भिस्ताराको विमानमा बम रहेको भन्दै भारतीय नम्बरबाट कल आएपछि...

भारतको भिस्तारा एअरलाइनको एउटा यात्रुवाहक विमानमा बम भएको दाबीपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको खानतलासीका क्रममा त्यस्तो केही नभेटिएको नेपाल उड्डयन प्राधिकरणले जनाएको छ।
अन्तर्राष्ट्रिय मापदण्डबमोजिम आवश्यक सुरक्षा जाँचपछि उक्त जहाजलाई अर्को उडानका निम्ति योग्य घोषित गरिएको प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले बीबीसीलाई बताए।
नेपाल सेनासहितका सुरक्षाकर्मीहरूले भिस्ताराको एयरबस ए३२० लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङवेबाट छुट्टै राखेर सुरक्षा जाँच गरेका थिए।
प्रवक्ता भुलका अनुसार भारतीय नम्बरबाट फोन आएकोले त्यसबारे थप अनुसन्धान गरी आवश्यक कारबाहीका लागि सम्बन्धित देशलाई जानकारी गराइनेछ।
त्रिभुवन विमानस्थल कर्मचारीहरूका अनुसार उक्त विमान अघि पौने ९ बजेतिर भारतका लागि उडेको छ।
खासमा के भएको हो?

तस्बिर स्रोत, Getty Images
भिस्तारा एअरलाइनको विमान दिल्लीबाट काठमाण्डूका लागि उडेको करिब ४५ मिनेटपछि सो विमानका काठमाण्डूस्थित कर्मचारीलाई जहाजमा बम रहेको भन्ने दाबीसहित कल आयो।
प्राधिकरणका प्रवक्ता भुलका अनुसार ह्वाट्स एपमार्फत् आएको त्यस्तो दाबीबारे ती कर्मचारीले तत्काल नेपालका सुरक्षा निकायसहित सम्बद्ध अधिकारीहरूलाई जानकारी गराए।
विमानमा बम रहेको दाबीसहितको खबर पाउनासाथ काठमाण्डूस्थित विमानस्थलमा सुरक्षाकर्मीहरूलाई ‘अलर्ट’मा राखियो।
कुल १५७ जना यात्रु सवार भारतीय निजी कम्पनीको उक्त विमान साढे ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यो।
“विमानस्थलको आपत्कालीन योजनाअन्तर्गत ‘बम थ्रेट टु एअरक्राफ्ट’ भन्ने हुन्छ। त्यो मापदण्डअनुसार हामीले सबै यात्रुलाई विमानबाट ओराल्यौँ,” भुलले बीबीसी न्यूज नेपालीसँग भने।
“विमानबाट ओरालेपछि शुरूमा उहाँहरूको सुरक्षा जाँच गर्यौँ। ह्यान्डक्यारी चेक गर्यौँ। त्यसपछि ब्यागेज र पूरै जहाज चेक गर्यौँ। सबै चेक गर्दा पनि कुनै शङ्कास्पद वस्तु भेटिएन।”
“त्यसपछि नेपाल प्रहरी, सेनाको बम डिस्पोजल टोली र तालिमप्राप्त कुकुरबाट फेरि चेक गर्दा केही नभेटिएपछि त्यो ‘फेक/होक्स’ कल थियो भन्ने भयो। त्यसपश्चात् सुरक्षा टोलीले अर्को उडानका लागि विमान योग्य रहेको घोषणा गर्यो,” भुलले थपे।
जहाजका यात्रुहरूको मनोदशा

उड्डयन अधिकारीहरूका अनुसार धम्की सत्य नभएको पुष्टि नहुञ्जेल त्यसलाई साँचो नै मानेर आवश्यक कारबाही गर्नुपर्ने हुन्छ।
“त्यसले गर्दा यात्रुहरूमा अलि डर हुने नै भयो। उहाँहरू अलिअलि डराउनुभएको थियो,” प्रवक्ता भुलले भने।
सुरक्षा जाँचपछि अन्ततः विमानभित्र कुनै शङ्कास्पद वस्तु केही नभेटिएपछि यात्रु तथा अधिकारीहरूले राहतको सास फेरेका थिए।
“हामीले त्यो जहाजको अगाडिपछाडि अन्य जहाजको लागि ट्याक्सी पनि रोकेका थियौँ,” झूटो धम्कीले पुर्याएको एउटा असरबारे भुलले जानकारी गराए।
त्यसबाहेक उक्त भारतीय विमानको फिर्ती उडान पनि प्रभावित भयो। दिउँसै फर्किनुपर्ने विमान राति मात्रै फर्किन पाउने भयो।
अफवाहको उद्देश्य के हुन्छ?
उड्डयन अधिकारीहरूका अनुसार विमानबारे झूटो खबर फैलाउनेहरूको मुख्य उद्देश्य दुःख दिने र आतङ्कित तुल्याउने रहेको देखिन्छ।
“उडानको जुन तालिका हुन्छ त्यसलाई बिथोल्ने र यात्रु तथा सम्बन्धित देशका अधिकारीहरूलाई आतङ्कित तुल्याउनेबाहेक उनीहरूको अरू उद्देश्य हुँदैन,” प्रवक्ता भुलले भने।
“विमान अपहरण गर्न खोज्ने गिरोह भए चाहिँ उनीहरूको कन्डिश्नल [सशर्त] धम्की हुने गरेको पाइन्छ।”
अधिकारीहरूका अनुसार ह्वाट्स एपमा फोन आएको भारतीय नम्बरबारे सुरक्षाकर्मीहरूले अब थप अनुसन्धान गर्नेछन्।
“जहाँबाट फोन आएको हुन्छ त्यसको स्रोत पत्ता लगाई त्यो सम्बन्धित देशको नियमबमोजिम कारबाही हुन्छ,” भुलले भने।
“हामी चाहिँ कुन नम्बरबाट कल आएको थियो, के थियो भनी लेखेर पठाइदिन्छौँ।”
विवरणहरूमा जनाइएअनुसार भारत सरकारले त्यस्ता कसुर गर्नेहरूलाई उडानमा प्रतिबन्ध गरिएको सूचीमा राख्ने र पाँच वर्ष कैदको व्यवस्था भएको नयाँ कानुनी व्यवस्था गर्नेबारे विचार गरिरहेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








