गण्डकी प्रदेश: अदालतको आदेशमा सरकार गठन, डेढ वर्षमा चार मुख्यमन्त्री

- Author, कृष्णमणि बराल
- Role, पोखरा
केन्द्रीय सत्ता गठबन्धन परिवर्तनसँगै त्यसको असर गण्डकी प्रदेश सरकारमा पनि हरेक पटक देखिँदै आएको छ। कतिपय सन्दर्भमा त पार्टी र गठबन्धनभित्रको अन्तर्विरोधले पनि सरकारलाई प्रभावित तुल्याएको देखिन्छ।
यो शृङ्खला गण्डकी प्रदेश संसद्मा पहिलो कार्यकाल देखि नै सुरु भएको हो। गण्डकीमा २०७४ मा भएको पहिलो र २०७९ मा भएको दोस्रो निर्वाचन गरेर दुई कार्यकालमा हालसम्म ७ पटक मुख्यमन्त्री परिवर्तन भएका छन्। जम्मा २४ पटक मन्त्रिपरिषद् पुनर्गठन हुँदा ५० जना मन्त्री बनेको गण्डकी प्रदेश संसद् सचिवालयको रेकर्डमा छ।
पहिलो कार्यकालमा एमालेका पृथ्वी सुब्बा गुरुङ दुई पटक र नेपाली कांग्रेसका कृष्ण चन्द्र नेपाली पोखरेल एक पटक मुख्यमन्त्री बनेका थिए।
दोस्रो कार्यकाल थप अस्थिर बन्दै
प्रदेश सभाको दोस्रो कार्यकालमा सरकार झनै अस्थिर बनेको देखिन्छ। पहिलो कार्यकालमा १५ सिट सहित दोस्रो ठूलो पार्टी रहेको कांग्रेस अहिले २७ सिट सहित पहिलो ठूलो पार्टी बनेको छ।
पहिले कार्यकालमा २७ सिट सहित पहिलो बनेको एमाले २२ सिट सहित दोस्रो ठूलो पार्टी बन्दा नेकपा माओवादी केन्द्रका सभामुख र उसकै चिन्ह लिएर चुनाव जितेका बाबुराम भट्टराई नेतृत्वको पार्टीका फणीन्द्र देवकोटा सहित आठ सांसद छन्। सङ्घीयता नमान्ने राप्रपाको दुई सिट र एक स्वतन्त्र सांसद छन्।
केन्द्रमा २०७९ मङ्सिरको संसदीय निर्वाचनमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी लगायत दलहरूको गठबन्धन थियो।
तर चुनावपछि केन्द्रमा नयाँ सत्ता समीकरण बनेपछि मुख्यमन्त्रीका आकाङ्क्षी कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे प्रमुख प्रतिपक्षमा पुगे।
कांग्रेस बाहेकका सबैको समर्थनमा २०७९ पुसमा एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री बन्न पुगे।

तस्बिर स्रोत, Gandaki Govt.
सरकार चल्दै थियो। राष्ट्रपतिको निर्वाचनको बेला केन्द्रमा गठबन्धन फेरियो। प्रचण्ड एमालेलाई छाडेर कांग्रेससँगको पुरानै गठबन्धनमा फर्किए। अधिकारी १०५ दिनमै सत्ताबाट बाहिरिन पुगे। त्यसपछि कांग्रेस नेता पाण्डेको पालो आयो।
राष्ट्रिय सभाको निर्वाचनसँगै केन्द्रमा गठबन्धन फेरियो, गण्डकीमा पनि माओवादीले एमाले नेता अधिकारीलाई समर्थन जनायो।
उनले माओवादी र स्वतन्त्र सांसद दीपक मनाङे भनिने राजीव गुरुङको समर्थनमा सभामुख सहितलाई देखाउँदै बहुमतको दाबी पेस गरेर दोस्रो पटक मुख्यमन्त्री बने।
प्रदेश सभाका ६० मध्ये ३० जनाले उनलाई विश्वासको मत दिए। सभामुखले त्यसलाई बहुमत घोषणा गरे। तर कांग्रेस सर्वोच्च अदालत पुग्यो।
अदालतले उक्त घोषणा बदर गरिदियो र कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई ४८ घण्टा भित्र मुख्यमन्त्रीमा नियुक्त गर्न आदेश दियो।
यसरी प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पाण्डे दोस्रो निर्वाचन पछि चौथो र व्यक्तिगत रूपमा दोस्रो पटक मुख्यमन्त्री बन्न पुगेका हुन्।
उनलाई माओवादीको चुनाव चिन्हबाट निर्वाचित फणीन्द्र देवकोटाले माओवादीको संसदीय दलको ह्विप विपरीत विश्वासको मत दिए। केन्द्रमा फेरि सत्ता गठबन्धन परिवर्तन भएर कांग्रेस र एमालेको सरकार बन्यो।
यसको असर गण्डकी प्रदेश सरकारमा परे पनि मुख्यमन्त्री नै फेरिन स्तरमा भने पुगेन। एमाले २०८१ भाद्र १७ गते चार जना मन्त्री सहित उनको सरकारमा छ।
विकासभन्दा सत्ता प्राथमिकतामा?
देश भरका प्रदेशको खर्च कम गर्न मन्त्रालय घटाउने आवाज उठिरहेका बेला गण्डकी प्रदेशमा दुई ठूला दलका सरकार बन्दा पनि भागबन्डा मिलाउन मन्त्रालय बढाइएको छ।
एमालेका खगराज अधिकारीले दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री हुँदा खर्च कटौती गर्ने भन्दै १२ वटा मन्त्रालयलाई झारेर सात वटा बनाए थिए।
उनकै पार्टी सहितको सरकारले गण्डकीमा भागबन्डा मिलाउन दुई वटा मन्त्रालय थपेको छ।

