युक्रेनलाई सैन्य सहायता दिने नेटोको घोषणा, सदस्यताको आश्वासन

संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डीसीमा आयोजित बैठकमा नेटो गठबन्धनका नेताहरूले चार करोड अमेरिकी डलर बराबरको सैन्य सहायता किएभलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

पश्चिमा मुलुकहरूको सैन्य गठबन्धन उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका सदस्यराष्ट्रहरूले युक्रेनलाई भविष्यमा उक्त गठबन्धनको सदस्य बन्न "अपरिवर्तनीय मार्ग" खोल्ने आश्वासन पनि दिएका छन्।

सदस्यताका लागि औपचारिक समयसीमा भने निर्धारण गरिएको छैन।

यद्यपि नेटोका ३२ सदस्यराष्ट्रले युक्रेनलाई उसको युद्धमा आफ्नो “अटल” समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

सुरक्षा स्वार्थको रक्षा

पदावधि सकिन लागेका महासचिव जेन्स स्टोल्टन्बर्गले प्रस्तुत गरेका संयुक्त वक्तव्यमा आगामी वर्षमा नेटोले युक्रेनलाई गर्ने त्यस्तो सैन्य सहयोगको उल्लेख गरिएको छ।

त्यस्तो सैन्य सहयोगमा एफ १६ लडाकु जेट र हवाई आक्रमण प्रतिरक्षा प्रणालीहरू पनि पर्ने छन्।

स्टोल्टन्बर्गले युक्रेनलाई गरिने सहयोग कुनै दानदातव्य नभई नेटोको आफ्नै सुरक्षा चासोको रक्षार्थ भएको बताएका छन्।

युक्रेन युद्धको मुद्दा

नेटोको सम्मेलको मुख्य अजेन्डा 'युक्रेन युद्ध' थियो। सबै सदस्यराष्ट्रहरूले सहमति जनाएको वक्तव्यमा अहिले रुस नै "सबैभन्दा महत्त्वपूर्ण एवं प्रत्यक्ष सुरक्षा खतरा" रहेको उल्लिखित छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले अमेरिकामा निर्मित एफ-१६ लडाकु विमानहरूलाई डेन्मार्क तथा द नेदरल्यान्ड्सबाट युक्रेन पठाइने प्रक्रिया थालिएको बताए।

युक्रेनले उक्त अत्याधुनिक विमान पाउन लागेको यो पहिलो पटक हो। किएभले लामो समयदेखि यसको माग गर्दै आएको थियो। ब्लिङ्कनले बैठकमा ती विमान यही ग्रीष्म याममा प्रयोगमा आउने बताए।

नेटो सदस्यहरूले युक्रेन र सो गठबन्धनबीचको सम्बन्ध सुदृढ पार्ने उद्देश्यले सैन्य सहायता तथा प्रशिक्षणको समन्वय गर्ने नयाँ एकाइ गठनका निम्ति सहमति जनाएका छन्।

यी कदमहरूका साथै सदस्यराष्ट्रहरू एक्लाएक्लैले गर्दै आएका सहयोग प्रतिबद्धताहरूले "युक्रेनको नेटो सदस्यतातर्फको यात्रामा पुलको काम गर्ने" संयुक्त वक्तव्यमा उल्लेख छ।

युक्रेनले हालैका महिनाहरूमा "आवश्यक प्रजातान्त्रिक, आर्थिक तथा सुरक्षा सुधार"को दिशामा "ठोस प्रगति" गरेको वक्तव्यमा उल्लेख छ। यद्यपि सदस्यताको औपचारिक निम्तो चाहिँ "सर्तहरूको पालना" भइसकेपछि मात्र गरिने छ।

“युक्रेनले यी महत्त्वपूर्ण कार्यहरू गर्दै गर्दा हामीले नेटो सदस्यतासहित यूरो-एट्लान्टिक एकीकरणतर्फको उसको अपरिवर्तनीय मार्गलाई समर्थन जारी राख्ने छौँ,” वक्तव्यमा भनिएको छ।

चीन-रुस सम्बन्धप्रति चिन्ता

नेटोका महासचिव स्टोल्टन्बर्गले युक्रेनलाई तालिम र अन्य सैन्य बन्दोबस्तीको सहयोग गरिने तर त्यस्तो सहयोगले नेटोलाई रुस र युक्रेनबीचको "द्वन्द्वमा सहभागी नबनाउने" भन्ने कुरामा पनि जोड दिएका छन्।

पश्चिमा देशहरूले युक्रेनलाई विश्वसनीय र बलियो समर्थन दिएमा मात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफू विजयी हुन नसक्ने महसुस गराउन बाध्य बनाउन सकिने स्टोल्टन्बर्गले औँल्याए।

यो वर्षको नेटोका नेताहरूको शिखर बैठक रुस र चीनबीच बढ्दो मैत्रीपूर्ण सम्बन्धले उत्पन्न गराउन सक्ने ठानिएको जोखिमका बारेमा पनि केन्द्रित रहेको छ।

नेटोले चीनलाई “रुसको युद्धको आगोमा घ्यू थप्ने काम गरेको” आरोप लगाएको छ।

बेइजिङले त्यसको क्रोधपूर्ण प्रतिक्रिया दिँदै नेटोलाई "तथाकथित चिनियाँ खतरालाई बढाइचढाइ नगर्न अनि टकराव र दुस्मनी चर्काउन" चेतावनी दिएको छ।

ट्रम्पको छाया

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि नेटो सम्मेलनमा आमन्त्रित थिए। त्यहाँ उनले विश्वनेताहरूसँग भेटघाट गरे।

ब्रिटेनका नयाँ प्रधानमन्त्री सर किअर स्टार्मरले युक्रेनलाई उनको देशले गर्दै आएको समर्थनमा कुनै परिवर्तन नआउने बताए।

जेलेन्स्कीले डेमोक्र्याट एवं रिपब्लिकन दुवै पार्टीका अमेरिकी नेताहरूसँग भेटे। यो वर्षको सुरुमा अमेरिकी कंग्रेसमा युक्रेनलाई सहयोगबारे गतिरोध हुँदा उक्त सहयोग दिन कैयौँ महिना ढिलो भएको थियो।

गठबन्धन स्थापनाको ७५औँ वार्षिकोत्सवको समयमा आयोजित बैठक त्यतिखेर भइरहेको छ जतिखेर नेटोका आलोचकका रूपमा देखा परेका डोनल्ड ट्रम्प पुन: ह्वाइट हाउसमा फर्कन सक्ने आकलन गरिँदै छ।

एकासी वर्षीय बाइडनलाई कतिपय प्रभावशाली डेमोक्र्याट नेताहरूले उनको उमेरका कारण चुनावमा नउठ्न भन्दै आएका छन्। ट्रम्प चाहिँ ७८ वर्षका छन्।

बीबीसीले सोधेको अमेरिकी घरेलु राजनीतिले गठबन्धनमा असर पर्छ कि भन्ने प्रश्नको उत्तर दिने क्रममा स्टोल्टन्बर्गले “घरेलु राजनीतिभन्दा टाढा बसेकाले नै नेटो इतिहासमै सबभन्दा सफल गठबन्धन” बनेको बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।