क्यासिनोमा 'खेताला खेलाडी, चुम्बकीय तास र लेन्स' प्रयोग गर्ने भारतीय समूहबारे के थाहा छ

तस्बिर स्रोत, Nepal Police
- Author, फणीन्द्र दाहाल
- Role, बीबीसी न्यूज नेपाली
नेपाल प्रहरीका अधिकारीहरूले 'चुम्बकीय तास' र आँखामा हाल्ने लेन्स प्रयोग गरी राजधानीस्थित एउटा जुवाघरमा भएको ठगीको घटनापछि त्यस्ता अनधिकृत उपकरणहरूले नेपाली क्यासिनोमा प्रवेश पाएको भन्दै सञ्चालकहरूलाई पनि अनुसन्धानको दायरामा ल्याइएको जनाएको छ।
काठमाण्डू जिल्ला प्रहरी परिसरले प्रविधिको दुरुपयोग गरी क्यासिनोमा जुवा खेलेर ठगी गर्ने गिरोहमा संलग्न भएको भन्दै चार भारतीय नागरिकसहित छ जनालाई पक्राउ गरेको छ। उनीहरूलाई सघाउने क्यासिनो सञ्चालकसहित सात जना भने फरार रहेको प्रहरीले जनाएको छ।
भारतबाट आएको 'महाकाय' समूहका सञ्चालकहरू र उनीहरूले ल्याएका 'डमी खेलाडी'हरूको साथबाट छलपूर्वक जुवा खेल्न प्रयोग गरिने विशेष खालका तास र अरू खेलाडीको तास चिन्न सघाउने विशेष खालका लेन्सहरू बरामद गरिएको प्रहरीको दाबी छ।
नेपालमा सञ्चालित जुवाघरहरू नेपाली नागरिकहरूका लागि प्रतिबन्धित छन्। भारतीय नागरिकहरू तिनका मुख्य ग्राहक रहँदै आएका छन्।
नियामक निकाय पर्यटन विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर देखाउँदै तोकिए बमोजिमका सबै सर्त पालना गर्न क्यासिनोहरूलाई निर्देशन दिएको झन्डै डेढ महिनापछि योजनाबद्ध र सङ्गठित ठगीको घटना प्रकाशमा आएको हो।
प्रहरीले पक्राउ परेका सन्दिग्ध व्यक्तिहरूको नाम सार्वजनिक गर्दै उनीहरूको साथमा भारतीय परिचयपत्रहरू, ब्याङ्कका कार्डहरू, मोबाइल फोनहरू, भारतीय मुद्रा र अन्य सामग्री पनि फेला परेको जनाएको छ।
क्यासिनोभित्र कसरी सम्भव भयो त्यस्तो ठगी
काठमाण्डू प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार आँखामा लेन्स लगाएर 'म्याग्नेटिक तास' प्रयोग गरिएको पहिलो घटनाका रूपमा पछिल्लो ठगीलाई चित्रण गरे।
"योभन्दा अगाडि अर्कै स्वरूपमा कानमा आवाज आउने उपकरणहरू प्रयोग गरेको घटना एक पटक २०७६ सालमा भएको थियो। त्यसयताको सबैभन्दा विशिष्ट खालको यस्तो ठगी यही नै हो," उनले भने।
सो भारतीय समूहले भारतबाटै ५० प्याकेट चुम्बकीय तास र चार सेट लेन्स किनेर ल्याएको आफ्नो अनुसन्धानले देखाएको प्रहरीको दाबी छ।
सूचना अधिकारी भट्टराई भन्छन्, "उहाँहरूको 'मोडस ओपर्यान्डी' कस्तो देखिन्छ भने भारतमा रहेको एउटा समूहले सम्भावित वास्तविक खेलाडीहरूको पहिचान गर्छ। उनीहरूसँग प्रशस्त पैसा हुन्छ र उनीहरूले जुवालाई सोखका रूपमा लिएका हुन्छन्। पशुपतिनाथ पनि छ, नेपाल घुम्न पनि पाइन्छ भनेर उनीहरूले त्यस्ता व्यक्तिलाई छनोट गर्छन्।"

