दशैँका बेला काम गर्न भारत जान नाकामा पुगेका नेपाली के भन्छन्?

गौरीफन्टा नाकाबाट भारततर्फ जाँदै गरेका नेपाली
तस्बिरको क्याप्शन, गौरीफन्टा नाकाबाट भारततर्फ जाँदै गरेका नेपाली
    • Author, हिक्मतबहादुर रावल
    • Role, धनगढी

भारत जाने नेपालीहरूले भरिएको एउटा बस गत शुक्रवार धनगढीहुँदै सीमानाका गौरीफन्टा पुगेको थियो। जाँचका लागि यात्रु गाडीबाट उत्रिरहेका बेला अगाडिपट्टिको दायाँ सीटमा रहेका एक जना युवा निन्याउरो अनुहार बनाएर मोबाइलमा कुरा गर्दै थिए।

ती युवाले फोन राख्ने बेलामा भने, ‘‘आफ्नो ख्याल गर्नु, बालबच्चा हेर्नु। जस्तो भए पनि दशैँ राम्ररी मनाउनू। म पुगेपछि कल गरौँला।’’

फोन राखिसकेपछि ‘‘कहाँ जाँदै हुनुहुन्छ?’’ भन्ने प्रश्नमा उनले संक्षिप्त उत्तर दिए, ‘‘हरियाणा।’’

त्यहाँ जानुको कारण सोध्दा उनले भने, ‘‘ के गर्नु, यो नाका कट्ने बेला परिवारको याद आउँछ। केके सोचिन्छ। भरखरै घरमा फोन गर्दै थिएँ, राम्ररी बस्नू, दशैँ मनाउनू भनेर।’’

कैलालीको जोशीपुर घर भएका नन्दराम बोहरा, उनी दशैँका बेला भारतको हरियाणा जानका लागि हिँडेका हुन्
तस्बिरको क्याप्शन, कैलालीको जोशीपुर घर भएका नन्दराम बोहरा, उनी दशैँका बेला भारतको हरियाणा जानका लागि हिँडेका हुन्

उनी हुन्- कैलालीको जोशीपुर घर भएका नन्दराम बोहरा, जो दशैँ लागिसकेपछि मजदुरीका लागि भारतको हरियाणा जानका लागि हिँडेका थिए।

मुख्य पर्वकै बेला विदेशिनुको पीडा सुनाउँदै उनले बीबीसीसँग भने, ‘‘देशमा बसिखाने वातावरण छैन, केही गरौँ भने पनि छैन, दशैँ छोडेर जानु पर्ने रहर त कहाँ थियो र!’’

'आउने र जाने उस्तै'

धनगढीसँग जोडिएको गौरीफन्टा सीमानाका र कञ्चनपुरको बनबासा नाका भएर अहिले सयौँ नेपालीहरू दशैँ मनाउन भारतबाट घर फर्किरहेका छन्।

तिनै नाकाबाट स्वदेश फर्कनेकै हाराहारीमा नेपालीहरू भारततर्फ पनि गइरहेका देखिन्छन्।

गौरीफन्टा नाकामा खटिएका सशस्त्र प्रहरी बलका अधिकारीहरू "आउने र जानेको भिड उस्तै रहेको" बताउँछन्।

सशस्त्र प्रहरीले सीमामा सङ्कलन गरेको तथ्याङक अनुसार गत शुक्रवार त्रिनगर भन्सारनाकाबाट मात्र २०० जना भन्दा बढी नेपाली नागरिकहरू भारतका विभिन्न स्थानमा गएका छन्। उक्त दिन भारतबाट नेपालतिर भने १,००० जनाभन्दा बढी आएका छन्।

दशैँ मनाउन पनि भारततिरै

भारत जान हिँडेका नेपाली

दशैँका बेलामा भारततर्फ जाने नेपालीमा बालबालिकाहरू पनि रहेको देखिन्छ।

त्यस्ता बालबालिकामध्ये कतिपयका अभिभावक भारतमै भएकाले उनीहरू दशैँ मनाउन त्यता गएको बुझिएको छ।

‘‘यसपालि दशैँ भारतमै मनाइने भयो,"जाँचका लागि हातमा नागरिकता र जन्मदर्ताको प्रमाणपत्र लिएर उभिएकी बाजुराकी संगीता श्रेष्ठले भनिन्, ‘‘परिवार उतै, नोकरी उतै, दशैँ पनि उतै हुने भयो।’’

यद्यपि सुदूरपश्चिमका नाकाबाट बाहिरिने नेपालीमध्ये धैरै रोजगारीको खोजीका लागि भारततर्फ जाने गरेको जानकारहरू बताउँछन्।

दशैँभन्दा रोजगारीको चिन्ता

दशैँका बेला देश छाडेर भारत जान लागेका कतिपयले "दशैँभन्दा परिवारको चिन्ता बढी भएकाले" रोजगारीका लागि विदेशिन लागेको बताए।

गौरीफन्टा नाकामा भारतीय सीमा सुरक्षा बलको कडा जाँचपछि भारतीय भूमिमा प्रवेश गरेर बस कुरिरहेका कैलालीको सुक्खडका रमेश रोकाया पनि त्यस्तै मध्येका एक हुन्।

उनले बीबीसीसँग भने, ‘‘गरिबका लागि केही गरिदिने कोही पनि भएन। मैले १२ पास गरेँ। दुई पटक प्रहरीमा भर्ना हुन खोजेँ, फेल भएँ।"

"यहाँ जागिर खान पनि कि पैसा चाहिन्छ कि आफ्नो मान्छे। मेरो केही भएन। बाध्य भएर काम खोज्न भारत जानु परेको छ।’’

