दुर्गा प्रसाईँ र युवा सङ्घको कार्यक्रमलाई लक्ष्य गरी 'गस्तीदेखि नाकामा कडाइसम्म'

तस्बिर स्रोत, Mahesh Basnet/Durga Prasain/Facebook
काठमाण्डूमा बिहीवार राष्ट्रिय युवा सङ्घ, नेपाल र दुर्गा प्रसाईँको नेतृत्वमा रहेको अभियानले गर्न लागेका दुई फरक कार्यक्रमलाई ध्यानमा राखी “विशेष सुरक्षा सतर्कता” अपनाइएको स्थानीय प्रशासन र प्रहरी अधिकारीहरूले बताएका छन्।
सो क्रममा ठाउँठाउँमा प्रहरी गस्तीदेखि उपत्यका प्रवेश गरिने नाकाहरूमा सुरक्षा जाँच पनि बढाइएको काठमाण्डूका सहायक प्रमुख जिल्ला अधिकारीले बीबीसी न्यूज नेपालीलाई बताए।
काठमाण्डू जिल्ला प्रशासन कार्यालयले प्रमुख प्रतिपक्षी नेकपा एमालेको भ्रातृ सङ्गठन युवा सङ्घको सभाका लागि तीनकुने ठाउँ तोकेको छ भने ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाभियान’को कार्यक्रमका लागि बल्खु निर्धारण गरेको छ।
कार्यक्रमको पूर्वसन्ध्यामा जिल्ला प्रशासन कार्यालय काठमाण्डू र ललितपुरले विभिन्न स्थानलाई निषेधित क्षेत्र पनि घोषणा गरेका छन्।
अप्रिय घटना हुन सक्ने आशङ्काबीच राष्ट्रिय मानव अधिकार आयोगले दुवै पक्षले गर्ने कार्यक्रमको निरीक्षण गर्ने जनाएको छ।
अधिकारीहरू के भन्छन्?
सम्भावित परिस्थितिको आकलन गरेर निगरानी बढाइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कठायत बताउँछन्।
“आवश्यकताको पहिचान र प्राप्त सूचनाका आधारमा हामीले सुरक्षा परिचालन गरेका छौँ,” बीबीसी न्यूज नेपालीसँग उनले भने।
दुवै पक्षका लागि छुट्टाछुट्टै कार्यक्रमस्थल तोकिएको र एकअर्कादेखि टाढा रहेकाले झडप नहुन सक्ने सुरक्षा अधिकारीहरूको आकलन छ।
“तथापि केही परिहाल्यो भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकाय तयारी अवस्थामा छन्,” कडायतले थपे।

