मोदीको शपथग्रहणमा प्रचण्ड दिल्ली जाने, तर भारतसहित ११ देशका राजदूत फिर्ता बोलाइयो

हैदराबाद हाउसमा सन् २०२३ जुन १ मा नरेन्द्र मोदी र पु्ष्पकमल दाहाल

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, हैदराबाद हाउसमा सन् २०२३ जुन १ मा नरेन्द्र मोदी र पु्ष्पकमल दाहाल
    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भारत जाने भएका छन्।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालको भारत भ्रमण स्वीकृत गरेसँगै उनी मोदीको शपथग्रहणमा सहभागी हुने निश्चित भएको हो।

यसअघि उक्त समारोहमा सरिक हुन उनलाई निम्तो आएको अधिकारीहरूले बताएका थिए।

भारतमा सत्तारूढ एनडीए गठबन्धनको नेतृत्व गर्दै तेस्रो पटक प्रधानमन्त्री बन्न लागेका मोदीले प्रधानमन्त्री प्रचण्डसँग बुधवार टेलिफोनमा कुराकानी गरेका थिए।

त्यस क्रममा प्रधानमन्त्री प्रचण्डले आगामी कार्यकालका लागि मोदीलाई "न्यानो र आत्मीय शुभकामना" व्यक्त गरेको उनका एक सल्लाहकारले बीबीसीलाई बताए।

मोदीको शपथग्रहण समारोहमा सहभागी हुन दिल्ली जाँदा यो कार्यकालमा प्रधानमन्त्री प्रचण्डको दोस्रो भारत भ्रमण हुने छ।

सन् २०१४ मा मोदीले शपथ लिँदा आयोजित विशेष समारोहमा तात्कालिक प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए।

तर प्रचण्डको भ्रमण स्वीकृत गर्ने निर्णय गरेकै बैठकले भारतसहित विभिन्न ११ देशमा रहेका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

प्रधानमन्त्री कार्यालय के भन्छ?

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्दप्रसाद आचार्यले दुई देशका प्रधानमन्त्रीबीच टेलिफोनमा कुराकानी भएको र शपथग्रहणमा सहभागी हुने विषयमा सल्लाह भइरहेको बताए।

उनले भने, “दुई प्रधानमन्त्रीबीच कुराकानी हुँदा प्रधानमन्त्रीले दिएको न्यानो र आत्मीय शुभकामनाका लागि उहाँ(मोदी)ले धन्यवाद दिनुभयो। (शपथग्रहणमा सहभागिता)का बारेमा छलफल भइरहेको छ।”

दुई प्रधानमन्त्रीबीचको टेलिफोन कुराकानीमा प्रधानमन्त्री मोदीले प्रचण्डलाई आफ्नो शपथग्रहण समारोहमा सहभागी हुनका लागि आमन्त्रण गरेको बुझिएको छ।

सो कुराकानीपछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल 'एक्स'मा लेखेका छन्, “न्यानो शुभकामनाको लागि उहाँलाई धन्यवाद व्यक्त गरेँ। भारत र नेपालबीचको गहिरो र बहुआयामिक साझेदारीलाई सुदृढ गर्ने हाम्रो साझा प्रतिबद्धतामाथि जोड दिँदै हाम्रो सम्बन्धमा सकारात्मक गति कायम राख्ने कुरामा सहमत भयौँ।”

प्रचण्ड कहिले दिल्ली जालान्?

नेपालको परराष्ट्र मन्त्रालयका एक अधिकारीले पनि शपथग्रहणमा प्रधानमन्त्रीको सहभागिताबारे छलफल चलेको बताए।

उनका अनुसार प्रधानमन्त्री दाहाल शुक्रवार दिल्लीका लागि प्रस्थान गर्ने सम्भावना छ।

प्रधानमन्त्री मोदीले यस पटक बाङ्ग्लादेश, श्रीलङ्का, भुटान, नेपाल र मोरिशसका नेताहरूलाई आफ्नो शपथग्रहणमा निम्तो दिन लागेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

शपथग्रहण समारोहका लागि औपचारिक निम्तो सम्बन्धित देशका परराष्ट्र मन्त्रालय हुँदै बिहीवार नै पठाइने ती खबरहरूमा जनाइएको छ।

श्रीलङ्काका प्रधानमन्त्रीको कार्यालयको सञ्चार हेर्ने निकायले उनी उक्त समारोहमा भाग लिने पुष्टि गरेको विवरण आएका छन्।

भारतमा भर्खरै सम्पन्न संसदीय निर्वाचमा मोदीको भारतीय जनता पार्टीले एकल बहुमत गुमाएको छ। यद्यपि भाजपा सम्मिलित गठबन्धनका साझेदारहरूको समर्थन पाएका मोदी तेस्रो कार्यकाल सत्ताको नेतृत्व गर्न लागेका छन्।

यो चुनावमा विपक्षी गठबन्धन ‘इन्डिया’ शक्तिशाली भएको छ र नेपालका कतिपय परराष्ट्र मामिलाका विज्ञहरूले सो गठबन्धनमा रहेको दलसँग पनि नेपाली नेताहरूले अन्तरक्रिया गर्नुपर्नेमा जोड दिन थालेका छन्।