उनले नेपालमा रोजगारीको अवसर नहुँदा मुख्य पर्वका बेलामा पनि परिवार र देश छाडेर जानुपर्ने अवस्था बनेको बताए।

सीमामा अतिरिक्त पैसा बुझाउनु पर्ने अवस्था

मदन गुरुङ्ग भारतको नयाँदिल्लीबाट दशैँ मनाउन नेपाल आएका हुन्
तस्बिरको क्याप्शन, भारतको नयाँदिल्लीबाट दशैँ मनाउन नेपाल आउनेमध्ये मदन गुरुङ्ग पनि एक हुन्

भारतको महाराष्ट्रबाट दशैँ मनाउन घर फर्किएका सुर्खेतको बाबियाचौरका मदन गुरुङले आफ्ना साथीहरूसहित आफू शुक्रवार गौरीफन्टा नाकामै लुटिएको बताए।

उनले भने, ‘‘गौरीफन्टामा ओर्लिएर आउँदै गर्दा सिसा लगाएको बक्सजस्तो घर भित्रबाट हामीलाई बोलायो। प्रतिव्यक्ति १०० भारु मागे। हामीले प्रतिवाद गर्‍यौँ।"

"चोरी गरी ल्याएको पैसा हो र! पसिनाको कमाइ हो भन्यौँ। त्यसपछि धम्काउँदै हामीलाई ब्याग खोल् भन्न थाले। लफडा गर्नुभन्दा बाध्य भएर हामी ६ जनाले ६ सय बुझायौँ।’’

गौरीफन्टामा नाकामा यसरी नेपालीहरू स्वदेश फर्कँदा पैसा बुझाउनु पर्ने र लुटपाट हुनेसम्मका घटना भएका विवरणहरू बारम्बार आउने गरेका छन्।

विशेषगरी नेपाली कामदारहरू भारतबाट स्वदेश फर्कँदा सीमामा भारतीय सुरक्षाकर्मी र कर्मचारीहरूले दु:ख दिने गरेको गुनासो आउने गर्छ।

बाजुराको छताराका चन्द्रबहादुर विश्वकर्माले "मान्छे हेरीहेरी भारतीय कर्मचारीले जबरजस्ती तिर्नु नपर्ने पैसा तिर्न लगाउने गरेको" दाबी गरे।

उनी नेपाली प्रशासनकै अगाडि भारतीय पक्षबाट जबरजस्ती गरिँदा नेपाली पक्षले केही सहयोग नगरेको भारतबाट फर्कने कामदारहरूको गुनासो छ।

नेपाली सुरक्षाकर्मीमाथि पनि आरोप

सीमाबाट स्वदेश प्रवेश गर्दा भारतीय सुरक्षाकर्मी र कर्मचारी मात्र होइन नेपाली सुरक्षाकर्मीले समेत ठाउँठाउँमा दुःख दिने गरेको गुनासो नेपाली नागरिकहरूको छ।

‘‘एक ठाउँमा होइन, पाँच ठाउँमा चेक गरिन्छ। पैसा पनि मागे,’’ नयाँ दिल्लीबाट गौरीफन्टा नाकाहुँदै बाजुरा जान लागेका शंकर विश्वकर्माले भने।

भारतबाटै गाडी भाडामा लिएर आउँदा पनि सडकमा विभिन्न स्थानमा सुरक्षाकर्मीलाई अतिरिक्त रकम तिर्नु परेको उनले बताए।

भारत जान हिँडेका नेपाली

सुरक्षाकर्मी के भन्छन्?

सशस्त्र प्रहरीको सीमा सुरक्षा बल धनगढीका प्रहरी उपरिक्षक दलबहादुर पाण्डेले सीमा नाकामा कडाइ गरिएको भए पनि रकाम असुल्ने काम नभएको बताए।

उनले भने, ‘‘हाम्रा मान्छेले पैसा लिएको पाइयो भने हदैसम्मको कारबाही हुन्छ। यसमा शून्य सहनशीलताको नीति छ।"

भारततिर बढी नै हैरानी भइरहेको थाहा भएपछि दुई पटक एसएसबीको कार्यालयमा बैठक राखिएको पनि उनले बताए।

भारतीय पक्षले पनि रकम असुल गर्ने घटना हुन नदिने प्रतिबद्धता जनाएको उनको भनाइ छ।

उनले भारततर्फको अवस्था अनुगमनका लागि पनि टोली बनाएकाले अब त्यस्तो अवस्था नआउने बताए।

नेपाल फर्कनेहरू पनि धेरै छन्

कैलालीका प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले भारतीय कर्मचारी र सुरक्षाकर्मीहरूले स्वदेश फर्किरहेका नेपालीलाई दु:ख दिएको गुनासोबारे सीमावर्ती भारतीय अधिकारीहरूसँग कुराकानी गरेको बताए।

भारतको लखिमपुर खिरीका जिल्ला अधिकारीसँग आफूले व्यक्तिगत रूपमै सम्पर्क गरेर त्यस्तो हुन नदिन पहल गरेको उनको भनाइ छ।

मिश्रले भने, ‘‘उजुरी कतैबाट आएको छैन तर पनि अनैतिक क्रियाकलाप भइरहेको थाहा पाएपछि मैले स्पष्ट कुरा राखेको छु। उहाँले त्यस्तो हुन नदिने वाचा गर्नु भएको छ।’’

उनले कसैले हैरानी बेहोर्नु परेको भए तत्काल प्रहरीलाई खबर गर्न पनि सबैलाई आग्रह गरे।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।