संविधानमा दुई वर्ष नहुँदासम्म अविश्वासको प्रस्ताव राख्न नपाउने व्यवस्था भए पनि समर्थन फिर्ता लिन सकिने व्यवस्थाले सरकार अस्थिर हुने गरेको पृथ्वीनारायण क्याम्पस पोखराका राजनीति शास्त्रका उपप्राध्यापक कपिलमणि दाहाल बताउँछन्।
“सरकार परिवर्तनसँगै योजना आयोगका मान्छे बदलिन्छन्। मन्त्रीहरू फेरिन्छन्। कर्मचारीको सरुवा हुन्छ। विकास निर्माणमा दिनु पर्ने प्राथमिकता टाढाको कुरा बन्न पुगेको छ,” उनले बताए।
पाँच जना प्रदेश प्रमुख बन्दा दीपक मनाङे पाँच पटक मन्त्री
गण्डकीमा अहिलेसम्म पाँच जना प्रदेश प्रमुख भइसकेका छन्। पहिलो प्रदेश प्रमुख बाबुराम कुँवर हुन्। सङ्घमा सत्ता परिवर्तनसँगै प्रदेश प्रमुख फेरिने क्रममा दोस्रो प्रदेश प्रमुख माओवादीका अमिक शेरचन बने।
तेस्रो प्रदेश प्रमुखको रूपमा सीताकुमारी पौडेल गण्डकी आइन। केन्द्रको सत्ता खेलसँगै पृथ्वीमान गुरुङ चौथो प्रदेश प्रमुख बन्न पुगे भने उनलाई विस्थापित गर्दै डिल्लीराज भट्टले पाँचौँ प्रदेश प्रमुखको रूपमा कार्यभार सम्हालिरहेका छन्।
पहिलो कार्यकाल र दोस्रो कार्यकाल गरेर हालसम्म ५० जना मन्त्री बनेका छन्। सरकार परिवर्तनसँगै मन्त्रिपरिषद् पुनर्गठन हुँदा एकै व्यक्तिले पटक पटक अवसर पाउने गरेका छन्।
पहिलो कार्यकालमा २२ जना मन्त्री बने भने दोस्रो कार्यकालमा २८ जना मन्त्री बने। सबैभन्दा धेरै पटक मन्त्री बन्नेमा स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) हुन्। मनाङबाट सर्वसम्मत निर्वाचित सांसद राजीव गुरुङ पहिलो र दोस्रो कार्यकाल गरी पाँच पटक मन्त्री बनेका हुन।
त्यसपछिको सबैभन्दा धेरै पटक मन्त्री बन्नेमा माओवादी सांसद हरिबहादुर चुमान हुन्। उनी पनि पहिलो र दोस्रो कार्यकालमा गरी तीन पटक मन्त्री भएका थिए।
सत्ता परिवर्तन भए पनि नेताहरू दोहरिँदा जनता निराश देखिएको राजनीति शास्त्रका उपप्राध्यापक दाहालको टिप्पणी छ। “सरकारमा रहेकालाई सामान्य लाग्छ। जनतामा असन्तुष्टि र निराशा बढ्दै गएको छ,” उनले बताए।
सांसदको काम: ‘सरकार ढाल्ने र बनाउने’

तस्बिर स्रोत, Gandaki Govt.
गण्डकी प्रदेशका सांसद तथा मन्त्रीहरूले अस्थिर सरकारकै कारण आफूहरूले चाहे अनुसार काम गर्न नसकेको स्वीकार गरेका छन्।
गण्डकी प्रदेशकी पूर्व मन्त्री सरस्वती अर्याल भन्छिन्, “छिटो छिटो सरकार परिवर्तन हुँदा चाहे अनुसारको काम गर्न सकिएन।”
एमाले सांसद देवका पहारीले सरकार अस्थिर हुँदा संसद्ले काम नपाउने सम्मको अवस्था आएको बताइन्।
माओवादी सांसद तथा पूर्व भौतिक पूर्वाधार मन्त्री रेसम जुग्जालीले सांसदको काम सरकार बनाउने र ढाल्ने मात्र जस्तो भएको टिप्पणी गरे।
“प्रदेशको विकास र समृद्धिका लागि अहिले भइरहेको सरकार स्थिर होस् र बाँकी कार्यकाल पूरा होस् तर गतिविधि त्यस्तो देखिँदैन,” उनले सुनाए।
केन्द्रमा दुई ठूला दल कांग्रेस र एमाले सहितको सरकार रहे पनि विगतका राजनीतिक अविश्वास र खिचातानी हेर्दा कति बेला अस्थिरता फेरि सुरु हुने हो भन्ने आशङ्का राजनीतिक वृत्त र नागरिक समाजमा अझै पाइन्छ।
कतिपय मानिसहरूले त डेढ वर्षमै चार पटक सरकार परिवर्तन भएपछि पर्यटकीय प्रदेश मानिने गण्डकीको सरकार पनि पाहुना जस्तै हुन पुगेको टिप्पणी गर्ने गरेका छन्।
(यो शृङ्खलामा हामीले राजनीतिक अस्थिरताको चक्रमा फस्दै गएको देखिएका सात वटै प्रदेश सरकार र त्यहाँ भएका राजनीतिक आरोह-अवरोहको समीक्षा समेटेका छौँ)
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








