गाजा युद्धविराम वार्ता विफल भएको प्यालेस्टिनी दाबी

गाजामा युद्धविरामका लागि कतारमा भइरहेको वार्ता विफल भएको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन्।

इजरेल र हमासबीच जारी लडाइँ रोक्न मध्यस्थता गरिएको भए पनि दुई पक्षबीच ठूलो मतभिन्नता रहेको छ।संयुक्त राज्य अमेरिकाले हमासलाई अव्यावहारिक मागहरू राखेको आरोप लगाएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गाजा युद्धविरामका लागि एउटा प्रस्ताव अघि सारेका थिए। उक्त प्रस्तावमा जारी युद्धविरामको पहिलो चरण एप्रिल महिनाको बीचसम्म लम्ब्याउने उल्लेख छ।

यसअघि ट्रम्पले अमेरिका गाजा स्ट्रिप आफ्नो अधीनमा लिन र त्यहाँ बसोबास गरिरहेका प्यालेस्टिनीहरूलाई अन्य क्षेत्रमा स्थायी पुनर्वास गराउन इच्छुक रहेको बताएका थिए।

इजरेलले दोस्रो चरणमा गाजाबाट आफ्नो फौज फिर्ता गर्ने यसअघिको सम्झौता कार्यान्वयन गर्न विलम्ब गरेको छ। उसले गाजामा जाने सहायता र विद्युत् आपूर्ति पनि काटिदिएको छ।

हमास लडाकु समूहले बन्धक बनाएका मानिसहरूलाई यथाशीघ्र मुक्त गरिनुपर्ने इजरेलको अडान छ।

२४ बन्धक जीवित रहेको आकलन

हमासको नियन्त्रणमा रहेकामध्ये अझै २४ जना जीवित रहेको ठानिएको छ। उक्त लडाकु समूहले बन्धक बनाएका अन्य ३५ जना मारिएको ठानिएको छ।

जीवित रहेकामध्ये र इजरेली दोहोरो नागरिकता भएका २१ वर्षे सैनिक एडन एलेक्जेन्डर पनि रहेको बताइएको छ। हमासको नियन्त्रणमै रहेका अन्य चार अमेरिकी नागरिकको मृत्यु भइसकेको विवरण आएका छन्।

सन् २०२३ को अक्टोबर ७ मा इजरेलमा हमासले गरेको आक्रमणका क्रममा इजरेल अध्ययनका लागि पुगेका नेपाली विद्यार्थी विपिन जोशीलाई पनि हमासले नियन्त्रणमा लिएको ठानिएको छ। यद्यपि उनको अवस्था अज्ञात छ।

पहिलो चरणको युद्धविरामका क्रममा रिहाइ गर्नेहरूको सूचीमा जोशीको नाम समावेश नभएपछि नेपाली अधिकारीहरूले दोस्रो चरणको युद्धविराममा उनलाई रिहा गराउने पहल भइरहेको बताउँदै आएका थिए। केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टसँग जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गरेका थिए।

हमास र इजरेलबीच ज्यानुअरी १९ मा सुरु भएको युद्धविरामको अन्त्यतिर हमासले २६ फेब्रुअरीका दिन चार इजरेली बन्धकको शव हस्तान्तरण गरेको थियो।

करिब छ साता लामो युद्धविरामका क्रममा हमासले २५ जना जीवित बन्धक इजरेललाई हस्तान्तरण गरेको थियो।

इजरेलले पनि १,९०० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको थियो।

इजरेली आक्रमणमा ५ जनाको मृत्यु

उत्तरी गाजामा इजरेलले गरेको हवाई आक्रमणमा परी दुई स्थानीय पत्रकारसहित कम्तीमा पाँच जनाको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्यकर्मीहरूले बताएका छन्।

बेत लाहिया भन्ने स्थानमा भएको भनिएको उक्त घटनाबारे इजरेलले कुनै टिप्पणी गरेको छैन।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरेलमा अप्रत्याशित आक्रमण गरी झन्डै १,२०० जनाको ज्यान लिएको थियो। उक्त आक्रमणपछि २५१ जनालाई बन्धक बनाएर आफूसँगै लगेका थिए। त्यसको जबाफ दिन इजरेलले गाजामा सैन्य कारबाही थालेको थियो।

हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता कम्तीमा ४७,५०० जनाको ज्यान गइसकेको छ।

त्यहाँको २३ लाख जनसङ्ख्यामध्ये अधिकांश विस्थापित भएका छन् भने उक्त क्षेत्रमा युद्धका बेला दुईतिहाइभन्दा धेरै घर तथा भवनहरू ध्वस्त भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।