इरानसँग यसैसाता पुन: वार्ता हुने ट्रम्पको सङ्केत

पढ्ने समय: ४ मिनेट

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने लक्ष्य लिइएको वार्ता यसै साता पुनः सुरु हुन सक्ने सङ्केत गरेका छन्।

इरानसँग गतसाता पाकिस्तानमा भएको वार्ता असफल भएपछि अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको थियो।

"त्यहाँ (इस्लामाबादमै) बसिरहनुपर्छ अबको दुई दिनभित्र केही हुन सक्छ र हामी त्यसका लागि इच्छुक छौँ," न्यूयोर्क पोस्टसँगको अन्तर्वार्तामा ट्रम्पको यो भनाइ उद्धृत गरिएको छ।

अमेरिकी सेनाले इरानी बन्दरगाह र तटीय क्षेत्रमा नाकाबन्दी सुरु भएको २४ घण्टासम्म कुनै पनि जहाज आवतजावत नगरेको बताए लगत्तै ट्रम्पको यो भनाइ सार्वजनिक भएको हो।

अमेरिका र इरान फेरि आमनेसामने हुँदा आगामी साताबाट अन्त्य हुने दुई हप्ता लामो युद्धविरामको भविष्यप्रति आशङ्का उत्पन्न भएका छन्।

ट्रम्पको भनाइबारे इरानी पक्षले कुनै प्रतिक्रिया दिएको छैन। तर संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरसले वार्ता पुनः सुरु हुने "उच्च सम्भावना" रहेको बताएका छन्।

इरानलाई आर्थिक दबावमा राख्ने अमेरिकी रणनीति

खाडी राष्ट्र, पाकिस्तान र इरानका अधिकारीहरूलाई उद्धृत गर्दै रोएटर्स समाचार संस्थाले वाशिङ्टन र तेहरानका वार्ता टोलीहरू यसै साता पाकिस्तान फर्किन सक्ने जनाएको छ। यद्यपि त्यसको मिति तय हुन बाँकी रहेको बताइएको छ।

वार्ताका लागि कूटनीतिक प्रयास फेरि सुरु हुन सक्ने आशासँगै मङ्गलवार विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारल १०० अमेरिकी डलरभन्दा कममा झरेको छ।

अमेरिका र इजरेलले इरानमाथि २८ फेब्रुअरीमा हवाई आक्रमण थालेपछि तेल र ग्यास ढुवानीको विश्वकै महत्त्वपूर्ण जलमार्ग होर्मुज स्ट्रेट इरानले करिब पूर्ण रूपमा बन्द गरेको छ।

इस्लामाबादमा भएको पहिलो चरणको वार्ता असफल भएपछि अहिले १२ वटा भन्दा धेरै अमेरिकी युद्धपोत र करिब १०,००० अमेरिकी सैनिकहरूले इरानी बन्दरगाहमा सबै देशका जहाजलाई नाकाबन्दी लगाइरहेका छन्। अमेरिकी नाकाबन्दी इरानलाई आर्थिक दबावमा राख्ने उद्देश्यले प्रेरित छ।

यसले इरानका दुई मुख्य आम्दानी स्रोतहरूमा असर गर्ने ठानिएको छ। एउटा तेल बिक्रीबाट आउने आम्दानी र दोस्रो उक्त जलमार्ग प्रयोग गरेबापत इरानले जहाजहरूबाट उठाउने शुल्क।

वार्तामा अमेरिकी सर्त

नाकाबन्दी सुरु भएको २४ घण्टाभित्र छ वटा व्यापारिक जहाजहरूले अमेरिकी सेनाको निर्देशन पालना गरेका र ती जहाजहरू फर्काएर इरानी बन्दरगाहमै राखिएका अमेरिकी सेनाको सेन्ट्रल कमान्डले जनाएको छ।

बीबीसी भेरिफाइले जहाजहरूको ट्र्याकिङ गरिएका तथ्याङ्कको विश्लेषण गरेको छ। जसमा कम्तीमा चार वटा इरानसँग सम्बन्धित जहाजहरूले नाकाबन्दीका समयमा होर्मुज स्ट्रेट पार गरेको देखिएको छ। ती चार वटामध्ये कम्तीमा दुई वटा जहाज यसअघि पनि इरानी बन्दरगाहमा पुगिसकेका जहाज भएको देखिएको छ।

सोमवार नाकाबन्दी सुरु भएयता इरानसँग सम्बन्धित नभएका अन्य तीन वटा जहाजहरूले पनि यो जलमार्ग पार गरेको देखिएको छ।

यसअघि इस्लामाबादमा भएको वार्ता असफल हुनुको दोष अमेरिकाले इरानमाथि लगाएको थियो। इरानले आफ्ना कुनै पनि सर्त नमानेको अमेरिकाको भनाइ छ।

वार्तामा सहमति हुन नसकेको प्रमुख विषय इरानको परमाणु आकाङ्क्षा भएको बताइएको छ। अमेरिकाले कम्तीमा २० वर्षका लागि इरानले युरेनिअम सम्वर्द्धन स्थगन गर्नुपर्ने सर्त अघि सारेको अमेरिकी अधिकारीहरूले बीबीसीको अमेरिकी साझेदार सीबीएससँग बताएका छन्।

तर तेहरान पाँच वर्षका लागि मात्रै स्थगन गर्न तयार भएको स्रोतहरूले अमेरिकी सञ्चार माध्यमसँग बताएका छन्।

तीन दशकपछि इजरेल-लेबनन प्रत्यक्ष वार्ता

तीन दशकपछि पहिलो पटक प्रत्यक्ष वार्तामा बसेका इजरेल र लेबननले थप छलफलहरू जारी राख्ने सहमति गरेका छन्।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले त्यसका लागि समय र स्थान टुङ्गो लाग्न बाँकी रहेको बताए।

वाशिङ्टनमा लेबननका प्रतिनिधिका रूपमा रहेका राजदूतले वार्ता रचनात्मक रहेको प्रतिक्रिया दिए। इरानी समकक्षीले पनि आफूहरूबीच राम्रो कुराकानी भएको बताएका छन्।

वार्ताबीच पनि इजरेल र लेबननबाट सञ्चालित हिज्बुल्लाहबीच युद्धविराम भएको छैन। इरानले इरान समर्थित हिज्बुल्लाहको निःशस्त्रीकरणको अडान राख्दै आएको छ। तर हिज्बुल्लाहले वार्तामा बस्न अस्वीकार गर्दै आएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।