म्यान्चेस्टरमा कार जोतिँदा कम्तीमा दुईको मृत्यु, प्रधानमन्त्रीद्वारा आपत्कालीन बैठक आह्वान

उत्तरी इङ्ल्यान्डस्थित यहुदीहरूको एउटा प्रार्थनास्थलबाहिर मानिसहरूको भिडमा कार जोतिँदा दुईजनाको मृत्यु भएको र अन्य तीनजनाको अवस्था गम्भीर रहेको म्यानचेस्टर प्रहरीले जनाएको छ।

यहुदीहरूको पवित्र योम किपूरका दिन भएको घटनामा कम्तीमा एक जनामाथि छुरा प्रहार भएको छ।

प्रहरीले एक सन्दिग्ध व्यक्तिलाई गोली हानेको जनाएको छ। उनको मृत्यु भएको ठानिएको छ, तर प्रहरीले त्यसलाई पुष्टि गर्न बाँकी छ।

प्रहरीले उक्त घातक हमलालाई आतङ्कवादी घटना भनी घोषणा गरेको छ। घटनापछि प्रहरीले थप दुईजनालाई पक्राउ गरिएको जनाएको छ।

विवरणहरूमा जनाइएअनुसार ठूलो सङ्ख्यामा मानिसहरूले प्रार्थना गरिरहेका बेला उनीहरूमाथि एउटा कार जोतिएको थियो।

एकजना प्रत्यक्षदर्शीले बीबीसीसँग बोल्दै प्रहरीले सन्दिग्ध व्यक्तिलाई "चेतावनी दिए पनि - उनले नमानेको र प्रहरीले गोली चलाएको" बताएका छन्।

ब्रिटिश प्रधानमन्त्री सर केअर स्टार्मरले देशभरि रहेका यहुदी प्रार्थनास्थलहरूमा थप प्रहरी परिचालन गर्न लागिएको बताएका छन्।

युरोपेली शिखर बैठकका लागि डेनमार्क पुगेका स्टार्मर आफ्नो भ्रमण छोट्याएर स्वदेश फर्कँदै छन्।

उनले आपत्कालीन बैठक बोलाएका छन् र त्यसको नेतृत्व उनी आफैँले गर्दै छन्।

राजा चार्ल्स द्वितीयले घटनाबाट आफू र महारानी कमिला एकदमै स्तब्ध र दुःखी भएको बताएका छन्।

"खास गरी यहुदी समुदायको विशेष दिनमा भएको घटनाप्रति हामी स्तब्ध र मर्माहत भएका छौँ। यो अक्षम्य घटनाबाट प्रभावित व्यक्तिहरूप्रति हाम्रो समानुभूति र प्रार्थना छ। आपत्कालीन सेवाहरूले चालेका द्रुत कदमहरूको हामी प्रशंसा गर्छौँ," एउटा वक्तव्यमार्फत्‌ राजाले भनेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।