तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
एसीसी प्रिमिअर कपमा नेपालको यात्रा सेमिफाइनलमै रोकियो
- Author, निरञ्जन राजवंशी
- Role, काठमाण्डू
नेपाल र यूएईबीच भएको क्रिकेट भिडन्तमा यसपालि बाजी मार्ने पालो यूएईको रह्यो।
नेपाली ब्याटरहरूले निराशाजनक ब्याटिङ गरेको दिन यूएईले ओमानमा सञ्चालन भइरहेको एसीसी प्रिमिअर कपको सेमिफाइनलमा छ विकेटको सहज विजय प्राप्त गर्यो।
लीग चरणको चारवटै खेल जितेर प्रतियोगितामा प्रभावशालि देखिएको नेपाल महत्त्वपूर्ण सेमिफाइनलमा जम्न नसक्दा अर्को वर्ष हुने २० ओभरको एशिया कप क्रिकेटमा छनोट हुने अवसरबाट वञ्चित भएको छ।
टस हारेर पहिले ब्याटिङ पाएको नेपाल पूरा २० ओभर खेलेर ११९ रनको सामान्य स्कोरमा समेटिएको थियो।
जबाफमा यूएईले १७.१ ओभरमा चार खेलाडी गुमाउँदै नेपाललाई हरायो।
यूएई प्रतियोगिताको फाइनलमा पुगेको छ। अब उसले हङ्कङ वा ओमानमध्ये एकसँग फाइनलमा प्रतिस्पर्धा गर्ने छ।
फाइनल विजेता एशिया कपमा पुग्ने छ।
नेपालसँग बदला
असोसिएट क्रिकेटमा नेपाल र यूएईबीचको प्रतिस्पर्धा रोमाञ्चक हुँदै आएको छ।
दुई वर्षअगाडि ओमानको अल अमेरत मैदानमै भएको टी२० विश्वकप छनोटको सेमिफाइनलमा यूएई नेपाललाई पराजित गर्दै विश्वकपमा छानिएको थियो।
त्यसको बदलास्वरूप पाँच महिनाअघि काठमाण्डूको मूलपानी क्रिकेट मैदानमा नेपालले सेमिफाइनल भिडन्तमै यूएईलाई हराएर टी२० विश्वकपमा छानिएको थियो।
एसीसी प्रिमिअर कपको गत वर्षको संस्करण घरेलु मैदानमा खेल्दै नेपालले यूएईलाई फाइनलमा स्तब्ध पारेको थियो। शुक्रवारको खेलमा यूएईले त्यसको बदला लिएको छ।
नेपाली क्रिकेट टोलीलाई घरेलु मैदान फाप्दा यूएईको लागि भने ओमानको मैदान राम्रो देखिएको छ।
कुशल भुर्तेलको विकेट गएपछि दबाउ
कुशल भुर्तेल पहिलो बलमा 'गोल्डन डक आउट' भएसँगै नेपाली टोली दबावमा परेको थियो।
निकै महत्त्वपूर्ण खेलमा पहिलो बलमा नै आउट भएसँगै उनको नाममा नमिठो कीर्तिमान नै बन्यो। उनी १२ पटक पहिलो बलमा आउट भइसकेका छन्।
भुर्तेलपछि आशिफ शेख चौथो ओभरमा ८ रन बनाएर तथा कप्तान रोहित पौडेलले १८ बलमा ५ रन बनाएर आउट भएपछि नेपाल सातौँ ओभरमा ३८/३ को खराब स्थितिमा पुगेको थियो।
सन्दीप जोराले धैर्यपूर्ण ब्याटिङ गर्दै ४० बलमा ५० रनको अर्ध शतक बनाए। तर उनलाई कसैले पनि दरिलो साथ दिन सकेनन्।
आक्रामक कुशल मल्ल तीन रन तथा भरपर्दा भनिएका दीपेन्द्र सिंह ऐरी पनि पाँच रन बनाएर खेलेपछि यूएई खेलमा पूर्णतः हाबी भएको देखिएको थियो।
यस्तोमा तल्लो क्रमका गुलशन झाले २० रन र करण केसीले १७ रन बनाएपछि टोलीको स्कोर १०० नाघेको थियो।
यूएईको सहज जित
यूएईले खासै ठूलो चुनौती खेप्नुपरेन।
प्रारम्भिक ब्याटर अलिशान सर्फुले अविजित रहेर ५१ रन बनाउँदै टोलीलाई जिताए।
नेपाली बलरहरुले कप्तान मोहम्मद वसिम (११ रन), विष्णु सुकुमारन( २८ रन), आसिफ खान (१० रन), शैयद हैदर (१४ रन) लाई आउट गरे पनि ढिलो भइसकेको थियो।
गुलशन झाले दुई तथा सोमपाल कामी र ललित नारायण राजवंशीले १/१ विकेट लिएका थिए।
नेपालले अब शनिवार तेस्रो स्थानका लागि खेल्ने छ।
एशिया कप गुमाइसकेको नेपालले यदि तेस्रो स्थानको खेल जित्यो भने एसीसी इमर्जिङ कप क्रिकेटमा जान पाउने छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।