दशैँमा खाइने मुख्य परिकार र पाककलामा आएको परिवर्तन

दशैँ

तस्बिर स्रोत, NISHA BHANDARI

दशैँ भन्ने बितिक्कै काठमाण्डूको पूर्वी भेगमा रहेको कागेश्वरी मनोहराकी जानुका कार्कीलाई चुलोमा दाउरा बालेर गह्रुङ्गो कसौँडीमा पकाएको खसीको मासु याद आउँछ।

त्यही मासु पकाउनकै लागि तीजलगत्तैदेखि उनी र गाउँका महिलापुरुष शिवपुरीको जङ्गलमा बिहान सबेरै दाउरा लिन जाने गरेको उनले बताइन्।

विक्रम संवत् २०२० देखि २०५० को दशकसम्म पनि दशैँमा पकाउने मासु र त्यसका लागि चिउरा कुट्न मूलपानीबाट भक्तपुरको बोडे ठिमी जाने गरेको उनले बताइन्।

"दशैँका लागि मासु पकाउन भनेर दाउरा मात्रै होइन, बाक्लो पीँध भएको गह्रुङ्गो कसौँडी पनि धोइपखाली गरेर तयार गर्थ्यौँ। अनि दशैँका लागि चिउरा कुट्न धान भिजाएर बोडेमा लिएर जान्थ्यौँ," ८४ वर्षीया कार्कीले भनिन्।

"अहिले र ऊबेलाको दशैँमा आकासजमिनको फरक लाग्छ। अहिले त ग्यास चुल्होमा कुकरमा सिट्टी लगायो पाकिहाल्छ। ऊबेलाजस्तो मासुमा हाल्ने मसलाका लागि सिलौटामा जिरा धनियाँ पिस्ने चलन थियो।"

त्यतिबेला शाकाहारीको घरमा वा शाकाहारीका लागि खिर र सेलरोटी पाक्ने गरेको उनले बताइन्।

अहिले उनकै नातिनीको घरमा मासु पकाउन माइक्रोवेब ओभनदेखि एअरफ्राएरसम्म प्रयोग गर्ने गरेको उनले बताइन्।

विभिन्न परिकारका खानाबारे पुस्तक लेखेका प्रशान्त खनाल खाने परिकार र पाककला दुवैमा विगतका दशकहरूमा परिवर्तन आएको बताउँछन्।

दशैँका परिकारमा मासुचिउरा, सेलरोटी र विभिन्न प्रकारका तरकारीअचार पकाइने गरेको उनले बताए।

खासगरी दशैँमा पकाइने परिकारमा प्रयोग गरिने मरमसलामा धेरै विविधता आएको उनी बताउँछन्।

"मासुमा नयाँ मरमसला प्रयोग गर्ने चलन आएको छ। जस्ते हामी सानो हुँदा ल्वाङ सुकुमेल हाल्ने त्यति गरिँदैनथियो तर अहिले भने स्टार अनिस पनि प्रयोग हुन्छ," उनले भने।

"हाम्रो नेपालमा फल्नेबाहेक अन्य मरमसला पनि अहिले प्रयोग हुन्छ। जस्तै रङ्गका लागि दशैँमा पकाइने विभिन्न खानेकुरामा कश्मिरी मिर्चको प्रयोग गरिन्छ।"

आफूले देख्दा यदि शाकाहारी छन् भने उनीहरूले विभिन्न तरिकाले पकाइने तरकारी, अचार अनि खिर र सेलरोटी पकाउने र मांसाहारी छन् भने मासुको भुटुवा, पकुवा, झोल हालेको मासु, छोएलालगायतका मासुका परिकार पकाएर खाने गरेको खनालले बताए।

दशैँको खाजा

तस्बिर स्रोत, NISHA BHANDARI

सप्तरीको तेह्रहौताका सञ्जिब चौधरीको भने दशैँमा खाइने परिकारको अनुभव भिन्न छ। दशैँ भन्ने बितिक्कै उनलाई मुरई र चनाको याद आउँछ।

उनीहरूको घर शाकाहारी भएका कारण माछामासु नखाने भएपछि मुरई र चना अनि मिठाइहरू खाइने गरेको उनले बताए।

"हामी शाकाहारी परिवार भएको हुनाले दशैँमा हाटबजार जान्छौँ। दुर्गा पूजामा मेला लागेको हुन्छ। त्यो सकेर हामी मुरई, चना, मिठाई खाने गर्छौँ," उनले भने।

उनले विगतमा मुरई, चना, मिठाई सबै घरमै बनाएर खाने गरेको भए पनि अहिले भने हाटबजारबाटै ल्याएको कुरा खाने गरेको देखिन्छ।

त्यस्तै बेलुका बेसनको पीठोबाट बनाएको बरी, प्याज/बन्दाको कचरी, बैगनी बनाएर खाने चलन रहेको उनले बताए।

"टिकाको दिन बेलुका सबै सँगै बसेर धेरै परिकार खाने कुरा नै सबैभन्दा विशेष लाग्ने उनले बताए। दशैँकै लागि भनेर विशेष वोल(एलिफेन्ट फूटयम) को तरकारी पनि खाने गर्छौँ। त्यो एकदमै मिठो हुन्छ," उनले भने।

