नेयमारले तोडे पेलेको कीर्तिमान

तस्बिर स्रोत, Getty Images
नेयमारले बोलिभियाविरुद्धको ५-१ गोल अन्तरको जीतमा आफ्नो टोलीका लागि दुई गोल गर्दै ब्रजिलका लागि सर्वाधिक गोल गर्ने पेलेको कीर्तिमान आफ्नो पोल्टामा पारेका छन्।
उक्त खेलअघि नै नेयमारले पेलेको ७७ गोलको कीर्तिमान बराबरी गरिसकेका थिए। तर अब उनले १२५ अन्तर्राष्ट्रिय खेलबाट ब्रजिलका लागि ७९ गोल गरेको रेकर्ड आफ्नो नाममा लेखाएका छन्।
अल हिलालबाट खेल्ने ३१ वर्षका नेयमारले खेलको दोस्रो हाफमा दुई गोल प्रहार गरेका थिए। त्यसअघि उनी पेनाल्टीमा गोल गर्न भने चुकेका थिए।
“मैले यो कीर्तिमानसम्म पुग्ने कल्पना कहिल्यै पनि गरेको थिइन् म पेले वा राष्ट्रिय टोलीका अरू खेलाडी भन्दा उत्कृष्ट होइन।”
ब्रजिलका प्रशिक्षकले के भने?

तस्बिर स्रोत, Reuters
ब्रजिलको महिला टोलीका लागि १८९ खेलबाट मार्टाले १२२ गोल गरेकी छन्।
गत डिसेम्बरमा ८२ वर्षको उमेरमा पेलेको निधन भएको थियो। विश्व फुटबलका सर्वाधिक महान् खेलाडीका रूपमा उनलाई लिने गरिन्छ।
सन् १९५७ देखि सन् १९७१ को अवधिमा उनले ९२ वटा अन्तर्राष्ट्रिय खेलमा ७७ गोल गरेका थिए।
सामाजिक सञ्जाल एक्समा रहेको उनको आधिकारिक खातामार्फत नेयमारको उपलब्धिप्रति सम्मान व्यक्त गरिएको थियो।
“ब्रजिलका लागि किङ्ले भन्दा धेरै गोल गरेकोमा बधाई नेयमार। पेलेले निश्चय पनि आज तिम्रो पक्षमा खुसी मनाइरहनुभएको छ।”
ब्रजिलका प्रशिक्षक फर्नान्डो डिनिजले भनेका छन्, “उनले जे गर्नका लागि आएका थिए त्यही गरे: रमाइलो गरे, दुई गोल हाने र कीर्तिमान तोडे।”
सन् २०१७ मा बार्सिलोनाबाट २० करोड युरोमा प्यारिस साँ-जेर्माँमा आबद्ध भएपछि नेयमार विश्वका सर्वाधिक महँगा खेलाडी भएका थिए।
यसै गर्मीयाममा उनी फ्रान्सको उक्त क्लब छाडेर साउदी प्रो लिग टोली अल-हिलालमा गएका थिए।
“उनी निक्कै ठूला अग्रणी खेलाडी हुन्। मानिसहरूले उनलाई मान्नुपर्छ र स्वीकार गर्नुपर्छ,” ब्रजिलका फुटबल प्रशिक्षकले भनेका छन्।








