१४० वर्षयता सबैभन्दा खराब आँधीबेहरीको मारमा हङ्कङ

तस्बिर स्रोत, Reuters
- Author, केली ङ
- Role, बीबीसी न्यूज
हङ्कङ र दक्षिणी चीनका सहरहरू अभूतपूर्व वर्षाका कारण आएको बाढी र डुबानको समस्यामा परेका छन्।
शुक्रवार हङ्कङका सडक र भूमिगत रेल स्टेशनहरू डुबानमा परेका छन्। बाढीका कारण उत्पन्न समस्याका कारण अधिकारीहरूले विद्यालय र कार्यालयहरू बन्द गर्न निर्देशन दिएका थिए।
स्थानीय मौसम ब्यूरोले शुक्रवारदेखि हुन थालेको मुसलधारे वर्षा उक्त सहरमा "विगत १४० वर्षयता भएको सबैभन्दा ठूलो" भएको बताएको छ।
आपत्कालीन उद्धार गर्ने निकायका अनुसार वर्षाका कारण प्रभावित १०० जनाभन्दा बढी मानिसलाई अस्पताल लग्नुपरेको छ भने उद्धारसम्बन्धी विभिन्न कार्य गर्नुपरेको छ।
मुसलधारे वर्षा
हङ्कङबाट प्राप्त तस्बिरहरूमा बिहीवारको मुसलधारे वर्षाले त्यहाँका सडकलाई बाढी उर्लेको खोला जस्तो बनाइदिएको देख्न सकिन्छ। शपिङ सेन्टर र सार्वजनिक यातायात सेवाहरू डुबानमा परेका छन्।
सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा बाढीको पानीबाट जोगिन मानिसहरूले सवारीसाधनमाथि र अन्य अग्ला स्थानरूमा उक्लिरहेका देख्न सकिन्छ।
कुनै स्थानमा पानीको तह केही मिटरमाथिसम्म बढेको छ। परिणामस्वरूप भूमिगत रेल स्टेशनहरूसम्म पुग्ने बाटोहरू पनि जलमग्न भएका छन्।

तस्बिर स्रोत, Reuters
मुख्य टापुलाई उत्तरमा अवस्थित काउलुन प्रायःद्वीपसँग जोड्ने महत्त्वपूर्ण अन्तरबन्दरगाह सुरुङमार्ग पनि डुबानमा परेको छ।
हङकङको पहाडी क्षेत्रमा वर्षाका कारण पहिरो गएको छ र त्यसबाट केही राजमार्गहरू अवरुद्ध भएका छन्।
खतराको उच्च सङ्केत
शुक्रबार अपराह्ण वर्षा हुने क्रम केही घटेपछि अधिकारीहरूले पहिला जारी गरिएको खतराको सङ्केतको स्तरलाई उच्च कालोबाट केही तह कम सुन्तले रङ्गमा झारेका छन्।
तर मौसमविद्हरूले शनिवारसम्म ठूलो वर्षा हुने बताएका छन्।
बिहीवार एक घण्टामा ७० मिलिमिटरभन्दा वर्षा भएपछि अधिकारीहरूले उच्च जोखिम जनाउने खतराको कालो सङ्केत जारी गर्नुपरेको थियो।
राति १५८.१ मिलिमिटर प्रतिघण्टाको दरमा वर्षा भएको हङ्कङ अब्जर्भटरीले जनाएको थियो।
त्यो सन् १८८४ मा त्यहाँ वर्षासम्बन्धी अभिलेख राख्न थालिएयताकै सबैभन्दा उच्च वर्षा हो।
हङ्कङ टापु, काउलुन र सहरको उत्तरपूर्वी भेगमा साँझको ६ बजेदेखि मध्यरातका बीचमा २०० मिलिमिटरभन्दा बढी पानी परेको अभिलेख छ।
ठूलो वर्षाका कारन दक्षिणी चीनलाई प्रभावित भएको छ। हङ्कङपारि रहेको शेन्जेन सहरमा सन् १९५२ यताकै उच्चतम वर्षा भएको थियो।
मौसमका कारण गुआङ्डोङ प्रान्तको विस्तारित क्षेत्रमा सयौँ उडानहरू रद्द गर्नुपरेको छ भने तल्लो भूभागमा रहेकाहरूलाई अग्लो स्थानतर्फ जान अधिरकारीहरूले अनुरोध गरेका छन्।
दक्षिणी चीनको सघन जनसङ्ख्या भएको तल्लो तटीय क्षेत्रमा करौँडौँ मानिसहरू बसोबास गर्छन्।