सुशील कोइराला र नरेन्द्र मोदी

तस्बिर स्रोत, PIB India

तस्बिरको क्याप्शन, सन् २०१४ मा सुशील कोइराला नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी भएका थिए

पहिलोभन्दा के फरक

सन् २०१४ मा प्रधानमन्त्री मोदीको पहिलो कार्यकालको शपथग्रहण समारोहमा उनले दक्षिण एशियाका सबै देशका शीर्ष नेताहरूलाई निम्तो दिएका छन्।

उक्त शपथग्रहण समारोहमा नेपालका तर्फबाट तात्कालिक प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए। त्यसबेला कोइरालाले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए भने दुई देशका प्रधानमन्त्रीबीच सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो।

मोदीले त्यस बेला नेपालको विकासमा सहयोग गर्नु आफ्नो कर्तव्य भएको धारणा राखेको तात्कालिक प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार दिनेश भट्टराई बताउँछन्। उनी यसपालि पनि मोदीले नेपालका प्रधानमन्त्रीलाई निम्तो दिनु सकारात्मक रहेको ठान्छन्।

उनले भने, “छिमेकीहरूको सम्बन्धलाई ध्यान दिने र आफ्नो नजिकका अनि विश्वासपात्रहरू र कुरा मिल्ने देशका नेताहरूलाई उहाँले बोलाउन खोजेको देखिन्छ।”

भट्टराईले छिमेकी देशहरू भएकाले भारतले यस पटक पाकिस्तान र माल्दिभ्सजस्ता देशका नेतालाई पनि शपथग्रहण समारोहमा निम्तो दिएको भए त्यसबाट सकारात्मक सन्देश प्रवाह हुने उल्लेख गरे।

पछिल्ला महिनाहरूमा माल्दिभ्समा सत्ता परिवर्तनसँगै भारत र उक्त देशको सम्बन्धमा चिसोपन देखिएको थियो।

भारत र पाकिस्तानको सम्बन्ध कैयौँ वर्ष यता कटुतापूर्ण अवस्थामा छ र त्यसका कारण दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको सम्मेलन पनि अवरुद्ध छ।

प्रधानमन्त्री प्रचण्डलाई यस्ता सुझाव

शपथग्रहण समारोहमा भाग लिएपछि दुवै देशका प्रधानमन्त्रीबीच औपचारिक भेटवार्ता पनि हुने अपेक्षा गरिएको छ। त्यस्तो भेटवार्तामा नेपालले बुँदागत रूपमा आफ्ना प्राथमिकताहरू राख्नुपर्ने पूर्वराजदूत भट्टराई बताउँछन्।

उनी प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको लागि निम्तो दिनुपर्ने ठान्छन्। त्यसबाहेक भारतका सत्तारूढबाहेक विपक्षी दलहरूसँग पनि अन्तरक्रिया गर्नुपर्ने उनको सुझाव छ।

“भारतको स्वतन्त्रता आन्दोलनदेखि नै हाम्रो त्यहाँका समाजवादी र काङ्ग्रेससहितका दलहरूसँग नजिकको सम्बन्ध छ। हामीले सबै दलहरूसँग सम्बन्ध कायम राखिराख्नुपर्छ।”

मोदी नेतृत्वको गठबन्धनमा आबद्ध जनता दल यूनाइटेडका नीतीश कुमारलाई नेपाल बुझ्ने नेता मानिन्छ। उनी बिहारका हुन्।

उनीसहित अन्य दलका नेताहरूसँग नेपाली प्रधानमन्त्रीले भेटवार्ता गर्लान् या नगर्लान् त्यो स्पष्ट भइसकेको छैन।

मन्त्रिपरिषद्‌ले गरेका अन्य निर्णय के हुन्?

प्रचण्ड मन्त्रिपरिषद् बैठक

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, बिहीवारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयका अतिरिक्त ११ जना राजदूतलाई फिर्ता बोलाएको छ

प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार बिहीवारको मन्त्रिपरिषद् बैठकले प्रचण्डको भ्रमण स्वीकृत गर्नेलगायत विभिन्न निर्णयहरू गरेको छ।

बैठकले विभिन्न ११ देशका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको जनाइएको छ।

नेपाली कांग्रेससँग गठबन्धन भएका बेलामा नियुक्त गरिएका ती राजदूतहरूलाई फिर्ता बोलाउन लागिएको हो।

गत फागुनमा प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसँग गठबन्धन गरेका थिए।

सरकारले भारत, अमेरिका, ब्रिटेन, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेशिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरेलका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

त्यस्तै लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्‌मा पेस गर्न स्वीकृति दिने, हेटौडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारीलाई नियुक्त गर्ने, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा पदम ओलीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पदमा तेजबहादुर राईलाई तोक्ने, जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा (१) बमोजिमका ५२ रोगहरुलाई सङ्क्राम रोगको रूपमा तोक्ने, जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८१ स्वीकृत गर्ने र ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।