनदेखि नै काठमाण्डूका ठाउँठाउँमा अतिरिक्त सुरक्षा जाँचदेखि गस्तीसम्म गरिएको थियो।

कोटेश्वरमा युवा सङ्घका कार्यकर्ता
तस्बिरको क्याप्शन, राष्ट्रिय युवा सङ्घ नेपालले तीनकुनेमा कार्यक्रम गर्दै छ

दुई पक्षको कार्यक्रमका दौरान बिहीवार दिनभरि काठमाण्डू उपत्यकाको यातायात व्यवस्थापनमा समस्या देखिन सक्ने ट्राफिक प्रहरीले जनाएको छ।

“कार्यक्रमका कारण ट्राफिक डाइभर्ट गर्नुपर्ने भएकोले गन्तव्यमा पुग्न साबिकभन्दा बढी समय लाग्ने पक्का छ,” काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयका एक अधिकारीले बीबीसी न्यूज नेपालीसँग भने।

दुर्गा प्रसाईँको कार्यक्रम कसरी हुँदै छ?

व्यवसायी समेत रहेका प्रसाईँको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔैँ महाभियान’ले विभिन्न सात स्थानबाट सहभागीहरू कार्यक्रमस्थल पुग्ने जनाएको छ। युवा सङ्घले आफूले ती स्थान नतोकेको बताएको छ।

महाभियानको केन्द्रीय सचिवालय प्रमुख यदुनाथ सिग्देलका अनुसार गोङ्गबु चोक, स्वयम्भू, कलङ्की, चाबहिल चोक लगायतका स्थानलाई सहभागीहरू भेला हुने बिन्दु तोकिएको छ।

जावलाखेलमा दुर्गा प्रसाईँका समर्थकहरू

तस्बिर स्रोत, Sanjaya Dhakal / BBC

उनीहरू त्यहाँबाट हिँडेर कार्यक्रमका लागि स्थानीय प्रशासनले तोकेको स्थान अर्थात् बल्खु पुग्ने छन्।

महाभियानका सहप्रवक्ता राजानन्द माण्डव्यका अनुसार कार्यक्रमका सहभागीलाई धार्मिक र राष्ट्रियबाहेकका अन्य झण्डा प्रयोग गर्न निषेध गरिएको छ।

र्‍यालीको अग्रस्थानमा धर्मगुरुहरू, ॐकार परिवार, नाथ समुदायका व्यक्तिआदिलाई राखेर त्यसपछि मात्र अरूलाई राखिने माण्डव्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

“कार्यक्रमलाई दुर्गा प्रसाईँ र केही धर्मगुरुले पनि सम्बोधन गर्नुहुने छ,” सिग्देलले भने।

राष्ट्रिय युवा सङ्घको कार्यक्रम कसरी हुँदै छ?

स्थानीय प्रशासनले नेकपा एमाले सम्बद्ध युवा सङ्घको कार्यक्रमका लागि तीनकुने तोकेको छ जहाँ विभिन्न वडावडाबाट हिँडेर सहभागीहरू भेला हुने सङ्घका अध्यक्ष क्षितिज थेबेले बताए।

“हामीले रूट तोकेका छैनौँ, रूट तोकेको भए युवा सङ्घले झन् जुध्ने अवस्था बनायो भन्थे। त्यो भएर पनि नतोकेका हौँ,” बीबीसी न्यूज नेपालीसँग उनले भने।

“हाम्रो कार्यक्रम तीनकुने केन्द्रित हुन्छ। काठमाण्डू उपत्यकाबाट मात्रै हामीले जनपरिचालन गरेका छौँ।”

पार्टीको जनसङ्गठनको कार्यक्रम भएकोले मुख्यतः युवा विद्यार्थीहरूले नै सम्बोधन गर्ने उनले बताए।

के दुवैले कार्यक्रमको मिति जुधाएका हुन्?

महेश बस्नेत र दुर्गा प्रसाईँ

तस्बिर स्रोत, MAHESH BASNET/DURGA PRASAIN/FACEBOOK

दुवै पक्षले शक्ति प्रदर्शन गर्ने उद्देश्यले कार्यक्रमको मिति जानाजान जुधाएको भन्दै कतिपयले त्यसको आलोचना गरिरहेका छन्।

तर दुवै पक्षले आफूले कार्यक्रमको मिति पहिला तोकेको दाबी गरेका छन्।

“हामीले दुई-तीन महिनाअगाडि नै कार्यक्रमको समय तय गरेका हौँ,” महाभियानको केन्द्रीय सचिवालय प्रमुख सिग्देलले भने।

युवा सङ्घका नेताहरूले पनि धेरै पहिला कार्यक्रमको तिथि तोकिएको बताएका छन्।

“सरकारको अकर्मण्यताविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन गर्ने भनेर हाम्रो सचिवालय बैठकले दशैँअगाडि नै तय गरिसकेको थियो,” सङ्घका उपाध्यक्ष महाराज गुरुङले बीबीसी न्यूजसँग भने।

युवा सङ्घले प्रसाईँको अभियानलाई जबाफ दिनका लागि एउटै मितिमा कार्यक्रम राखेको भन्ने आरोप गलत भएको अध्यक्ष थेबे बताउँछन्।

“कोही व्यक्ति वा समूहविरुद्ध नभई राज्यको अकर्मण्यताविरुद्ध हामीले प्रदर्शन गर्न लागेका हौँ। उहाँहरूको कार्यक्रमसँग हाम्रो कुनै लिनुदिनु छैन,” बीबीसी न्यूज नेपालीसँग भने।

कोटेश्वर क्षेत्रमा नेपाल प्रहरी
जावलाखेलमा नेपाल प्रहरी

तस्बिर स्रोत, Sanjaya Dhakal / BBC

सुरक्षा व्यवस्था कस्तो छ?

दुई पक्षका सहभागीबीच कुनै पनि बिन्दुमा झडप नहोओस् भनेर स्थानीय प्रशासनले सोहीअनुरूप रणनीति अपनाएको अधिकारीहरूले बताएका छन्।

“काठमाण्डू, ललितपुर र भक्तपुर जिल्ला प्रशासन मिलेर एकीकृत सुरक्षा योजना लागु गरिएको छ,” काठमाण्डू उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बीबीसी न्यूज नेपालीसँग भने।

उनका अनुसार ड्रोनबाट समेत कार्यक्रमस्थल र आसपासको क्षेत्रबाट निगरानी गरिएको छ।

चाबहिल
तस्बिरको क्याप्शन, काठमाण्डूमा बिहान निकै कम सङ्ख्यामा सवारीसाधनहरू देखिएका थिए

“हामीले जोइन्ट अपरेशन कमान्ड सेन्टर स्थापना गरेका छौँ जहाँबाट पलपलको अवस्थालाई हामी हेरिरहेका हुन्छौँ,” मैनालीले थपे।

एकाध ठाउँबाट आफ्ना सहभागीहरूलाई फर्काइएको प्रसाईँको अभियानले आरोप लगाएको छ।

तर मैनालीले त्यसको खण्डन गरे। “शान्तिपूर्ण रूपमा सभा, जुलुस गर्ने काममा कहीँ कतैबाट अवरोध गरिएको छैन,” उनले थपे।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।