बाङ्ग्लादेशमा शेख हसिनाविरुद्ध 'हत्याको आरोपमा अनुसन्धान सुरु'

तस्बिर स्रोत, EPA
- Author, रथ कमर्फर्ड
- Role, बीबीसी न्यूज
बाङ्ग्लादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध हत्या आरोपमा अनुसन्धान सुरु भएको अधिकारीहरूले बताएका छन्।
हसिनासँगै उनको सरकारका यातायातमन्त्री ओबाइदुल क्वान्दरसहित अन्य छ उच्च अधिकारीहरूमाथि पनि अनुसन्धान हुने बताइएको छ।
गत जुलाई महिनामा भएको आन्दोलनका क्रममा एक जना मारिएको घटनालाई जोडेर उनीहरूविरुद्ध उजुरी परेको छ।
एक व्यक्तिका तर्फबाट उजुरी दिएका अधिवक्ता मामुन मियाका अनुसार राजधानी ढाकाको एक अदालतले त्यहाँको प्रहरीलाई "उजुरी परेका व्यक्तिहरूविरुद्ध ज्यान मुद्दा स्वीकार गर्न" आदेश दिएको छ।
अदालतका म्याजिस्ट्रेट राजेश चौधरीले उक्त आदेश जारी गरेका हुन् र हसिनाका विरुद्ध आन्दोलन सुरु भएपछि उनका विरुद्ध जारी भएको यो पहिलो आदेश हो।
बाङ्ग्लादेशी कानुनअनुसार यस्तो आदेशलाई फौजदारी अनुसन्धानको पहिलो चरण मानिन्छ।
किन उजुरी पर्यो

तस्बिर स्रोत, EPA
यसै महिनाको सुरुमा शेख हसिना बाङ्ग्लादेशको प्रधानमन्त्री पदबाट राजीनामा दिई भारत गएकी थिइन्।
त्यसअघि तीन साताभन्दा बढी समयसम्म त्यहाँ उनका विरुद्ध विश्वविद्यालयका विद्यार्थीहरूको नेतृत्वमा हिंसात्मक आन्दोलन भएको थियो। उनकै आदेशमा प्रहरीले दर्जनौँ आन्दोलनकारीलाई गोली हानेर मारेको बताइएको छ।
आन्दोलनका क्रममा ४०० जनाभन्दा बढीको ज्यान गएको थियो।
समाचारहरूका अनुसार हसिनाले आन्दोलनरत विद्यार्थीहरू "विद्यार्थी नभई देशमा अस्थिरता ल्याउन निस्किएका आतङ्ककारी" भएको बताउँदै आन्दोलन दबाउन निर्देश दिएका थिइन्।
आन्दोलन भइरहेका बेला सडक पार गर्ने क्रममा स्थानीय किराना पसले अबु साईदलाई टाउकामा गोली लागेपछि व्यवसायी आमिर हाम्जाले गत जुलाई महिनामै हत्या आरोपमा हसिनामाथि अनुसन्धान गर्नुपर्ने माग गर्दै आवेदन दिएका थिए।
बीबीसी बाङ्ग्लाका अनुसार गत १९ जुलाईमा प्रहरीले शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका विद्यार्थीहरूमाथि जथाभाबी गोली चलाउने क्रममा साईदलाई लागेको भनी हाम्जाले स्थानीय अदालतलाई बताएका छन्।
उनका अनुसार उनको सईदसँग कुनै नाता पर्दैन तर उनको परिवारसँग मुद्दा हाल्न पैसा नभएकाले उनले सहयोग गरेका हुन्।
"शेख हसिनाको अपराधविरुद्ध कानुनी कदम चाल्न हिम्मत गर्ने पहिलो सर्वसाधारण नागरिक हुँ म। म यसलाई टुङ्गोमा पुर्याउँछु," उनले समाचारसंस्था रोएटर्सलाई बताएका छन्।
निरन्तर १५ वर्षसम्म सत्तामा रहेकी हसिनामाथि व्यापक मानवअधिकार उल्लङ्घन र भ्रष्टाचारको आरोप लाग्ने गरेको छ।
शेख हसिना को हुन्

तस्बिर स्रोत, Getty Images
बाङ्ग्लादेशमा गत ज्यानुअरी महिनामा भएको निर्वाचनबाट शेख हसिना देशको प्रधानमन्त्री चुनिएकी थिइन्।
सरकारी जागिरमा आरक्षणको विषयप्रति प्रश्न उठाउँदै विद्यार्थीहरूले थालेको आन्दोलन चर्किएपछि उनले अन्ततः पदत्याग गर्नुपर्यो।
यो उनको पाँचौँ कार्यकाल थियो। यद्यपि उनको सरकार एक वर्ष पनि टिकेन।
उनी राजीनामा दिएर विदेश पलायन हुन बाध्य भइन्।
हसिना पलायन भएसँगै बाङ्ग्लादेशमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा सरकार बनेको छ। यसका केही आन्दोलनकारी नेताहरू पनि सामेल छन्।
निर्वाचन घोषणा भएपछि हसिना पनि स्वदेश फर्कने उनका छोरा सजीव वाजेदले बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








