'सन्दीप लामिछानेले प्रधानमन्त्री कपको एउटा खेल खेल्न नपाउने'

जय ट्रफीमा सन्दीप

तस्बिर स्रोत, CAN

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

लेग स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले गरेको एउटा अनुशासनको कारबाही सार्वजनिक भएपछि यो अहिले चर्चाको विषय बनिरहेको छ।

हालै वीरगञ्ज र जनकपुरमा सम्पन्न प्रथम जय ट्रफी दुईदिवसीय प्रतियोगितामा लामिछानेले अम्पायरको निर्णयमा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा प्रतिक्रिया जनाएपछि उनीमाथि क्यानले कारबाही गरेको थियो।

सजायस्वरूप उनले अब क्यानले आयोजना गर्ने आधिकारिक प्रतियोगिताको एउटा खेल खेल्न पाउने छैनन्। त्यो भनेको क्यानले आयोजना गर्ने प्रधानमन्त्री कप क्रिकेट हो।

प्रतियोगिताको क्रममा कुनै पनि खेलाडीले 'नियमविपरीत काम गरेमा' आईसीसीको आचारसंहिता (कोड अफ कन्डक्ट ) अन्तर्गतको सजाय पाउनु अनौठो विषय हुँदैन।

के भएको थियो?

जय ट्रफीमा वाग्मती प्रदेशको कप्तानी गरेका लामिछानेले पुस २५ गते त्रिभुवन आर्मी क्लबविरुद्ध भएको खेलमा अम्पायरको निर्णयप्रति सामाजिक सञ्जालमार्फत् असन्तुष्टि जनाएका थिए।

वाग्मतीका खेलाडी शुभ कंसाकार आउट भएलगत्तै अम्पायरहरूले 'ब्याड लाइट' अर्थात् खेलका लागि उपलब्ध प्रकाश पर्याप्त नभएको भन्दै उक्त दिनको खेल सकिएको घोषणा गरेका थिए।

त्यसबाट असन्तुष्ट बनेका कप्तान लामिछाने तत्काल अम्पायरसँग विवादमा ओर्लिए।

त्यसको भोलिपल्ट उनले उक्त घटनाका सम्बन्धमा सामाजिक सञ्जालमा आक्रोशपूर्ण टिप्पणी लेखे।

आफूले कप्तानको रिपोर्टमा यो विषय उठाइरहे पनि केही परिवर्तन नदेखिएको भन्दै उनले लेखे, "आशा छ, सम्बन्धित अधिकारीहरूले यो कुरा याद गर्ने छन् र आवश्यक सुधारका लागि काम गर्ने छन्।"

किन कारबाही?

क्यानका प्रवक्ता छुम्बी लामाले भने,"क्यानले आईसीसीको नियमानुसार लामिछानेलाई कारबाही अघि बढाएको हो।"

आईसीसीको खेलाडी र खेलाडीका सहयोगी कर्मचारीहरूका लागि कायम आचारसंहिताको बुँदा २.७ मा उल्लेख गरिएअनुसार गर्न नहुने व्यवहारका सम्बन्धमा राखिएको प्रावधानको अनौपचारिक नेपाली अनुवाद यस्तो छ :

"कुनै अन्तर्राष्ट्रिय खेलका क्रममा भएको कुनै घटनाका सम्बन्धमा वा सो खेलमा सहभागी कुनै खेलाडी, खेलाडीका सहयोगी कर्मचारी, म्याच अधिकारी वा कुनै पनि अन्तर्राष्ट्रिय म्याचमा सहभागी भइरहेको टोलीबारे गरिने सार्वजनिक आलोचना वा अनुचित टिप्पणी, चाहे त्यस्तो आलोचना वा अनुचित टिप्पणी जुनसुकै समयमा गरिएको होस्।"

क्यानका प्रवक्ताले भने, "कुनै पनि खेलाडीले अनुशासनको परिधि नाघेपछि कारबाही भोग्नैपर्ने हुन्छ। र अब लामिछानेले निकट भविष्यमा हुने प्रधानमन्त्री कप प्रतियोगितामा एउटा खेल खेल्न पाउने छैनन्।"

जय ट्रफीमा सन्दीप लामिछाने र विनोद भण्डारी

तस्बिर स्रोत, CAN

स्पष्टीकरण सोधियो

क्यानले लामिछानेलाई आगामी एउटा खेल खेल्न प्रतिबन्ध लगाउने गरी गरेको कारबाहीबाहेक स्पष्टीकरण पनि सोधेको छ।

प्रवक्ता लामा भन्छन्, "सन्दीपले के कारणले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाएका हुन् भनी स्पष्टीकरण सोधेका छौँ।"

तर लामिछानेले अहिलेसम्म स्पष्टीकरण प्रस्तुत नगरिसकेको बताउँदै लामाले भने, "उनले क्यानका अध्यक्ष र सचिवलाई स्पष्टीकरण दिनुपर्छ। तर मलाई अध्यक्ष र सचिवले अहिलेसम्म स्पष्टीकरण नआएको बताएका छन्। स्पष्टीकरण त आउला।"

यद्यपि नियमअनुसार नै सन्दीप लामिछानेले उनीविरुद्धका विभिन्न कारबाही चित्त नबुझेको भनेर अपील पनि गर्न पाउने छन्।

यस विषयमा लामिछानेसँग प्रतिक्रिया लिने बीबीसीको प्रयास सफल हुन सकेन।

जय ट्रफीमा सन्दीप

तस्बिर स्रोत, CAN

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।