हिज्बुल्लाहले सैन्य पोस्टलाई निशाना बनाएपछि इजरेलद्वारा लेबननमा हमला, एकअर्कालाई युद्धविराम उल्लङ्घनको आरोप

उत्तरी इजरेलमा गस्ती गर्दै इजरेली सैनिकहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, उत्तरी इजरेलमा गस्ती गर्दै इजरेली सैनिकहरू

हिज्बुल्लाहले एक इजरेली सैन्य पोस्टमा हमला गरेपछि त्यसको प्रतिरोध गर्ने वाचा गरेको इजरेल डिफेन्स फोर्सेस (आइडीएफ)ले सोमवार साँझ लेबननका निशानाहरूमा हमला गरेको जनाएको छ।

दुवै पक्षले गत साताको युद्धविरामको उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन् र यससँगै लेबननको सो नाजुक युद्धविराम भङ्ग हुनसक्ने चिन्ता बढेको छ।

इजरेलली हमलाबाट दक्षिण लेबननका दुई गाउँमा कम्तीमा नौजना मारिएको त्यहाँको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ।

इजरेली सेनाले "लेबननभर" हिज्बुल्लाहका निशाना र पूर्वाधारमा हमला गरेको जनाएको छ। तर उसले युद्धविराम सम्झौताप्रति आफ्नो प्रतिबद्धता कायम रहेको जनाएको छ।

हिज्बुल्लाहले इजरेली "उल्लङ्घनहरू"को जबाफ दिँदै आफूले "रक्षात्मक चेतावनी" स्वरूप हमला गरेको जनाएको छ।

उसले इजरेल अधीनस्थ क्षेत्रमा रहेको एक इजरेली सैन्य पोस्टमा मोर्टारहरू प्रहार गरेको जनाएको छ।

नाजुक युद्धविराम

इजरेलले माउन्ट डोभ क्षेत्रमा भएको हिज्बुल्लाहका हमलाबाट कोही हताहत नभएको जनाएको छ।

सो क्षेत्र इजरेल-लेबनन सीमामा रहेको एक विवादित भाग हो जसलाई अन्तर्राष्ट्रिय रूपमा शेबा फार्म्स भनिन्छ।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले हिज्बुल्लाहको हमलालाई "युद्धविरामको एक गम्भीर उल्लङ्घन" बताउँदै इजरेलले त्यसलाई "बलपूर्वक जबाफ दिने" बताए।

लेबनन

सुरुमा युद्धविराम सम्झौता घोषणा हुँदा नेतन्याहूले यदि हिज्बुल्लाहले सम्झौताका सर्त तोडेमा आफ्नो देश हमला गर्न नहिचकिचाउने बताए।

सोमवारको हिंसा हालै सहमति गरेको युद्धविरामको नाजुकपनको एक सङ्केत हो। सो युद्धविरामले १३ महिनादेखि चलेको इजरेल र हिज्बुल्लाहबीचको द्वन्द्व अन्त्य गर्ने लक्ष्य राखेको थियो।

गतसाता अमेरिका र फ्रान्सले उक्त युद्धविराम सम्झौताले “लेबननमा लडाइँ रोक्ने र इजरेललाई हिज्बुल्लाह र लेबननबाट सञ्चालित अन्य आतङ्कवादी सङ्गठनबाट जोगाउने” बताएका थिए।

हिज्बुल्लाहलाई दक्षिण लेबननमा आफ्नो सशस्त्र उपस्थिति अन्त्य गर्न ६० दिनको समय दिइएको छ भने इजरेल सोही अवधिभित्र उक्त क्षेत्रबाट फिर्ता हुनुपर्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।