एउटी भारतीय नर्स जसलाई हत्याको अभियोगमा यमनमा मृत्युदण्ड सुनाइएको छ

भिडिओ क्याप्शन सुरु हुँदैछ,
एउटी भारतीय नर्स जसलाई हत्याको अभियोगमा यमनमा मृत्युदण्ड सुनाइएको छ

यमनमा हत्याको आरोपमा दोषी ठहर भएकी भारतीय नर्स निमिषा प्रियालाई बुधवार मृत्युदण्ड नदिइने जानकारी भारतको विदेश मन्त्रालयस्थित स्रोतहरूले दिएका छन्।

केरलाका ९४ वर्षीय वरिष्ठ इस्लामिक धार्मिक नेता शेख अबुबाकर अहमदले यमनका सुफी विद्वान् हबिब उमर बिन हफीजलाई मध्यस्थता गरिदिन आग्रह गरेपछि निमिषालाई सुनाइएको सजाय तत्काल कार्यान्वयन नगर्ने निर्णय स्थानीय अधिकारीहरूले गरेको बताइएको छ। उनी केरलाकी हुन्।

आफ्ना यमनी व्यापार साझेदारको हत्या गरेको र उनको शरीर टुक्राटुक्रा पारेर लुकाउने प्रयास गरेको अभियोगमा निमिषा प्रियालाई स्थानीय अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो। उनलाई बुधवार १६ जुलाईमा मृत्युदण्ड दिने गरी मिति तोकिएको थियो।

सैँतीस वर्षीया निमिषाले आफूले तलाल आब्दो महदीको हत्या नगरेको दाबी गरेकी छन्। सन् २०१७ मा तलालको खण्डित शरीर पानीट्याङ्कीमा फेला परेको थियो।

मृतकको परिवारबाट निमिषालाई क्षमादान दिलाउन र उनको जीवनरक्षा गर्ने प्रयासमा उनका आफन्त र शुभेच्छुकहरू लागेका छन्। त्यसका लागि उनीहरू क्षतिपूर्ति रकम 'ब्लड मनी' दिनका लागि कोष सङ्कलन गर्दै छन्।

अहिले निमिषाकी आमा यमनको राजधानी सना पुगेकी छन्। उनले १२ वर्षपछि निमिषासँग आफ्नो भेटभएको बताएकी छन्।

तलालका भाइले बीबीसी अरेबिकसँग कुरा गर्दै आफ्नो परिवार निमिषालाई क्षमा दिने पक्षमा नभएको बताएका छन्। इस्लामिक कानुन शरियाअनुसार हत्यामा दोषी ठहर भएका व्यक्तिलाई मृत्युदण्डबाट जोगाउने एउटै उपाय मृतकको परिवारले 'ब्लड मनी' स्वीकार गरेर क्षमादान दिँदा मात्रै निस्किन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।