विगत र अहिलेमा सबैभन्दा खानेकुरामा आएको फरक भनेको पहिला घरमै बनाउनु र अहिले बजारबाट किनेर ल्याउनु भएको चौधरी बताउँछन्।

"सानो छँदा घरकै धानबाट बालुवामा भुटेर मुरई बनाइएको हुन्थ्यो। तेल पनि घरमै फलेको तोरी पेलेर बनाउने गरिन्थ्यो। घरमै फलेको चनाको तरकारी पकाउने गरिन्थ्यो," विगत करिब दुई दशकदेखि खानाबारे ब्लग लेख्ने गरेका उनले भने।

"हाम्रा हजुरआमाहरू त अहिले पनि त्यसै गर्नुहुन्छ। तर हामी भने बजारबाट किनेर ल्याएर खान्छौँ। पहिलाको जस्तो मिठो स्वाद चाहिँ अहिले हुँदैन।"

चम्सुरको खिर बनाउँदै

तस्बिर स्रोत, KEDAR SHARMA

खानाका विषयमा विभिन्न लेखहरू लेख्दै आएका केदार शर्माले शाकाहारी घरमा टिकाको दिन जुठो गर्न हुँदैन भनेर भात नखाने चलन रहेको बताउँछन्।

शाकाहारी घरमा जन्मिएर मांसाहारी भएको बताउने उनले पूर्वी नेपालको इलाममा रहेको आफ्नो घरमा टिकाको दिन चम्सुरको बियाँ दुधमा पकाएर खिर खाने चलन रहेको बताए।

त्यसबाहेक दशैँका लागि भनेर खल्पी(काँक्रो)को अचार खाने चलन रहेको उनी बताउँछन्।

"हाम्रोमा दशैँको बेला आलु, स्कुस र मुलालाई दहीमा पकाएर खाने गर्थ्यौँ। दशैँको तरकारी भनेर अहिले पनि हामी त्यो पकाउँछौँ," उनले भने।

"दशैँको दिन बेलुका हामीले अनिवार्य रूपमा खाने भनेको गुन्द्रुक र भात हो। परिवार ठूलो भएकोले धेरैतिर खाइने भएकोले खाना पचाउनका लागि गुन्द्रुक र भात खाने चलन छ।"

कोभिडको महामारी आउनुअगाडि भोजन भ्रमण भनेर नेपालका विभिन्न ठाउँ पुगेका उनले कोभिडपछाडि खासगरी यूट्यूबका कारण खानामा नेपालीको चासो बढेको बताए।

त्यसबाहेक दशैँका लागि भनेर चिउरा र खल्पीको अचार पनि विशेष हुने उनी बताउँछन्।

"नेपाली भान्छामा प्रेसर कुकर भित्रिएपछि र अहिले ओभन र एअरफ्राएर आएपछि पकाउने परिकार परिवर्तन भएको छ," उनले भने।

चम्सुरको बियाँबाट बनेको खिर

तस्बिर स्रोत, KEDAR SHARMA

पश्चिममा दशैँमा के खाने गरिन्छ?

त्यस्तै सुदूरपश्चिममा देशैँका बेला विशेषगरी ओखलमा कुटेको चिउरा र ओखलमै कुटेको सिरौँला खाने चलन रहेको सुदूरपश्चिमको संस्कृतिमा चासो राख्ने अफिलाल जोशीले बताए।

"दशैँमा माइतमा आएका छोरीबहिनीहरूले नयाँ धानबाट चिउरा र सिरौँला बनाउँछन्। पानीमा भिजाएको धानलाई भुटेर ओखलमा कुट्ने अनि ओखरका घाज्राहरू मिसाएर सिरौँला खाने चलन छ," जोशीले भने।

"विशेषगरी दशैँमा पानी नहाली तेल र घ्यूमा पकाएको मासु र ओखलमा कुटेका चिउरा र सिरौँला खाने चलन छ," उनले भने।

त्यसबाहेक सुदूरपश्चिमका बाजुरा, बझाङ र अछामतिर दशैँका बेला मासको फाँडो लगायतका परिकार बनाएर खाने चलन रहेको उनले बताए।

"बैतडी,दार्चुला, डडेलधुरातिर भने मासको गतामी, जुप्का र चुकानी बटुक बनाएर खाने चलन छ। यी परिकारहरू विशेषगरी दशैँका बेला मात्रै खाने गरिन्छ," उनले भने।

जोशीका अनुसार अछाम, बझाङ बाजुरामा काँक्राको राइतो पनि बनाएर खाइन्छ। काक्रोलाई काटेर दही, तिल र भाङको धुलो मिसाएर राइतो बनाउने गरिन्छ।

"सुदुरपश्चिमबासीले दशैँमा खाने विशेष परिकारमा राइतो पनि पर्छ। त्यसबाहेक सेलरोटी, पुरीरोटी बनाएर पनि दशैँमा शाकाहारीले खाने गर्छन्।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।