तस्बिर स्रोत, DAO KATHMANDU
उपत्यकाका तीनवटै जिल्लाका सुरक्षा निकाय बसेर छलफल गरी सुरक्षा निगरानी बढाइएको काठमाण्डूका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए।
“तीनवटै जिल्ला [काठमाण्डू, ललितपुर र भक्तपुर]का सुरक्षा निकायसँग छलफल गरी सुरक्षा निगरानी बढाउने निर्णय गरेका छौँ र त्यो कार्यान्वयनमा आइसकेको छ,” बीबीसी न्यूज नेपालीसँग उनले भने।
प्रदर्शनकारीको आवरणमा “गलत तत्त्वले प्रवेश गरेर अप्रिय घटना गराउन सक्ने” सम्भावनाबारे पनि सजगता अपनाइएको आचार्यले बताए।
“हातहतियार वा अरू अवैध वस्तु ओसारपसार हुन सक्ने भएकाले यो प्रदर्शनलाई ध्यानमा राखी प्रवेशबिन्दुमा नियमितभन्दा बढी सजगता बढाएका छौँ,” उनले भने।
“प्रदर्शनकारीको आवरणमा गलत तत्त्व पनि आउन सक्छन् भन्ने सूचनाका आधारमा त्यसो गरिएको हो।”
धेरै मानिस हुन सक्ने आकलनकै आधारमा एउटा पक्षलाई तीनकुने र अर्को पक्षलाई बल्खुमा कार्यक्रम गर्न भनिएको आचार्य बताउँछन्।
“कार्यक्रमस्थल र आसपास क्षेत्रमा गस्तीका लागि सुरक्षाकर्मी परिचलान गरेका छौँ र निगरानी एकदमै बढाएका छौँ,” उनले थपे।
राजसंस्था र धर्मनिरपेक्षताबारे दलहरू ठूल्ठूला कुरा गर्छन्। त्यसबारे जनमतसङ्ग्रह गराउने हिम्मत छ उनीहरूमा?
आयोजकहरू के भन्छन्?
दुवै पक्षले आआफ्नो कार्यक्रम शान्तिपूर्ण हुने र कार्यक्रमको आडमा कुनै अप्रिय घटना हुन नदिने तयारी गरिएको बीबीसीलाई बताएका छन्।
दुर्गा प्रसाईँको कार्यक्रमलाई जबाफ दिन युवा सङ्घले सभा गर्न लागेको कतिपयले आरोप लगाइरहँदा सो सङ्गठनले त्यसको खण्डन गरेको छ।
“त्यो नितान्त संयोग मात्रै हो,” युवा सङ्घका उपाध्यक्ष महाराज गुरुङले बीबीसी न्यूज नेपालीसँग भने।
मुलुकको खस्कँदो अर्थतन्त्र, व्याप्त बेरोजगारी, भ्रष्ट्राचार नियन्त्रण लगायका मुद्दामा राज्यको भूमिका कमजोर देखिएकोले सरकारलाई सचेत गराउन आफूहरूले कार्यक्रम गर्न लागेको उनको भनाइ छ।
“सुतेको सरकारलाई यी मुद्दामा बिउँझाउनका लागि युवा सङ्घले पूर्वनिर्धारित कार्यक्रम गर्न लागेको हो। अरूको कार्यक्रमसँग हाम्रो सरोकार होइन,” उपाध्यक्ष गुरुङले थपे।
काठमाण्डूमा अभियानको कार्यक्रममा सहभागी हुन आएका केही मानिसलाई युवाहरूले भगाउँदै गरेको देखिएको भिडिओबारे प्रतिक्रिया दिँदै त्यसमा आफूहरूको सहभागिता नरहेको उनले बताए।
“युवा सङ्घको नाममा त्यस्तै घटना नहोओस् भनेर हामीले ५,००० स्वयंसेवक परिचालन गर्दै छौँ,” गुरुङले भने।

तस्बिर स्रोत, Getty Images
दुर्गा प्रसाईँको अभियान के चाहन्छ?
अर्कोतर्फ प्रसाईँको अभियानले केही प्रकृतिका ऋण मिनाहा, देशभित्र रोजगारी सिर्जना लगायतका माग अगाडि सार्दै कार्यक्रम गर्न लागेको जनाएको छ।
प्रसाईँले २० लाख रुपैयाँसम्मको ऋण मिनाहा गरिनुपर्ने, सोभन्दा माथिको ऋण २० वर्षे किस्तामा ५-७ प्रतिशत ब्याजदरमा तिर्न पाउनुपर्ने माग सार्वजनिक रूपमा उठाउँदै आएका छन्।
धर्मनिरपेक्षता र सङ्घीयता खारेजी पनि उनको अभियानको अजेन्डा रहेको कतिपयले बताउने गरे पनि त्यसबारे प्रसाईँको जबाफमा चाहिँ एकरूपता देखिने गरेको छैन।

तर बुधवार आयोजित पत्रकार सम्मेलनमा उनले प्रश्न गरेः “राजसंस्था र धर्मनिरपेक्षताबारे दलहरू ठूल्ठूला कुरा गर्छन्। त्यसबारे जनमतसङ्ग्रह गराउने हिम्मत छ उनीहरूमा?”
अभियानको केन्द्रीय सचिवालय प्रमुख यदुनाथ सिग्देलले अभियानको मुद्दा त्यो पनि रहेको बताए।
“…सङ्घीयता खारेज गराउने, वैदिक सनातन धर्म स्थापना गराउने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्था गराउनु पनि हाम्रो आन्दोलनको उद्देश्य रहेको छ,” बीबीसी न्यूज नेपालीसँग उनले भने।
आफूहरूको अभियानमा दर्जनौँ सङ्घ, सङ्गठनको सहयोग र समर्थन रहेको पनि सिग्देलको दाबी छ।
उनका अनुसार कार्यक्रममा सहभागी हुन विभिन्न जिल्लाबाट मानिसहरू स्वतःस्फूर्त रूपमा आइरहेका छन्।
“मङ्सिर ७ गतेबाट सुरु भएर कहिलेसम्म चल्छ त्यो अहिले भन्न सकिन्न,” अभियानबारे सिग्देलले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








