काठमाण्डू महानगरसँग सहमतिपछि १९९ घण्टा उभिएका ई:को धर्ना टुङ्गियो

काठमाण्डू महानगरपालिकासँग चार बुँदे सहमति भएसँगै गत मङ्गलवारदेखि उभिएर विरोध प्रदर्शन गरिरहेका अभियानकर्मी ई:ले धर्ना टुङ्ग्याएका छन्।

विभिन्न माग राखेर उनी काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनको कार्यालय अघि उभिइरहेका थिए।

काठमाण्डू महानगरपालिका र उनीबीच बुधवार अबेर सहमति भएको मेयर शाहका जनसम्पर्क अधिकृत सुरेन्द्र बजगाईँले जानकारी दिए।

सुरुमा ७७ घण्टा उभिएर ‘भद्र विद्रोह’ गर्ने बताएका उनले १९९ घण्टा उभिएर धर्ना टुङ्ग्याएका हुन्। लगातार उभिँदा उनका खुट्टा सुन्निएका छन्। उनी रातको समयमा पाँच घण्टा मात्रै कुर्सीमा बस्ने गरेका थिए।

फुटपाथ व्यापारीको व्यवस्थापनका पक्षमा आवाज उठाउँदै आएका उनका मागबारे बालेनले बिहीवार फेसबुकमा लामो जवाफ दिएका थिए।

यसअघि मेयर बालेनले वार्ताका लागि आह्वान गर्दा अभियानकर्मीहरू नआएको आरोप लगाएका थिए भने ई: ले बालेनले वार्ताका लागि औपचारिक आह्वान नगरेको र तयारीका लागि पर्याप्त समय पनि नदिएको बताएका थिए।

चार बुँदे सहमतिमा के छ?

सहमतिपछि बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै अभियानकर्मी ई: ले आफ्नो आन्दोलन सफल भएको प्रतिक्रिया दिए।

"सडक व्यवसाय व्यवस्थापनका लागि यसले बाटो खोलेको छ," उनले भने।

"सहमतिबाट चाडपर्वको मुखमा फुटपाथ व्यवसायीहरूको लागि राम्रो सन्देश गएको छ।"

अभियानकर्मी ई: र महानगरबीच भएको चार बुँदे सहमतिका प्रमुख विषय यस्ता छन्।

  • फूटपाथ/सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत गरिएका सामानहरु महानगरपालिकाको स्टोरमा भएसम्म यकिन गरी सम्बन्धित सामानका धनीलाई महानगरले फिर्ता गर्ने।
  • अनौपचारिक क्षेत्रमार्फत हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउने विधि, प्रक्रिया तथा कानूनी व्यवस्था समेतको प्रबन्ध गर्नुपर्ने विषयमा ठोस सुझाव सहित अध्ययन गरि २ महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेश गर्न समिति गठन गर्ने।
  • समितिमा महानगरपालिकाले तोकेका ३ जना, अभियानकर्मी ई: को तर्फबाट तोकिएका प्रतिनिधि २ जना, भौतिक तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय र ट्राफिक प्रहरीको प्रतिनिधि एक एक जना रहने।
  • साविकमा फूटपाथ सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुका लागि महानगरपालिका भित्र कानुनले निषेध गरेका स्थान बाहेक अन्यत्रका उपयुक्त स्थलहरु पहिचान गर्न महानगरपालिकाले एक हप्ताभित्र पहल गर्ने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।