तस्बिर स्रोत, Nepal Police
प्रहरीका अनुसार जुवा खेल्न इच्छुक व्यक्तिहरू आउँदा सोही गिरोहले आफ्नो पक्षमा खेलिदिने 'डमी प्लेअर' अर्थात् खेताला खेलाडी पनि झिकाएको पाइएको छ।
पारिश्रमिक दिएर ल्याइने त्यस्ता खेलाडीले लेन्स लगाएर खेल्छन् र अरूको तास कस्तो परेको छ त्यो हेरेर दाउ थपघट गर्दै खेल्छन्।
"उनीहरूले तास पनि सँगसँगै लिएर आउँछन्। त्यतिमात्रै होइन तास बाँड्ने डीलर पनि उनीहरूले नै लिएर आउँछन्। यहाँ नेपालपट्टि भएको आयोजकले खाने, बस्ने, क्यासिनोमा टेबल बुक गर्नेदेखि लिएर सबै व्यवस्थापन गर्ने गर्छन्। साथै भारतबाट आएको डमी प्लेअर, क्रूपिअर [टेबलमा कोइन सङ्कलन गर्ने कर्मचारी], तास र लेन्सहरूलाई क्यासिनोभित्र प्रवेश गराएर टेबलसम्म पुर्याउँछन्।"
प्रहरीका अनुसार जितेको पैसामध्ये ९० प्रतिशत आयोजकले र बाँकी १० प्रतिशत डमी खेलाडीलाई दिइने सहमति भएको पाइएको छ।
"लेन्सको मद्दतले उनीहरूले चुम्बकीय तास सबै देख्छन् र उनीहरूले असीमित पैसा दाउ लगाउँछन्। त्यसो हुँदा वास्तविक खेलाडीहरूले जित्ने सम्भावना अत्यन्तै न्यून हुन्छ। डमी खेलाडीले सबै पैसा जित्छन् र जितेको पैसा जम्मा गरेर त्यसको ९० प्रतिशत आयोजकहरू जसले वास्तविक खेलाडीहरू लिएर आउनुभयो र यहाँ बस्ने खाने व्यवस्था गर्नुभयो अनि आँखामा लेन्स लगाएर खेल्ने डमी प्लेयरले १० प्रतिशतको हिस्सा लिन्छन्," भट्टराईले भन्छन्।
आरोपित भारतीय समूहबारे प्रहरी के भन्छ

तस्बिर स्रोत, RSS
ठमेलको छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा भएको यस घटनामा भारतको महाकाय समूहका खेलाडी सहभागी रहेको प्रहरीले जनाएको छ। उक्त समूहले नेपालबाहेक भारत, श्रीलङ्का, भियतनाम र क्याम्बोडियाका क्यासिनोहरूमा विभिन्न यस्ता कार्यक्रम आयोजना गरेको प्रहरीको दाबी छ।
वाल्डो क्यासिनोका सञ्चालक पनि पक्राउ परेका छन्। यो प्रकरणमा संलग्न छ जना पक्राउ परेका छन् भने अन्य सात जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।
"भारतमा भएकाले वास्तविक पैसा भएका खेलाडीहरूलाई यहाँ लिएर आउने त्यसमा डमी प्लेअर पनि मिसाउने र नेपालतर्फ अर्को साझेदार खोज्ने गरेको पाइएको छ। हामीले नेपालतर्फका साझेदारलाई अहिलेसम्म पक्राउ गर्न सकेका छैनौँ।"
महाकाय समूह भारतमा घरजग्गा व्यवसायमा पनि आबद्ध रहेको नेपाल प्रहरीको दाबी छ। प्रहरीका अनुसार सो समूहले एक महिनाअघि काठमाण्डूस्थित म्यारिअट होटेलमा एउटा कार्यक्रम गर्न लागेको भन्दै विज्ञापन गरेको थियो।
"त्यसको लागि खेलाडीहरूले २० घण्टासम्म लगातार खेल्नुपर्छ, दृश्यावलोकन पनि हुन्छ। खानेकुरा, मदिरा, होटल, प्लेन टिकट सबै निःशुल्क हुन्छ भनेर त्यसमा भनिएको छ। त्यसका सञ्चालकले तास लिएर आउने र आँखामा लेन्स लगाउने समूहसँग पनि समन्वय गरेको पाइएको छ। नेपालतर्फको इभेन्ट म्यानेज गर्ने व्यक्तिसँग पनि सम्पर्क गरेको देखिएको छ।"
अहिले प्रहरीले नियन्त्रणमा लिएका वा अनुसन्धान गरिरहेकामध्ये केही व्यक्तिहरू विगतमा भैरहवाको एलिगन्ट क्यासिनो र काठमाण्डूस्थित हायातको प्राइड क्यासिनोमा आएर जुवा खेलेको पाइएको प्रहरीको भनाइ छ।
"यस प्रकारको प्रविधि प्रयोग गरेर गर्न खोजिएको यो पहिलो प्रयास थियो। उनीहरूलाई (नेपालमा) हामीले गर्न सक्छौँ भन्ने पनि लागेको हुन सक्छ। तर त्यसलाई हामीले विफल बनाइदियौँ जसले क्यासिनोमाथि हामीले निगरानी पनि राखेका छौँ र यो क्षेत्रलाई हामीले स्वच्छ राख्न सक्छौँ भन्ने पनि सन्देश गएको छ।"
भारतको महाकाय समूहले यस विषयमा कुनै आधिकारीक धारणा सार्वजनिक भएको छैन। तर प्रहरीले आरोपितहरूले प्रयोग गरेका भनेका तास, लेन्सहरूसहितको भिडिओ सार्वजनिक गरेको छ जसमा पक्राउ परेका व्यक्तिले अर्को व्यक्तितर्फ फर्किएको तासलाई ठम्याएको देख्न सकिन्छ।

