विषाक्त तुवाँलोले पूर्वी पाकिस्तानमा जनजीवन अस्तव्यस्त

लाहोरको प्रदूषण

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा वायु प्रदूषणको स्तर खतराको तहमा पुगेको बताइएको छ
    • Author, केली नाङ र तरहब असगर
    • Role, सिङ्गापुर र इस्लामाबाद

पूर्वी पाकिस्तानमा विषाक्त तुवाँलोले हजारौँ मानिसहरूलाई बिरामी पारेपछि त्यहाँका अधिकारीहरूले केही सहरहरू बन्द गराएका छन्।

पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा वायु प्रदूषणको स्तर खतराको तहमा पुगेको बताइएको छ।

पन्जाब प्रदेश सरकारले लाहोरलगायत तीन सहरका विद्यालय, कार्यालय, शपिङ मल र पार्कहरू आगामी आइतबारसम्मका लागि बन्द गराएको छ।

यो प्रदेश उही नामको भारतीय राज्यसँग जोडिएको छ।

भारतको जस्तै समस्या

दिल्ली प्रदूषण

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, वर्षभरि नै दिल्ली संसारका सबैभन्दा प्रदूषित सहरहरूमध्ये रहने गर्दछ

विगत केही दिनदेखि लाहोरको वायु गुणस्तर सूचक करिब ४०० अङ्कको आसपास छ। साान्यतया १०० वा त्यसभन्दा कम अङ्कको वायु गुणस्तर सूचकलाई सन्तोषजनक मानिन्छ।

यो सहर भारतको अमृतसर सहरसँग जोडिएको छ। अहिले उत्तरी भारत पनि विषाक्त तुवाँलोबाट आक्रान्त छ।

भारतको राजधानी दिल्लीमा वायु प्रदूषणको तहले चेतावनीको स्तर पार गरिसकेको छ। मङ्गलवार त्यहाँको वायु गुणस्तर सूचक ३०० थियो।

सामान्यतया ३०१ देखि ५०० सम्मको अङ्कमा वायु गुणस्तर हुनुलाई हानिकारक मानिन्छ।

दैनिक जनजीवन प्रभावित

वायुप्रदूषणले फोक्सोको क्यान्सर
तस्बिरको क्याप्शन, वायुप्रदूषणले फोक्सोको क्यान्सर पनि हुन सक्छ

लाहोरका केही बासिन्दाले बीबीसी उर्दूलाई बताएअनुसार त्यहाँको वायुको गुणस्तर बारम्बार अत्यन्त हानिकारक तहमा पुग्छ। यसले उनीहरूको स्वास्थ्य र दैनिक जनजीवन प्रभावित पार्ने गर्दछ।

"विषाक्त वायुमण्डल हाम्रो जीवनकै अङ्ग बनिसकेको छ," कामका लागि दैनिक मोटरसाइकलमा आवतजावत गर्ने व्यापारी अमीर हाज्माले बताए।

"सामान बेच्नका लागि म विभिन्न ठाउँमा जान्छु। दिनभरि लामो समय काम गरेर घर जाँदा वायुप्रदूषणका कारण मेरा आँखा राता भएका हुन्छन् र चिलाउँछन्। बारम्बार बिरामी पर्दा मेरो काम पनि प्रभावित भएको छ। अहिले पनि म रुघा, खोकी र घाँटी दुखाइबाट पीडित छु र आफूलाई स्याहार गरिरहेको छु," उनले भने।

तुवाँलोका कारण मुख वरिपरि सुनिएपछि आफ्नी डेढ वर्षे छोरीले राम्रोसँग खानपिन गर्न नसकेको सारा जीशनले बताइन्।

तुवाँलोमा निरन्तर बस्दा दीर्घकालीन रूपमा स्वास्थ्यमा हानि हुने र फोक्सोको क्यान्सरसमेत हुन सक्ने चिकित्सकहरू बताउँछन्।

प्रदूषणको कारण

हिउँद याममा खेती गर्नका लागि खेत खाली गर्न धान गहुँ जो जस्ता अन्नबालीका ठूटा जलाउने प्रवृत्ति नै वायुप्रदूषणको मूल कारण भएको केही विशेषज्ञहरू बताउँछन्।

स्थानीय सञ्चार माध्यमहरूका अनुसार पाकिस्तानी सरकारले गत साता यस विषयमा भारतीय अधिकारीहरूसँग कूटनीतिक तहमा कुरा गर्ने बताएका थिए। उनीहरूले यस विषयमा विस्तृत जानकारी भने दिएनन्।

तर केही विशेषज्ञहरूका अनुसार पाकिस्तानी किसानहरूले पनि भारतीयहरूको जस्तै अवशेष जलाउने गर्दछन्।

पन्जाबमा स्वास्थ्य संस्था, किराना पसल र ग्यास स्टेशनहरू भने खुलै रहन्छन्। अधिकारीहरूले बाहिरै जानै पर्ने भए मास्क लगाउन स्थानीयवासीलाई सचेत गराएका छन्।

प्रदूषणको समस्या समाधानका लागि सरकारले लागु गरेका नीतिहरू "हतारमा तयार गरिएका भएकाले काम नलाग्ने" वातावरणविद् रफी आलमले बताए।

"समस्यालाई समस्याका रूपमा पहिचान नगरेसम्म तपाईँ यसलाई कसरी समाधान गर्न सक्नुहुन्छ? साताको तीन दिन पानी छम्केर वा विद्यालय बन्द गरेर तुवाँलोको समस्या समाधान हुन्छ त?" उनले भने।

शिकागो विश्वविद्यालयले तयार गरेको वायु गुणस्तर जीवन सूचकका अनुसार लाहोरलगायत पाकिस्तानका सबैभन्दा प्रदूषित क्षेत्रमा वायुप्रदूषणले मानिसको जीवन करिब सात वर्षको दरले छोट्टिने गर्दछ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।