एक महिनादेखि समुद्रमा रहेको डुङ्गा दुर्घटना, ६० भन्दा बढी आप्रवासीको मृत्यु भएको आशङ्का

उद्धार कार्य

तस्बिर स्रोत, Reuters

    • Author, सुजेन लेह र क्रिस्टी कूनी
    • Role, बीबीसी न्यूज

पश्चिम अफ्रिकाको केप भर्डे टापुको तट पारि आप्रवासीहरू बोकेको डुङ्गा फेला परेको छ जसमा सवार ६० जनाभन्दा बढीको मृत्यु भएको आशङ्का गरिएको छ।

बालबालिकासहित ३८ जनालाई उद्धार गरेर सल टापुमा पुर्‍याएको जनाइएको छ। सार्वजनिक भिडिओ फुटेजमा उनीहरूलाई समुद्रकिनारमा ल्याइएको देख्न सकिन्छ जसमध्ये केहीलाई स्ट्रेचरको सहायतामा बोकिएको देखिन्छ।

एक महिनाभन्दा बढी समयदेखि समुद्रमा रहेको डुङ्गामा सवार प्रायः सबै सेनेगलका भएको अनुमान गरिएको छ।

यस घटनापछि केप भर्डेका अधिकारीहरूले थप मानवीय क्षति रोक्नका लागि आप्रवासनबारे विश्वव्यापी कदम चाल्न आह्वान गरेका छन्।

प्रहरीले एएफपी समाचार संस्थालाई दिएको जानकारीअनुसार डुङ्गा पहिलो पटक सोमवार फेला परेको हो। प्रारम्भिक प्रतिवेदनमा डुङ्गा डुबेको सङ्केत गरिएको थियो तर पछि यो तैरिरहेको अवस्थामा फेला परेको जनाइएको थियो।

बाँचेकाहरूलाई देश फर्काउने तयारी

काठको एक विशेष किसिमको डुङ्गा केप भर्डेमा अवस्थित सल टापुभन्दा करिब ३२० किलोमिटर पर स्पेनी माछा मार्ने डुङ्गामा सवारहरूले देखेका थिए। प्रहरीका अनुसार उनीहरूले नै डुङ्गाबारे अधिकारीहरूलाई जानकारी दिएका हुन्।

इन्टरन्याशनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) का प्रवक्ताका अनुसार बाँच्नेहरूमा १२ देखि १६ वर्ष उमेर समूहका चार जना बालबालिका छन्।

दुर्घटनामा परेको जस्तै भनिएको डुङ्गा

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, दुर्घटनामा परेको जस्तै भनिएको डुङ्गा

सेनेगलको विदेश मन्त्रालयले मङ्गलवार साँझ जारी गरेको विज्ञप्तिमा उक्त डुङ्गा गत जुलाई १० मा १०१ जना यात्रु बोकेर देशबाट प्रस्थान गरेको जनाइएको छ। मन्त्रालयले आफू केप भर्डेका अधिकारीहरूसँग सम्पर्कमा रहेको र पीडितहरूलाई स्वदेश फर्काउनका लागि पहल गरिरहेको जनाएको छ।

यात्रुहरूमध्ये केही मूलतः सिएरा लिओन र गिनी-बिसाउको भएको विवरणहरू प्राप्त भएका छन्।

सलका एक स्वास्थ्य अधिकारी जोस मोरेराले दुर्घटनामा परेकाहरूको स्वास्थ्यमा सुधार भइरहेको र उनीहरूलाई निगरानीमा राखिएको बताएका छन्। उनीहरूलाई पर्याप्त तरल पदार्थ दिइएको छ र औलोजस्ता रोगहरूको परीक्षणमा ध्यान केन्द्रित गरिएको मोरेराले बताए।

समस्या समाधानको माग

केप भर्डे पश्चिम अफ्रिकाबाट करिब ६०० किलोमिटर टाढा आन्ध्र महासागरमा अवस्थित टापु राष्ट्र हो। स्पेनिस क्यानरी टापुहरूको समुद्री आप्रवासन मार्गमा पर्ने यस राष्ट्रलाई प्राय युरोपियन युनियन अन्तर्गतका देशहरूको प्रवेशद्वारको रूपमा प्रयोग गरिन्छ।

"आप्रवासनका मुद्दाहरू विश्वव्यापी मुद्दा हुन् भन्ने हामीलाई थाहा छ। यसका लागि अन्तर्राष्ट्रिय सहयोग, पर्याप्त छलफल र विश्वव्यापी रणनीति आवश्यक पर्छ,“ स्वास्थ्यमन्त्री फिलोमेना गोन्काल्भेसले दुर्घटनाबारे भनिन्।

"हामी सबै राष्ट्रहरू वार्ताका निम्ति बस्नुपर्छ। आगामी दिनमा थप मानिसले समुद्रमा ज्यान गुमाउनु हुँदैन। त्यसका लागि हामीले आफ्नो तर्फबाट के गर्न सक्छौँ भन्नेबारे निर्क्योल गर्नुपर्छ।“

आईओएमकी प्रवक्ता सफा मेसेहलीले आप्रवासनका लागि सुरक्षित मार्गको “अधिक अभाव” रहेको उक्त समस्याका कारण “मानव तस्करहरूले मानिसहरूलाई यस्ता जोखिमपूर्ण यात्रा गराउने मौका पाएको” बताएकी छन्।

आईओएमको तथ्याङ्कअनुसार सन् २०२२ मा क्यानरी टापु जाने क्रममा कम्तीमा ५५९ जनाको मृत्यु भएको थियो। त्यस्तै यस वर्षको पहिलो छ महिनामा मात्रै सोही मार्गमा भएको १५ वटा डुङ्गा दुर्घटनामा परी १२६ जनाले ज्यान गुमाएको वा बेपत्ता भएका छन्।

गत जुलाईको अन्त्यतिर सेनेगलको राजधानी डाकारको तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिँदा कम्तीमा १५ जनाको मृत्यु भएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।