तस्बिर स्रोत, Getty Images
कुन कसुरमा अनुसन्धान हुँदै छ
नेपालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले क्यासिनोहरूको नियमन गर्दै आएको छ।
काठमाण्डूका पाँचतारे होटेलदेखि भारतसँगको सीमानजिकै विभिन्न नेपाली सहरहरूमा खुलेका होटेलहरूमा क्यासिनो र मिनीक्यासिनो सञ्चालन हुँदै आएका छन्।
सरकारले जारी गरेको क्यासिनोसम्बन्धी नियमावलीले क्यासिनोमा प्रयोग हुने टेबल, मशीन, कोइन, चिप्स तथा अन्य उपकरण र वस्तुहरू पर्यटन विभागबाट स्वीकृत गराउनुपर्ने व्यवस्था छ।
काठमाण्डू प्रहरी परिसरका सूचना अधिकारी भट्टराईले पर्यटन विभागले तोकेको मापदण्ड उल्लङ्घन भएको अहिलेको घटनाले देखाएको बताए।
"क्यासिनोमा कुनै तेस्रो पक्षसँग सहमति गरेर खेलाउन पाइँदैन भन्ने व्यवस्था प्रबन्धपत्रमा उल्लेख गरिएको छ। क्यासिनो नियमावली र प्रबन्धपत्रमा भएका व्यवस्थाहरूको पनि उल्लङ्घन भएको छ। क्यासिनोमा अनधिकृत स्टाफ छिर्नका लागि कति योजनाबद्ध तरिका अपनाइएको छ... क्यासिनो सञ्चालकहरूको संलग्नता नभईकन त्यहाँ प्रवेश गर्न असम्भवजस्तो नै हो... कुन हदसम्म संलग्न हुनुहुन्छ भनेर हामीले पहिचान गरेका छौँ, त्यसबारे थप अनुसन्धान गर्छौँ।"
बीबीसीले पर्यटन विभागका प्रवक्तासँग पछिल्लो घटनाबारे प्रतिक्रिया लिने प्रयास गरेको भए पनि सम्पर्क हुन सकेन।

नेपाल प्रहरीले यो घटनालाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता गराएर अनुसन्धान गरिरहेको छ।
मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता भट्टराईले कसैलाई पनि बदनियत राखेर धोखाधडी गरेर ठगी गर्नेलाई बिगो र जेल सजाय माग दाबी गर्दै मुद्दा दायर गरिने जनाए।
"बिगो बराबरको रकम जफत हुने र अधिकतम सात वर्षसम्म कैद सजायको प्रबन्ध यसमा गरिएको छ," उनले भने।
नेपाललाई अन्तर्राष्ट्रिय वित्तीय अपराधहरूको निगरानी गर्ने संस्था फाइनान्शल एक्शन टास्क फोर्सले 'ग्रे लिस्ट' मा राखेपछि अधिकारीहरूले क्यासिनोहरूलाई नियम, कानुनहरूको पूर्ण पालना गर्न निर्देशन दिएका छन्।
कार्तिकको अन्तिम साता पर्यटन विभागको होटेल शाखाले क्यासिनोका सबै गतिविधिको रेकर्ड छ महिनासम्म अभिलेख रहने गरी सीसीटीभी जडान गर्न सरकारलाई निर्देशन दिएको थियो।
पर्यटन विभागका अनुसार नेपालमा विक्रम संवत् २०२३ मा पहिलो पटक होटेल सोल्टीमा क्यासिनो खुलेको थियो।
आर्थिक वर्ष २०८२/८३ का लागि २४ वटा क्यासिनो कम्पनीको इज्जाजतपत्र नवीकरण भएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








